अब सहकारीमा पनि चेक बिना नै पैसा पाइने, नेचुरल बचत तथा ऋण सहकारीले थप्यो तीन सुविधा

काठमाडाैं । नेचुरल बचत तथा ऋण सहकारी संस्थाले ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सदस्यहरुका लागि ३ वटा नयाँ सुविधा थप गरेको छ । संस्थाले आज (चैत २० गते) बाट उक्त सुविधाको औपचारिक रुपमा शुरुवात गरेको हो । ६४औं राष्ट्रिय सहकारी दिवसको ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नारा रहेको र त्यसैलाई सार्थकता दिन नयाँ प्रविधि शुरु गरिएको संस्थाका कार्यकारी प्रमुख विकल्प पाठकले जानकारी दिए । संस्थाले ई-टेलर, ई-पेमेन्ट र फोन-पे सञ्चालनमा ल्याएको हो । सदस्यहरुले संस्थाको मुख्य कार्यालयसहित सबै सेवा केन्द्रबाट उक्त सुविधा लिन सकिने पाठकले बताए । सदस्यहरुले नेचुरल मोबाइल एपको प्रयोग गरी उक्त सुविधाहरु लिन सक्नेछन् । ‘ई-टेलर बैंकिङ सेवा लिनका लागि संस्थाको क्यास काउण्टरमा राखिएको क्यूआर कोड स्क्यान गरी रकम झिक्नका लागि अनुरोध गर्न सकिन्छ,’ पाठकले थपे ‘सदस्यले गरेको अनुरोधका आधारमा चेक बिना नै रकम उपलब्ध गराइन्छ र सदस्यले माग गरेको रकम प्राप्त गर्न सक्छन् ।’ यो सुविधा लिन संस्थाको कार्यालयमा नै जानुपर्ने हुन्छ । त्यसैगरी, संस्थाले ई-पेमेन्ट सुविधा पनि शुरु गरेको छ । सदस्यले ई-पेमेन्ट सेवाका लागि शुरुमा एउटा फारम भरेर पिन कोड लिनुपर्ने हुन्छ । पिन कोड प्राप्त भएपछि सो को प्रयोग गरेर घरमै बसेर रकम ट्रान्सफर गर्न सकिनेछ भने पिन कोड कै आधारमा सदस्यले भुक्तानी दिन चाहेको व्यक्ति संस्थाको काउण्टरमा गई रकम भुक्तानी लिन समेत सक्छन् । त्यसैगरी फोन-पे सुविधामार्फत सदस्यहरुले कुनै पनि बैंक तथा वित्तीय संस्थामा भएको पैसा नेचुरल सहकारीमार्फत झिक्न सक्नेछन् । यो सुविधा गैर सदस्यहरुलाई पनि उपलब्ध गराएको संस्थाले जनाएको छ । यो सुविधा निःशुल्क उपलब्ध गराएको पाठकले बताए । ‘सदस्यको कुनै बैंक खातामा पैसा छ भने उसले फोन-पे मार्फत स्क्यान गरेर नेचुरलको काउण्टरबाटै पैसा झिक्न सक्छ । बैंकको शाखा खोज्दै हिँड्नु पर्दैन, उक्त एपको प्रयोग गरी सहज रुपमा रकम निकाल्न सकिन्छ’ उनले भने । संस्थाले ई-सेवा र फोन-पेसँग सम्झौता गरेर ती सेवा सञ्चालनमा ल्याएको हो । संस्थाले ती सुविधाहरुको प्रयोगको विषयमा आफ्ना बजार प्रतिनिधिहरुमार्फत सिकाउँदै आएको छ । संस्थाले छुट्टै आइटी डिपार्ट नै खडा गरेको छ । संस्थामा ५० भन्दा बढि बजार प्रतिनिधि कार्यरत छन् र उनीहरुमार्फत सम्पूर्ण सदस्यहरुलाई मोबाइल एप डाउनलोड गरी चेकलेस र क्यासलेस पेमन्टका बारेमा सिकाउँदै आएको उनले जानकारी दिए । संस्थाले नयाँ प्रविधिहरुलाई आत्मसात गर्दै अगाडि बढेको र कोभिड-१९ पछि त नयाँ नयाँ प्रविधिको प्रयोगले झनै तीब्रता पाएको उनको भनाइ छ । पैसाबाट पनि विभिन्न रोगका भाइरसहरु फैलिन सक्ने हुँदा सबैले प्रविधिलाई आत्मसात गर्नु अनिवार्य हुन गएको पाठकको बुझाई छ । प्रतिस्पर्धी बजारमा प्रविधिलाई नअपनाई संस्था दीर्घकालिन रुपमा सञ्चालन गर्न नसकिने र अबको एकदुई वर्षपछि सबै कारोबार क्यूआर कोडमय हुने हुँदा संस्थाले पनि अहिलेदेखि नै त्यस्ता प्रविधिहरुलाई भित्राई अगाडि बढेको उनले बताए । ‘संस्थाले प्रविधिलाई मात्रै भित्राएको छैन त्यसको सुरक्षाको विषयमा पनि गम्भीर रुपले हेरिराखेको छ,’ उनले थपे ‘भोलिका दिनमा हुनसक्ने सम्भावित दुर्घटना हुन नदिन समेत हामीले सचेत छौं ।’ ‘बजारमा धेरै किसिमका सहकारी छन्, सहकारीमा समस्या पनि छ त्यसैले संस्थागत सुशासनमा चलेका, प्रविधिमा जोडिएका र सिद्धान्तअनुसार चलेका संस्थामा मात्र कारोबार गर्न म अनुरोध गर्छु’ उनले जोड दिए । प्रविधिमा जोडिएर संस्थाले सदस्यहरुलाई सहज रुपमा सेवा दिन लागिपरेको र यसबाट सदस्यको समयको समेत बचत हुने हुँदा सदस्यहरुलाई समयसापेक्ष के-कस्ता प्रविधिको आवश्यक पर्छ सल्लाह सुझाव समेत दिन उनले आग्रह गरे ।

रु रु जलविद्युतको आईपीओ आजदेखि भर्न पाइने, प्रतिकित्ता १२० रुपैयाँ

काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडको प्राथमिक सेयर (आईपीओ) आज (चैत २० गते) देखि भर्न पाइने भएको छ । पहिलो चरणमा स्थानीयमा सेयर जारी गरेको कम्पनीले आजदेखि भने सर्वसाधारणमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणमा ४ लाख ७ हजार ७०६ कित्ता सेयरको बिक्री खुला गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्काशन गर्न लागेको हो । संस्थाले स्थानियमा भने अंकित मूल्य १०० रुपैयाँमै सेयर बिक्री गरेको थियो । कम्पनीले निष्काशन गर्न लागेको कुल सेयरमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्काशनमा ल्याउन लागेको हो र सर्वसाधारणले उक्त सेयरको लागि आवेदन दिन पाउने छन् । सेयर खरिदका लागि इच्छुक सर्वसाधारणले आजदेखि आगामी चैत २४ गतेसम्ममा आवेदन दिन पाउने छन् । यदि सो अवधिसम्ममा सबै सेयर बिक्री नभएमा कम्पनीले २०७८ बैशाख ३ गतेसम्म म्याद थप गर्ने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट तथा मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन् । तर मेराे सेयरकाे स्ताराेन्नतिकाे काम भइरहेकाले उक्त सेवामा समस्या देखिएकाे छ । जसले गर्दा लगानीकर्तालाई सेयर भर्न असज हुने देखिन्छ । साे समस्या समाधान नहुँदासम्म लगानीकर्ताले सिडिएसले जनाए अनुसार कम्पनीकाे साइट खाेलि उक्त आईपीओमा आवेदन दिन सक्नेछन् । मेरो सेयरमा केहि दिन समस्या देखिने, सिडिएस भन्छ- यसरी लिनुस् सेवा आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्ता पुँजी ३२ करोड ६१ लाख रुपैयाँ रहेको छ । आईपीओ निष्काशत तथा बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी ४० करोड ७७ लाख रुपैयाँ नाघ्ने छ ।

मेरो सेयरमा केहि दिन समस्या देखिने, सिडिएस भन्छ- यसरी लिनुस् सेवा

काठमाडौं । मेरो सेयरको साइटमा अनिश्चित समयसम्मका लागि समस्या आउने भएको छ । सिडिएस एण्ड क्लियरिङ (सिडिएससी)ले मेरो सेयरको स्तरोन्नती गर्नको लागि आवश्यक कार्य गरिरहेकोले सेवाग्राहीलाई सेवा लिन असज हुने भएको हो । उक्त काम सम्पन्न नभएसम्म मेरो सेयर नखुल्ने तथा आफै लग आउट हुने जस्ता समस्या आउने संस्थाले जानकारी गराएको छ । त्यसैले यो अवधिसम्म धैर्यताका साथ मेरो सेयर प्रयोग गर्न सिडिएसले आग्रह गरेको छ । बीचमा पनि सर्भर थप्दै आएको सिडिएसले हालै नयाँ सर्भर इन्स्टल गर्ने क्रममा पनि सानोतिनो समस्या आइरहेको बताएको छ । डाटा सर्भरको क्यापासिटी बढाएको र सो स्टेबल हुन समय लाग्ने तथा अन्य थप काम भइरहेकाे संस्थाका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले विकासन्युजसँग भने । साथै, यो अवधिमा सकेसम्म विभिन्न २ वटा विन्डोमार्फत सेवा लिन सिडिएसले सेवाग्राहीलाई अनुरोध गरेको छ । यससँगै, सेवाग्राहीले आफ्नो ब्राउजरको ‘इन्कग्निटो विन्डो’ वा ‘प्राइभेट विन्डो’ मार्फत सेवा लिन सक्नेछन् । कसरी खोल्ने इन्कग्निटो विन्डो ? यो इन्कग्निटो विन्डो गुगल क्रोम ब्राउजरबाट खोल्न मिल्छ । यो खोल्न पहिला कम्युटर/ल्यापटप तथा मोबाइलको गुगल क्रोममा गएर नयाँ ब्राउजर खोल्नुपर्छ । त्यसपछि ब्राउजरको एड्रेसबारको दायाँ भागमा रहेको तीन वटा थोप्ला भएको बटनमा क्लिक गर्नुपर्छ (अर्थात कन्ट्रोल प्लस सिफ्ट प्लस एन एकैपटक दाब्ने) । त्यसपछि आएको अप्सनमध्ये न्यू इन्कग्निटो विन्डोमा छनोट गर्ने । र, नयाँ आएको ब्राउजरमा मेरो सेयरको वेवसाइट लिंक टाइप गरि मेरो सेयर प्रयोग गर्न सकिने सिडिएसले जनाएको छ । कसरी खोल्ने प्राइभेट विन्डो ? प्राइभेट विन्डो मोजिला फायरफक्स वा अन्य कुनै ब्राउजरबाट खोल्न मिल्छ । पहिलो उक्त ब्राउजर खोल्ने र ब्राउजरको एड्रेस बारको सबैभन्दा दायाँ भागमा रहेको बटमा क्लिक गनुपर्छ । मोजिला फायरफक्सको हकमा तीन वटा तेश्रो धर्का भएकोमा क्लिक गर्ने । (अर्थात कन्ट्रोल प्लस सिफ्ट प्लस पी एकैपटक दाब्ने) । त्यसपछि आएको अप्सनमध्ये न्यू इन्कग्निटो विन्डोमा छनोट गर्ने । र, नयाँ आएको ब्राउजरमा मेरो सेयरको वेवसाइट लिंक टाइप गरि मेरो सेयर प्रयोग गर्न सकिने सिडिएसले जनाएको छ । सम्बन्धित समाचार मेरो सेयरमा थपियो दुई वटा अत्याधुनिक सर्भर, आईपीओ भर्न छुट्टै वेबसाइट होला ?