८ महिनामा साढे २ हजार उद्योग दर्ता, १६ अर्ब ७६ करोडकाे लगानी प्रस्ताव
कैलाली । कोरोना भाइरस सङ्क्रमण भाइरसको असरबीच कैलालीमा उद्योग दर्ता हुने क्रम बढेको छ । पछिल्लो ८ महिनायता जिल्लामा उद्योग दर्ता हुने क्रम बढेको घरेलु तथा सना उद्योग कार्यालयले जनाएको छ । चालु आवकोे आठ महिनामा मात्रै जिल्लामा २ हजार ४ सय २७ नयाँ उद्योग दर्ता भइसकेका छन् । आव २०७५/७६ मा एक हजार २ सय ३४ र गत आव २०७६/७७ मा एक हजार १ सय १४ उद्योग दर्ता भएकामा चालु वर्षको ८ महिनामा नयाँ उद्योग दर्ता भएका हुन् । नयाँ दर्ता हुने उद्योगमा उत्पादनका २ सय ६७, कृषिका १ हजार ५ सय ९५, सेवाका ५ सय ६३ र पर्यटनका दुई छन् । कार्यालयका प्रमुख नवराज भट्टले भने, “कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण स्वदेश फर्किनेहरू बढेका र देशभित्रै पनि बेरोजगारी बढ्दै गएसँगै उद्यमशीलता गर्नुपर्छ भन्ने भावनाको विकास हुँदा उद्योग दर्ता हुने क्रम पनि बढेको देखिन्छ ।” यसबाहेक महिलाको नाममा दर्ता हुने प्राइभेट फार्मसम्बन्धी उद्योग दर्तामा छुट दिइने र बैंक ब्याजमा समेत सहुलियत दिइने सरकारको नीति रहेकाले महिलाका नाममा बढी उद्योग दर्ता हुने गरेको पनि देखिएको भट्टले बताए । कार्यालयले सरोकारवाला निकायका प्रतिनिधिको सहभागितामा मङ्गलबार गरेको दोस्रो चौमासिक अवधिसम्मको समीक्षा र सुझाव सङ्कलन गोष्ठीका सहभागीले रोजगारी सिर्जना हुने खालका आयमूलक र सीपमूलक तालीमका योजना ल्याउन र यस्ता तालीम नतिजामुखी बनाउन सुझाव दिए । चालु वर्षको गत आठ महिनामा कार्यालयले रु ९३ लाख ९८ हजार ६०० राजश्व सङ्कलन गरेको छ । उद्योगमा लगानी प्रस्ताव जिल्लामा आव २०७७/७८ को फागुन महिनासम्म दर्ता भएका उद्योगहरूमा १६ अर्ब ७६ करोड ८० लाख लगानीको प्रस्ताव गरिएको छ । दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी उत्पादनमूलक उद्योगमा ६ अर्ब तीन करोड ८० लाख लगानी प्रस्ताव गरिएको छ । यस्तै कृषिमूलक ५ अर्ब ८२ करोड ४० लाख, सेवामूलक ४ अर्ब ६५ करोड सात लाख, पर्यटनमूलक २४ करोड ७० लाख र निर्माणमूलक उद्योगमा ३० लाख रुपैयाँ लगानी प्रस्ताव गरिएको छ । वार्षिक उत्पादन क्षमता झण्डै ६८ अर्ब ६६ करोड बराबर रहेको प्रस्ताव गरिएको यी उद्योगबाट ६५ हजार ३ सय ८० जनाका लागि रोजगारी सिर्जना भएको जनाइएको छ । कार्यालय स्थापना भएदेखि हालसम्म जम्मा ११ हजार ६८ वटा उद्योग दर्ता भइसकेका छन् । दर्ता भएकामध्ये झण्डै ६० प्रतिशत उद्योग सञ्चालनमा रहेको अनुमान गरिएको छ । अनुगमन निरीक्षण नगरी नहुने उद्योगको अनुगमन गर्ने गरिएकामा जनशक्तिलगायत साधन स्रोतको अभावमा सबै उद्योगको निरीक्षण अनुगमन हुन सकिरहेको छैन । सम्भावना र चुनौती जिल्लामा पर्यटनमा आधारित उद्यम, सेवामूलक व्यवसाय, कृषि तथा वनपैदावारजस्ता उद्योगको विकासको सम्भावना प्रचुर छ । प्राकृतिक स्रोत र साधनलाई कच्चापदार्थका रुपमा मात्र निकासी नगरी अन्तिम वस्तु उत्पादन गरी बजारीकरण गर्न सकिएमा हालको आयमा दोहोरो वृद्धि गर्न सकिने सम्भावना छ । उद्योग औद्योगिकग्राम तथा औद्योगिक क्षेत्रको अभाव, आर्थिक विकासका लागि परिमाणात्मक र गुणात्मक रुपमा उद्यमशीलताको विकासको कमी, रोजगारी सिर्जना गर्ने खालका मझौला तथा ठूलो उद्योगको स्थापना हुन नसक्नु, स्थानीय उत्पादनले आयातित वस्तु प्रतिस्थापनका लागि प्रतिस्पर्धा गर्न नसक्नु, भूउपयोग नीति नहुनु, सीपयुक्त श्रमिक र दक्ष प्राविधिकको अभावजस्ता समस्या उद्योगको विकासका लागि चुनौतीका रुपमा देखिएका छन् ।
रञ्जितराज आचार्यको संयोजकत्वमा स्टार्टअप समिति गठन, नयाँ उद्यमकाे साेच भएकालाई पुँजीको अभाव नहुने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले स्टार्टअप तथा इनोभेसन सम्बन्धि गठन गरेको छ । महासंघले महासंघका कार्यकारिणी सदस्य रञ्जितराज आचार्यको संयोजकत्वमा स्टार्टअप तथा इनोभेसन समिति गठन गरेको हो । स्टार्टअपहरूको प्रवद्र्धन मार्फत मुलुकभित्र उद्यमशीलता विकास, रोजगारी सिर्जनामा कार्य गर्न समिति गठन गरिएको महासंले जनाएको छ । महासंघमा स्टार्टअप तथा इनोभेसन समिति पहिलो पटक गठन भएको हो । समितिले नव उद्यमीहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा जोडने, महासंघले आर्थिक रुपान्तरणमार्गचित्र मार्फत अगाडी सारेको प्रतिवर्ष ४ लाख रोजगारी सृजना गर्ने लक्ष्यलाई पुरा गर्ने कार्यमा सहयोग गर्ने, स्टार्टअप/उद्योग व्यवसायको वारेमा अध्ययन गर्ने, मुलुकभित्र नविनतम सोंचसहितको उद्यमशीलता प्रवद्र्धन गर्न लगायतका कामहरु गर्ने सभापति आचार्यले बताए । उनका अनुसार उद्योग मन्त्रालय अन्तरगत लगानी प्रवद्र्धन महाशाखासंगको सहकार्यमा स्टार्टअप नीति निर्माणका लागि पहल गर्ने, नयां सोच सहित केही गर्न अघि सरेका नव उद्यमीहरूको पहिचान गरी उनीहरूलाई अगाडि बढन आवश्यक पूंजी लगानी स्वरूप जुटाईसहयोग गर्ने लगायतका महत्वपूर्ण कार्य समितिले गर्नेछ । आचार्य सभापति रहेको समितिमा सिद्धराज पाण्डे र सुमन शाक्य उपसभापति रहेका छन् । समिततिको सदस्यहरुमा दिपेन्द्र चौलागाइँ, सुमना श्रेष्ठ, निरज खनाल, मौसमी श्रेष्ठ, स्वर्ण ताम्राकार, प्रकाशदेव पालिख, रविराज जोशी र तेन्जिङ सोनम गोन्सार रहेका छन् । यस्तै, समितिको सल्लाहकारमा अनिल चित्रकार, ओम राई भण्डारी र सौरभ ज्योती रहेका छन् । नविन सोचमा आधारित रहेर उद्यम गरीरहेका ५० वटा स्टार्टअप/उद्योग व्यवसायहरूको व्यवसायिक सफलताका लागि समिति अन्तरगत रहेको इन्भेष्टर फोरम मार्फत ५० लगानीकर्तासंग साक्षात्कार गराई लगानी तथा व्यवसायिक साझेदारीका लागि कार्यक्रम तर्जुमा गरिएको समितको भनाई छ । यसका लागि यही चैत्र महिनाको तेस्रो साताबाट आवेदन खुला गरिने छ । यसमा आवेदन दिन चाहने स्टार्टअप/उद्योग व्यवसायहरू कम्तीमा एक वर्ष र सो भन्दा बढी संचालनमा आएको हुनुपर्नेछ। आवेदन सवै क्षेत्र(जस्तो कृषि, उत्पादनमुलक, सूचना प्रविधि, सेवा )का लागि खुला गरिने छ । सम्बन्धित सामग्री स्टार्टअपको आइडिया छ ? अब पुँजी जुटाउने र उद्यम सिकाउने काम एफएनसीसीआईको
स्टार्टअपको आइडिया छ ? अब पुँजी जुटाउने र उद्यम सिकाउने काम एफएनसीसीआईको
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले स्टार्टअप सम्बन्धि सोच भएका नव उद्यमीहरुलाई पुँजी जुटाउने र उद्यम सिकाउने भएको छ । महासंघको नयाँ गठित स्टार्टअप तथा इनोभेसन समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नव उद्यमीहरुलाई उद्यम गर्न सिकाउने र पुँजीको अभावमा रहेकाहरुलाई पुँजी जुटाउने उद्धेश्य सहित स्टार्टअपको योजना ल्याएको बताएको छ । महासंघले देशमा औद्याैगिक तथा व्यवसायिक वातावरणको सिर्जना गर्नको लागि चालिएको यो प्रभावकारी कदम भएको बताएको छ । स्टार्टअप र इनोभेसन समिति गठन गरेर नव उद्यमीमार्फत मुलुकभित्र उद्यमशिलताको विकास, रोजगारी सिर्जनामा कार्य गर्न यो समितिले उल्लेख्य काम गर्ने महासंघको ठहर छ । समितिको सभापतिमा रञ्जितराज आचार्य रहेका छन् । समितिले नव उद्यमीहरुलाई अर्थतन्त्रको मुल प्रवाहमा जोड्ने, महासंघले आर्थिक रुपान्तरण मार्गचित्र मार्फत अगाडि सारेको पतिवर्ष ४ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य पुरा हुने विश्वास लिएको सभापति आचार्यले बताए । स्टार्टअप उद्योग व्यवसायको बारेमा अध्ययन गर्ने, मुलुकभित्र नविनतम सोचसहित उद्यमशिलता प्रवद्र्धन गर्न उद्योग मन्त्रालय अन्तर्गत लगानी प्रवद्र्धन महाशाखाको सहकार्यमा स्टार्टअप नीति निर्माणका लागि पहल गर्ने, नयाँ सोचसहित केही गर्न अघि सरेका नव उद्यमीहरुको पहिचान गरी उनीहरुलाई अगाडि बढ्न आवश्यक पुँजी लगानी जुटाई सहयोग गर्ने योजना समितिको रहेको आचार्यले बताए । टार्गेटमा ५० जना समितले अहिले पहिलो चरणमा ५० जना नव उद्यमीहरुलाई छनोट गरेर उनीहरुलाई तालिम प्रदान गर्नेछ । त्यसका साथ साथै लगानीको वातावरण पनि सिर्जना गर्नेछ । नविनतम् आधारित रहेर उद्यम गरिरहेका ५० वटा स्टार्टअप उद्योग व्यवसायको व्यवसायिक सफलताका लागि समितिले काम गर्नेछ । यसका लागि चैत महिनाको अन्तिम साताबाट आवेदन खुला गरी यसको प्रक्रिया अगाडि बढाइने आचार्यले बताए । यो प्रक्रियामा आवेदन दिनको लागि स्टार्टअप व्यवसाय गरेको कम्तिमा २ वर्ष पुरा भएको हुनु पर्ने मापदण्ड महासंघले राखेको छ । आचार्यका अनुसार नयाँ सोच भएका तर लगानी नभएकाहरुलाई यो योजानाले प्रभावकारी काम गर्नेछ । कसरी हुने सहभागी ? समतिले अप्रिल फष्ट अर्थात चैतको तेस्रो साताबाट अनलाइन आवेदन खुलाउने छ । स्टार्टअप व्यवसाय गर्दै आइरहेका व्यवसायीहरुले त्यसमा दिइएका विषयहरु भेरेर अनलाइनमै फाराम सबमिट गर्नु पर्ने हुन्छ । फारम भरेकाहरुमध्येबाट सेकेण्ड मेमा नतिजा निकालिने छ । त्यसबाट छनोट भएकाहरुको अन्तर्वार्ता मे अन्तिम सातामा गरिने छ । अन्तर्वार्तामा पनि छनोट भएकाहरुको नामावली जुन महिनाको दोस्रो सातामा आउट गरिने छ । अन्तर्वार्ताबाट छनोट भएकाहरुलाई समितिले तोकेका निश्चित व्यक्तिहरुबाट ३ महिनाको तालिम प्रदान गरिनेछ । लामो समयदेखि यही क्षेत्रमा काम गर्दै आएका सफल व्यवसायी र विज्ञहरुबाट उनीहरुलाई तीन महिनाको मेन्टरसीप तालिम दिइनेछ । अन्तिममा उनीहरुलाई उनीहरुको आइडीया अनुसार लगानी जुटाइने छ र व्यवसायमा फर्काइने छ । महासंघले स्टार्टअप विजनेस गर्ने व्यक्तिहरुका लागि आवश्यक पर्ने लगानीकर्ता अगाडि नै छनोट गरिसकेको हुनेछ । के छ मापदण्ड ? स्टार्टअप व्यवसाय तथा उद्यममा सहभागी हुन चाहनेले व्यवसाय शुरु गरेको १ वर्ष पुरा भएको हुनु पर्नेछ । त्यो व्यवसाय अरु व्यवसाय भन्दा फरक र प्रभावकारी अवधारणाको हुनु पर्नेछ । व्यवसायको सम्पूर्ण वित्तीय विवरण अडिट गरिसकेको हुनु पर्नेछ । स्टार्टअप व्यवसाय गर्ने व्यवासायीले त्यसबाट हुन सक्ने प्रभावकारिता, दिन सक्ने रोजगारी र त्यसको सम्भावनाका बारेमा खुलाएको हुनु पर्ने हुन्छ । आवश्यक पुँजी कुन कामका लागि चाहिएको हो ? व्यवसायलाई अझै कति सम्म पुर्याउन सकिन्छ ? लगायतका विषयमा स्टार्टअप गर्न चाहनेले प्रष्ट रुपमा राख्नु पर्ने हुन्छ । यी विविध विषयहरु अधययन गरेर मात्रै सो समति वा समितिले स्टार्टअप व्यवसायका लागि छुट्याएका व्यक्तिले छनोट गर्न सक्नेछन् । महासंघको पहिलो स्टेप नेपाल उद्योग वाणिज्य महासंघले आफुले नै लागेर गर्न लागेको यो पहिलो कार्यक्तम र पहिलो स्टेप भएको महासंघका अध्यक्ष शेखर गोल्छा बताउँछन् । मुलुकभित्र औद्योगिक विकास, व्यवसायिक सोचको विस्तार नभएसम्म सम्वृद्धि नआउने बताउँदै उनले यो कार्यक्रम तथा योजनाले देशमा औद्योगिक तथा व्यवसायकि जग बसाल्ने बताए । उनका अनुसार उद्यमशिलताको प्रवद्र्धनका लागि नविनतम सोच भएका युवाहरुलाई सहयोग गर्नेतर्फ महासंघको ध्यान केन्द्रित भएको छ । नेपालका स्टार्टअप र इनोभेसनको कमि भएको बताउँदै उनले यो योजनाले एक किसिमको नयाँ दिशा सिर्जना गर्ने दावी गरे । उनका अनुसार स्टार्टअप व्यवसाय अवधारणा अनुसारको पुँजी जुटाउनको लागि लगानीकर्ता तयारी अवस्थामा छन् । सम्बन्धित सामग्री रञ्जितराज आचार्यको संयोजकत्वमा स्टार्टअप समिति गठन, नयाँ उद्यमकाे साेच भएकालाई पुँजीको अभाव नहुने