महिला नेतृत्व सम्मेलन विराटनगरमा हुँदै, सीएनआईद्वारा तयारी सम्पन्न

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) को आयोजनामा बैशाख २१ गते विराटनगर मा राष्ट्रियस्तरको ‘वुमन लिडरसिप समिट २०२६’ आयोजना हुने भएको छ । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको परिसंघले जनाएको छ ।

कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका र उद्योग विभागसँगको सहकार्यमा सीएनआई तथा सीएनआई कोशी प्रदेशले संयुक्त रूपमा सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलनको संयोजन सीएनआई वुमन लिडरसिप फोरमले गरेको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सम्मेलन ‘दिगो समृद्धितर्फः कृषि, सीप, सिर्जनशीलता र डिजिटल नवप्रवर्तन’ मा केन्द्रित रहने जानकारी दिए । उनका अनुसार महिला नेतृत्व क्षमता अभिवृद्धि, स्थानीय कृषि तथा उद्यमशीलता प्रवर्द्धन, नवप्रवर्तन र सफल व्यवसायिक अभ्यासहरूमा केन्द्रित कार्यक्रम सञ्चालन गरिनेछ । साथै महिला उद्यमीका स्वदेशी उत्पादनहरूको प्रदर्शनी पनि गरिनेछ ।

सीएनआई वुमन लिडरसिप फोरमकी सभापति विदूषी राणा का अनुसार सम्मेलनमा महिला उद्यमीहरूको सफलता कथा, डिजिटल नवप्रवर्तन (फोनपे लगायत) सम्बन्धी छलफल, स्वदेशी उत्पादन प्रदर्शनी तथा उद्यमी, नीति निर्माता र विकास साझेदारबीच नेटवर्किङ मुख्य आकर्षण रहनेछन् ।

सम्मेलनमा गोल्यान ग्रुपका संस्थापक अध्यक्ष पवन गोल्यान मुख्य वक्ताका रूपमा रहनेछन् भने सविना काफ्ले विशिष्ट अतिथिका रूपमा सहभागी हुनेछन् ।

सीएनआईका अनुसार सम्मेलनले महिला उद्यमी, नीति निर्माता, विकास साझेदार, वित्तीय संस्था तथा निजी क्षेत्रलाई एकै थलोमा ल्याई समावेशी आर्थिक वृद्धि र दिगो समृद्धिको मार्ग तय गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

सम्मेलनलाई सफल बनाउन नबिल बैंक, अन्तर्राष्ट्रिय श्रम संगठन, बोटलर्स नेपाल (कोका–कोला), लक्ष्मी बैंक, फोनपे, कुमारी बैंक र नोबेल मेडिकल कलेज प्रायोजकका रूपमा रहेका छन् ।

Share News