प्रभु क्यापिटलले एक अर्बको फण्ड जारी गर्ने, लगानीकर्ताले ३ गुणासम्म प्रतिफल पाउने
काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु सेलेक्ट फण्डको प्राथमिक निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृत दिएको छ । बोर्डले बैशाख १३ गते प्रभु सेलेक्ट फण्डको निष्काशनका लागि स्वीकृति दिएको हो । प्रभु सेलेक्ट फण्ड प्रभु क्यापिटलले व्यवस्थापन गर्न लागेको पहिलो सामुहिक लगानी योजना हो । यो योजना १ अर्ब रकम बराबरको रहेको छ जसमा १० करोड युनिट रहनेछन् । कुल १० करोड युनिट मध्ये १ करोड ५ लाख युनिट प्रभु बैंक र प्रभु क्यापिटलले कोषको ट्रष्टि एवं व्यवस्थापकको रुपमा खरिद गर्नेछन् भने बाँकी ८ करोड ५ लाख युनिट सर्वसाधारण तथा संस्थागत लगानीकर्तालाई खरिद गर्न खुला गर्ने तयारी क्यापिटलले गरेको छ । प्रभु क्यापिटलले निष्काशन तथा व्यवस्थापन गर्ने यो योजनाको ट्रष्टिको रुपमा प्रभु बैंक रहेको छ । प्रभु क्यापिटलले प्रभु सेलेक्ट फण्ड नाममा व्यवस्थापन गर्न लागेको यो योजना अहिले सम्म सञ्चालनमा आएका सामुहिक लगानी योजना भन्दा पृथक रहने कम्पनीले जनाएको छ । यसले एक पटकमा बढिमा ३० वटासम्म कम्पनीहरुमा लगानी गरी आफ्नो छुट्टै बेन्चमार्क बनाउनेछ जसलाई नेप्से ३० बेन्चमार्कको रुपमा लिएर पनि लगाीकर्ताले यसमा लगानी गर्न सक्नेछन । ७ वर्षे अवधि रहेको यो सामुहिक लगानी योजना बन्दमुखी योजना हो । यसले सात वर्षको अवधिमा लगानीकर्तालाई करिब ३ गुणासम्म प्रतिफल प्रदान गर्ने लक्ष्य राखेको छ । आफुसँग रहेको बचतलाई लगानीमा परिणत गर्दै दीर्घकालमा उच्च प्रतिफल चाहने लगानीकर्ताले ढुक्कसँग यो सामुहिक लगानी योजनामा लगानी गर्न सक्ने क्यापिटलले जनाएको छ । प्रभु क्यापिटलले लगानी व्यवस्थापन तथा योजना व्यवस्थापनका लागि नेपाली पुँजी बजारमा उपलब्ध सबैखाले श्रोतहरुको उच्चतम प्रयोग गर्दै आएको छ । हालको अवस्थामा पनि क्यापिटलले विभिन्न श्रोतबाट जुटाएर गएको १ वर्षयता करिब २ अर्ब रुपैयाँ बराबरको लगानी व्यवस्थापन गर्दै आएको छ जसको औषत प्रतिफल निकै आकर्षक रहेको छ जुन नेप्सेको औषत प्रतिफलभन्दा उच्च रहेको छ । त्यसैले क्यापिटलले योजना व्यवस्थापकको रुपमा सञ्चालन गर्न लागेको यो पहिलो योजनामा लगानीकर्तालाई ढुक्क भई लगानी गर्न आग्रह गरेको छ ।
राष्ट्रिय सहकारी बैंकको नाफा ६९ प्रतिशतले बढ्यो, सदस्य सेवामा थप अब्बल बन्दै
काठमाडौ । सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासमा ६२ करोड ८५ लाख २१ हजार नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा करिब ६९ प्रतिशतले बढी हो । बैंकले गत आर्थिक वर्षको सोही अवधिको नाफा ३७ करोड १२ लाख ६८ हजार रहेको थियो । बैंकले बैशाख १४ गते प्रकाशित गरेको लेखा परिक्षण नभएको वित्तीय विवरण (अपरिष्कृत) अनुसार यस अविधमा बैंकको खुद ब्याज आम्दानी बढेर १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ७१ करोड ९७ लाख रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंकको सेयर पुँजी २ अर्ब ८६ करोड रुपैयाँसहित ५९ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी रहेको छ । त्यस्तै बैंकको जगेडा कोषमा ९१ करोड ३४ लाख रुपैयाँ रहेको छ । हाल देशका ७७ वटै जिल्लाका सबै प्रकृतिका सहकारी संघ÷संस्थाहरु गरी १३ हजार २ सय ८ वटा भन्दा बढी सदस्यहरु रहेका छन् । बैकको एक वटा केन्द्रीय कार्यालय सहित ७ वटै प्रदेशमा ६८ वटा शाखा कार्यालय मार्फत आफ्ना सदस्यहरुलाई सेवा दिई रहेको छ । सदस्य सहकारी संघ/संस्थालाई दिने सेवामा सँधै अब्बल रहेको बैंकले नाफामा पनि आक्रमक रुपमा वृद्धि गरेको बैंकका अध्यक्ष के.बी उप्रेतीले बताए । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा १५ प्रतिशतले लाभांश वितरण गरेको थियो भने बैंकमा कारोबार गर्ने सदस्य सहकारी संघ/संस्थाहरुलाई सहकारी ऐन २०७४ तथा सहकारी नियमावली २०७५ को प्रावधान अनुसार बचत र कर्जा कारोबार गरेकाे थियाे । साथै, १२ हजार ४६ वटा सदस्य सहकारी संघ/संस्थाहरुलाई संरक्षित पुँजी फिर्ता कोषबाट रकम समेत बाँडफाँड गरिसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाँईले जानकारी दिए ।
ब्रोकर्स एशोसिएसनको २१ बुँदे सुझावः क्लोज आउटमा कर हटाउनदेखि रियल स्टेटसंग सम्बन्धित कोष स्थापना गराउनसम्म
काठमाडौं । धितोपत्र दलाल व्यवसायीहरुको छाता संगठन स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालले आगामी आर्थिक वर्षको बजेटको लागि अर्थमन्त्रालय समक्ष २१ बुँदे सुझावहरु पेश गरेको छ । एशोसिएसनले समग्र बजार विकाससँग सम्बन्धित विभिन्न सुझावहरु अर्थमन्धालय समक्ष पेश गरेको हो । धितोपत्र दलाल व्यवसायीहरु पुँजीबजार भित्रको दोस्रो बजारमा सक्रिय रहेको हुँदा यस एशोसिएसनले विशेष गरी दोस्रो बजारसंग सम्बन्धित सुझाहरु पेश गरेको छ । साथै, समग्र वजारको विकास हुँदा करको दायर र राजश्व आम्दानी पनि वृद्धि हुने हुँदा विभिन्न व्यवस्था मिलाउन अर्थमन्त्रालयलाई सुझाएको छ । एशोसिएसनले दिएको २१ बुँदे सुझावमा खरिदकर्तालाई क्लोज आउटमा कर हटाउनदेखि रियल स्टेटसंग सम्बन्धित कोषहरू स्थापना गराउने व्यवस्था मिलाउने रहेकाे छ । यस्ता छन् २१ बुँदे सुझावहरु १. धितोपत्रको दोस्रो बजार बिस्तारका लागी धितोपत्र दलाल ब्यवसायीहरुले एजेन्ट, सब ब्रोकर वा आधिकारीक प्रतिनिधी मार्फत व्यवसाय बिस्तार गर्न पाउने गरी कानूनी व्यवस्था मिलाउने । २. दुर्गम क्षेत्रमा धितोपत्र दलाल ब्यावसायीको शाखा वा एजेन्सी वा सब ब्रोकर वा आधिकारिक प्रतिनिधि मार्फत बजार पहुँच वृद्धि गर्न वित्तीय वा करका माध्यमबाट प्रोसाहन गर्ने नीति तर्जुमा गर्ने । ३. लगानीकर्ताहरुलाई अल्पकालीन र दीर्घकालिन लगानीकर्तामा बर्गिकरण गरी दीर्घकालिन लगानीकतालाई प्रोत्साहन गर्न कर सहुलियत उपलब्ध गराउने । ४. संस्थागत लगानीकर्ताको सख्यामा वृद्धि गरी बजारलाई स्थायीत्व प्रदान गर्न करको माध्यमबाट संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्ने । ५. पुँजीगत लाभकर तथा लाभांशमा लाग्ने कर अनिवार्य रुपमा लगानीकर्ताको प्यान नम्बरबाट जम्मा हुने व्यवस्था मिलाउने । ६. पुँजीगत लाभकर गणनाको लागी निर्धारण गरिने भारित औषत लागतलाई स्वचालित रुपमा गणना हुने व्यवस्था मिलाउने । ७. मर्जर तथा प्राप्ती पुर्व धारण गरिएका धितोपत्रहरुको कर छुट हुने अवधि भित्र गरिएको निसर्गबाट सृजित लाभ तथा प्राप्त लाभांशलाई कर प्रणालिमा अभिलेखन हुने ब्यवस्था मिलाउने । ८. सार्वजनिक निष्काशनमा असम्बन्धित व्यक्तिहरुको नामबाट गरिने आवेदनलाई निरुत्साहित गर्ने । ९. बासिन्दा प्राकृतिक व्यक्तिको हकमा आयकर ऐन को दफा ९५(क) बमोजिम अग्रिम कर कट्टी हुँदै आएको पूँजीगत लाभकरलाई दफा ९२ बमोजिम कट्टी गरी अन्तिम कर हुने कानूनी सुनिश्चिता प्रदान गर्ने । १०. धितोपत्र दलाल व्यवसायीले १५ प्रतिशत अग्रिम कर बुझाउँदै आईरहेको हुँदा हाल संस्थागत करको दर ३० प्रतिशतबाट घटाई २५ प्रतिशत कायम गर्ने । ११. निश्चित मापदण्ड पुरा गरेका गैर वित्तीय क्षेत्रका कम्पनीहरुलाई दोस्रो बजारमा सूचिकरण गराउन प्रोसाहन तथा दण्ड जरिवानाको नीति अवलम्बन गर्ने । १२. पूर्वाधार तथा रियल स्टेटसंग सम्बन्धित सामुहिक लगानी कोषहरु(आआईटीएस र आरईआईटीएस) हरुको स्थापनाको लागि आवश्यक नीतिगत ब्यवस्था गर्ने तथा यस्ता कोषहरुलाई प्रोत्साहन गर्न निश्चित अवधिकालागी कर छुट लागायतका प्रोत्साहन उपलब्ध गराउने । यसबाट पूर्वाधार सम्बन्धी परियोजना निर्माणको लागी पुँजीको उपलब्धता बढ्ने साथै साना साना बचतकर्ताले पनि आरईआईटीएसको माध्यमबाट रियल स्टेट क्षेत्रको लाभ प्रत्यक्ष रियल स्टेटमा लगानी नगरीकनै प्राप्त गर्न सक्ने । यसले अनावश्यक जग्गाको खण्डिकरण रोक्ने, घर जग्गा कारोबार अझ ब्यवसायिक र ब्यवस्थित हुने, पुँजीबजार मार्फत घर जग्गाको कारोबार हुने हुँदा करको दायरा बढ्ने जस्ता लाभ प्राप्त हुने । १३. ठूलो मात्रामा नयाँ कम्पनीहरु दोस्रो बजारमा सूचिकृत हुने अवस्था आएमा खरिदकर्ताको अभाव हुन गई पुँजी परिचालनमा बाधा उत्पन्न हुन सक्ने हुँदा एनआरएनहरुको दोस्रा बजार प्रवेशलाई कानूनी तथा प्राविधिक रुपमा सहज बनाउने । साथै ठूलो मात्रामा लगानी भित्र्याउन विदेशी संस्थागत लगानीकर्तालाई दोस्रो बजारमा प्रबेश गराउने । १४. बिदेशमा रहेका नेपाली नागरिकहरुले भौतिक उपस्थिति बिनानै प्रविधिको प्रयोग मार्फत बैंक खाता खोल्न तथा पुँजी बजार प्रवेश गर्न सक्ने नीतिगत तथा कानूनी ब्यवस्था गर्ने । यसबाट बैंकिङ्ग प्रर्णाली मार्फत रेमिट्यान्सको प्रवाह बढ्ने । साथै रेमिट्यान्स पुँजी बजारमा भित्रने हुँदा अनावश्यक खर्च घट्न गई भुक्तानी तथा व्यापार सन्तुलन कायम गर्न सहयोग पुग्ने । १५. नेपाल स्टक एक्सचेञ्जमा बिदेशी रणनीतिक साझेदार भित्र्याई उच्च प्रविधि, मानव संसाधन तथा लगानी औजारहरुको हस्तान्तरण /विकास गरि दोस्रो बजारको विकास तथा विविधिकरणलाई गति प्रदान गर्ने । १६. सरकारी ऋणपत्रलाई अभौतिकीकरण गरी यसको दोस्रो बजार कारोबारलाई चलायमान बनाउने । ऋणपत्र बजारको बिकासका लागि अतिनै आवश्यक इन्ट्रेस्ट रेट इल्ड कर्भ निर्धारण गर्न सरकारी ऋणपत्रको भुक्तानी अवधि तथा निश्कासनलाई ब्यवस्थित गरी इन्ट्रेस्ट रेट इल्ड कर्भ प्रत्यक्ष सम्प्रेषण गर्ने व्यवस्था मिलाउने । १७. ऋणपत्र बजारको विकासको लागि ऋणपत्रबाट प्राप्त हुने ब्याज आम्दानीमा लाग्ने कर ब्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुमा फरक रहेको कारण दोस्रा बजार कारोबार तथा राफसाफमा कठिनाई उत्पन्न भएकोले सो मा एकरुपता कायम गर्ने । ऋणपत्र लगानीबाट हुने पुँजीगत लाभमा लाग्ने करमा एक निश्चित अवधिको लागी प्रोत्साहन उपलब्ध गराउने । १८. राफसाफमा निहित जोखिम ब्यवस्थापन गर्न आवश्यक ठूलो आकारको राफसाफ प्रत्याभूती कोषको स्थापनाको ब्यवस्था तथा सञ्चालन गर्न सरकारको तर्फबाट पनि वित्तीय सहायता उपलब्ध गराउने । १९. धितोपत्र हस्तान्तरण गर्न नसक्दा त्यस्तो कारोबारलाई सिधै क्लोज आउट मार्फत राफसाफ गर्ने हालको व्यवस्थाको सट्टा अक्सन मार्केटको सञ्चालन गरी खरीदकर्ताले खरिद गरेको धितोपत्र पाउने सुनिश्चिता गर्ने । २०. कुनै कारोबार क्लोज आउट मार्फत राफसाफ गर्दा खरिदकर्ताले प्राप्त गर्ने २० प्रतिशत अतिरिक्त रकमलाई आकस्मिक लाभ मानी २५ प्रतिशत कर कट्टी गर्ने ब्यवस्था हाल प्रचलनमा रहेको छ । त्यसरी प्राप्त हुने २० प्रतिशत रकम आकस्मिक लाभ नभई खरिद गरेको धितोपत्र प्राप्त नहुने हुँदा उपलब्ध गराईएको क्षतिपूर्ति रकम हो । तसर्थ त्यसमा कर लगाउन जरुरी नरहेको अथवा त्यस्तो करको दर पुँजीगत लाभकरको बराबर कायम गर्दा न्यायोचित हुने देखिएको । २१. पुँजीबजारसंग सम्बन्धित अध्यन, अनुसन्धान, तालिम, प्रशिक्षण, लगानीकर्ता सचेतना कार्यक्रम संचालन तथा प्रमाणीकरण गर्न एक आधिकारीक संस्थाको स्थापना गर्ने ।