बजेटः सेयर बजारको लागी ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’

काठमाडाैं । सेयर बजारको लागी आगामी आर्थिक वर्षको २०७७/७८ को बजेट ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ भने झै भएको नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेलले बताईन् । आगामी आर्थिक वर्षदेखि डिलर शिपको व्यवस्था गरेको भन्दा बाहेक एउटा पनि पुँजी बजारको विकास र विस्तारको लागी कार्यक्रम यो बजेटमा नपरेको उनको तर्क छ । हालै प्रस्तुत भएकाे आगामी आर्थिक वर्षको बजेटमा प्रतिकृया दिँदै उनले विद्युतीय कारोबारको दायरा विस्तार गरिने भन्ने चालु आ.व. मै भएको व्यवस्थाको लागी थप समय खर्चेको जस्तो लागेकाे बताइन् । साथै, उनले  खासै आगामी बर्षको बजेटबाट आम लगानीकर्ता लाभान्वित नहुने र यो बजेट महत्वकाक्षी रहेकाे बताइन् । ‘कम्तिमा केहि महिनाको भए पनि निश्चित अंकसम्म ऋण र ब्याज मिनाहा गरिदिएर अर्थात् अहिलेको संकटको समयमा आर्थिक प्याकेज घोषणा गरेर मल्हमपट्टी लाउँनेछ र सेयर लगानीकर्तालाई ढुक्क बनाउँछ भन्नेमा हामी आशावादी रहेको थियौं । अर्थतन्त्रको ऐना मानिने सेयर बजारलाई बजेटले प्राथमिकतामा राख्न सकिएको छैन् ।’- उनले बताइन् ।

अब दोश्रो बजारमा ऋणपत्रको कारोबार हुने, लगानी बढाउन स्टक डिलर सञ्चालनमा ल्याउने

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजीबजारको दायरा विस्तार गरी ऋणपत्रको दोश्रो बजार कारोबार शुरु गरिने बताएका छन् ।  संघीय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो बताएका हुन् । उनले नेप्सेको दोश्रो बजार कारोबारलाई पूर्ण रुपमा अनलाइन गरिने बताएका छन् । साथै, पुँजी बजारमा संस्थागत लगानी बढाउन आगामी आर्थिक वर्ष स्टक डिलर सञ्चालनमा ल्याइने छ । वस्तु विनिमय बजार सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था मिलाइने छ । नेपाल धितोपत्र बोर्ड, नेप्से, सीडीएससीको संरचनात्मक सुधार गरिने अर्थमन्त्री खतिवडाले बताए।

चालु आर्थिक वर्षमा भित्रियाे ५ खर्ब ९२ अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ को फागुनसम्म ५ खर्ब ९२ अर्ब ४२ करोड रूपैयाँ बराबरकाे रेमिट्यान्स भित्रिएकाे छ । संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले साे मात्राकाे रेमिट्यान्स भित्रिएकाे बताएका हुन् । आर्थिक वर्षमा १.८ प्रतिशतले वृद्धि भएकाे हाे । उक्त वृद्धिदर गतवर्षकाे तुलनामा न्यून रहेकाे छ । गतवर्ष साेही अवधिसम्म २३.४ प्रतिशतले रेमिट्यान्स बढेकाे उनले जानकारी दिए । त्यस्तै, चालु आर्थिक वर्षमा २.३ प्रतिशत आर्थिक वृद्धिदर भएको उनले जनाए ।