नवलपुरमा १० महिनामा थपिए २७ सय उद्योग तथा व्यवसाय, कृषि र पर्यटनसम्बन्धी धेरै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १० महिनाको अवधिमा करिब दुई हजार ७०० उद्योग व्यवसाय थपिएका छन् । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा जिल्लामा एक हजार ३५४ उद्योग र एक हजार ३३७ वाणिज्य गरी कूल दुई हजार ६९१ वटा नयाँ उद्योग तथा व्यवसाय दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रमुख विक्रम सुवेदीले बताए । कोरोना कहरकै बीच जिल्लामा यो सङ्ख्यामा नयाँ उद्योग थपिएको कार्यालय प्रमुख सुवेदीले बताए । थपिएका उद्योगमा कृषि, पशुपालन, पर्यटनसम्बन्धी उद्योग धेरै भएको उनले बताए । कोरोना कहरका बीच धेरैजसो कृषि तथा पशुपालनतर्फ आकर्षित भएकाले यो समयमा समेत नयाँ उद्योग दर्ताको सङ्ख्यामा कमी नआएको कार्यालय प्रमुख सुवेदीले बताए । सरकारले कृषि तथा पशुपालनमा विभिन्न सुविधा तथा अनुदान उपलब्ध गराउँदासमेत यसतर्फको आकर्षण बढेको उनले बताए । ‘राज्यले अहिले कृषि, पशुपालनमा विभिन्न सुविधा र अनुदान उपलब्ध गराउँदै आएको छ’, प्रमुख सुवेदीले भने, ‘यसैले यसतर्फ नागरिकको आकर्षण बढदै गएको छ ।’ कोरोनाको असरले अन्य रोजगारका बाटो बन्द हुँदा विकल्पका रूपमा आफैँले कृषि र पशुपालन गर्नु अर्को कारण भएको उनले बताए । नवलपुर कृषि र पशुपालनका लागि उपयुक्त क्षेत्र भएकाले यहाँ धेरैजसो यसतर्फ आकर्षित हुन थालेका छन् । कृषि र पशुपालनका सहुलियत कर्जा उपलब्ध हुँदा लगानी गर्नसमेत सहज हुँदा यस क्षेत्रमा लगानी बढेको प्रमुख सुवेदीले बताए । ‘कोरोना कहरका कारण अहिले अन्य पेशा, व्यवसाय नहुँदा, स्वरोजगारमूलक पेशाका रूपमा कृषि, पशुपालनमा लगानी गर्ने बढेका छन्’, कार्यालय प्रमुख सुवेदीले भने । चालु आर्थिक वर्षको १० महिनामा ५१६ उद्योग नवीकरण भएका छन् । यसै अवधिमा ६९२ व्यवसाय नवीकरण भएको कार्यालय प्रमुख सुवेदीले बताए । निधेषाज्ञाका कारण अहिले नयाँ उद्योग तथा व्यवसाय दर्ता नभएको कार्यालय प्रमुख सुवेदीले बताए । अवस्था सामान्य भएको भए नयाँ उद्योग तथा व्यवसाय थप हुने सङ्ख्या अझै बढ्नेमा निषेधाज्ञाका कारण पछिल्ला केही महिनामा दर्तामा कमी आएको उनले बताए । घरेलु तथा साना उद्योग कार्यालयले उद्योग र वाणिज्य दर्ता, नवीकरण, ठाउँसारी, पूँजी वृद्धि, उद्देश्य थपमार्फत १० महिनामा कूल रु एक करोड १९ लाख ५२ हजार २७० राजश्व सङ्कलन गरेको छ । उद्योग तर्फबाट ६६ लाख ३५ हजार ९७५ र वाणिज्यतर्फ रु ५३ लाख १६ हजार २९५ राजश्व सङ्कलन भएको हो । रासस

सिमेन्ट उद्योगले क्षमताअनुसार उत्पादन गरेनन्- राष्ट्र बैंक

काठमाडौं । मुलुकभित्र हाल सञ्चालनमा रहेका सिमेन्ट उद्योगले जडित क्षमताअनुसार उत्पादन नगरेको पाइएको छ । कूल ५५ सिमेन्ट उद्योगको कूल जडित उत्पादन क्षमता एक करोड ५० लाख मेट्रिक टन रहेको छ । आन्तरिक बजारमा ९० लाख ५० हजार मेट्रिक टन बराबरको माग रहेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानीः आर्थिक सामाजिक प्रभावको अध्ययन प्रतिवेदन’ अनुसार आन्तरिकरूपमा उद्योगबाट ७४ लाख ९० हजार मेट्रिक टन मात्रै सिमेन्ट उत्पादन भएको छ । यस्तै १५ लाख ६० हजार मेट्रिक टन विदेशी मुलुकबाट आयात भएको देखिन्छ । प्रत्यक्ष विदेशी लगानी रहेको उद्योगहरुको औसत क्षमता उपयोग ४५.८१ प्रतिशत रहेको छ भने सरकारी र निजी स्वामित्वका उद्योगहरुको क्रमशः ५०.१२ प्रतिशत र ६३.७८ प्रतिशत रहेको छ । हाल सञ्चालित सिमेन्ट उद्योगमध्ये तीन प्रत्यक्ष विदेशी लगानी, दुई सरकारी स्वामित्वका र ५० निजी स्वामित्वका रहेका छन् । लगानी र उत्पादन क्षमताका आधारमा हेर्दा मुलुकमा प्रत्यक्ष विदेशी लगानी रहेका सिमेन्ट उद्योगको वाहुल्य रहेको केन्द्रीय बैंकको अध्ययनमा समावेश छ । अध्ययनमा प्रत्यक्ष विदेशी लगानी रहेका सिमेन्ट उद्योगको वस्तुस्थितिको तुलनात्मक स्थिति, स्वदेशी माग र आपूर्तिलगायत ती उद्योगको सामाजिक तथा आर्थिक प्रभाव संलग्न गरिएको छ । अध्ययनले विदेशी लगानी रहेका तीन सरकारी स्वामित्व र निजी स्वामित्व रहेका दुई/दुई गरी कूल ७ उद्योगलाई समेटेको छ । सिमेन्ट उद्योगको सामाजिक तथा आर्थिक प्रभावको विश्लेषणात्मक अध्ययनका लागि प्रत्येक उद्योगबाट कार्यकारी प्रमुख, दुई कर्मचारी र उद्योग वरपरका १० जना बासिन्दालाई उत्तरदाताका रूपमा चयन गरिएको राष्ट्र बैंकको भनाइ छ । सरकारी र निजी स्वामित्व रहेका उद्योगहरुको तुलनामा प्रत्यक्ष विदेशी लगानी रहेका उद्योगको सञ्चालन र मुनाफा राम्रो रहेको छ । विदेशी लगानीमा स्थापित सिमेन्ट उद्योगहरुको उत्पादन क्षमता उच्च र उत्पादन लागत न्यून रहेको पाइएको छ । मुलुकभित्रै सिमेन्ट उत्पादन बढ्दो क्रममा रहेका कारण केही वर्षदेखि सिमेन्टको आयात घट्दै गइरहेको छ । स्थापित उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेमा सिमेन्ट आयातमा थप कटौती आउने देखिने बैंकको अध्ययनले देखाएको छ । देशभित्र उपलब्ध चुनढुङ्गा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो आन्तरिक माग परिपुर्ति गर्न र आयात कटौती तथा निर्यात प्रवद्र्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योग खोल्न दिन उपयुक्त हुने अध्ययनले औंल्याएको छ । सामाजिक तथा आर्थिक पाटोलाई विश्लेषण गर्दा सिमेन्ट उद्योगको सञ्चालनबाट व्यापारिक र रोजगारीका अवसरहरु सिर्जना भएका छन् । उद्योग वरिपरि रहेका जमीनको मूल्य वृद्धिका कारण सम्पत्ति वृद्धिलगायतका सकारात्मक प्रभाव परेको भए पनि वातावरणीय प्रदूषणसम्बन्धी नकारात्मक असर पनि परेको छ । उद्योगहरुलाई आवासीय क्षेत्रमा स्थापना गर्न निरुत्साहित गरिनुका साथै सामाजिक संस्थागत उत्तरदायित्व अनुरूप शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण आदिमा लगानी गर्न प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नु आवश्यक रहेको केन्द्रीय बैंकको अध्ययनमा सुझाव दिइएको छ । रासस

राष्ट्र बैंकको अध्ययनः विदेशी लगानीका सिमेन्ट उद्योगको नाफा सन्तोषजनक, लगानी बढाउनु पर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानीका रहेका सिमेन्ट उद्योगहरुको प्रतिफल सन्तोषजनक रहेको निश्कर्ष निकालेको छ । राष्ट्र बैंकले नेपालली सिमेन्ट उद्योगमा वैदेशिक लगानीः आर्थिक सामाजिक प्रभावको अध्ययन सम्वन्धी यो अध्ययनले नाफा सन्तोषजनक रहेको बताएको हो । राष्ट्र बैंकको अध्ययनले भनेको छ, ‘सरकारी र निजी स्वामित्व रहेका उद्योगहरुको तुलनामा प्रत्यक्ष विदेशी लगानी रहेका उद्योगहरुको सञ्चालन र मुनाफा राम्रो छ, विदेशी लगानीमा स्थापित सिमेन्ट उद्योगहरुको उत्पादन क्षमता उच्च र उत्पादन लागत न्यून छ, मुलुकभित्रैसिमेन्ट उत्पादन बढ्दो क्रममा रहेका कारण केही बर्षदेखि सिमेन्टको आयात घट्दै गइरहेको छ । स्थापित उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेमा सिमेन्ट आयातमा थप कटौती आउने देखिन्छ ।’ यस्तै, अध्ययनले नेपालमा उपलब्ध चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो आन्तरिक माग परिपुर्ति गर्न र आयात कटौती तथा निर्यात प्रवद्र्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरु खोल्न दिन उपयुक्त देखिने उल्लेख गरेको छ । नेपालमा हाल सञ्चालित ५५ सिमेन्ट उद्योगहरुमध्ये ३ प्रत्यक्ष विदेशी लगानी, २ सरकारी स्वामित्व र ५० निजी स्वामित्वका रहेका छन् । लगानी र उत्पादन क्षमताका आधारमा हेर्दा मुलुकमा प्रत्यक्ष विदेशी लगानी रहेका सिमेन्ट उद्योगको वाहुल्यता रहेको छ । यस अध्ययनले विदेशी लगानी रहेको ३ , सरकारी स्वामित्व र निजी स्वामित्व रहेको क्रमशः २,२ गरी ७ उद्योगहरुलाई समेटेको छ । सिमेन्ट उद्योगको सामाजिक तथा आर्थिक प्रभावको विश्लेषणात्मक अध्ययनका लागि प्रत्येक उद्योगबाट कार्यकारी प्रमुख, २ जना कर्मचारी र उद्योग वरपरका १० जना बासिन्दाहरुलाई उत्तरदाताको रुपमा चयन गरिएको थियो । यस अध्ययन अनुसार ५५ सिमेन्ट उद्योगको कुल जडित उत्पादन क्षमता १ करोड ५० लाख मेट्रिक टन रहेको छ भने आन्तरिक बजारमा सिमेन्टको माग ९० लाख ५० हजार मेट्रिक टन रहेको देखिन्छ । यसैगरी, आन्तरिक रुपमा यी उद्योगहरुबाट ७४ लाख ९० हजार मेट्रिक टन सिमेन्ट उत्पादन भएको छ भने १५ लाख ६० हजार मेट्रिक टन आयात भएको देखिन्छ । प्रत्यक्ष विदेशी लगानी रहेको उद्योगहरुको औसत क्षमता उपयोग ४५.८१ प्रतिशत रहेको छ भने सरकारी र निजी स्वामित्वका उद्योगहरुको क्रमशः ५०.१२ प्रतिशत र ६३.७८ प्रतिशत रहेको छ । उद्योग वरिपरि रहेकाजमीनको मूल्य वृद्धिका कारण वेल्थ इफेक्ट लगायतका सकारात्मक प्रभावहरु परेको भएतापनि वातावरणीय प्रदुषण सम्वन्धी नकारात्मक असर पनि परेको छ । अतः सिमेन्ट उद्योगहरुलाई आवासीय क्षेत्रमा स्थापना गर्न निरुत्साहित गरिनुका साथै सामाजिक संस्थागत उत्तरदायित्व अनुरुप शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण आदिमा लगानी गर्न प्रोत्साहन गर्ने नीति अवलम्वन गर्नु आवश्यक रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।