इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति(एक्विजिशन) गर्ने भएको छ । सो सम्बन्धी दुई संस्थाबीच माघ २६ गते समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी पत्रमा इन्फिनिटी लघुवित्तको तर्फबाट बलराम विष्ट र नेपाल एग्रो लघुवित्तको तर्फबाट विवेक श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । नवलपुरको गैनडाकोटमा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्तले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १८, विन्ध्यावासिनीमा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने लागेको हो । नेपाल एग्रोको जिल्ला कार्यक्षेत्र १० वटा रहेको छ ।
शिवम् सिमेन्ट्सको नाफा १६ प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थ २०३ रूपैयाँ बढी
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आवको पहिलो ६ महिनामा खुद नाफा १६.१३ प्रतिशतले बढाएको छ । कम्पनीले गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा चालु आवको सो अवधिमा सो मात्रा अर्थात ८ करोड १९ लाख रुपैयाँले नाफा बढाउन सफल भएको हो । कम्पनीले सार्वजनिक गरेको दोश्रो त्रैमासको अपरिष्किृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५८ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ५० करोड ७७ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा कम्पनीले ४ अर्ब २९ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । जसमध्ये बिक्री आम्दानी ४ अर्ब २५ करोड रुपैयाँ रहेको छ भने अन्य आम्दानी ३ करोड ४८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले कुल ४ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै, कम्पनीको कुल खर्च घटेर ३ अर्ब ५८ करोड रुपैयाँमा झरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २६.८० रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०३.८३ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तीको मूल्य २८६.४४ रुपैयाँ रहेको छ ।
ग्रीनलाइफ हाइड्रोको आईपीओ भोलिसम्म भर्न पाइने, हालसम्म कतिले भरे ?
काठमाडौं । हाल सेयर निष्काशन तथा बिक्री गरिरहेको ग्रीनलाइफ हाइड्रोपावरको प्राथमिक सेयर(आईपीओ)मा भोलि (माघ २७ गते) सम्म आवेदन दिन पाइने छ । कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा बढी आवेदन परेसँगै उक्त सेयरको निष्काशन बन्द छिटो मिति (अर्थात माघ २७ गते)मा हुन लागेको हो । कम्पनीले गत माघ २३ गतेदेखि सर्वसाधारणमा सेयर बिक्री खुला गरेको थियो । जसमा हालसम्ममा एक अर्ब ९८ करोड रुपैयाँ बढीको आवेदन परिसकेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार आज(सोमबार) साँझ ५ बजेसम्ममा १० लाख ९१ हजार २५१ जना आवेदकबाट एक करोड ९८ लाख ६१ हजार ७१० कित्ता सेयर माग गरिसकेका छन् । जुन कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा ६.१ गुणा बढी हो । कम्पनीले सर्वसाधारणमा ३२ लाख ५१ हजार ६५२ कित्ता माग गरेको थियो । कम्पनीले सर्वसाधारणमा ३४ लाख ९६ हजार ४०० कित्ता सेयरको निष्काशन तथा बिक्री खुल्ला गरेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानिय बासिन्दाका लागि जारी गरी बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता सेयर साधारण सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको छ । र, बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि इच्छुक सर्वसाधारणले आवेदन दिन सक्नेछन् । इच्छुक आवेदकले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । उनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरको वेबसाइट तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ । केयर रेटिङ्ग नेपालले कम्पनीको आईपीओलाई केयर एनपी बी प्लस (आइएस) रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको आधार जनाउँदछ । हाल कम्पनीको अधिकृत पुँजी २ अर्ब ५० करोड रुपैयाँ, जारी पुँजी १ अर्ब ८० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ। आयोजना प्रभावित क्षेत्रमा बासिन्दाका लागि निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ३ लाख ६० हजार रुपैयाँ पुगेको छ । र, सर्वसाधारण तथा कर्मचारीहरुको लागि छुट्ट्याइएको सबै सेयर निष्काशन भएपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपेयाँ नाघ्ने छ।