अक्सिजन लगायत अत्यावश्यकीय सामाग्रीको सहज आपूर्ति गर्न निजी क्षेत्रको आग्रह, मौज्दात रहेका सिलिण्डर बुझाउन आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले सम्पूर्ण उद्योगहरुलाई आफूसंग मौज्दात रहेको सिलिन्डर यथासिघ्र सम्बन्धित ग्यास उत्पादक वा नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब्ध गराउन अपील गरेका छन् । तीनै संस्थाले संयुक्त पहलमा कोभिड-१९ को उपचारमा महत्वपूर्ण तर हाल पर्याप्त मात्रामा उपलब्ध हुन नसकिरहेको अक्सिजन प्रयोग गरिरहेका सम्पूर्ण उद्योगहरुलाई उक्त अपिल गरेका हुन् । ‘मुलुक कहिलै भोग्नु नपरेको महामारी र त्यसबाट सिर्जित स्वास्थ्य जटिलतासंगै सामाजिक एवं आर्थिक समस्यासंग जुधिरहेको छ । कोभिड १९ को दोस्रो लहरसंगै संक्रमित र यसबाट मृत्यु हुनेको संख्या हरेक दिन नयाँ रेकर्ड राख्दै बढिरहेका छनअस्पतालहरु भरिदै गएका छन् भने विशेषगरि संक्रमितको जीवन रक्षाका लागि आवश्यक अक्सिजन सिलिन्डरको चरम अभाव देखिएको छ ।’ सम्पूर्ण ग्यास उत्पादक कम्पनीहरुलाई स्वास्थ्य उपचार प्रयोजनका लागि मात्र अक्सिजन सिलिन्डर उपलब्ध गराउन पनि अपील गरेकाे छ । यस परिस्थितिमा उपभोक्ताहरुलाई पनि आफ्नाे जस्तै अरुको स्वास्थ्यको पनि ख्याल राख्दै आवश्यकताभन्दा बढी सिलिन्डिर सञ्चिति नगरि दिन हुन आग्रह गरेकाे हाे । यसैगरि अन्य व्यवसायीहरुसंग यदी सिलिन्डर छन् भने त्यसलाई पनि स्वास्थ्य उपचारका लागि प्रयोग गर्ने गरि सम्बन्धित निकायमा उपलब्ध गराइदिन अनुरोध गरेकाे छ । यसैगरि अत्यावश्यकीय खाद्य सामाग्रीको संचिति र त्यसमा मुल्यवृद्धि भइरहेको भन्ने सर्वसाधारणको गुनासोप्रति पनि तीनवटै संस्थाकाे ध्यानाकर्षण भएको छ । माहामारीको बिषम परिस्थितिमा कुनै पनि प्रकारको संचिति र मुल्य वृद्धि नगर्न हामी निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरु सम्वद्ध सबै व्यवसायीहरुमा अपील गरि अहिलेको अवस्थामा ठूला उद्योगी एवं वितरकहरुले पनि समग्र वितरण प्रणालीमा अनावश्यक मुल्यवृद्धि हुन नदिन आवश्यक अनुगमन गर्न पनि आव्हान गरेकाे छ । साथै, आम उपभोक्ता वर्गमा सामानको मौज्दात रहेको जानकारी गराउँदै अनावश्यक संचिति नगरिदिन आग्रह गरेकाे छ । यसैगरि केहि निजी अस्पतालहरुले बिषम परिस्थितिमा चर्को शुल्क लिइ उपचार गरिरहेको भन्ने समाचार तर्फपनि हाम्रो ध्यानाकर्षण गरेका छन् । बिरामीहरुको जीवनरक्षा मुख्य उद्देश्य राखेर खुलेका अस्पतालहरु मुलुक संकटमा रहेको र स्वास्थ्य सेवा जटिल बन्दै गएको यस समयमा अनावश्यक नाफा आर्जन गर्ने तर्फ लाग्नु नहुने संस्थाले जनाएकाे छ । निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरु जिम्मेवार व्यवसायमा विश्वास गर्दै बजारमा हुने कुनै पनि प्रकारको अनैतिक गतिविधिको निन्दा भत्र्सना र विरोध गर्दै तीनवटै संस्थाले चरम संकटका बेला जिम्मेवार व्यवसाय प्रवद्र्धन गर्न एवं गैर प्रतिष्पर्धात्मक र अनैतिक व्यवसायमा संलग्नमाथि कारवाही गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्श सरकारको साथमा रहेको जानकारी गराएका छन् ।

ग्रील तथा स्टील उद्योगीले अक्सिजन खपत कम गरेर अस्पताललाई सहयोग गर्ने

 फाइल फोटो काठमाडौं । ग्रील तथा स्टील उद्योगीले उद्योगमा भएका अक्सिजन ग्यास सिलिण्डर अस्पताललाई दिने भएका छन् । अस्पतालमा अक्सिजन सिलिण्डर अभावहुँदा धेरै विरामीले ज्यान गुमाउने क्रम बढ्दै गएको भन्दै व्यवसायीले ग्यास सिलिण्डर अस्पताललाई दिने निर्णय गरेका हुन् । बुधबार ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालको अध्यक्षतामा बसेको भर्चुअल माध्यमको बैठकबाट सबै उद्योगले ग्यास खपतलाई कटौली गर्दै अस्पताललाई सहयोग गर्ने निर्णय गरेको जनाईएको छ । उद्योगमा प्रयोग भइरहेको अक्सिजनको खपतलाई केही समयको लागि रोकेर अक्सिजन आपूर्र्ति कर्ता संस्थान मार्फत अस्पताललाई ग्यास सिलिण्डर दिने निर्णय भएको अध्यक्ष कटुवालले जानकारी दिए । उनका अनुसार बुधबारको निर्णय अनुसार बिहीबारदेखि नै ग्यास सिलिण्डर संकलनको काम सुरु भएको छ । ग्रील तथा स्टील उद्योगले कोरोना संक्रमणबाट बच्न प्रयोग गरिने सुरक्षाको विधिहरुमध्ये हातमा सेनिटाइजनर गर्ने हेन्ड फ्री सेनिटाइजर स्टाण्ड, साबुन पानीले हात धुन हेन्ड फ्री पेडल हेन्ड्वास स्टेशन समेत निर्माण गरेका छन् । कोरोना संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले विभिन्न जिल्लामा लागु गरेको निषेधाज्ञा लम्बिदै जादा उद्योगी व्यवसायीलाई समस्या हुनेभन्दै राहतका कार्यक्रमहरु घोषणा गर्न समेत उद्योगीले सरकारलाई आग्रह गरेका छन् । हाल देशभर ११ हजार भन्दा बढी ग्रील तथा स्टील उध्योगमा १ लाख ६० हजार श्रमिक कार्यरत रहेका छन् भने १५ लाख भन्दाबढी मानिस आश्रीत रहेको महासंघले जनाएको छ ।  

दाङको अक्सिजन उद्योग पुनः सञ्चालन गरिने, दैनिक २ सय सिलिण्डर भर्नसक्ने

फाइल फाेटाे देउखुरी । विद्युत् अभावमा बन्द दाङको अक्सिजन उद्योग विद्युत् जडान गरेर सञ्चालनमा ल्याइने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ३ झिङ्नीस्थित अक्सिजन उद्योगमा चौबीसै घण्टा विद्युत् आपूर्तिका लागि तत्कालै छुट्टै लाइन जोडिने भएको छ । कोरोना सङ्क्रमित बढ्दै जाँदा अक्सिजनको माग बढेपछि उद्योगमा विद्युत् जोडिने भएको हो । उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीका समन्वयमा प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल, प्रहरी प्रमुख गणेश चन्द, राष्ट्रिय अनुसन्धानका निर्देशक अर्जुन भण्डारी, नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रका प्रमुख अमितकुमार कर्ण र अक्सिजन उद्योगका सञ्चालक टोपाराम पौडेलसहितको मंगलबार बसेको बैठकले दाङ अक्सिजन प्रालिमा तत्काल विद्युत् जोड्ने निर्णय गरेको छ । छ वर्ष पहिले अक्सिजन उद्योग स्थापना भए पनि विद्युत् भरपर्दो नहुँदा उत्पादन बन्द भएको थियो । जटिलावस्थामा रहेका कोरोना संङ्क्रमितलाई वायुप्राण अर्थात् अक्सिजनको अत्यधिक माग रहेका समयमा सरोकार निकायले यस्तो निर्णय गरेको हो । विसं २०७३ मा खुलेको दाङ अक्सिजन उद्योग प्रालिसँग दैनिक दुई सय सिलिण्डर अक्सिजन भर्न सक्ने क्षमता रहेको उद्योगका व्यवस्थापक भरत पौडेलले बताए । विद्युत् नियमित भए अहिले पनि दैनिक १५० सिलिण्डर भर्न सक्ने उनको भनाइ थियो । विद्युत् नियमित र भरपर्दो बनाउन सके यो संकटको सामना सहजै गर्न र बिरामीको ज्यान बचाउन सकिने पौडेलले बताए । उद्योगका लागि छुट्टै फिडरको व्यवस्था भए चौबीसै घण्टा अक्सिजन उत्पादन गर्न सकिने उनको भनाइ थियो । कोरोना संक्रमितका लागि जिल्लामा दैनिक एक हजार सिलिण्डर अक्सिजन आवश्यक पर्ने भए पनि अहिले दैनिक चार सय अक्सिजन सिलिण्डर अपुग हुने गरेको छ । पालिकाले बनाएका आइसोलेशन सेन्टर र अस्पतालमा अक्सिजन सिलिण्डरको अभाव छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा पछिल्लो चार दिनदेखि अक्सिजनको अभाव छ । त्यहाँ नेपालगञ्जबाट अक्सिजन ल्याउनुपर्ने बाध्यता छ । रासस