निम्न आए भएका लागि एफएनसीसीआईले संचालनमा ल्यायाे आइशोलेसन सेन्टर
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड संक्रमितहरूका लागि बिहिबारबाट आइशोलेसन सेन्टर संचालनमा ल्याउने भएको छ । भगवान महावीर जैन–निकेतन ज्ञानेश्वर र आरम्भ फाउण्डेशनको सहयोगमा महासंघले कमलपाेखरीस्थित जैन ज्ञान निकेतनमा ड्राई (अक्सिजन र आपतकालिन उपचार विनाको) आइशोलेसन सेन्टर संचालनमा ल्याउने भएको हाे । आइशोलेसन सेन्टरमा प्रारम्भमा जम्मा २६ बेड रहने छन् र आवश्यकताका आधारमा थप बेडहरूको व्यवस्थापन गर्दै जाने महासंघले जनाएकाे छ । महासंघकाे अनुसार कोरोना संक्रमणका कारण आइशोलेसनमा बस्न समस्या परेका निम्न आय भएकाहरूलाई लक्षित गरी उक्त सेन्टर संचालनमा ल्याउन लागिएको हो । निम्न आय भएका, कुनै लक्षण नदेखिएका संक्रमितहरू कामका लागि बाहिर जाने र त्यसबाट संक्रमण समेत फैलन सक्ने उच्च खतरा रहेकाले त्यस्ता संक्रमितहरूलाई उचित वातावरणमा एकै ठाउँमा राखी संक्रमण नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्य आफुहरुकाे रहेकाे महासंघका अध्यक्ष शेखर गाेल्छाले बताए । आइशोलेसनका लागि स्थान भगवान महावीर जैन–निकेतनले उपलब्ध गराएको हाे भने आरम्भ फाउण्डेशनले आइशोलेसनको दैनिक व्यवस्थापन र संचालन गर्ने जिम्मेवारी सहित दुई जना स्वास्थ्यकर्मी र एक जना चिकित्सको व्यवस्था गरी आइशोलेसनमा रहेका संक्रमितहरूको २४ सै घण्टा स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श सहित औषधि उपचारको प्रवन्ध गर्नेछ । महासंघकाे अनुसार आइशोलेसनमा रहने संक्रमितहरूका लागि बिहान बेलुकाको खाना र दिउँसोको खाजाको र केन्द्रमा अक्सिजनबाहेक कोरोना संक्रमितहरूका लागि दिइने खाने औषधिहरु उपलब्ध गराइने छ । आइशोलेसनमा रहँदा कुनै संक्रमितहरूमा स्वास्थ्य जटिलता आई अस्पताल जानुपर्ने अवस्था आइपरेमा बिरामीलाई अस्पतालसम्म जाने कार्यको समन्वय महासंघले गरिदिने छ भने तत्पश्चातको सम्पूर्ण व्यवस्थापन विरामी आफैले गर्नुपर्नेछ ।
उद्योग परिसंघले स्वास्थ्य मन्त्रालयलाई दियो २ करोड रूपैयाँ बराबरको स्वास्थ्य सामाग्री
काठमाडाैं । नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २ करोड रूपैयाँ बराबरकाे स्वास्थ्य सामाग्रीहरू सहयाेग गरेकाे छ । परिसंघले आज(बैशाख २८ गते) मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रि हृदयेश त्रिपाठीलालाई साे रकमबराबरकाे ८ लिटर क्षमताका २०० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेकाे हाे । परिसंघले आफ्नो सदस्य संस्था होङ्शी-शीभम सिमेन्ट मार्फत उक्त सहयाेग गरेकाे हाे । उक्त सामाग्रीहरु बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रि हृदयेश त्रिपाठीले माहामारी तथा अक्सिजनको अभावको यस घडीमा उपलब्ध सामाग्रिहरुले अक्सिजन शिलिन्डरको विकल्पका रुपमा राहत हुने बताएका छन् । त्यस्तै सामाग्रीहरु हस्तान्तरण गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले राष्ट्रको संकटका वखतमा नेपालको निजी क्षेत्र सरकारसंगै रहेको बताए । राष्ट्रको संकटका वेला अत्यावश्यक सामाग्रि उपलब्ध गराई सहयोग पुर्याएकोमा परिसंघले होङ्शी-शीभम सिमेन्टलाई धन्यवाद दिएको छ । कोभिड-१९ को दोश्रो लहरसंगै देशका अधिकांश स्थानहरुमा निशेधाज्ञा जारी भएको अवस्था छ । दिन प्रतिदिन बिरामीहरुको चाप बढ्दै गईरहेको छ । अस्पतालहरुमा बेडको चरम अभाव देखा पर्दै गएको छ । त्यस्तै कोभिडका बिरामीहरुलाई अत्यावश्यक मानिएको अक्सिजन तथा अक्सिजन शिलिन्डरको समेत अभाव भई रहेको अवस्था छ । यस्तो आपतकालीन परिस्थितिसंग जुध्न परिसंघले यस अघि नै उद्योगहरुमा रहेको अक्सिजन शिलिन्डरहरु नेपाल सरकारलाई उपलब्ध गराउन सबैलाई आह्वान समेत गरिसकेको छ ।
संकटमा सेवाः उद्योगी व्यवसायीले गर्न थाले करोडौंको सहयोग, कसले कति गरे ?
काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)जोखिम कम गर्नको लागि उद्योगी व्यवसायीले सहयोगको हात फैलाएका छन् । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिन थालेपछि विभिन्न उद्योगी व्यवसायीहरुले व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग गर्न थालेका हुन् । कोरोना भाइरसकै कारण स्वास्थ्य सामग्रीको अभाव, अक्सिजनको अभाव लगायतका समस्या देखिन थालेपछि उनीहरुले सहयोगको हात अगाडि सारेका हुन् । धेरैले उद्योगी व्यवसयीहरुले सहयोगको घोषणा गरेकका छन् भने कयौंले सम्बन्धित संस्थामा गएर सहयोग गरिसकेका छन् । केही दिन यता देशका विभिन्न उद्योगी व्यवसायीहरुले विभिन्न स्वास्थ्य संस्थाहरुलाई सहयोग गरेको जानकारी आइरहेको छ । उसो त गत वर्ष पनि विभिन्न संघ संस्थाले सरकारलाई कोरोना भाइरसको रोकथम भन्दै सहयोग गरेका थिए । यस वर्ष भने उद्योगी व्यवसायीहरुले स्वास्थ्य संस्थालाई सहयोग गरिरहेका छन् । कसले कति सहयोग गरे ? शाहले गरे १ करोड ३५ लाख सहयोग जावलाखेल ग्रुप अफ इन्ड्रस्टीजका संस्थापक अध्यक्ष विजय कुमार शाहले धुलिखेल अस्पताललाई १ करोड ३५ लाख रुपैयाँ सहयोग गरेका छन् । आर्थिक वर्ष २०७५/७६ मा राज्यलाई सबैभन्दा बढी कर तिरेर सम्मानित भइसकेका व्यवसायी शाहले धुलिखेल अस्पतालमा रहेका कोरोना भाइरसका संक्रमितहरुको उपचार सहज होस् भनेर सो सहयोग गरेको बताएका हुन् । उनले सो रकम अस्पतालको आइसीयु र अक्सिजन सप्लाई प्रणाली उपकरणका लागी भनेर सहयोग गर्ने बताएका हुन् । गोल्छा ग्रुपको १ करोड सहयोग गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउन १ करोड रुपैयाँ सहयोग गरेको छ । गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेश नाथ गोंगललाई १ करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् । कोरोनाको पहिलो लहरको विषम परिस्थितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाटन अस्पताल मार्फत कोरोनासँग जुध्न महत्वपूर्ण कार्य गर्दै आफ्नो सेवाबाट थुप्रै संक्रमितको जिवन रक्षा गर्न सफल भएको थियो । अस्पतालले सधैँ उत्कृष्ट कार्य गरेकोले उक्त प्रशंसनीय कार्यको उच्च मूल्याङ्कन गर्दै र अहिले दोश्रो लहरले झनै आक्रान्त बनाएको असहज परिस्थितिसँग जुध्न सहज होस् भन्ने हेतुले गोल्छा ग्रुरुपले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । ‘यस्तो महामारीको समयमा कोरोना भाइरसको जोखिम कम गर्न सबैले आ–आफ्नो ठाउँबाट पहल गर्न आवश्यक छ, हामी पनि सहयोग गरिनै रहेका छौं, महासंघबाट पनि विभिन्न पहलहरु भइरहेका छन्, हामी सबैले सतर्कता अपनाउन आग्रह गर्छौं,’ उनले भने । यसअघि गोल्छा ग्रुपले लकडाउनका बेला सिंगापुरको परोपकारी संस्था टेमासेक फाउन्डेसनबाट अनुदान प्राप्त १० हजार पीसीआर फर्टिच्युड किट प्लेन चार्टर्ड गरी सरकारलाई हस्तान्तरण गरेको थियो । एनआरएनएको २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सीय नेपाली संघ (एनआरएनए) ले २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ । संघका अध्यक्ष कुमार पन्तसहित बसेको बैठकले शुक्रबार उक्त निर्णय गरेको हो । नेपालमा कोभिड–१९ को दोस्रो लहर तीव्र बनेसँगै संघले संक्रमितहरूको उपचारका लागि १०० अक्सिजन कन्सन्ट्रेटर पठाउने निर्णय गरेको हो । एनआरएनए अमेरिकाको सक्रियतामा १५ हजार डलर खर्चिएर जनकपुरमा आइसोलेसन केन्द्र स्थापना गर्न लागिएको पनि बताइएको छ । एफएनसीसीआईले २ सय बेडको आइसोलेसन बनाउँदै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले काठमाडौं उपत्यकाका विभिन्न चार ठाउँमा आइसोलेसन बेडहरु निर्माण गरिरहेको छ । महासंघले काठमाडौं उपत्यकाका विभिन्न ४ ठाउँमा २ सय बेडको आइसोलेसन बेड निर्माण गरिरहेको हो । महासंघका अध्यक्ष शेखर गोल्तछाले काठमाडौंको कमलादी, ललितपुरको पाटन, भक्तपुरमा र क्षेत्रपाटीमा ५०/५० वटा बेडको आइसोलेसन कक्ष बनाउन लागेको बताए । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिँदै गएकोले संक्रमितहरुलाई राख्नको लागि आइसोलेसन कक्ष निर्माण भइरहेको उनले बताए । उनका अनुसार ती आइसोलेसन कक्षहरु सम्भवतः आज घोषणा हुनेछन् । महासंघले ‘एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल’ अभियान सुरु गरिसकेको छ । पाँच जना डाक्टरले कोभिड–१९ का संक्रमितलाई अनलाइन प्रणालीमार्फत परामर्श सेवा दिइरहेका छन् । नेपाल चेम्बर अफ कमर्सको निःशूल्क एम्बुलेन्स सेवा नेपाल चेम्बर अफ कमर्सले पनि निःशूल्क एम्बुलेन्स सेवा दिइरहेको छ । चेम्बरले छत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराउन थालेको हो । आपत्कालीन स्वास्थ्य प्रयोजनका लागि बिहान ७ देखि साँझ ७ बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध हुने चेम्बरले जानकारी दिएको छ । एम्बुलेन्स सेवा प्रयोगका लागि चेम्बर तथा छत्रपाटी चिकित्सालयमा सम्पर्क राख्न सकिने चेम्बरले जनाएको छ । कोरोना कारण गम्भीर बिरामीहरू अस्पतालसम्म पुग्न कठिनाइ भइरहेका बेला चेम्बरले छत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएपछि केही सहज भने पक्कै हुनेछ । नाडाले गर्यो स्वास्थ्य सामग्री सहयोग नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पनि सशस्त्र प्रहरीको अस्पताललाई कोभिड–१९ नियन्त्रणका लागि पाँचथरी स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नाडाले अस्पताललाई कोभिड महामारी संक्रमण नियन्त्रणका लागि अत्यावश्यक हुने स्लिपर ५० सेट, थर्मोसल ब्वाइलेट ५० सेट, बेड सिट ५० थान, टावेल ५० थान र मास्क ५ हजार थान सहयोग गरेको हो ।