सिंगटी हाइड्रोको आईपीओ आज बाँडफाँड हुँदै, साढे २ लाख बढीले सेयर पाउने
काठमाडौं । सिंगटी हाइड्रोपावरले निष्काशन गरेको आईपीओको बाँडफाँड आज (चैत २७ गते) शुक्रबार हुने भएको छ । उक्त आईपीओ बाँडफाँड सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बिहान ११ हुने भएको हो । कम्पनीले गत चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरको २९ लाख कित्ता आईपीओ बिक्री गरेको थियो । जसममध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि बाँडफाँड गरी बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । चैत १० गतेसम्म निष्काशन भएको उक्त आईपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकले २ करोड ४७ लाख २० हजार ४५० कित्ता सेयर खरिदको लागि आवेदन दिएका थिए । जुन सर्वसाधारणमा बिक्री गरेको तुलनामा ९.१७ गुणा बढी हो । यससँगै कम्पनीले माग गरेको भन्दा बढी आवेदन परेकोले उक्त सेयर न्यूनतम १० कित्ताका दरले बाँडफाँड गरिने छ । जस अनुसार २ लाख ६९ हजार ७०० जनाले मात्रै कम्पनीको १० कित्ताको दरले सेयर पाउनेछन् । र, आवेदन दिएका बाँकी साढे १२ लाख बढी आवेदकको भने हात खाली हुने छ ।
महुली लघुवित्तको सञ्चालकमा ६ जना निर्वाचित
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा ६ जना नियुक्त भएका छन् । चैत २५ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले संस्थापक सेयरधनीको तर्फबाट ४ जना र साधारण सेयरधनीको तर्फबाट २ जना गरी कूल ६ जनालाई सञ्चालक समितिमा निर्वाचित गरेको हो । सभाले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी प्रभु नारायण चौधरी, कमल प्रसाद बस्याल, भानुभक्त निरौंला र रोशन कुमार मंडरलाई सञ्चालक समितिमा चयन गरेको हो । त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट शर्मिला राई र निमानन्द कडेल निर्विरोध निर्वाचित भएका छन् । संस्थाको ८औं वार्षिक साधारणसभा चैत २५ गते सप्तरीको रहेका संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।
‘बोर्डका पछिल्ला गृहकार्यले नै पुँजीबजारमा नयाँ नयाँ कीर्तिमान कायम भएको हो’
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बोर्डका पछिल्ला निर्णय र कार्यले पुँजीबजारमा नयाँनयाँ कीर्तिमान कायम हुँदै गएको दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको सहकार्यमा मर्चेन्ट बैंकर एशोसिएशन अफ नेपालले आयोजना गरेको आर्थिक पत्रकारको क्षमता अभिवृद्धि तालिममा उनले सो बताएका हुन् । साथै, उनले आम लगानीकर्ताले पनि सूचना लिँदा आधिकारिक स्रोतको प्रयोग गर्नुपर्नेमा जोड दिए । गलत सूचनाका कारण लाखौं लगानीकर्ता प्रभावित हुने भएकाले सम्बद्ध निकाय पनि सूचना प्रवाहमा सजग हुनुपर्ने उनले बताए । यस्तै, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आम लगानीकर्तालाई सूचनाको व्यवस्थापन गर्न सुझाव दिए । कार्यक्रममा एशोसिएसनका अध्यक्ष मेख बहादुर थापाले यस्ता तालीम देशव्यापी आयोजना गर्ने र त्यसका लागि नाफिजसँग सहकार्य गर्ने बताए । एशोसिएशनले समाचार सम्प्रेषण गर्ने पत्रकारको क्षमता अभिवृद्धि भएमात्र पुँजी बजारका बारेमा सही समाचार आम सर्वसाधारणमा जाने महसुस गरेर आर्थिक पत्रकारको क्षमता विकासका लागि तालिम आयोजना गरेको हो ।