ढुक्क भएर औद्योगिक विकासमा लाग्नुहोस्: प्रधानमन्त्री ओली
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापार असन्तुलन घटाउनेतर्फ वर्तमान सरकार गम्भीर भएर लागेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको पचपन्नौँ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यापार घाटा घटाउन उल्लेखनीय सफलता प्राप्त नभए पनि त्यसमा क्रमिक सुधार आएको बताए । उनले मजदूरका समस्या नरहेका बन्द, हडताल सधैँका लागि बन्द भएको र मुलुक आर्थिक विकासका साथै सामाजिक क्षेत्रको विकासका लागि दृढ सङ्कल्पका साथ अघि बढिरहेको बताउँदै मुलुकमा व्यापारको वातावरण बनेकाले ढुक्क भएर औद्योगिक विकासमा लाग्न उद्यमी व्यवसायीलाई आह्वान गरे । उनले भने, ‘सरकार व्यवसायी, रोजगारदाता र मजदूरहरुबीचको सुमधुर सम्बन्धबाटै औद्योगिक उन्नयन हुने भएकाले समस्या भए समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध छ ।’ प्रधानमन्त्री ओलीले वैदेशिक लगानीका रुपमा ठूलो धनराशि मुलुकमा भित्रियोस् भन्ने उद्देश्यले सरकारले न्यूनतम वैदेशिक लगानीमा सीमा तोकेको स्पष्ट गर्दै खुद्रा लगानीबाट समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार तुल्याउन कठिन हुने बताए । उनले प्राविधिक र वित्तीय रुपमा सुदृढ उद्योग व्यवसायबाट नै आर्थिक समृद्धिको लक्ष्य हासिल हुने विचार व्यक्त गर्दै देश विकासको बाटोमा अग्रसर हुन उद्योग व्यवसायी मात्र नभई हरेक पेशा र व्यवसायका व्यक्ति अघि बढ्नुपर्नेमा जोड दिए । संयुक्त राष्ट्रसङ्घले निर्धारण गरेका दिगो विकासका लक्ष्य हासिल गर्न सरकार लागिपरेको र त्यस निम्ति दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्न जरुरी भएको बताउँदै उनले वर्तमान सरकार स्पष्ट दृष्टिकोण र मार्गचित्र तयार गरी अघि बढिरहेको बताए । प्रधानमन्त्रीले देशको औद्योगिक विकासका बाधक, ऐननियम र कानून प्रतिकूल भए तिनलाई समयानुकूल संशोधन र परिमार्जन गरिने प्रतिबद्धता व्यक्त गर्दै साझा सङ्कल्पका साथ राष्ट्र निर्माणमा जुट्न आग्रह गरे । उनले रोजगारीका अवसर सृजना, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न उद्यमी–व्यवसायीलाई आह्वान गर्दै लगानीकर्तालाई पनि उत्पादकत्व वृद्धिका निम्ति अभिप्रेरित गर्न अनुरोध गरे । ‘प्रक्रियाको जञ्जालबाट सरलीकरणतर्फ जान जरुरी छ, एकद्वार प्रणालीलाई प्रभावकारी बनाउँछौँ, प्रशासनिक झन्झट पनि अन्त्य गर्छौँ’, महासङ्घका अध्यक्ष शेखर गोल्छाले स्वागत मन्तव्यका क्रममा उद्योगी–व्यवसायीले व्यहोर्नुपरेका कठिनाइसम्बन्धी गुनासोको जवाफमा प्रधानमन्त्रीले त्यस्ता व्यवधान चिरेर छाड्ने दृढता व्यक्त गरे। कोरोना भाइरस पुनः प्रकट भएकामा गम्भीर चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सबैलाई सचेत रहन तथा सावधानी अपनाउन आग्रह गरे । ‘समयमै सचेतना अपनाऔँ, पुनः बन्दाबन्दी गर्नुपर्ने परिस्थिति नआओस्, सङ्क्रमणको गति जसरी पनि रोक्नुपर्छ’, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्धारण गरेका सुरक्षाका उपाय र निर्देशनको पूर्ण पालना गर्नुपर्नेमा जोड दिँदै उनले भने । उनले महासङ्घको प्रकाशन ‘राष्ट्रिय आर्थिक रुपान्तरण¬–२०३०’ पुस्तक सार्वजनिक गर्नाका साथै निर्यात व्यापार, पर्यटन, निर्माण, उत्पादनका क्षेत्रमा योगदान गरेका उद्योगीहरुलाई सम्मान पनि गरे । मुलुकको अर्थतन्त्रमा करीब ७० प्रतिशत योगदान दिइरहेको निजी क्षेत्रले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सरकारको लक्ष्यलाई हरतरहले साथ दिइरहेको बताउँदै अध्यक्ष गोल्छाले आर्थिक रुपान्तरणका कार्यक्रमहरुलाई कार्यान्वयन गर्न सरकारीस्तरबाट पनि सहयोग हुनुपर्नेमा जोड दिए । अर्थतन्त्रमा २२ प्रतिशत योगदान गरेको र २० लाख जनालाई रोजगारी उपलब्ध गराइरहेको साना तथा मझौला उद्योगका समस्या समाधानका साथै औद्योगिक उन्नयनका निम्ति निजी क्षेत्रले सरकारी सहयोगको अपेक्षा गरेको उनले बताए । महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पूर्वाधानको क्षेत्रमा लगानी बढाउन सके आर्थिक विकासमा टेवा पुग्ने विचार व्यक्त गर्दै अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्नुपर्ने बताए । नेपाललाई समुन्नत राष्ट्रमा रुपान्तरण गर्न एक/दुई वर्षको परिश्रमले नपुग्ने भएकाले त्यसका लागि एक दशककै दृष्टिकोण, प्रस्ट योजना र प्रभावकारी कार्यान्वयन आवश्यक भएको बताए । रासस
‘प्रधानमन्त्रीजू ! गलत मानसिकका साथ गरिने अनुगमन बन्द गरौं’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले गलत मानसिकताका साथ गरिने बजार अनुगमन बन्द गर्नु पर्ने धारणा राखेका छन् । शनिबार महासंघको ५५औं वार्षिक साधारण सभा तथा उद्योग दिवसमा आफ्नो धारणा राख्दै उनले गलत मानसिकता र नियोजित किसिमले गरिने बजार अनुगमनलाई बन्द गरेर सुधार गर्नु पर्ने बताएका हुन् । ‘गलत किसिमले गरिने बजार अनुगमनले कसैलाई पनि फाइदा हुँदैन, सरकारले यसलाई सुधार गर्नु पर्छ, यसका लागि राम्रो नियमावली नै बनाउनु पर्छ,’ उनले भने । गोल्छाले महासंघको भिजन पेपर सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनले भिजन पेपर मार्फत २०३० सम्म १ सय खर्बको अर्थतन्त्र र २२ लाखलाई रोजागारी उद्धेश्य रहेको बताएका छन् ।
महासंघको भिजन पेपर सार्वजनिक, १ सय खर्बको अर्थतन्त्र, २२ लाखलाई रोजगारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ –एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले महासंघको भिजन पेपर सार्वजनिक गर्दै १ सय खर्बको अर्थतन्त्र बनाउने उद्धेश्य रहेकाे बताएका छन् । आज राजधानी भएको महासंघको ५५औं वार्षिक साधारण सभामा उनले महासंघको भिजन पेपर सार्वजनिक गर्दै १० वर्षमा मुलुकको अर्थतन्त्र १०० अर्ब डलरको हुने बताएका हुन् । उनले भिजन पेपर सार्वजनिक गर्दै त्यसका लागि १ सय ५० अर्ब लगानी हुने बताए । त्यसमा १०८ अर्ब डलर निजी क्षेत्रबाट हुने उनले बताए । भिजन पेपरका अनुसार १० वर्षमा २२ लाखले रोजगारी पाउने छन् । भिजन पेपरमा १४ वटा कानूनमा सुधारको समेत माग गरिएको छ । भिजन पेपर २०३० सम्ममा विश्वमा विभिन्न देशलाई हेर आर्थिक विकासको आधार तयार गर्ने,कृषि क्षेत्र, उद्योग, उत्पादन तथा सेवा क्षेत्रलाई आवश्यकता र प्राथमिकताका साथ गर्ने गोल्छाको भनाई छ । ‘हामी लाभ हुने क्षेत्र, बजारको रणनीत, सम्भावनाको खोजी र त्यसको कार्यान्वयनको लागि सुक्ष्म अध्ययन गरेर अगाडि बढ्छौं, हामीले मुख्य प्राथमिकताका क्षेत्रहरु पहिचान गरेर काम गर्छौं,’ अध्यक्ष गोल्छाले भने । उनले देशको आर्थिक विकासका लागि कोभिड पछिको आर्थिक पुनरुत्थान, नीतिगत सुधार, प्रतिस्पर्धी बजार रणनीति, लगानी प्रवद्र्धन, अन्तर्राष्ट्रिय व्यापार ग्रोथ, साना तथा मझौता व्यवसायीको आर्थिक विकास, पूर्वाधार विकास, ज्ञानमुलक अर्थतन्त्र, श्रम व्यवस्थापन र क्षमता विकास र जिम्मेवार निजी गरी १० वटा पिलरहरु सम्झेर काम गर्ने बताए । अबको महासंघ तथ्यांक र भिजन सहितको भएकोले सबै उद्योगी व्यवसायीहरुको हकहितका लागि लागि पर्ने उनको भनाई छ । अर्थतन्त्रको विकासका लागि महत्वका हिसावले प्राथमिकीकरण गर्ने, लाभका क्षेत्रलाई पहिचान गर्ने देखि उत्पादनमुखि परियोजनाहरूमा देशी विदेशी लगानी र अनुसन्धानलाई समेत अघि बढाइने योजना भिजन पेपरमा उल्लेख छ । यसका साथै महासंघले मुलुकमा निजी क्षेत्रको विकाससँगै प्रयाप्त कल कारखानाको विकास गर्दै प्रति वर्ष अधिकतम ४ लाख रोजगारीको सिर्जना गर्ने महत्वाकांक्षी योजना बनाएको छ ।