साधारण सभामा जान यूनिलिभर नेपालले २० दिन बुक क्लोज गर्ने
काठमाडौं । यूनिलिभर नेपालले आगामी कार्तिक २७ गतेदेखि मंसिर १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । कम्पनीले साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिन अर्थात २० दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो । कम्पनीको २७औं वार्षिक साधारण सभा यही मंसिर १६ गते अपरान्ह पाैने ४ अर्थात ३ः४५ बजे अनलाइन माध्यमबाट बस्ने भएको छ । सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई प्रतिसेयर १०० रुपैयाँको दरले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश प्रस्तावलाई सभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् । कम्पनीकाे आगामी कात्तिक २७ गतेदेखि बुक क्लोज हुने भएकोले कात्तिक २६ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश पाउने छन् । सम्बन्धित समाचारः ४५ दिनभित्र वितरण गर्ने गरी यूनिलिभर नेपालले घोषणा गर्यो लाभांश
काठमाडौं महानगरपालिकाका सहकारीलाई पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न आग्रह
काठमाडाैं । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका सबै सहकारीलाई आगामी पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न आग्रह गरेको छ । कामपा सहकारी विभागले उक्त मितिसम्ममा साधारणसभा सम्पन्न गरी त्यसको १५ दिनभित्र प्रतिवेदन ल्याउन आग्रह गरेको हो । कोरोना भाइरसका कारण धेरै सहकारीले साधारणसभा गर्न बाँकी रहेको अवस्थामा सहकारीहरुलाई स्वास्थ्य मापदण्ड पालना गर्दै साधारणसभा सम्पन्न गर्न यस किसिमको आग्रह गरिएको विभागका उपनिर्देशक सुमन अधिकारीको भनाइ छ । सहकारीहरुले साधारणसभा (कार्यव्यवस्था निर्देशिका, २०७६) बमोजिम गणपूरक सङ्ख्या पु¥याएरमात्र साधारणसभा गर्नुपर्नेछ । हाल कामपामा सञ्चालनमा रहेको एक हजार ८५६ सहकारी घटाएर ७०० बनाउने कामपाको लक्ष्य रहेको छ । यसरी सहकारीलाई एकीकरण गर्नका लागि पनि साधारणसभा आवश्यक पर्छ । सहकारी ऐन, २०७४ र कामपाको सहकारी ऐन, २०७४ अनुरुप कानूनीरूपमा नै एकीकृत गर्न सकिने व्यवस्था छ । सहकारीलाई एक बनाउन दुई सहकारी एकअर्कामा एकीकृत हुन तयार रहनुपर्छ । एकीकृत हुन चाहने दुईवटै सहकारीले कामपाको सहकारी विभागमा निवेदन दिनुपर्छ । त्यसपछि कामपाले थप प्रक्रिया अघि बढाउने छ । सहकारी गाभ्न कामपाको चाहनाले मात्र नहुने हुँदा सञ्चालकले इच्छा राख्नुपर्दछ । समान प्रकृतिका सहकारी एकापसमा गाभ्न सकिने छ । कामपामा सबैभन्दा बढी बचत तथा ऋण सहकारी एक हजार ६४४, बहुद्देश्यीय १५६ र विषयगतअन्तर्गत उपभोक्ता, दुग्ध, कृषि, शिक्षा, सञ्चारलगायत सहकारी छन् । संवैधानिक व्यवस्थाअनुसार १ साउन ०७५ सालदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेज भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन गर्नुपर्ने व्यवस्था रहेको छ ।
फर्स्ट माइक्रोफाइनान्सको मंसिर ५ गते बुक क्लोज, साधारण सभामा जाँदै
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको आगामी मंसिर ५ गते बुक क्लोज हुने भएको छ । साधारण सभामा जाने प्रयोजनको लागि संस्थाको उक्त एक दिन मात्र बुक क्लोज हुने भएको हो । संस्था आगामी मंसिर १८ गते ११औं वार्षिक साधारणसभामा जाँदै छ । उक्त सभा सो दिन बिहान ११ बजे काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्केटमा बस्दै छ । सभाले सेयरधनीलाई गत आर्थिक वर्षको लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस र ४.१८४२ प्रतिशत नगद गरी सो १३.६८७२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल लघुवित्तको चुक्ता पुँजी ८० करोड ७ लाख ४० हजार ७ सय ४६ रुपैयाँ रहेको छ । ९.५० प्रतिशत बोनस वितरण पश्चात संस्थाको चुक्ता पुँजी ८७ करोड ६८ लाख रुपैयाँ नाघ्ने छ । त्यस्तै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकहरु निर्वाचन गर्ने र मर्ज तथा एक्विजिशनको लागि अख्तियारी प्रदान गर्ने भएको छ । सम्बन्धित समाचारः फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले १३.६८ प्रतिशत लाभांश दिने