अब खल्तीबाटै मेरो सेयर तथा डिम्याट खाता नविकरण गर्न सकिने, शुल्क नलाग्ने
काठमाडाैं । अब मेराे सेयर तथा डिम्याट खाता नविकरण खल्ती डिजिटल वालेटबाटै गर्न सकिने भएकाे छ । साे सम्बन्धी खल्ती (स्प्यारो पे प्रा. लि) र सिडिएस एण्ड क्लियरिंग (सीडीएससी) बीच सम्झाैता भएकाे छ । यससँगै मेराे सेयर तथा ७६ वटा डिम्याट खाता संचालक कम्पनी (डिपी) को डिम्याट एकाउन्ट नवीकरण शुल्क खल्ती डिजीटल वालेटबाटै भुक्तानी गर्न सकिने भएकाे छ । साथै, उक्त खाता नविकरण गर्दा कुनै पनि शुल्क नलाग्ने भएकाे छ । सीडीएसका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेलबीच सम्झौता भएको हो । यस अन्तर्गत अब मेराे सेयर र डिम्याट खाताकाे नवीकरण खल्ती डिजिटल वालेटबाटै गर्न सकिने भएकाे छ । डिम्याट खाताधनीले मेरो सेयरको हाेम स्क्रिनमा लग-इन गरी त्यहाँ रहेकाे प्राेफाइलमा खाता नवीकरण गर्ने सुविधा उपलब्ध गरिएको छ । सेयर डिम्याट खाता र मेरो सेयर शुल्क तिरेर नवीकरण गर्नुपर्ने नियम रहेको छ । समयमा शुल्क नतिरेको खण्डमा मेराे सेयर खाता निष्क्रिय हुने गरेको छ । खाता निष्क्रिय भएको खण्डमा डिम्याट खातामा भएको सेयर स्थानान्तरण गर्न सकिँदैन । साथै विभिन्न कम्पनीले निष्काशन गर्ने प्राथमिक सेयरहरु (आईपीओ) मा पनि आवेदन गर्न सकिँदैन । ‘अब ३० लाख भन्दा बढी खाताधनीहरूले खल्ती एप डाउनलोड गरी अनलाइन डिम्याट र मेरो सेयर नवीकरण गर्न मिल्ने भएको छ। यसले थप जनतालाई लगानी गर्न प्रोत्साहन गर्ने कुरामा म विश्वस्त छु। साथै यसले डिजिटल नेपालको हाम्रो अभियानमा निकै ठूलाे योगदान पुर्याउने पनि विश्वास राख्दछु।’, खल्तीका सहायक प्रबन्धक भूर्तेलले बताए । लगानीकर्ताहरू यसअघि डिम्याट खाता संचालक मेराे सेयर र कम्पनी (डिपी) को कार्यालय धाएर डिम्याट खाताकाे नवीकरण शुल्क तिर्दै आएका थिए । खल्ती डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो । ‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ-कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १७ लाखभन्दा बढी छन् । कसरी डाउनलोड गर्ने ‘खल्ती’ एप ? ‘खल्ती’ एप लिंकबाट डाउनलोड गरी उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ । माेबाइलमा डाउनलाेड गर्न गुगल प्ले स्टाेर वा एप्पल स्टाेरमा याे एप उपलब्ध छ ।
बुटवल पावर कम्पनीको बोनस सेयर सूचीकृत
काठमाडौं । बुटवल पावर कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । संस्थाको १० प्रतिशत अर्थात २६ लाख ७४ हजार ७८७ कित्ता बोनस सेयर आज(चैत ९ गते) नेप्सेमा सूचीकृत भएको हो । यससँगै संस्थाको सो मात्राको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ । बुद्धनगरमा केन्द्रिय कार्यालय रहेको कम्पनीको चुक्ता पुँजी २ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, सोमबार (चैत ९ गते) कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता ३९६ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३ रुपैयाँले बढी हो । त्यस्तै, कम्पनीको बजार पुँजीकरण ११ अर्ब ६९ करोड रुपैयाँ रहेको छ ।
अरुण भ्याली हाइड्रोको सेयर मूल्य समायोजन
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य २४२ रुपैयाँ तोकिएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता ३१३ रुपैयाँमा भएको थियो । यससँगै अबको कारोबारमा कम्पनीको सेयर प्रतिकित्ता २४२ रुपैयाँदेखि कारोबार शुरु हुने छ । थापाथलीमा केन्द्रिय कार्यालय रहेको कम्पनीको चुक्ता पुँजी एक अर्ब ५७ करोड रुपैयाँ रहेको छ । आइतबार कम्पनीको बजार पुँजीकरण ४ अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।