एनएमबि लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको शुक्रबार मात्रै १२ प्रतिशत अर्थात ४ लाख ८६ हजार १८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै संस्थाको उक्त सेयर सेयरधनीको डिम्याट खातामा जम्मा हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउन्टर गण्डकी मेडिकल कलेजमा

काठमाडौं । प्रभु बैंकले कास्की जिल्लाको गण्डकी मेडिकल कलेजमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले असोज २१ गतेदेखि उक्त काउन्टर सञ्चालनमा ल्याएको हो । गण्डकी मेडिकल कलेजका प्राध्यापक प्रो. डा. रबिन्द्र श्रेष्ठले एक समारोहकाबीच प्रभु बैंक गण्डकी मेडिकल कलेज एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका हुन् । गण्डकी मेडिकल कलेजमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सम्पुर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ । उपचारको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्नपाउने छन् । यस एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् मेडिकल कलेजको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्फत हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ । साथै, समाजसेवी भावनाले सामाजिक क्रियाकलापलाई निरन्तरता दिएको यस बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीहरुको सेवामा समेत उल्लेख्य योगदान पुर्याउने प्रतिवद्धता गरेको छ । प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १९२ वटा एटीएम, ५३ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

ग्लोबल आईएमई लघुवित्तले स्पर्श लघुवित्तलाई प्राप्ति गर्ने, आजैदेखि बुक क्लाेज

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति(एक्विजिसन) गर्ने भएको छ । असोज २० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सो प्रयोजनको लागि दुई संस्थाबीच असोज २० गते सहमति पत्रमा हस्ताक्षर भएको हो । यससँगै स्पर्श लघुवित्तको असोज २१ गतेदेखि नै सेयर कारोबार रोक्का भएको छ । उक्त संस्था प्राप्ती पश्चात संस्थाको वित्तीय पक्ष र समग्र व्यवसाय राम्रो हुन गै व्यवसाय कारोबार वृद्धि गर्न सकिने, ग्राहकहरुलाई प्रदान गर्ने सेवा, सुविधा तथा सहुलियतमा समेत अभिवृद्धि गरी व्यापक पहुँचका साथ स्तरीय वित्तीय सेवा प्रदान गर्न थप पुँजीकोष वृद्धि भै संस्थालाई एक सबल र सशक्त संस्था बनाउन सकिने लघुवित्तको विश्लेषण रहेको छ । हाल ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी २५ करोड ९५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, कास्कीको विजयपुरमा केन्द्रिय कार्यालय रहेकाे स्पर्श लघुवित्तको चुक्ता पुँजी ९ करोड ३७ लाख रुपैयाँ रहेको छ ।