माउन्टेन इनर्जीको आईपीओ बिक्री आजबाट खुल्यो, क-कसले भर्न पाउँछन् ?

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले यसअघि स्थगित गरेको आईपीओको बिक्री आज (भदौ ३१ गते) बाट खुला गरेको छ । संस्थाले उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको हो । संस्थाले यसअघि गत साउन ८ गतेबाट उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्कासनको तयारी गरेको थियो । तर उक्त समयमा देशका अधिकांश स्थानहरुमा बाढीपहिरोको भयावह अवस्था सिर्जना भएकोले प्रभावित क्षेत्रमा गएर सेवा प्रदान गर्न नसकिएकोले संस्थाले आईपीओ निष्कासन गर्ने प्रक्रियालाई तत्कालको लागि स्थगित गरेको थियो । संस्थालाई नेपाल धितोपत्र बोर्डले १०० रुपैयाँ अंकित दरका ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ जारी गर्न अनुमति दिएको थियो । त्यसमध्ये संस्थाले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १९ लाख ६८ हजार २७ कित्ता (जारी पुँजीको १० प्रतिशत) आईपीओ बिक्री गर्न लागेको हो । त्यस्तै, दोस्रो चरण सर्वसाधारणका लागि सोही बराबर अर्थात १९ लाख ६८ हजार २७ कित्ता आईपीओ निष्कासन गरिने कम्पनीले जनाएको संस्थाले जनाएको छ । भदौ ३१ गते(आज) बाट पहिलो चरणमा निष्कासन गरिने आईपीओमा प्रभावित क्षेत्रका स्थानीयले छिटोमा असोज १४ गतेभित्र खरिद आवेदन दिनसक्ने छन् । यदि सो समय भित्र माग अनुसारको आईपीओ बिक्री नभएमा इच्छुक आवेदकले आगामी असोज २९ गतेसम्मको लागि सेयर भर्न पाउने छन् । उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । स्थानीयका लागि खुलाइने आईपीओमा नुवाकोट र म्याग्दी जिल्लाका अतिप्रभावितहरुले १० कित्तादेखि २० हजार कित्तासम्म खरिद आवेदन दिन सक्ने छन् । नुवाकोट जिल्लामा अतिप्रभावित क्षेत्र पञ्चकन्या गाउपालिका वडा नं. ४ (साविकको थप्रेक गाविस) र तादी गाउपालिका वडा नं. २, ३ र ४ (साबिक रालुकोदेवी र सुन्दरादेवी गाविस) तथा उद्योग प्रभावित क्षेत्रमा तादी गाउपालिका, पञ्चकन्या गाउपालिका र लिखु गाउपालिका छन् । त्यस्तै म्याग्दीका अतिप्रभावित क्षेत्रमा अन्नपूर्ण गाउपालिका वडा नं. ४ (साविकको नारच्याङ गाविस) र उद्योग प्रभावित क्षेत्रमा अन्नपूर्ण गाउपालिका छन् । उक्त स्थानमा बसोवास गर्ने नेपाली नागरिकले सो सेयरमा आवेदन दिन पाउने छन् ।

यसकारण स्थगित भयो बिहीबारको सेयर कारोबार राफसाफ

काठमाडौं । गत बिहीबार (भदौ २५ गते)को सेयर कारोबारको राफसाफ स्थगित भएको छ । सीडीएस एण्ड क्लियरिङ (सीडीएससी)ले सोमबार एक सूचना जारी गर्दै उक्त कारोबारको राफसाफ तत्कालको लागि स्थगित भएको जनाएको हो । नेप्से कारोबार व्यवस्थापन प्रणाली(टीएमएस)मा समस्या आएकोले सोही दिनेको कारोबारको राफसाफ तथा फछर्यौट सेवा तत्कालको लागि स्थगत गरिएको सीडीएससीले जनाएको छ । गत बिहीबारको कारोबारको राफसाफ आज (भदौ २९ गते) हुनुपर्ने थियो । तर, कारोबारमा समस्या भएकोले सो दिनको सेटलमेन्ट पोष्टपोन गर्नुहुन्न भनेर नेप्सेबाट पत्रचार भएकोले सीडीएससीले कारोबारको राफसाफ तथा फछर्यौट सेवा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरेको हो ।

मोबाइलको व्यालेन्स बैंकको पैसा जसरी प्रयोग गर्न पाइने, टेलिकमले अघि बढायो प्रक्रिया

काठमाडौं । तपाईंको मोबाइलमा हजार रुपैयाँ व्यालेन्स छ । तर, खाजा खाने पैसा खाल्तीमा छैन भने मोबाइलको व्यालेन्सबाट तिर्न पाइने गरी खाजा खान पाए हुन्थ्यो भन्ने लाग्दैन ? अथवा तपाईंलाई पैसाको जरुरी छ । पैसा सापटी दिने वा सहयोग गर्ने मान्छे इन्टरनेटको पहुँचभन्दा बाहिर कुनै स्थानमा छ । उसले मोबाइलमा व्यालेन्स हालिदिन सक्छ । तर, मोबाइलको व्यालेन्स देखाएर तपाईंले न कतै खाजा खान सक्नु हुन्छ, न कतै सपिङ नै । मोबाइलमा भएको व्यालेन्स प्रयोग गरेर खाजा खान, सपिङ गर्न, सिनेमा हेर्न तथा अस्पताल तथा शिक्षण शुल्क तिर्न मिल्ने व्यवस्था भए कति सजिलो हुन्थ्यो भन्ने तपाईंलाई लागेको छ ? वा कसैले मोबाइलमा हालिदिएको व्यालेन्स बैंकमा राखेको पैसा जसरी प्रयोग गर्न पाए हुन्थ्यो भन्ने सोचिरहनु भएको त छैन ? यस्तै यस्तै चाहनामा हुनुहुन्छ भने तपाईंको लागि खुसीको खबर छ । नेपाल टेलिकमले मोबाइलमा भएको व्यालेन्सलाई बैंकमा जम्मा भएको रकम जसरी नै प्रयोग गर्न पाइने अर्थात क्यास बनाउन पनि पाइने व्यवस्था गर्न लागेको छ । यस्तै, मोबाइलको व्यालेन्सबाट विजुलीको विल, शिक्षण संस्थाको शुल्क तिर्न वा सिनेमा हेर्न पनि प्रयोग गर्न पाइने भएको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले दिएको जानकारी अनुसार अब यही आर्थिक वर्ष भित्रमै तपाईको हातमा कुनैपनि मोवाईल फोन छ भने तपाईले तुरुन्तै फिजिकल क्यास प्राप्त गर्न सक्नु हुन्छ । नेपाल टेलिकमले मोबाइल व्यालेन्सलाई फिजिकल क्यास बनाउन मिल्ने गरी नयाँ कम्पनी स्थापना गरेर काम गरिरहेको छ । यसका लागि टेलिकमले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर नयाँ कम्पनी स्थापना गरिसकेको छ । ‘हामीले अंग्रेजी नयाँ बर्षबाटै मोवाईलमा भएको व्यालेन्सलाई फिजिकल मनी बनाउन मिल्ने गरी काम गरिरहेका छौं, कोरोना महामारीका कारण केही ढिलाई भएको छ, नेपाली नयाँ वर्षबाट सो सोजना संचालनमा आउँछ,’ प्रबन्ध निर्देशक अधिकारीले विकासन्यूजसँग भने । मोवाईलमा रहेको व्यालेन्सलाई फिजिकल क्यासको रुपमा प्रयोेग गर्न सकिने चलन अन्तर्राष्ट्रिय रुपमा चलिआएकै कुरा हो । अहिले यस्तो छ, पछि के होला ? अहिलेसम्म मोवाईलबाट एयर टाइम मात्र ट्रान्सफर गर्न मिल्छ । त्यो भनेको ग्राहकले फिजिकल मनीबाट एयर टाइम किन्यो, अनि त्यसलाई लोड गरेपछि खपत गर्न सकिन्छ । एयर टाइममा डाटा, भ्वाईस, एसएमएसहरु किन्न सकिन्छ । यसरी ग्राहकले आफ्नो व्यक्तिगत प्रयोजनको लागि वा कसैलाई गिफ्ट गर्न मिल्ने व्यवस्था छ । टेलिकमले गर्न लागेको नयाँ व्यवस्था अनुसार कुनै पनि मोबाइलमा भएको व्यालेन्सलाई बैंकमा रहेको नगद सरह प्रयोग गर्न मिल्ने हो । बैंकमा रहेको रकम नगदको रुपमा झिक्न पाइन्छ, सपिङ गर्दा कार्डमार्फत तिर्न पाइन्छ वा अरुलाई दिन सकिन्छ । अब मोबाइलमा भएको व्यालेन्स पनि बैंकमा भएको व्यालेन्स जस्तै हुनेछ । डिजिटल फाइनान्स कम्पनी टेलिकमले यसका लागि डिजिटल फाईनान्स कम्पनी स्थापना गरेको छ । नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृति लिएको यो कम्पनीले नै मोबाइल व्यालेन्सलाई फिजिकल मनीको रुपमा प्रयोग गर्न गराउन मिल्ने प्रबन्ध मिलाउने छ । नयाँ कम्पनीले काम सुरु गरेपछि डिपोजिट गर्नेदेखि विभिन्न काममा पैसा प्रयोग गर्न सकिन्छ । त्यसका लागि टेलिकमले कुनै कोड नम्बर प्रदान गर्नेछ । टेलिकमले कम्पनी दर्ता गरिसकेको छ भने काम अघि बढाउनको लागि अन्र्तराष्ट्रियस्तरको टेन्डर समेत आह्वान गरिसकेको छ । असोजको पहिलो साता टेन्डर खालेर काम अघि बढाइने प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए ।