एनआरएन इन्फ्रास्टक्चरको खुद नाफा ६४ प्रतिशतले बढ्यो

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले चालु आवको पहिलो त्रैमासमा खुद नाफा ६४ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा २१ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको संस्थाले चालु आवको सोहि अवधिमा ३४ लाख ९४ हजार रुपैयाँ कमाएको हो । समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी र सञ्चालन मुनाफा बढेर क्रमशः ६७ लाख ९ हजार रुपैयाँ र ५७ लाख ९२ हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी बढेर १.२३ रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १.७ रुपैयाँ रहेको थियो । त्यस्तै, प्रतिसेयर नेटवर्थ घटेर १०२.९९ रुपैयाँमा झरेको छ ।

मिर्मिरे लघुवित्तको १२.६३ प्रतिशत लाभांश घाेषणा, चुक्ता पुँजी ४४ करोड नाघ्ने

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारण सभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ३९ करोड ६१ लाख रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पुँजी ४४ करोड ३६ लाख रुपैयाँ पुग्ने छ । संस्थाले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ४७.३६ प्रतिशत लाभांश (४५ प्रतिशत बोनस र २.३६ प्रतिशत नगद) वितरण गरेको थियो ।

धनतेरस लगानीकाे लागि शुभदिनः अनलाइनबाटै एनआइबिएल सहभागिता फण्डका इकाइ किन्न मिल्ने

काठमाडौं । एनआईबिएल म्युचुअल फण्डले यो वर्षको धनतेरसको पावन अवसरमा लगानीकर्तालाई नयाँ अवसर ल्याएको छ । फण्डले धनतेरसको अवसरमा ईच्छुक लगानीकर्ताहरुलाई अवसर स्वरुप एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) मा लगानी गरी पुँजीबजारमा लगानीको शुरु गर्न सक्ने व्यवस्था मिलाएको छ । योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले यही शुक्रबार अर्थात कार्तिक २८ गते धनतेरसको दिन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म ईकाईहरु अनलाईन मार्फत खरिद गर्न मिल्ने व्यवस्था मिलाएको छ । फण्डले हालै अनलाईन प्रणालीबाट इकाई खरिद गर्न मिल्ने व्यवस्था मिलाएको हो । यससँगै इच्छुक लगानीकर्ताले लगानीको लागि शुभदिन मानिने धनतेरसमा एनआइबिएल सहभागिता फण्डका इकाईहरु खरिद गरी लगानीको शुरु गर्न सक्नेछन् । धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल ईन्भेष्टमेण्ट बैंक कोष प्रबद्र्धक र एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) संचालनमा आएको एक वर्ष पूरा भइसकेको छ ।