समाज लघुवित्तको पुस १५ गतेदेखि बुक क्लोज
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको आगामी पुस १५ गतेदेखि बुक क्लोज हुने भएको छ । साधारणसभामा जाने प्रयोजनको लागि संस्थाको सो दिनदेखि पुस २५ गतेसम्म बुक क्लोज हुन लागेको हो । संस्थाले आगामी पुस २५ गते आफ्नो तेस्रो वार्षिक साधारणसभामा आव्हान गरेको छ । पुस ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
स्वरोजगार लघुवित्तको सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । सोमबार स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । जनकपुर लघुवित्त वित्तीय संस्थालाई एक्वायर गरेपश्चात संस्थाको २ लाख ४३ हजार २५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । दोश्रो बजारमा स्वरोजगार लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १०६९ रुपैयाँ रहेको छ । ३४ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको बजार पुँजीकरण ३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।
सोल्टी होटलको पुस १५ गतेदेखि बुक क्लोज
काठमाडौं । सोल्टी होटलको आगामी पुस १५ गतेदेखि बुक क्लोज हुने भएको छ । वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि होटलले सो दिनदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो । पुस ३ गते शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीको ४६औं वार्षिक साधारणसभा आगामी पुस २९ गते कम्पनीको रजिष्टर्ड कार्यालय ताहाचल काठमाडौंमा भर्च्युअल माध्यमबाट हुने भएको छ ।