गेटा कलेजलाई आइसोलेशन बनाउन उद्योगमन्त्री भट्टको निर्देशन

गोदावरी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कैलालीको गेटा मेडिकल कलेजमा आइसोलेशन बनाउनका लागि आवश्यक तयारी अघि बढाउन निर्देशन दिएका छन् । आफूलगायतको टोलीले आइसोलेशन निर्माणका लागि आज यहाँ स्थलगत अनुगमन गर्दै उनले आइसोलेशन व्यवस्थापनका लागि गेटा मेडिकल कलेजका भवनमा तत्काल विद्युत्, खानेपानी, स्वास्थ्य सामग्री तथा अन्य आवश्यक उपकरण जडान गर्न मातहतका निकायलाई निर्देशन दिए । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) अध्यक्ष तथा कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले गेटामा २००० क्षमताको होल्डिङ सेन्टरसहितको आइसोलेशन बनाउने कार्य तत्काल शुरु गरिने जानकारी दिए । प्रजिअ रिजालका अनुसार एक हप्ताभित्रै कोरोना संक्रमितलाई राखेर उपचार गर्ने व्यवस्था मिलाइनेछ । डिसिसिएमसी कैलालीको मातहतमा रहने गरी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा सो कार्य अघि बढाइने जनाइएको छ । रासस

एसियन कंक्रिटोले पायो गुणस्तर चिन्ह, निर्माणजन्य सामग्री उत्पादन गर्ने उद्योगमध्येकै पहिलो बन्न सफल

काठमाडौं । निर्माणजन्य सामग्री उत्पादनमा पायोनियर एसियन कंक्रिटोले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिन्ह ‘एनएस’ पाएको छ । यस्ता सामग्री उत्पादन गर्ने उद्योगमध्ये एनएस पाउने एसियन कंक्रिटो पहिलो हो । उद्योगले यही बैशाख ७ गते विभागबाट एनएस पाएको हो । उक्त एनएसका लागि उद्योगले गत कात्तिकमा आवेदन दिएको थियो । ‘एसियन कंक्रिटो आउनुपूर्व पनि अन्य कम्पनीहरु थिए । तर, उनीहरुले एनएसका बारेमा कुनै चासो लिएको देखिएको थिएन,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘तर, एसियन कंक्रिटोले आफ्नो उत्पादन बजारमा आउने वित्तिकै एनएसको मापदण्ड बनाउन अनुरोध गर्दै आएको थियो ।’ संसारभर यस्ता सामग्रीको मापदण्ड हुन्छ । नेपाली उत्पादन पनि विश्वस्तरीय हुनुपर्छ भनेर विभागलाई बारम्बार यसको मापदण्ड बनाउन अनुरोध गरेको उद्योगका अध्यक्ष मनीष रुङ्गाटाले जानकारी दिए । ‘हाम्रो मर्मलाई बुझेर विभागले पनि द्रूत गतिमा काम गर्यो,’ उनले भने, ‘त्यही भएर एनएस लिन सफल भइयो । अब सरकारले बनाएको मापदण्ड उनीहरुले गर्ने कार्यमा अनिवार्य लागू गर्नुपर्छ ।’ एसियन कंक्रिटोबाट उत्पादित हरेक सामग्री अब नेपाल गुणस्तर अनुसार हुने छन् । जर्मनीबाट मेसिनसहित प्रविधि ल्याएर बनाइएका सामग्री अन्य उद्योगको भन्दा कयौं गुणा बलियो र टिकाउ हुने कम्पनीले दाबी गरेको छ । कम्पनीबाट उत्पादित सामग्री वातावरणमैत्री, बलियो हुँदाहुँदै पनि नेपाल गुणस्तर नपाएकाले बजारीकरणमा ठूलो समस्या भएको थियो । एनएस प्राप्त गरेपछि आफ्ना उत्पादनलाई बजारमा लैजान थप सहज भएको उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले जानकारी दिए । ‘अहिलेसम्म कर्बस्टोनदेखि इन्टरलक ब्लकको गुणस्तरको कुनै ग्यारेन्टी थिएन’ उनले भने, ‘तर, एसियन कंक्रिटोले नेपाल गुणस्तर पाएसँगै उद्योगबाट उत्पादित कर्बस्टोनदेखि इन्टरलक ब्लकलगायत यस्ता किसिमका सामनको गुणस्तरमा सुचिश्चितता आएको छ ।’ उद्योगले इँटासहित २३ वटा अन्य विभिन्न प्रडक्ट बनाउँछ । त्यसको पनि कच्चा पदार्थ एउटै हो । ‘सडकको छेउ किनारामा लगाउनेदेखि घरभित्र र गार्डेनलाई सुन्दर बनाउनेसम्म सामग्री बनाइरहेका छौ,’ भाइस प्रेसिडेन्ट श्यामल झाले भने, ‘एनएस पाएपछि बलियो, सुन्दर, टिकाउ र प्रकृतिको संरक्षण गर्दै उत्पादन गरेका छौं भनेर हिड्नुपर्ने बाध्यताबाट मुक्त भइयो ।’ लगानीकर्ताका अनुसार सरकारले सार्वजनिक स्थल बनाउन प्रयोग गरिने यस्ता किसिमका निर्माण सामग्री अनिवार्य एनएस प्राप्त हुनुपर्ने व्यवस्था बनाउनुपर्छ । त्यसो हुने वित्तिकै सरकारले ठूलो धनराशी खर्च गरेर बनाएको पूर्वाधार लामो समयसम्म टिक्ने उनीहरु बताउँछन् । खासगरी, सडक विभाग तथा भवन विभागले बनाउने संरचनाका लागि बोलपत्र आह्रवान गर्दा एनएस लिएका उद्योगको मात्रै सामग्री लिनुपर्ने व्यवस्था गर्नुपर्ने अग्रवालको भनाइ छ । ‘अहिले अनिवार्य छैन्, यसलाई अनिवार्य बनायो भने, एकातिर अरु उद्योगले पनि नेपाल गुणस्तर लिन्छन् र सोही अनुसार आफ्नो उत्पादनको गुणस्तर पनि सुर्धाछन्,’ उनले भने, ‘सरकारले ठूलो धनराशी खर्च गरेर बनाएको संरचना टिकाउ र बलियो हुन्छ ।’

सामाजिक सुरक्षा योजनालाई सफलतापूर्वक लागू गर्न व्यवहारिक समाधान खोजौंः अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले श्रम सम्बन्ध सुधारको दिशातिर बढी रहेको भएपनि श्रम सम्बन्ध दिगो र भरपर्दाे बनाउन अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् । अध्यक्ष गोल्छाले १३२औं अन्तर्राष्ट्रिय मे दिवसको अवसरमा संयूक्त ट्रेड यूनियन समन्वय केन्द्रद्वारा आज आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास, श्रम सम्बन्ध सुधार जस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेर जानुपर्ने कुरामा जोड दिए । विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ महामारीको प्रभाव र पीडाबाट मुक्ति पाउने आशा पलाएको अवस्थामा कोरोना संक्रमणको दोस्रो लहरले थप चिन्ता थपेको भन्दै अध्यक्ष गोल्छाले अहिले हाम्रा सामु दैनिकी सञ्चालन र मानव जीवनको सुरक्षा अत्यन्त चूनौतीको रूपमा देखिएको, अर्थतन्त्र र आर्थिक गतिविधि अवरुद्ध हुने स्थिति सिर्जना भएकाले सबै क्षेत्रबाट सहकार्य हुनुपर्ने बेला आएको बताए । यस्तो स्थितिमा हाम्रा प्रयास र पहलहरू अर्थतन्त्र, उद्योग व्यवसाय र रोजगारीमा पर्न सक्ने प्रभावलाई न्यूनिकरण गर्न केन्द्रीत हुनु पर्नेमा जोड दिनुहुंदै अध्यक्ष गोल्छाले भने- ‘विश्वभरीनै कोरोना संक्रमणको प्रकृति हेर्दा चाडै नियन्त्रणमा आउने संभावना छैन, यस्तो स्थितिमा जीउ ज्यानको सुरक्षाको साथै आर्थिक गतिविधिलाई चलायमान बनाई राख्नु पर्ने चुनौती र बाध्यता हामी सबैले महशुस गरेका छौं । संक्रमण नियन्त्रणको लागि सरकारबाट जारी गरिने निषेधाज्ञा र लकडाउन जस्ता उपायले अर्थतन्त्र र उद्योग व्यवसाय संचालनमा संकुचन आउने र यसवाट रोजगारी समेत प्रभावित भई थप संकट थपिने होकी भन्ने त्रास बढ्न गएको छ ।’ अध्यक्ष गोल्छाले भने-हामीले स्वास्थ्य सुरक्षाको विषयप्रति संवेदनशील भई आर्थिक गतिविधि संचालन गर्न आग्रह गरेका छौं। हाम्रो सामू रहेको यो चुनौतीपूर्ण घडीमा सर्तकता पूर्वक जोखिम न्यूनिकरणका उपाय अनिवार्य रूपमा पालना गरी हाम्रो काममा निरन्तरता दिनुको विकल्प छैन । हामी लगानी बृद्धि र रोजगारी सिर्जनाको कुरा पनि गरिरहेका छौ तर उद्योगहरूको विस्तार र लगानी किन बढन सकेको छैन, अहिले ७/८ लाख भारतीय कामदारहरू नेपालमा काम गरिरहेको पाईन्छ, किन यसो भईरहेको छ, यसको कारण खोज्न जरूरी छ, अध्यक्ष गोल्छाले जिज्ञासा राखे- ‘धेरै जसो उद्योग क्षेत्रले नेपाली श्रमिकहरूलाई रोजगारी दिन चाहन्छन् तर त्यस्ता उद्योगहरूमा स्वदेशी श्रमिकहरू पाइएको छैनन्, यसको कारण के हो ? सामाजिक सुरक्षा योजना कार्यान्वयनमा समस्या देखिएको भन्दै अध्यक्ष गोल्छाले किन सामाजिक सुरक्षा योजनालाई सफलतापूर्वक लागू गर्नमा अवरोध आईरहेको छ, यसको व्यवहारिक समाधान खोजिनुपर्नेमा जोड दिए । महामारीबाट सिर्जित यो विषम परिस्थितिमा अझ बढी समझदारी एवं सुजवुझका साथ सहकार्य गर्नुपर्ने कुरामा जोड हुँदै उनले सबै श्रमिक कामदार कर्मचारीको सु स्वास्थ्य र सुरक्षाको कामना समेत गरे । त्यसैगरी महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघईले महामारीबाट उत्पन्न आजको कठिन परिस्थितिमा हाम्रा अगाडी आउने समस्या र संकटको सबै मिलेर सामना गर्नुपर्नेमा जोड दिए । अर्थतन्त्र र उद्योग व्यवसाय चलायमान नहुंदा श्रमजीवि वर्गमा पर्ने प्रभाव कम गर्न हामी सबैले अझ बढी समझदारीका साथ सहकार्य गर्नु पर्नेमा जोड दिँदै रोजगारदाता परिषद्का सभापति संघईले बाँचौं र बचाउको यो कठिन अवस्थाबाट चाँडै मुक्त हुने अपेक्षा गरेका छन् ।