धितोपत्र व्यवसायीकाे जाेखिम कम गर्न बोर्डले असोज १५ गतदेखि आरबीएस म्यानुअल लागू गर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले असोज १५ गतदेखि ‘रिक्स बेसड सुपरभिजन (आरबीएस) म्यानुअल’ लागू गर्ने भएको छ । बजारमा सम्पत्ति शुद्धीकरणको जाखिमहरुलाई नियन्त्रण तथा कम गर्न बोर्डले उक्त व्यवस्था लागू गर्न लागेकाे हाे । बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले विकासन्युजसँग कुरा गर्दै सो कुरा बताएका हुन् । ‘बोर्डले धिताेपत्र व्यवसायीहरूको सम्पत्ति शुद्धीकरण सम्बन्धी विवरणहरुको जोखिम आधारित पर्यवेक्षण गर्नुपर्छ । त्यसको म्यानुअल अहिलेसम्म थिएन । जुन असोज १५ गते लागू गर्न लागेका छौं ।’, उनले भने । सम्पत्ति शुद्धीकरणको आधारमा सुपरिवेक्षण गरिने यसमा जुन संस्थाको जोखिम धेरै छ त्यसमा पटक पटक गएर जोखिमहरु पहिचान गर्ने, यो एउटा अन्तर्राष्ट्रिय अभ्यास हो । कुनै कम्पनीले ठूलो कारोबार गर्छ, संस्थामा केही तल माथि पर्यो भने बजारलाई नै असर पर्छ भने त्यसलाई उच्च जोखिममा राखेर पटक पटक हेरिरहनु पर्ने बोर्डले जनाएको छ । यस अन्तर्गत बोर्डले विभिन्न मापदण्डहरुको आधारमा लाइसेन्स दिएका धितोपत्र व्यवसायीहरु कुन कस्तो जोखिममा छन् भनेर गणना गर्छ । यसमा बोर्डले मोड्युल बनाएको छ । जसअनुसार उनीहरुको तथ्याङ्कहरु लिएर जोखिम निकाल्छ । त्यसको आधारमा बोर्डले उक्त कम्पनीहरुको सुपरिवेक्षण गर्छ, जुन उच्च जोखिममा रहेका छन् । ब्रोकर, मर्चेन्ट बैंक तथा बोर्डबाट अनुमति लिएका धितोपत्र व्यवसायीहरुले निर्देशनहरु बनाएका छन् वा छैनन्, आफ्नो आन्तरिक निर्देशनहरु पालना गरेका छन् वा छैनन् । यी सबैको आधारमा बोर्डले त्यो कम्पनी कुन जोखिम स्तरमा छ, भोलि बजारमा तल माथि भयो भने के हुन्छ भन्ने हिसावमा हेर्छ । र, यसकै आधारमा बोर्डले सुपरिवेक्षण गर्ने बाेर्डले जनाएकाे छ । रिक्स बेसड सुपरभिजन भयो भने बजारमा सम्पत्ति शुद्धिकरणको जाखिमहरुलाई नियन्त्रण तथा कम गर्न सहयोग गर्ने बोर्डकाे भनाइ छ । [pdf id=240130]
बैंक तथा वित्तीय संस्थालाई गभर्नरले भनेः यतिबेला नाफामुखी नभई व्यवसाय टिकाउनेतर्फ केन्द्रित हुनुहाेस्
काठमाडाैं । गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थालाई यतिबेला नाफामुखी नभइ व्यवसाय टिकाउनेतर्फ केन्द्रित हुन आग्रह गरेका छन् । बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्षहरुको सहभागितामा गरेकाे वेबिनार कार्यक्रममा गभर्नर अधिकारीले उक्त आग्रह गरेका हुन् । नेपाल राष्ट्र बैंकले असोज १३ गते बैंकबाट जारी एकीकृत निर्देशन, २०७७ मा उल्लेखित नीतिगत व्यवस्था र वित्तीय तथा बैंकिङ्ग क्षेत्रको समसामयिक विषयमा बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्षहरुसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरेकाे थियाे । सो अवसरमा गभर्नर अधिकारीले कोभिड-१९ बाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने गरी बैंकले मौद्रिक नीति जारी गरेको उल्लेख गर्दै उक्त नीतिको कार्यान्वयनमा सहयोग पुर्याउन बैंक तथा वित्तीय संस्थाका सञ्चाल समितिका अध्यक्षहरुसँग आग्रह गरे । साथै, कोभिडको असरसँगै निम्तिएको असहज परिस्थितिमा अर्थतन्त्र र वित्तीय प्रणालीको सम्बद्र्धनमा टेवा पुग्नेगरी वित्तीय सेवा प्रदान गर्न समेत उनले आग्रह गरेका छन् । वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको अवस्थामा अनुत्पादक क्षेत्रतर्फ कर्जा प्रवाह हुनसक्ने उल्लेख गर्दै गभर्नर अधिकारीले त्यसप्रति सजग रहन बैंकका सञ्चालक समितिका अध्यक्षहरुसँग आग्रह गरे । राष्ट्र बैंकले मर्जर/प्राप्तिमा नीतिगत सहुलियत दिएको उल्लेख गर्दै गभर्नर अधिकारीले मर्जर/प्राप्तिको सम्बन्धमा आपसमा निर्णय गरेर निष्कर्षमा पुग्न बैंकका सञ्चालक समितिका अध्यक्षहरुसँग आग्रह गरे । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने वित्तीय सेवामा सूचना प्रविधिको अधिकतम उपयोग गर्नुपर्ने आवश्यकतामा उनले जोड दिए । उनले भने, “अब ई-कमर्शलाई प्रवद्र्धन गर्ने किसिमका वित्तीय सेवातर्फ बैंकहरु केन्द्रित हुनुपर्छ ।” सो अवसरमा बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यान, नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारी, हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम, मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह, लुम्बिनी विकास बैंकका अध्यक्ष दशरथ रिजाल, महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय, नेपाल फाइनान्सका अध्यक्ष हिरेन्द्रमान प्रधान, रिलायन्स फाइनान्सका अध्यक्ष कुशकुमार मालीलगायतले समसामयिक बैंकिङ्ग तथा वित्तीय क्षेत्रका सन्दर्भमा आ-आफ्नो धारणा राखेका थिए । वेबिनारमा डेपुटी गभर्नर शिबराज श्रेष्ठको समेत सहभागिता रहेको थियो ।
नेपाल ल्युब आयलको नगद लाभांश घोषणा, पुँजी बढाएर ५ करोड पुर्याउने
काठमाडौं । नेपाल ल्युब आयलले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । असोज १३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई सो मात्राको नगद लाभांश दिने घोषणा गरेको हो । बैठकले आगामी कात्तिक ५ गते बुधबार बिहान साढे ११ बजे २९औं वार्षिक साधारण सभा आव्हान गरेको छ । सो प्रयोजनको लागि कम्पनीको असोज २२ गतेदेखि कात्तिक ५ गतेसम्म बुक क्लोज हुने भएको छ । सभामा कम्पनीले हाल ३ करोड रुपैयाँ रहेको जाँरी पुँजी बढाएर ५ करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव गरेको छ । उक्त सभा कात्तिक ५ गते संस्थाको कार्यालय ललितपुरको झम्सिखेलबाट भर्च्युअल माध्यम जुम एपबाट सञ्चालन हुने कम्पनीले जानकारी गराएको छ ।