मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन, एनआईबीएल एसका डेपुटी सीईओ बने अध्यक्ष

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार सम्पन्न नेपाल मर्चेण्ट बैंकर्स संघको एघारौं साधारण सभाले अध्यक्षसहित ७ सदस्यीयको नयाँ कार्यसमिति चयन गरेको हो । सभाले संघको अध्यक्षमा एनआईबीएल एस क्यापिटलका डेपुटी सीईओ मेखबहादुर थापालाई निर्वाचित गरेको छ । त्यस्तै, उपाध्यक्षमा सनराइज क्यापिटलका सीईओ विजयलाल श्रेष्ठ, महासचिवमा ग्लोबल आइएमई क्यापिटलका सीईओ पारसमणी ढकाल र कोषाध्यक्षमा एनआईसी एसिया क्यापिटलका सीईओ रमेन्द्र रायमाझी चयन भएका छन् । त्यस्तै, सभाले दिपेश श्रेष्ठ, नारायणप्रसाद घिमिरे र रोशनी भारतीलाई सदस्य पदमा चयन गरेको छ ।

रिडी हाइड्रोको साधारणसभाले पारित गर्याे ५ प्रतिशत लाभांश

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १९औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर प्रस्ताव पारित गरेको छ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्नेलगायतका एजेन्डासमेत छलफल गरी पारित गरेको छ । कम्पनीले पारित गरेको लाभांश मंसिर १५ गतेसम्म कायम सेयरधनीले पाउने छन् । रिडी हाइड्रोपावर जलविद्युत तथा ऊर्जाका अन्य आयोजनाहरु विकास, निर्माण र संचालन गर्न उद्देश्यले नेपालीहरुको लगानी भएको कम्पनी हो । यस कम्पनीले गुल्मी तथा पाल्पा जिल्लाको सीमाना भई बहने रिडी खोलाको पानी उपयोग गरी २.४ मेगावाट क्षमताको रिडीखोला जलविद्युत आयोजना निर्माण गरि संचालन गरिरहेको छ । कम्पनीले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ८.५ मेगावाट क्षमताको बुटवल सौर्य विद्युत आयोजना निर्माण सम्पन्न गरि २०७७ कात्तिक १५ गतेदेखि व्यवसायित उत्पादन गरिरहेको छ । रैराङ हाइड्रोपावर डेभल्पमेण्ट कम्पनीले निर्माण गरेको इवाखोला जलविद्युत आयोजनामा समेत यस कम्पनीको २५ प्रतिशत  (१४ करोड) शेयर लगानी रहेको छ । आगामी आव वर्षहरुमा कम्पनीको बुटवल सोलार आयोजनाको विद्युत बिक्री आम्दानी तथा रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले प्रदान गर्ने लाभांश समेत प्राप्त गर्ने हुँदा कम्पनीको आयमा वृद्धि भई आफ्ना सेयरधनीहरुलाई दिने लाभांशमा पनि वृद्धि हुने कम्पनीको दावी छ । कम्पनीले रिडीखोलाको व्यावासायीक उत्पादन पश्चात् हरेक वर्ष सेयरधनीहरुलाई लाभांश प्रदान गर्दै आएको छ ।

महुली लघुवित्तको साधारण सेयर नेप्सेमा सूचीकृत, सेयर काराेबार फुकुवा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको ६ लाख ४२ हजार २ सय कित्ता साधारण सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । साविकको नव किरण लघुवित्त वित्तीय संस्थालाई मर्ज गरेपश्चात कम्पनीको सो मात्राको सेयर नेप्सेमा सूचीकृत भएको हो । साविकको नव किरण लघुवित्त र महुली लघुवित्त १००ः९५ को अनुपातमा एक आपसमा गाभिएका हुन् । साथै, सेयर सूचीकरण गरी मर्जर प्रयोजनका लागि रोक्का रहेको महुली लघुवित्तको सेयर कारोबार फुकुवा गरिएको नेप्सले जानकारी गराएको छ ।