सफ्टवेयर इन्जिनियरदेखि सीईओसम्म, आइटीमा अब्बल मोनाको कथा
काठमाडौं । आइटीमा महिलाहरुको संख्या कमै छ । उच्च पदमा पुग्नेको संख्या त अझ कम छ । त्यही थोरै संख्याभित्र पर्छिन्, चावहिलकी मोना न्याछ्यों । आइटी क्षेत्रमा मोना न्याछ्यों स्थापित नाम हो । खासगरी प्रोडक्ट म्यानेजमेन्ट, साइबर सेक्युरिटी र सफ्टवेयर डेभ्लप्मेन्टमा उनको विज्ञता छ । इन्टेली सफ्ट नेपालकी निर्देशक हुन्, न्याछ्यों । ५ जना पार्टनर मिलेर ६ सुरु गरेको सुरु गरेको इन्टेली सफ्टले आइटी सम्बन्धी सबै काम गर्छ । उनको मातहतमा बीस जना भन्दा बढीले काम गर्छन् । नयाँ बानेश्वरमा कार्यालय रहेको यो कम्पनीले आइटी सम्बन्धी सबै काम गर्छ । इन्टेली सफ्टसँगै न्याछ्योंले मोनल टेक कम्पनी चलाइरहेकी छिन् । कोभिड १९ को महामारीपछि घरबाटै काम गर्न सिकायो । मोनल टेकमा केहीलाई रोजगारी दिएर उनले घरबाटै काम गर्न प्रोत्साहित गरिरहेकी छिन् । आइटीमा रमाइरहेकी न्याछ्योंले यसअघि विभिन्न कम्पनीहरुमा काम गरिन् । पहिलो पटक सन् २००६ मा डिटुहकाइ कम्पनीमा उनले काम गरिन् । सफ्ट्वेयर इन्जिनियरका रुपमा यो कम्पनीमा जोडिएकी उनी पछि सिनियर सफ्टवेयरको पदमा समेत पुगिन् । पहिलो तलब थियो ? उनले ठ्याक्कै खुलाउन चाहिनन् । तर, डलरमै तलव थापेको स्वीकारिन् । साढे ५ वर्ष यस कम्पनीमा काम गर्दा उनले राम्रै नेटवर्क बनाइन् । न्याछ्योंले काम गरेको दोस्रो कम्पनी हो, लगप्वाइन्ट । इन्जिनियर म्यानेजरका रुपमा उनले यस कम्पनीमा काम सुरु गरेकी थिइन् । साढे ९ वर्ष यो कम्पनीमा यति मिहिनेत गरिन् कि पछि सीईओ बन्न सफल भइन् । ‘त्यो बेला त निजी जीवन भन्ने नै थिएन ।’ न्याछ्योंले सम्झिइन्, ‘बिहान ८ बजे अफिस गएपछि एकै पटक १० बजे फर्किनुपथ्र्यो ।’ विदेशी प्रोजेक्टहरु पर्याप्त आइरहन्थे । कर्मचारी राख्ने, प्रोजेक्ट म्यानेज गर्ने जिम्मा उनकै थियो । उनी कम्पनी प्रवेश गर्दा १५ जना स्टाफ थिए । पछि कम्पनीले स्टाफको संख्या १ सय ५० जना पुर्यायो । सानो कम्पनी सबैको मिहिनेतले बृहत रुप लिदै गयो । लगप्वाइन्टले आफूलाई सन्तुष्टि र पहिचान दिएको उनी बताउँछिन् । स्वीडिस सरकारबाट कमन क्राइटेरिया पाउने यो एक मात्र कम्पनी हो । सेक्युरिटी प्रोडक्टमा थ्रि प्लस पाउने पनि नेपालकै एक मात्र कम्पनी भएको उनले बताइन् । न्याछ्योंको परिवारले उनलाई एमबिबिएस पढाउने चाहेको थियो । तर, उनको रहर आइटीमै थियो । उनी प्रविधिमा विशेष रुचि राख्थिन् । कम्प्युटर इन्जिनियर बन्ने उनको चाहना थियो । सन् २००६ मा पोखरा युनिभर्सिटीबाट इलोक्ट्रोनिक्स एण्ड कम्प्युनिकेसन्स (बि.इ.) उत्तिर्ण गरिन् । डिन लिस्ट मेरिट् स्टुडेन्ट हुन् उनी । कलेजमा छात्रबृत्तिमै पढिन् । घर, परिवारबाट एकदमै राम्रो साथ पाएर नै यो स्थान सम्म पुगेको उनले बताइन् । न्याछ्योंले सन् २०१८ मा वुमन इन् आइटी अवार्ड हात पारिन् । यस्तै अमेरिकाको सिलिकन भ्यालीमा अमेरिकन संस्थाले आइटीमा एसियाका महिलाको सूचीमा उनको नामाकरण गरेको थियो । सिंगापुरमा सन् २०१९ मा पनि आइटी क्षेत्रकै सम्मान प्रदान गरेको थियो । बिभिन्न कम्पनीहरुमा अनुभव बटुलेपछि यतिखेर न्याछ्योंले आफ्नै कम्पनी हाँकिरहेकी छिन् । ‘नयाँ कम्पनी स्थापित गर्न एकदम गार्हो हुँदो रहेछ ।’ उनले भनिन् ‘सुरुमा काम पाउन, ग्राहक पाउँन समस्या हुन्छ ।’ नेपाली र विदेशी दुबै प्रोजेक्टहरु वेव डेभ्लप्मेन्ट, एप्लिकेशन डेभ्लप्मेन्ट, प्रोडक्ट डेभ्लप्मेन्टका क्षेत्रमा उनको कम्पनीले काम गरिरहेको छ । युरोप, अमेरिका लगायतका देशमा आइटीका प्रोजेक्टहरु महंगो भएकाले सुरुमा नेपाल, भारतमा बढी कामका लागि अफर आउँथे । अहिले भने त्यो चलनमा परिवर्तन आएको न्याछ्यों बताउँछिन् । अचेल नेपालका कम्पनीहरुले पनि राम्रो सेवा दिन थालेको उनको अनुभव छ । नेपाल बाहिरबाट कामका लागि अफर आउँदा नगएका बरु स्वदेशमै केही इच्छा भएको उनले सुनाइन् । नेपालमा आईटीका क्षेत्रमा पहिला भन्दा राम्रो अवस्था भएको न्याछ्यों बताउँछिन् । लगप्वाइन्ट कम्पनीमा काम गर्दा उनी एक्लै महिला थिईन् । ‘अहिले तल्लो तहमा संख्या बढे पनि माथिल्लो पदमा महिलाको संख्या अझै न्युन छ ।’ उनी भन्छिन् । आइटीमा कमाई एकदमै राम्रो भएको उनको अनुभव छ । सुरुदेखि अहिलेसम्म उनले डलरमै तलब थापिरहेको स्वीकारिन् । आफूमा सीप भए घरमै बसेर काम गर्न सकिने, राम्रै आम्दानी गर्न सकिने उनी बताउँछिन् । सामान्यत सफ्टवेयर डेभ्लप्मेन्टले नेपालमा १ लाखदेखि तीन लाख रुपैयाँ कमाई गर्ने गरेको उनी बताउँछिन् । नयाँहरुलाई पनि जीवन धान्न गार्हो नभएको उनी बताउँछिन् । कामका सिलसिलामा कतिपय पुरुषहरुले महिलाको क्षमतामा विश्वास नगर्ने मानसिकता रहेको उनले बताइन् । महिलाहरुले पनि आइटीको काम सक्छन् र ? भन्ने प्रश्न गर्ने गरेको उनी बताउँछिन् । तर, आफूले भने तीतो अनुभव नभोगेको बताइन् । नेपालका ग्रामिण क्षेत्रबाट आईटी क्षेत्रमा महिलाको उपस्थिीति छैन । त्यसो हुनुमा पारिवारिक कारण समस्या रहेको उनको ठम्याई छ । अर्को कुरा अवसर कहाँ छ, त्यो थाहा नपाएर पनि यस्तो अवस्था आएको उनी बताउँछिन् । करिअर बनाउने, पढ्ने, विवाह गर्ने काम एकै पटक हँुदा झमेलाले महिलाहरु अगाडी बढ्न गार्हो भएको उनको ठम्याइ छ । ‘म त लक्की भएँ ।’ उनले सुनाइन् ‘बुझ्ने परिवार पाइयो ।’
सर्वाेत्तम सिमेन्टले ल्याउने बुक विल्डिङ प्रक्रियाको आइपिओ के हो ? कति कित्ता किन्नुपर्छ ?
काठमाडौं । रियल सेक्टरका कम्पनीहरु पुँजी बजारमा आएनन् भनेर गुनासो भइरहेको समयमा सर्वाेत्तम सिमेन्ट पुँजी बजारमा आउने अन्तिम तयारीमा छ । तर, यो कम्पनीले नेपाली पुँजी बजारको इतिहासमै फरक तरिकाले आइपिओ जारी गर्न लागेको छ । अहिलेसम्म प्रतिकित्ता अंकित मूल्य (सामान्यतः प्रतिकित्ता सय रुपैयाँ) मा र प्रिमियम मूल्यमा आइपिओ जारी हुँदै आएकोमा सर्वाेत्तमले भने बुक विल्डिङ प्रक्रियाबाट आइपिओ जारी गर्न लागेको हो । अहिलेसम्म नेपालमा बुक विल्डिङ प्रक्रियाबाट आइपिओ जारी हुन लागेको यो नै पहिलो पटक भएको धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी बताउँछन् । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले यसैपाली बुक विल्डिङ निर्देशिका २०७७ जारी गरेपछि सर्वाेत्तम सिमेन्टले सोही प्रक्रियाबाट आइपिओ जारी गर्ने तयारी अन्तिम अवस्थामा पुर्याएको हो । के हो बुक विल्डिङ प्रक्रिया ? बोर्डले जारी गरेको निर्देशिका ‘बुक विल्डिङ विधि भन्नाले संगठित संस्थाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा धितोपत्रको निष्कासन मूल्य निर्धारण गरिने विधि वा प्रक्रिया सम्झनु पर्छ’ भनेर परिभाषा खण्डमा लेखिएको छ । यसलाई अझ सजिलो हुने गरी यसरी बुझौं । जस्तो कि कुनै कम्पनीले आइपिओ जारी गर्न लाग्यो भने सो कम्पनीले पुँजी बजारका संस्थागत लगानीकर्तालाई आफ्नो कम्पनीको सबै विवरण उपलब्ध गराउँछ । सबै विवरण पाएपछि संस्थागत लगानीकर्ताले सो कम्पनीको सेयर आफूले यति मूल्यमा किन्न सक्ने भनेर जानकारी आइपिओ जारी गर्ने कम्पनीलाई गराउँछन् । संस्थागत लगानीकर्ताले आइपिओ जारी गर्ने कम्पनीको मूल्य प्रस्ताव पठाउनुअघि आफ्ना विशेषज्ञलाई कम्पनीको वित्तीय अवस्था, आगामी योजना, सम्भावित प्रतिफल, कम्पनीको संचालक समिति र व्यवस्थापनको नेतृत्व गरिरहेका अधिकारीहरुको विगतदेखिको कार्यसम्पादनका आधारमा अब कस्तो कम्पनी बन्ला भन्ने विश्लेषण, दोस्रो बजारमा कम्पनीको सेयरले पार्ने प्रभाव लगायतका विषयको विश्लेषण गर्छन् । यस्तो विश्लेषणबाट प्राप्त नतिजाको आधारमा संस्थागत लगानीकर्ताले आइपिओ जारी गर्ने कम्पनीको आइपिओ आफूले यति मूल्यमा किन्ने भनेर प्रस्ताव पठाउने गर्छन् । यसरी विभिन्न संस्थापक लगानीकर्ताबाट प्राप्त भएको आइपिओको मूल्यको औसत मूल्य आइपिओ जारी गर्ने कम्पनीले निकाल्छ । यसरी निकालिएको मूल्य नै आसय हुन्छ । यो आसय मूल्य तय हुने प्रक्रिया नै बुक विल्डिङ विधिबाट आइपिओको मूल्य तय हुने विधि वा प्रक्रिया हो । कतिवटा लगानीकर्ताले तय गरेपछि निर्धारण हुन्छ आसय मूल्य ? निर्देशिकाले यसको पनि निक्र्योल गरेको छ । कम्तिमा १० वटा संस्थागत लगानीकर्ता सहभागी भएर उनीहरुले मूल्य प्रस्ताव गरेपछि आसय मूल्य तय हुन्छ । अर्थात सर्वाेत्तम सिमेन्टको हकमा पनि कम्तिमा १० संस्थागत लगानीकर्ताले पठाएको मूल्यको औसत निकालेपछि आसय उसको आइपिओको आसय मूल्य तय हुन्छ । को हुन् संस्थागत लगानीकर्ता ? बुक विल्डिङ निर्देशिका २०७७ ले बुक विल्डिङ प्रक्रियामा सहभागी हुनको लागि योग्य संस्थागत लगानीकर्ता पनि तोकेको छ । निर्देशिका अनुसार (क) सूचिकृत संगठित संस्था, (ख) विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, (ग) सामूहिक लगानी कोष व्यवस्थापक, (घ) सामूहिक लगानी कोषका योजना, (ङ) मर्चेन्ट बैंकर, (च) मान्यता प्राप्त अवकाश कोष, (छ) बोर्डले समय समयमा तोकेका अन्य कोष वा कम्पनी वा संस्थालाई योग्य संस्थागत लगानीकर्ता भनिएको छ । यस्तै, बुक विल्डिङ्ग विधि मार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन सम्बन्धी अन्य व्यवस्था बोर्डले निर्देशिकामा तोके बमोजिम हुनेछ भनिएको छ । यो भनेको धितोपत्र व्यापार र धितोपत्रमा लगानी गर्ने उद्देश्यले स्थापित लगानी कम्पनी हुन् । यी दुबै प्रकारका कम्पनीको नेटवर्थ कम्तिमा पनि १० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ । कस्ता कम्पनीले पाउँछन् बुक विल्डिङ विधिबाट आइपिओ जारी गर्न ? यसको पनि मापदण्ड बनाइएको छ । बोर्डले (क) संगठित संस्था विगत तीन आर्थिक बर्षदेखि लगातार खुद नाफामा संचालनमा रहेको, (ख) संगठित संस्थाको साधारणसभाले बुक विल्डिङ्ग विधि मार्फत धितोपत्र जारी गर्ने निर्णय गरेको, (ग) संगठित संस्थाको प्रतिशेयर नेटवर्थ प्रतिशेयर चुक्ता पूँजीको कम्तिमा १५० प्रतिशत रहेको, (घ) संगठित संस्थाले कम्तिमा औसत वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेको हुनुपर्छ । योग्यता पुगेका संगठित संस्थाले बुक विल्डिङ्ग विधि मार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा योग्य संस्थागत लगानीकर्ताबाट खरिद आशय मूल्य प्राप्त गर्नु पर्नेछ । यसरी प्राप्त भएको खरिद आशय मूल्यको आधारमा धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गरी योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्रको ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताको लागि ६० प्रतिशत धितोपत्र निष्काशन गर्नु पर्ने हुन्छ । योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरेको सेयर नेप्सेमा सूचिकरण भएको मितिले छ महिनासम्म बिक्री वा हस्तान्तरण गर्न भने पाइदैन । तर, सर्वधारणको हकमा भने यस्तो बन्देज छैन । सर्वसाधारणलाई १० प्रतिशत सस्तो बुक विल्डिङ प्रक्रियाद्वारा तय भएको आधार मूल्य संस्थागत लगानीकर्ताको हकमा हो । सर्वसाधारणले भने यसरी तय भएको मूल्यमा १० प्रतिशत सस्तोमा आइपिओ किन्न पाउँछन् । कति कित्ता किन्नुपर्छ ? अहिले आइपिओ हाल्नको लागि कम्तिमा एक हजार रुपैयाँ भए हुन्छ भन्ने जस्तो सन्देश प्रवाह भएको छ । किनभने धितोपत्र बोर्डले कम्तिमा १० कित्ताको लागि आइपिओ माग गरे हुने भनेको छ भने कम्तिमा १० कित्ताका दरले पुगेजति सबैलाई आइपिओ बाँडफाँड गर्नुपर्ने व्यवस्था पनि गरेको छ । तर, बुक विल्डिङ प्रक्रियाबाट आइपिओ जारी गर्ने कम्पनीको १० कित्ता किनेर हुँदैन । सर्वसाधारणले पनि यस्तो आइपिओ कम्तिमा पनि ५० कित्ता किन्नको लागि आवेदन दिनुपर्ने भनिएको छ । सर्वाेत्तमको आइपिओको मूल्य कति ? सर्वाेत्तम सिमेन्टले बुक विल्डिङ प्रक्रियाबाट निष्कासन गर्न लागेको आइपिओको आधार मूल्य प्रतिकित्ता ७५० रुपैयाँ तोकिएको छ । तर, अहिले भनिएको यो मूल्य नै अन्तिम नहुन पनि सक्छ । किनभने कम्पनीले भनेको यो ७५० रुपैयाँ मूल्य अण्डरराइटर कम्पनीहरुले तय गरेको मूल्य हो । संस्थागत लगानीकर्ताबाट सर्वाेत्तम सिमेन्टले प्राप्त गरेको आसय मूल्यका आधारमा प्रतिकित्ता ७५० रुपैयाँ नै आधार मूल्य तय भएपनि सर्वसाधारणको लागि योभन्दा १० प्रतिशत सस्तो अर्थात प्रतिकित्ता ६७५ रुपैयाँ हुनेछ । तर, सर्वाेत्तम सिमेन्टले मेरो आइपिओको आसय मूल्य यति यति प्राप्त भयो, त्यसको आधारमा आधार मूल्य यति हो भनेर नियामक निकाय धितोपत्र बोर्डमा कुनै जानकारी गराएको छैन । कम्पनीले प्राप्त गरेको आसय मूल्यका आधारमा तय भएको आधार मूल्यप्रति पनि नियामक निकाय धितोपत्र बोर्डले थप अध्ययन गर्न सक्ने अवस्था रहन्छ । त्यसैले सर्वाेत्तम सिमेन्टको बुक विल्डिङ प्रक्रियाबाट जारी हुने आइपिओको मूल्य कति हो भनेर यकिन भइसकेको छैन । यद्यपि कम्पनीले आफ्नो आधार मूल्य प्रतिकित्ता ७५० रुपैयाँ नै हो भनेर दाबी गरेको छ । किन ७५० रुपैयाँ ? आफ्नो कम्पनीको आइपिओको मूल्य ७५० रुपैयाँ नै हुनुका पछाडि कम्पनीले १५ कारण रहेको दाबी गरेको छ । सर्वाेत्तम सिमेन्टले दाबी गरेका १५ वटा आधार यस्ता छन्ः १. कम्पनीको दैनिक क्लिंकर उत्पादन क्षमता ३ हजार मेट्रिक टन तथा वार्षिक २ करोड बोरा सिमेन्ट उत्पादन क्षमता र कम चुक्ता पूँजीमा बढी उत्पादन हुँदा बढी प्रतिफल दिन सक्ने । २. कम्पनीले आफ्नो व्यवसायिक उत्पादन शुरु गरेपछि नै नाफा कमाउदै आएको र विगत ३ वर्षको औषत नाफा (कर पछिको) वार्षिक १ अर्ब ४ करोड रुपैयाँभन्दा वढी भएको । ३.विगत तीन वर्षको औषत इपीएस ५२ रुपैयाँ रहेको र आगामी तीन वर्षको औषत इपीएस ४५ रुपैयाँभन्दा वढी प्रक्षेपित गरिएको । ४. कम्पनीको रिजर्भमा २०७७ माघ मसान्तसम्म २ अर्ब ३१ करोड रुपैयाँभन्दा वढी रहेको । ५. हाल कम्पनीको सम्पति २० अर्ब रुपैयाँ रहेको । ६. आगामी ३ वर्षसम्म आयकरमा ५ प्रतिशत छुट पाउने भएकोले वढी प्रतिफल दिनसक्ने । ७. आइपिओबाट प्राप्त रकममध्ये ४० प्रतिशतले ऋण भूक्तानी गरी शतप्रतिशत ऋण मुक्त हुने र बाँकी रकमले उत्पादन क्षमता दोब्बर हुने भएकाले, यसबाट ४ बर्षपछि बार्षिक प्रतिफल ७५ प्रतिशतभन्दा बढि हुन जाने प्रक्षेपण गरिएकाले । ८. आइपिओ जारी पश्चात पहिलो ३ महिनाभित्रै १० प्रतिशत वोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने निश्चित भएकोले सो वापत झण्डै १०० रुपैयाँ प्रतिसेयरको आम्दानी तत्कालै हुने । ९. सेयरधनीले तिरेको ६५० रुपैयाँ प्रिमियमको १५ प्रतिशतले हुन आउने प्रतिसेयर ९७.५० रुपैयाँ कम्पनीको रिजर्भमा रहने भएकोले सो वापत थप वोनस सेयर जारी हुने संभावना रहेको । १०. इक्राबाट आइपिओ रेटिङ्ग थ्रीबीप्लस पाएकोले कम्पनी लगानीकर्ताको लागि औषतभन्दा बढी राम्रो रहेको । साथै इक्रा रेटिङ्ग अनुसार कम्पनीको चुनढुंगा तथा ढुवानीको लागत अन्य सिमेन्ट उद्योगकोभन्दा कम रहेकोले कम्पनीले बढी प्रतिफल दिन सक्ने । ११. संस्थागत लगानीकर्तालाई ७५० रुपैयाँ मूल्य तोकिएकोमा सर्वसाधारणले ७५० मा १० प्रतिशत घटाई ६७५ रुपैयाँमा सेयर पाउने भएकोले सर्वसाधारण लगानीकर्तालाई सहुलियत भएको । १२. कम्पनीले आफ्नो हालसम्मको रिजर्भबाट १० प्रतिशत वोनस सेयर र २५ प्रतिशत नगदा लाभांश दिने भएकोले, सेयर खरिदको तीन महिना भित्रै लगभग १०० रुपैयाँ बराबरको प्रतिफल प्राप्त हुने । यसरी सर्वसाधारण लगानीकर्ताको सेयर मुल्य ५७५ रुपैयाँ मात्र पर्न जाने । १३. २५ बर्षभन्दा बढी सिमेन्ट उद्योग सञ्चालन गरेका अनुभवी सञ्चालकहरुबाट सञ्चालित उद्योग भएकाले, संचालन लगात न्यून रहेकाले । १४. डेनमार्कवाट आयातित अत्याधुनिक भीआरएम प्रविधिवाट सिमेन्ट उत्पादन गर्दा विद्युतमा ३० प्रतिशत वचत हुने तथा कोइला खपतमा २० प्रतिशतसम्म वचत हुने भएकाले लागत कम भई बढी प्रतिफल दिने । १५. कम्पनीसँग ९० वर्ष पुग्ने चुनढुङा खानी रहेकोले उत्पादन क्षमता वढाउदै लैजान सजिलो रहेको ।
जाे एक लाख रुपैयाँ ऋणबाट बने ११ होटलकाे मालिक, २५० जनालाई राेजगारी
चितवन । आफन्तसँग ढाँटेर एक लाख ऋण लिएर व्यवसाय सुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका छन् । नेपालमै व्यवसाय गर्छुभन्दा ऋण नपत्याइएपछि विदेश जान भन्दै ऋण लिएका गुल्मीका शङ्कर भण्डारीको नेतृत्वमा अहिले ११ होटल र रेष्टुराँ छन् । विसं २०३९ मा गुल्मीको तत्कालीन रुपकोटमा जन्मिएका भण्डारीले विसं २०५९ मा आफन्तसँग एक लाख ऋण लिएर साझेदारीमा काठमाडौँको सुन्धारामा होटल सुरु गरे । मान्यजन आफन्तसँग काम गर्दा आफू होचिएको महसुस गरेसँगै उनले नजिकै परिवारले हेर्ने गरी किराना पसल थप गरे । पसल सञ्चालनका लागि थोरै पैसा ऋण पाएपछि सोही पैसाले किराना पसल सुरु गरे । पसलमा सामान राख्ने ठाउँ खुल्ला देखिएपछि अन्यत्रबाट खाली कार्टुन ल्याएर ¥याक भरेको उनले स्मरण गरे । उनले भने, ‘पसल शुरु गर्दा ५० हजार मात्रै थियो, त्यसले सामान धेरै आएन, अन्यत्रबाट कार्टुन ल्याएर पसल भरेँ ।’ ८० हजार ऋण खोजेर ३० हजारको ¥याक बनाएपछि ५० हजारको सामानबाट उनले पसल सुरु गरे । सो पसल सुरु भएको दिनदेखि नै निकै राम्रो व्यापार भएको स्मरण गर्दै उनले भने, ‘दैनिक एक लाख ५० हजारसम्मको व्यापार भयो ।’ आफूलाई भने होटलमै लगाव भएकाले साझेदारीको होटल छाडेर विसं २०६३ मा सुन्धारामै एउटा घर भाडामा लिएर उनले प्रेसिडेन्ट होटल सुरु गरे । होटल सुरुवाती अवस्थाको दुःख सम्झँदै उनले भने, ‘पैसा नभएपछि २० कोठे घरको चार कोठा मात्रै तयार पारेर होटल सुरु गरेँ ।’ क्रमशः किराना र होटलको कमाइले उक्त होटल एक वर्ष लगाएर पूर्ण क्षमतामा सञ्चालन गरेको उनले बताए । त्यतिबेला उनीसँग एक साझेदार पनि थिए । निरन्तरको मिहिनेतसँगै होटलले व्यवसायमा फड्को मार्दै गयो । विसं २०६५ मा सुन्धारामै ४० कोठाको अर्काे घर लिएर उनले होटल सुरु गरे । दुवै होटलको सफलताले उनलाई त्यतिकैमा रोकिन मन लागेन । उनले विसं २०६९ मा रुपन्देहीको लुम्बिनीमा १५ कोठाको होटल सुरु गरे । विसं २०७२ सालमा बालाजुमा २० कोठाको होटल सुरु गरे । होटलको व्यवसाय फस्टाउँदै गएपछि उनलाई रेष्टुराँमा हात हाल्ने हौसला मिल्यो । त्यससँगै विसं २०७३ मा सुन्धारामा पे्रसिडेन्ट सेकुवा सुरु गरे । सेकुवाको स्वादले धेरैको मन लोभ्याएपछि उनलाई थप रेष्टुराँ खोल्ने चाहना बढेर गयो । क्रमशः कलङ्कीको रविभवन, महाराजगञ्ज, माछापोखरी र चितवनको भरतपुरमा प्रेसिडेन्ट सेकुवा सुरु भयो । भरतपुरमा सेकुवाको व्यापार सुरुसँगै उनलाई चितवनको ताससँग खेल्न रहर जाग्यो । यही रहरले नारायणगढको पुलचोकमा आजबाट पे्रसिडेन्ट तास बजार सुरु गरेका छन् । चितवनमा प्रख्यात खशीको मासुबाट बनाइने तासलाई विविधिकरण गर्दै उनले कुखुरा, अण्डा र आलुको समेत तासको मेनु ग्राहकसामु ल्याउनु भएको छ । उनले भने, ‘हामीकहाँ चितवनमा नपाइने धेरै प्रकारका तास पाईन्छ ।’ उनको व्यवसायमा एकपछि अर्काे गर्दै फड्को मार्ने क्रम भने अझै रोकिएको छैन । उनले बालाजुमा आगामी चैतबाट बेकरी सुरु गर्दै छन् भने चितवनकै कुरिनटारमा साझेदारीमा ३० कोठाको रिसोर्ट निर्माणको प्रक्रिया सुरु गरेका छन् । रिसोर्टबाहेक अन्यमा ७० प्रतिशत उनको आफ्नै लगानी छ भने ३० प्रतिशत स्थानीय र कर्मचारीलाई शेयर दिएका छन् । व्यापारमा गरेको आम्दानीले अर्काे होटल र रेष्टुराँ खोल्दै चेनको विकास उनले गरिरहेका छन् । देशका प्रमुख शहरहरुमा रेष्टुराँ खोल्ने उनको चाहना छ । उनले भने, ‘काठमाडौंमा मात्रै २० वटा रेष्टुरेण्टका आउटलेट खोल्ने तयारी गर्दैछु ।’ होटल रेष्टुराँबाट कमाएको रकम घरजग्गा किन्न खर्च नगरेको भन्दै उनले भने , ‘अहिले पनि म भाडामा बस्छु, बस्ने घरभन्दा एउटा थप होटल वा रेष्टुरेण्ट खोल्ने मेरो चाहना छ ।’ २५० जना हाराहारीलाई रोजगारी दिलाएको बताउँदै उनले भने, ‘धेरैलाई साहु बनाउने र रोजगारी दिलाउने अभियानमा म लागिरहेको छु ।’ ‘न्यून दरमा सेवा र गुणस्तर तारे होटलसरह’ भन्ने नाराका साथ लागेका उनले स्वच्छ वातावरण, सरल ठेगानास्तरीय सेवा र स्वादिष्ट खानामा नै ध्यान पु¥याएका कारण सफलता मिलेको बताए । एउटा होटल वा रेष्टुराँ सञ्चालन गर्न ५० लाखदेखि दुई करोडसम्म खर्च भएको उनको भनाइ छ । कम खर्चमा बनेको सुन्धाराको होटलमा ५० लाख लगानी भएको बताउँदै उनले भरतपुरको सेकुवामा दुई करोड खर्च भएको जानकारी दिए । व्यवसायसँगै उनले सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आएका छन् । उनले गुल्मीमा आफूले अध्ययन गरेको विद्यालयमा अध्ययनरत १५ विद्यार्थीको अभिभावकत्व लिएर सम्पूर्ण खर्च गर्दै आएका छन् । चितवनको रङ्गशालादेखि चेपाङ बालबालिकालाई समेत उनले समय समय सहयोग दिँदै आएको बताए । व्यवसायमा उनलाई भाइ कृष्ण भण्डारीसहित परिवारको साथ र सहयोग छ । सेवाग्राहकीको मायाकै कारण सफलता मिलेको बताउने उनले स्वदेशमै मिहिनेत ग¥यो भने सफल होइन्छ भन्नुभयो । आफूले मलेसिया जाने भनेर ढाँटेर ऋण लिएर व्यवसाय सुरु गरेको स्मरण गर्दै उनले अहिले व्यवसाय गर्नलाई सानो रकम जुटाउन आफूलाई जस्तो कठिन नपर्ने भएकाले विदेश जान छोडेर स्वदेशमै व्यवसाय गर्न युवालाई आग्रह गरे । उनको सुझाव छ ‘क्षमता, दक्षता, विज्ञताअनुसारको मिहिनेत ग¥यो भने सफलता मिल्छ ।’ रासस