प्रदेश सरकार र महासंघले कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कर्णाली प्रदेशले कर्णालीमा संयुक्त रुपमा लगानी सम्मेलन आयोजना गर्ने भएका छन् । महासंघका अध्यक्ष शेखर गोल्छा सहित महासंघका पदाधिकारीहरू र कर्णाली योजना आयोगका उपाध्यक्ष डा. सर्व राज खड्का, सदस्य डा. दिपेन्द्र रोकाय र सदस्य योगेन्द्र बहादुर शाही समेतको प्रतिनिधिमण्डल बीच आज महासंघ सचिवालयमा भएको भेटवार्तामा संयुक्त रुपमा सम्मेलन आयोजना गर्ने सहमति भएको हो । सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले कर्णालीमा लगानीको पर्याप्त सम्भावना रहेको बताउँदै सरकारले त्यसको लागि सहजीकरण गरिदिनुपर्ने बताए । लगानीकर्ताहरूले कृषि, पर्यटन, जडिबुटी, जलविद्युत लगायतका क्षेत्रमा लगानी गर्ने समेत अध्यक्ष गोल्छाले बताए । उनले लगानीकर्ताहरुसंग महासंघले सहजीकरण गर्ने पनि जानकारी गराए । छलफलमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र अन्जन श्रेष्ठको पनि सहभागिता थियो । कर्णाली योजना आयोगका उपाध्यक्ष डा. खड्काले कर्णालीको विकासका लागि लगानी सम्मेलनको खाँचो भएकाले सम्मेलनको अवधारणा अगाडी बढाएको बताउँदै योजना आयोग र महासंघको संयुक्त पहल एवं लगानीमा सम्मेलन गर्दा प्रभावकारी हुने विश्वास व्यक्त गरे । कर्णाली प्रदेशमा परियोजना बैंक बनाएर लगानीको वातावरण सृजना गर्ने समेत डा. खड्काले बताए ।

‘आयल निगमसँग सम्बन्धित नीतिगत समस्यालाई समाधान गर्न सरकार लागिपरेको छ’

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आयल निगमसँग सम्बन्धित नीतिगत समस्याहरुलाई समाधान गर्न सरकार लागिपरेको बताएका छन् । शुक्रबार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२औं वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री भट्टले आयल निगम सम्बन्धी समस्याहरुलाई प्राविधिक रुपमा भन्दापनि नीतिगत रुपमा समाधान गर्न सरकार लागिपरेको बताएका हुन् । उनले राष्ट्रिय पेट्रोलियम नीतिको ड्राफ्ट तयार भइसेको जानकारी दिँदै थप छलफल गरी ल्याउने तयारी गरिरहेको बताए । यस्तै व्यवसायको आवश्यकतालाई हेरेर पेट्रोल पम्पको इजाजत दिइने पनि मन्त्री भट्टले बताए । कतिपय पेट्रोल पम्पले विचारधाराको आधारमा तेल वितरण गर्ने गरेको आफूले देखेको बताए । विपरित विचार हुनेहरुले तेल नपाउने गरी पेट्रोलियम पदार्थमा राजनीति नगर्न व्यवसायीहरुलाई आग्रह गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्र देशलाई समृद्ध बनाउन अगाडी बढीरहेको भएपनि सरकारले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण नै फरक रहेको बताए । निजी क्षेत्र नाफा मुखी हुने र सोही अनुसार कर तिरेर राज्यलाई सहयोग गरिरहेको पनि बताए । तर सरकारले अनुगमनको नाममा उद्योगी व्यवसायीलाई पीडा दिने गरेको अध्यक्ष गोल्छाले बताए । अनुगमन गर्दा आचारसंहिता भित्र बसेर गर्न र कुनै न्यायिक निष्कर्ष ननिस्किएसम्म कुनैपनि उद्योगी व्यवसायीको मानमर्दन नगर्न सरकारसँग आग्रह गरे । कार्यक्रममा उपस्थित उद्योगी व्यवसायीहरुले पेट्रोलिय पदार्थ अर्थतन्त्रको रक्तसञ्चार भएकोले यसको वितरण प्रणालीलाई सहज बनाउनुपर्ने बताएका छन् ।

सर्वोतम र होङ्सीको ‘बिजनेस स्ट्राटेजी’ले अन्य सिमेन्ट उद्योगलाई दबाब

काठमाडौं । नेपालका ठूला दुई सिमेन्ट उद्योग सर्वोतम र होङ्सी शिवम सिमेन्टको आ–आफ्नै व्यापार रणनीतिले अन्य उद्योगलाई दबाब परेका छन्। यी दुइ कम्पनीले बिक्री मूल्य कम गर्ने र व्यापारीलाई उधाराेकाे सीमा बढाउने रणनीति लिएपछि अन्य कम्पनीलाई दवाव परेकाे जानकारहरूले बताएका छन् । अहिले भौतिक पूर्वाधारहरुको संरचना निर्माणको सिजन सुरु भएसँगै विभिन्न निर्माण सामग्रीहरुको मूल्यसँगै सिमेन्टको मूल्य पनि बढ्दै गएको छ ।  बजारमा सिमेन्टको माग बढेसँगै विभिन्न उद्योगहरुले पनि ग्राहकलाई आफूतर्फ आकर्षित गर्नको लागि, बिक्रेतालाई प्राेत्साहित गर्नकाे लागि विभिन्न रणनीति लिएका छन् । स्रोतका अनुसार अहिले सर्वोतम र होङ्सी शिवम सिमेन्ट उद्योगको विजनेस स्ट्रयाटेजीले अन्य सिमेन्ट उद्योगहरु पेलानमा परेका छन् । ‘अहिले सिमेन्ट उद्योगहरुमा मूल्यको प्रतिस्पर्धा देखिएको छ, सर्वोतम सिमेन्टले मूल्य कम गर्ने, बिक्रेता र ठूला संस्थागत निर्माण कम्पनीलाई सिमेन्ट उधारो दिएर जति सक्दो बजार विस्तार गर्ने रणनीति लिएको छ । यस्तै, स्रोतका अनुसार होङ्सी शिवम सिमेन्ट उद्योगले सिमेन्ट उधारो नदिने तर मूल्य कम गरेर बजारमा आफ्नो उपस्थिति बलियाे बनाउने रणनीति लिएको छ । सर्वोतम र होङ्सी शिवम सिमेन्ट दुवै विदेशी लगानी भएका उद्योगहरु हुन् । ठूलो लगानी र ठूलो सिमेन्ट उत्पादन गर्ने क्षमता भएका यी दुई कम्पनीका आक्रामक रणनीतिका कारण अन्य सिमेन्ट उद्योगहरुलाई बजारमा प्रतिस्पर्धा गर्न कठिन हुँदै गएकाे उद्याेगीहरू बताउँछन् । सिमेन्ट उत्पादक संघका महासचिव केशव उप्रेतीले पनि बजारमा भइरहेको अस्वस्थ प्रतिस्पर्धाले सही मूल्य निर्धारण गर्न समस्या भइरहेको बताए । उनका अनुसार यसले नयाँ उद्योगहरुलाई थप चाप परेको छ । ‘अहिले विभिन्न सिमेन्ट उद्योगहरुले आफ्नो लागतका आधारमा सिमेन्टको मूल्य आफै निर्धारण गर्ने गरेका छन्, जुन उद्योगले अरुको क्लिङकर ल्याएर सिमेन्ट बनाइ बेच्छन्, तिनीहरुलाई बढी प्रेसर छ । त्यसैले सही मूल्य निर्धारण आवश्यक नै छ’ उनले भने । सिमेन्ट ग्राण्डिङ उद्याेगका लगानीकर्ताले सिमेन्टकाे मूल्य मिलेर वृद्ध गर्ने नेपाल सिमेन्ट उत्पादक संघमा लविङ गरिरहेका छन् । तर क्लिङ्कर उद्याेगसहित सिमेन्ट उद्याेग चलाउँदै आ एकाे उद्याेगीले साना उद्याेगिकाे मागप्रति वेवास्ता गरिरहेका छन् । संघका अनुसार नेपालमा हाल ६५ वटा सिमेन्ट उद्योगहरु सञ्चालन छन् । आफै क्लिङ्कर उत्पादन गर्ने सिमेन्ट उद्योगहरु १९ वटा छन् । बाँकी उद्याेगहरू ठूला कम्पनीसँग क्लिङ्कर खरिद गरेर ग्राण्डिङ मात्र गर्दै अाएका छन् । आफूहरुले सिमेन्ट खरिद बिक्रीमा बैंकिङ्ग कारोबार हुनु पर्छ भने पनि त्यो व्यवस्था हालसम्म उद्योगहरुले कार्यान्वयन गर्न नसकेको उनको भनाई छ । ‘अधिकांश उद्योगहरुले सिमेन्ट उधारोमा नै दिइरहेका छन्, क्लिङकर मात्रै नगदमा बिक्री गरिरहेका छन्, सिमेन्ट उद्योगले नगदमै कारोबार गर्नुपर्छ भन्ने सहमति संघमा भएपनि त्यो अहिलेसम्म कार्यान्वयन भएको छैन,’ उनले भने । सर्वोतम सिमेन्ट, सर्वोतम भविष्यकाे नारा दिएर सिमेन्ट उद्योगहरुमा आफूलाई बलियो सिमेन्ट उद्योगका रुपमा चिनाइरहेको छ। कम्पनीले पाल्पा तथा चितवनको चुनढुंगा मिश्रणबाट उत्पादित क्लिङकर नेपालका विभिन्न शहरका अन्य २० वटा उद्योगहरूले खरिद गर्छन् । कम्पनीका अनुसार वार्षिक उत्पादन क्षमता १ हजार २५ करोड बोरा रहेको छ । नवलपरासीमा उत्पादित सर्वोत्तम सिमेन्टले ग्रिन ओ.पि.सि.र ग्रिन पि.एस.सि. सिमेन्ट उत्पादन गर्दै आएको छ । पछिल्लो समय सर्वोत्तम सिमेन्टको उत्पादन बढेको छ । दैनिक ४० हजार बोराबाट उत्पादन क्षमता बढाएर ६० हजार बोरा पुर्याएको कम्पनीका जनरल मेनेजर सुभाष पाण्डेले बताए । सर्वोत्तम सिमेन्ट हाइड्रो पावर, ठूला भवन निर्माणमा सबैभन्दा बढी माग भएको सिमेन्ट हो । अहिले कम्पनीको ओपीसी सिमेन्टको मूल्य ७२० देखि ७५० रुपैयाँ, पीपीसी सिमेन्टको मूल्य ५९० देखि ६५० रुपैयाँमा बिकी भैरहेकाे छ । यस्तै, बजारमा आफूलाई बलियो उद्योगका रुपमा चिनाउने होङ्सी शिवम सिमेन्टले पनि आफ्नै बिजनेस स्ट्रोटेजी बनाएर अगाडि बढिरहेको छ । यसले बजारको मूल्यलाई नै असर परेको स्रोतको भनाई छ । होङ्सी शिवम सिमेन्टका उपाध्यक्ष विश्व नाथ गोयलले आफ्नो सिमेन्ट उद्योगले कम मूल्य तर उधारो नदिएर बजार विस्तार गर्ने रणनीति लिएको बताए । हामीले कुनै पनि माल उधारोमा बेच्दैनौं तर कम मूल्यमा सिमेन्ट बिक्री गर्ने रणनीति बनाएका छौं, बजारमा मूल्यमा प्रतिस्पर्धा नै छ, हाम्रो मूल्य कम भएपछि अरु उद्योगलाई प्रसेर त पर्ने नै भयो,’ उनले भने । उनका अनुसार ३० वटा उद्योगहरुले होङ्सी शिवमको क्लिङ्कर खरिद गर्ने गरेका छन् । हाेङ्सी सिमेन्ट प्रतिबाेरा पीपीसी ६१० देखि ६३० सम्म र ओपीसी ७१० देखि ७४० रूपैयाँसम्ममा बजारमा बिक्री भइरहेकाे छ ।