उद्योगको तलब–ज्याला खर्च साढे ८८ प्रतिशतले बढ्यो, कसको कति ?
काठमाडौं । २०७७ असारको तुलनामा उद्योग/व्यवसायको आकार अनुसार सबै प्रकारका उद्योग/व्यवसायको औसत तलब—ज्याला खर्च वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणको प्रविदेनका अनुसार उद्योगमा काम गर्ने कर्मचारीहरुको तलब तथा ज्याला खर्च बढेको हो । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ६३.४ प्रतिशत रहेको यस्तो खर्च २०७८ बैशाखमा आइपुग्दा ८८.५ प्रतिशत पुगेको देखिएको छ । २०७७ असारको तुलनामा खानी तथा उत्खनन क्षेत्रका उद्योग/व्यवसायहरुको औसत तलब—ज्याला खर्च बढेको पाइएको छ भने विद्युत्, ग्याँस तथा पानी र सञ्चार क्षेत्रका उद्योग/व्यवसायहरुको औसत तलब—ज्याला खर्च कोभिड महामारी अगाडिकै अवस्थामा पुगेको पाइएको छ ।
निषेधाज्ञामा बैंकको सहयोग नमिलेको उद्योगीको गुनासो, खर्च धान्न नसकेर व्यवसाय संकटमा
काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न निषेधाज्ञामा उद्योगीहरुले बैंकबाट सहयोग नमिलेको गुनासो गरेका छन् । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणका अनुसार उद्योगीहरुले आफुहरुलाई सहयोग नगरेको गुनासो गरेका हुन् । राष्ट्र बैंकले गरेको सर्वेक्षणका अनुसार निषेधाज्ञामा उद्योगीहरुले मुख्य पाँच वटा समस्याहरु देखाएका छन् । बजार माग घटेर कारोबारमा ह्रास आएको, पुनरकर्जा तथा सहुलियत कर्जा प्राप्त गर्न कठिनाइ भएको, थप कर्जा प्राप्त गर्न कठिनाइ भएको, बैंकको किस्ता तिर्न कठिनाइ भएको र बैंकको सहयोग प्राप्त नभएको लगायतका समस्याहरु उद्योगीहरुले राखेका हुन् । सञ्चालनमा आउन नसकेका अधिकांश उद्योगी/व्यवसायीहरुले कोभिड–१९ का कारण बजार माग घटेर चालु खर्च धान्न समस्या रहेको कारण उद्योग/व्यवसाय सञ्चालनमा ल्याउन नसकेको बताएका छन् । उद्योग/व्यवसाय सञ्चालनमा ल्याउन नसकेकामध्ये केहीले व्यक्तिगत कारणले गर्दा अब उद्योग/व्यवसाय पुनः शुरु गर्न नचाहेको बताएका छन्भने केहीले निकट भविष्यमा पुनः सञ्चालनमा ल्याउने बताएका छन् । सञ्चालनमा आउन नसकेका अधिकांश उद्योगी/व्यवसायीहरुले बन्द उद्योग÷व्यवसायहरु पुनः सञ्चालनमा ल्याउन समस्यामा रहेका उद्यमीहरुलाई लक्षित पुनरकर्जा तथा सहुलियतपूर्ण कर्जालगायतका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका छन् ।
महामारीमा व्यवसायी बतासको महाअभियानः १०० रुपैयाँ सहयोगले करोडौंको अक्सिजन प्लान्ट
काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएको भन्दै काठमाडौं उपत्यकाका तीन जिल्ला जिल्ला प्रशासनले गत बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरे । निषेधाज्ञा भएपछि सर्वसाधारणको दैनिकी प्रभावित बन्याे । व्यापार व्यवसाय ठप्प भयो । व्यापार बन्द गर्नु परेपछि व्यवसायी अनन्तराज बतास काठमाडौंबाट पोखरातर्फ लागे । उनले निषेधाज्ञाको समय पोखरामै बिताउने सोच बनाए र काठमाडौंदेखि पोखरा गए । दिनप्रतिदिन कोरोना संक्रमितको बढ्दो ग्राफ र मृतकको संख्या सुनेर उनलाई निराश मात्रै होइन यो महामारीको समयका थप सामाजिक काम गर्ने सोच पलायो । आफै सामाजिक अभियान्ता समेत भनेर परिचित व्यवसायी बतासले यो महामारीमा पनि सामाजिक कार्य गर्ने योजना बुने । अधिकांश कोरोना संक्रमितको मृत्यु हुनुको मुख्य कारण अक्सिजन अभाव भएको समाचार उनको काममा दिनहुँ गञ्जिरह्यो । एउटा सामाजिक संस्था बतास फाउण्डेसन सञ्चालन गरिरहेका उनले कोरोना महामारीमा फरक किसिमकाे सामाजिक काम गर्ने सोच बनाएर साथीहरुबाट सल्लाह सुझाव लिनमा व्यस्त भए । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पनि उनलाई यस्तो विषम परिस्थितिमा केही गर्नु पर्ने सल्लाह मात्रै होइन आग्रह समेत गरे । ‘मैले यो समयमा धेरै साथीहरुसँग कुराकानी तथा छलफल गरेँ, सबैले म पनि सहयोग गर्छु राम्रो काम हो भन्दै हौसला दिएपछि पोखरामै अक्सिजन प्लान्ट स्थापना गर्ने सोच बनाएँ, साथीहरुले नै म यतिसम्म सहयोग गर्छु भनेपछि मलाई पनि झन बढी प्रोत्साहन मिल्यो, यसरी नै काम सुरु गरेर अहिले अभियान सञ्चालन भइरहेको छ,’ व्यवसायी बतासले भने । साथीहरुसँगको पहिलो चरणको छलफलमै १ करोड रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता हुँदा आफुलाई अभियान अगाडि बढाउन सहज भएको उनको भनाई छ । धेरै मानिसको अक्सिजन अभावकै कारणले मृत्यु भएको खबरले आफुलाई हात बाँधेर बस्न नदिएको उनको भनाई छ । अभियान सुरु गर्ने अन्तिम तयारी भएपछि सामाजिक सञ्जालमा पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग जुटाऔं भनेर सहयोगको आह्वान गरेको उनले बताए । सामाजिक सञ्जालमा आव्हान गरेपछि सहयोग गर्नेहरुको संख्या झन थपिदै गएको उनले बताए । ‘म काम गरिरहने बानी परेको मान्छे, त्यो खबरले के गरौं, कस्तो गरौं खालको अनुभुति भयो, साथीहरुले पनि प्रोत्साहन भएपछि अभियान अगाडि बढाएँ, अहिले सहयोग गर्नेहरुको प्रतिवद्धता राम्रै आइरहेको छ, सहयोगी हातहरुको फोन उठाउनमै व्यस्त छु’ उनले भने । अहिले फोनमार्फत पनि कसैले १ लाख, कोहीले २ लाखदेखि २५ लाखसम्मको सहयोग गर्ने प्रतिवद्धता गरेका छन्, पोखरामा ५ लाख जनसंख्या छ, छ लाखले १००÷१०० रुपैयाँ सहयोग गरेपछि ५ करोड रुपैयाँ हुन्छ, हालसम्म ३ करोडभन्दा बढीकोे सहयोग गर्ने प्रतिवद्धता आइसकेको छ,’ उनले भने । उनका अनुसार अहिले सो अभियानमा धेरै उद्योगी व्यवसायीहरु पनि जोडिएका छन् । उनले जति ठूलो अक्सिजन प्लान्ट बनायो त्यति बढी रकम चाहिने बताए । तत्कालको लागि ५/६ करोड रुपैयाँ जुटाउने योजना भएको उनले बताए । ‘प्रति घन्टा १० देखि १५ क्युबिक मिटर अक्सिजन उत्पादन गर्ने प्लान्ट राख्न करिब ३ करोड चाहिने रहेछ,हामीले फ्रान्सबाट सामान आयात गर्ने निर्णय गरेका छौं, जहाज चार्टर्ड गर्न नै ३ करोड रुपैयाँ लाग्ने रहेछ, यो सबै हिसाव गरेर ५/६ रुपैयाँ लाग्छ, अबको २०/२५ दिनभित्र हामी सो अक्सिजन प्लान्ट जडान गरेर सक्ने योजना बनाएका छौं,’ उनले भने । दिनप्रतिदिन कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि अक्सिजनको माग बढ्दै गएको छ । तर बजारमा अक्सिजनको अभाव देखिएको छ । हाल पोखराको औद्योगिक क्षेत्रमा गण्डकी प्रदेशमा अक्सिजन उत्पादन गर्ने जम्मा २ वटामात्रै निजी कम्पनी छन् । यी उद्योगले दैनिक १३ सय सिलिन्डर हाराहारीमा अक्सिजन उत्पादन गरिरहेको बताइएको छ । बतासले आफैं आबद्ध संस्था बतास फाउण्डेसन र बि रिभर माइनिङ प्रालिले २५/२५ लाख रुपैयाँ सहयोग गरेको बताए । उनी त्यसको अध्यक्ष समेत हुन् । उनले सबै सर्वसाधारण, सामाजिक अभियान्ता, व्यवसायी तथा दातृ निकायहरुलाई सहयोगको अपील समेत गरेका छन् । एक थुकी सुकी हजार थुकी नदि भनाईले उल्लेख गर्दै उनले १०० रुपैयाँ दान गरी महामारीमा प्राण राखौं भन्दै महा अभियान सञ्चालन गरेका हुन् । उनले सहयोगका लागि ग्लोबल आईएमई बैंककाे पोखरा शाखामा रहेको बतास फाउण्डेसनको ६५०१०१००००४७७ खाता नम्बरमा पैसा जम्मा गर्न पनि अनुरोध गरेका छन् । अहिले सो अभियानको नेतृत्व उनी अध्यक्ष रहेको बतास फाउण्डेसनले नै गरिरहेको छ ।