व्यवसाय प्रवर्धनका लागि चितवनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ल्यायाे अनलाइन सेवा
चितवन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसाय प्रवद्र्धनका लागि अनलाइन सेवा सञ्चालन गर्ने भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रद्वारा आइतबार यहाँ आयोजित ‘नेपाल व्यापार सूचना पोर्टल’सम्बन्धी अभिमुखीकरण कार्यक्रममा अनलाइनमार्फत व्यवसाय प्रवद्र्धन गर्नका लागि सरकारले प्रक्रिया शुरु गरेको जानकारी दिइएको हो । स्वदेशमा उत्पादित सामग्रीलाई विदेशमा निर्यात गर्न सहज होस् भन्ने उद्देश्यका साथ सरकारले पोर्टल सञ्चालन गर्न लागेको केन्द्रका निर्देशक सुरेन्द्रनाथ गोगलले जानकारी दिए । स्वदेशी उत्पादनका सामग्रीको जानकारी रहने सो पोर्टलमा वार्षिकरुपमा हुँदै आएको व्यापार घाटालगायतका विषयमा जानकारी लिन सकिने छ । उनले भने, ‘यो पोर्टलमार्फत व्यवसाय प्रवर्धन गर्न चाहनेका लागि आफ्नो उद्योगबाट उत्पादित १० वस्तुलाई निःशुल्क राख्न सकिने छ ।’ यसमा निर्यातका लागि आवश्यक जानकारीसहित उद्योग दर्ता र लगानीका विषयमा समेत जानकारी दिइने छ । पहिलोपटक चितवनबाट यसको जानकारी दिन थालिएको जनाउँदै उनले भने, ‘नेपाली उत्पादनका लागि विदेशी बजारको अवस्थाका बारेमा समेत यहाँ जानकारी दिइने छ ।’ आयात र निर्यातका विषयमा यस पोर्टलबाट जानकारी दिइने भएकाले यसले नेपालका उद्योगलाई बजारको व्यवस्थापनका लागि सहयोग पुग्ने उनले बताए । कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले उत्पादित सामग्री विदेशी बजारमा निर्यात गर्न नसक्दा व्यापार घाटा बढेकाले सरकारले यो अनलाइन सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए । निर्यातलाई प्रवद्र्धन गर्दै आयातलाई प्रतिस्थापन गर्नका लागि यो पोर्टल प्रभावकारी हुने उनको भनाइ थियो । उनले भने, ‘विदेशीले नेपालको उत्पादनलाई कस्तो सुविधा दिएका छन् भन्ने विषयमा जानकारी दिनु यसको महत्वपूर्ण काम रहने छ ।’ उद्योग र उद्यमीलाई लक्षित गरी यो कार्यक्रम ल्याइएको उनको भनाइ छ । उद्योग सङ्घका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग परिसङ्घ प्रदेश नम्बर २ का अध्यक्ष नरेश दास, चेम्बर अफ कर्मश चितवनका उपाध्यक्ष गोपाल भट्टराई, उद्योग वाणिज्य सङ्घ रत्ननगरका वरिष्ठ उपाध्यक्ष शङ्कर गिरी, उद्योग सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेललगायतले यस अनलाइनले आयातलाई प्रतिस्थापन गर्दै नेपाली उत्पादनको बजार प्रवर्धन टेवा पुग्ने विश्वास व्यक्त गरे । रासस
२० करोड लगानीमा झापामा स्थापित पहिलो रबर उद्योग सञ्चालनको तयारीमा
झापा । नेपालमा रबर खेती शुरु भएको ३० वर्षपछि झापामा रबर उद्योग स्थापना भएको छ । कनकाई नगरपालिका–७ मा २० करोडको लगानीमा स्थापित कनकाई रबर इन्डस्ट्रिज सञ्चालनको अन्तिम तयारीमा छ । विसं २०४६ मा गोरखामा गोरखकाली रबर उद्योग स्थापना भएसँगै झापाको शनिश्चरेमा पहिलोपल्ट परीक्षणको रुपमा रबरको बिरुवा रोपिएको थियो । शनिश्चरेका जयप्रसाद ढकाल र उहाँको परिवारले पाँच हेक्टर जग्गामा पहिलोपल्ट रबर खेती गर्नुभएको थियो । हाल झापा, मोरङ र सुनसरीमा करीव ७०० हेक्टरमा रबरको खेती भइरहेको छ । रबरको खेती फस्टाउँदै गएपछि स्वदेशमै उद्योग सञ्चालनको आवश्यकता महसुस गरी काठमाडौँ र झापाका लगानीकर्ताले साझेदारीमा कनकाई रबर इन्डस्ट्रिज स्थापना गरेका हुन् । डेढ बिघा जग्गामा फैलिएको रबर उद्योगले यसै वर्षदेखि किसानले उत्पादन गरेको रबरको चोप खरिद गर्ने जनाएको छ । उद्योगले प्रतिघण्टा एक हजार लिटर रबरको चोप प्रशोधन गर्ने भएको छ । किसानबाट खरिद गरेको रबरको चोपलाई आधुनिक मेसिनमा प्रशोधन गरी पहिलो चरणमा जुत्ता चप्पलमा प्रयोग हुने सुलेसन (टाँस्ने पदार्थ) र रबर सोल उत्पादन गरिने सञ्चालक बालकृष्ण सापकोटाले बताए । नेपालमा सयौँको सङ्ख्यामा रहेका जुत्ता चप्पल उद्योगले यहाँबाट उत्पादित सुलेसन र सोल प्रयोगमा ल्याउने सञ्चालकको अपेक्षा छ । हालसम्म ती उद्योगले यस्तो पदार्थ भारतको केरला, भियतनाम र थाइल्यान्डबाट आयात गर्दै आएका थिए । दुई महिनापछि सुलेसन र सोल उत्पादन थालिने सञ्चालक सापकोटाको भनाइ छ । त्यसपछि दोस्रो चरणमा मेडिकल क्षेत्रमा प्रयोग हुने ग्लोब र घरायसी प्रयोगमा आउने म्याट उत्पादन गर्ने उद्योगको लक्ष्य रहेको उनले बताए । विश्वमा रबर दुई किसिमले उत्पादन हुन्छ । पेट्रोलियम खनिज पदार्थलाई प्रशोधन गरेर र रबरको बिरुवा रोपेर रबर उत्पादन हुँदै आएको छ । बिरुवा रोपेर उत्पादन हुने रबर प्राकृतिक हुने भएको हुँदा यसको विश्वभरि उच्च माग छ । यातायातका साधन साइकलदेखि हवाइजहाजको टायर र ट्युब बनाउन पनि रबरको आवश्यकता पर्दछ । नेपालले बर्सेनि अर्बौंको रबर आयात गर्दै आएको छ । तर रबर खेती र यसमा आधारित उद्योग खुल्दै जाने हो भने ठूलो मात्रामा आयात प्रतिस्थापित हुने सम्भावना रहेको छ । गर्मी क्षेत्रमा रबरको बोट हुर्किन्छ । यसको फेदबाट दूधजस्तो चोप निकालेर सङ्कलन गरिने र सङ्कलित चोपलाई प्रशोधन गर्दा प्राकृतिक रबर उत्पादन हुने गर्दछ । नेपालमा गोरखकाली रबर उद्योगले झापामा उत्पादित केही रबर विगतदेखि खरिद गर्दै आएको थियो तर उद्योग नै धराशायी बनेपछि किसानले रबरका पाप्रा बनाएर भारतमा बेच्दै आएका थिए । कनकाई रबर इन्डस्ट्रिजले अब किसानले बगानमै उत्पादन गरेको कच्चा चोप खरिद गरी लैजाने भएको छ । झापामा उत्पादन हुने सबै चोप खरिद गरिने उद्योगका सञ्चालक सापकोटाले बताए । झापामा सामुदायिक बन, एग्रो फरेस्ट्रीलगायतका संस्थाले धेरै जग्गामा रबर खेती गरेका छन् भने करेसाबारीमा १० बोटदेखि दशौँ बिघा जग्गामा हजारौँ बोट रबर हुर्काउने किसानको सङ्ख्या झापामा सयौँ रहेको छ । किसानले खेती नहुने पाखो र बगर जग्गामा रबर लगाएर प्रति बिघा रु चार लाखसम्म वर्षेनी आम्दानी गर्दै आएका छन् । रबरको चोप मात्र नभएर यसका दाउरा र काठ महँगोमा बिक्री हुने गरेको छ भने रबर खेती लगाएको स्थानमा मौरीपालन फस्टाउने गर्दछ । गिरिजाप्रसाद कोइराला फाउन्डेसनले झापाको बुद्धशान्ति गाउँपालिकाको वडा नं ८ लाई रबर ग्राम घोषणा गर्दै नमूना रबर खेतीका लागि सहयोग पु¥याउने भएको छ । एग्रो टुरिज्मको अवधारणाबमोजिम बुद्धशान्तिमा नमूनाको रुपमा रबर ग्राम परियोजना सुरु गरिएको रबर ग्रामका सचिव सीताराम बाँस्तोलाले बताए । फाउन्डेसनले भारतबाट उन्नत जातको बिरुवा ल्याएर किसानलाई बाँड्ने र प्राविधिक सहयोग पु¥याउने उनकाे भनाइ छ । रबर ग्राममा साना किसानलाई समेटिने र लघु उद्योग सञ्चालन गरी नोट बाँध्ने रोल रबर र इरेजर उत्पादन गरिने उनले जानकारी दिए । फाउन्डेसनले लघु उद्योग सञ्चालनका लागि प्राविधिक र आर्थिक सहयोग दिलाउने भएको छ । रबर बोटमा फल्छ भन्ने हेर्नका लागिसमेत रबर ग्राममा पर्यटक आकर्षित हुने सम्भावनालाई मध्यनजर गरेर घरबास सञ्चालनका लागिसमेत फाउन्डेसनले पहल गर्ने भएको छ । झापाको बाह्रदशीमा समेत अर्को रबर उद्योग स्थापनाको तयारी भइरहेको छ । रबरको उत्पादन बर्सेनि बढ्दै गएको हुँदा प्रशोधन उद्योग खुल्ने क्रम अझ बढ्ने सम्भावना छ । नेपालमा रबर खेतीको सम्भावना छ भनी पहिलो अनुसन्धान गर्ने विज्ञ तिलक भण्डारी छन् । उनले रबर खेती शुरु भएको तीन दशकपछि झापामा उद्योग स्थापना हुनु निकै ढिलो भए ता पनि खुशी मान्नुपर्ने बताए । नेपालकै पहिलो रबर उद्योग गोरखकाली रबर उद्योग हो । गोरखामा रबर खेती नफष्टाएपछि उक्त उद्योगले झापाको कच्चा पदार्थमा निर्भर हुनुपरेको थियो । पछि विभिन्न कारणले गोरखकाली रबर उद्योग धराशायी हुन पुग्यो । ‘‘अब किसानको उत्पादनले जिल्लाभित्रै बजार पाउने भयो”, रबर खेती विज्ञ भण्डारीले भने–“झापामा खाली र बगर जग्गा थुप्रै छ, त्यहाँ खेती विस्तार गर्न सके देशकै लागि फाइदा हुन्छ ।” झापाको माइपश्चिम क्षेत्रमा राजमार्गभन्दा उत्तरी इलाकामा रहेको रतुवामाई वृक्षरोपण आयोजनामा रबर खेती लगाउने हो भने मुलुक रबरमा आत्मनिर्भर बन्न सक्ने देखिएको छ । आयोजनाको हजारौँ हेक्टर जग्गा खाली छ भने सिसौ, मसलाजस्ता कमसल रुख हुर्काउनुको साटो रबर खेती लगाउनुपर्नेमा राज्यको ध्यान आकृष्ट हुनु पर्ने कनकाई रबर इन्डस्ट्रिजका सञ्चालक बालकृष्ण सापकोटाले बताए । रासस
बस्नेतको नेतृत्वमा द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम विस्तार, वैदेशिक लगानी भित्र्याइँदै
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम विस्तार गरेको छ । महासंघका केन्द्रिय सदस्य एवं फोरमका सभापति देशबन्धु वस्नेत (अजित) संयोजकत्वमा उक्त फोरम विस्तार गरेको हो । आज (बिहीबार) एक कार्यक्रमबीच फोरम विस्तार गर्दै क्षेत्रगत रुपमा तीन जना उपसभापतिहरु चयन गरेको छ । जसमा एनआरएनबाट कुल आचार्य, द्विराष्ट्रियबाट अनोज रिमाल र नेपाली उद्योगी व्यवसायीकोतर्फबाट हरिबहादूर कार्कीलाई उपभापतिमा चयन गरिएको महासंघले जानकारी दिएको छ । यसैगरी उक्त फोरमको सदस्यहरुमा डा. मनिष थापा, उमेश रायमाझी, ल्विसेस गाडेन ढकाल, ऋषीप्रसाद ढकाल र खगेन्द्रराज ढकाल चयन भएका छन् । यस्तै आमन्त्रित सदस्यहरुमा पुष्पदास श्रेष्ठ, महेशमान श्रेष्ठ, शुभाशिष थपलिया, चन्द्रप्रसाद ढकाल, प्रकाश घिमिरे, प्रकाश तिवारी, अरनिको सिंह र आशिष ढकाललाई चयन गरिएको छ । त्यसैगरी, फोरमले एनआरएनएको ६ ओटा क्षेत्रलाई समेट्नेगरी विशेष आमन्त्रित सदस्य नियुक्त गरेको छ । जसमा मध्यपूर्वबाट आरके शर्मा, अफ्रिकाबाट हिक्मत थापा, अष्ट्रेलियाबाट दिपककुमार खड्का, यूरोपबाट पूर्णबहादूर खड्का, कोरियाबाट सुवाश पौडेल र जापानबाट किरण बिक्रम थापा विशेष आमन्त्रित सदस्मा चयन भएका छन् । समिति विस्तार गर्दै ८ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । जसमा शशिकान्त अग्रवाल, कुमार पन्त, ज्ञानेन्द्रलाल प्रधान, शम्भुप्रसाद दाहाल, अजयकुमार मुडवरी, राजेन्द्र राउत, बिजय बहादूर मल्ल र अखिलकुमार चापागाई रहेका छन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम महासंघकै एक महत्वपूर्ण अंग भएकाले अबका दिनमा यसले विश्वभरका चेम्बरसँग सहकार्यगर्दै सम्बन्ध विस्तार गर्नुपर्ने बताए । साथै नेपालले आफुलाई उच्च आर्थिम वृद्धिमा लैजानका लागि निर्यातलाई बढावा दिनु पर्ने भएकाले त्यसतर्फ फोरमको ध्यानकेन्द्रित हुनुपर्ने बताए । यसैगरी कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक वृद्धिका लागि गैर आवासीय नेपालीहरुको लगानी भित्र्याउनका लागि सहजकर्ताको भुमिका निर्वाह गर्नुपर्ने बताए । ‘अहिले देशमा एनआरएन तथा वैदेशिक लगानी ल्याउन के कस्ता समस्याहरु छन् यस विषयमा पहिचान गरी सहज रुपमा ल्याउने वातावरण बनाउन सरकारसँग लविङ गर्नु जरुरी छ,’ कार्यक्रममा उनले भने, ‘फोरमले अबका दिनमा वैदेशिक लगानी भित्र्याउन वातावरण बनाएर देशलाई उच्च आर्थिक वृद्धितर्फ लैजान पहल गर्नुपर्छ ।’ समिति विस्तारसँगै समितिका सभापति अजित वस्नेतले देशमा वैदेशिक लगानी भित्र्याउन नेपाल सरकार, गैर आवासीय नेपाली र महासंघबीच त्रिपक्षीय रुपमा सहकार्य गर्दै अन्रराष्ट्रिय सम्मेलन गरिने बताए । ‘सरकारले प्रत्येकबर्ष बजेट बक्तव्य जारी गर्दा वैदेशिक लगानी भित्र्याउन प्रवद्र्धन गर्ने उल्लेख गर्दै आएको छ भने उद्योगी व्यवसायीहरु लागि परेका छन् तर सोही अनुरुप भित्रन सकेको छैन,’ उनले भने, ‘नेपालका केकस्ता क्षेत्रमा विदेशी लगानीकर्ता आउन चाहेका छन् र अहिले के कारणले वैदेशिक लगानी भित्र्याउन सकिएको छैन उक्त सम्मेलनमार्फत निक्र्यौल गरी बढीभन्दा बढी विदेशी लगानी ल्याउन पहल गरिने छ ।’ साथै देशको आर्थिक विकासको लागि वैदेशिक तथा गैर आवासीय नेपालीहरुको लगानी आवश्यक रहेको भन्दै त्यस्ता लगानी भित्र्याउन समेत आवश्यक पहल गरिने बताए । अहिले नेपालमा धेरै देशका अवैतानिक वाणिज्य दूतहरु रहेपनि उनीहरुबीच समन्वय गरी ती देशबाट नेपालमा लगानी भित्र्याउन समेत विशेष पहल गरिने उनको तर्क थियो । साथै उनले आफ्नो कार्यकालमा सम्बन्धित देशका चेम्बरहरुसँग व्यवसाय विस्तार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरी ति देशबाट लगानी तथा आधुनिक प्रविधि भित्र्याउन पहल गरिने जानकारी दिए । यस्ता छन् द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरमले गर्ने ९ बुँदे काम तथा कार्यपत्र १. यस फोरमले नेपालमा विदेशी तथा गैर आवासीय नेपालीको लगानी ल्याई उद्योग व्यवसाय प्रवद्र्धन तथा रोजगारी सिर्जना गर्ने छ । २. नेपाल र विदेशी मुलुकसँगको व्यापार व्यवसाय विस्तारको संभावना अध्ययन गरी व्यवसाय प्रवद्र्धन गर्न पहल गर्ने । जसका लागि नेपाल र विदेशी राष्ट्र बीच व्यापार व्यवसाय विस्तार गर्ने उद्देश्यले स्थापना भएका द्विराष्ट्रिय उद्योग वाणिज्य संघसँगको समन्वयमा नेपालमा लगानी भित्र्याउन तथा नेपाली उत्पदानको निर्यात बढाउने मेला तथा गोष्ठीको आयोजना गर्ने । ३. नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेत हरेर बर्ष गैर आवासीय नेपालीको लगानी भित्र्याउँदै देशमा रोजगारी सिर्जना तथा त्यस्ता पूँजी लगानीको सम्भाव्यता पहिचान गर्ने उद्घोष गरेको छ । यद्यपि अहिलेसम्म उक्त कार्य हुने सकेको छैन । अगामी दिनमा यस फोरमले त्यस्ता लगानी आकर्षित गर्न नेपालमै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार र गैर आवासीय नेपाली संघबीच समन्व्य गरी त्रिपक्षीय लगानी सम्मेलनको आयोजना गर्ने छ । ४. नेपालमा लगानीको वातावरण बनाई लगानीको सम्भावना वारे द्विराष्ट्रिय संघ मार्फत सम्बन्धित देशका व्यवसायीलाई जानकारी गराई विदेश लगानी आकर्षित गर्ने । ५. हामीले नेपालमा वैदेशिक तथा गैर आवासीय नेपालीहरुको लगानी भित्र्याउँने भनिरहँदा नेपालभित्रै लगानीको वातावरण बनाउन सकिरहेका छैनौं । तसर्थ यस संघले नेपाल सरकारसँग सहकार्य गर्दै निर्यात प्रवद्र्धन र वैदेशिक लगानीमा देखिएका समस्याको पहिचान गरी नीतिगत सुधारका विषयमा पहल गर्ने छ । ६. अहिले नेपालमा धेरै देशका अवैतानिक वाणिज्य दूतहरु रहेका छन् । तर उनीहरुबीच समन्वय गरी ति देशबाट नेपालमा कसरी लगानी भित्र्याउने भन्ने विषयमा गहन अध्ययन र छलफल हुन सकिरहेको छैन । तसर्थ यस फोरमले सबै अवैतानिव बाणिज्य दूतहरुसँग समन्वय र गोष्ठीको आयोजना गरी नेपालमा विदेशी लगानी भित्र्याउन पहल गर्ने छ । ७. सम्बन्धित देशका चेम्बमहरुसँग व्यवसाय विस्तार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरी ती देशबाट लगानी तथा आधुनिक प्रविधि भित्र्याउन पहल गर्ने छ। ८. द्धिराष्ट्रिय एवं गैर आवासीय नेपाल समन्वयसँग सम्बन्धी नेपाल सरकार तथा सम्बन्धित निकायहरुबाट महासंघको तर्फबाट प्रतिनिधित्व गर्दै व्यवसायीक समस्या समाधानका लागि नीतिगत पहल गर्दै द्धिराष्ट्रिय एवं गैर आवासीय नेपालीहरुबाट बढी भन्दा बढी लगानी भित्र्याउन छलफल तथा गोष्ठीको आयोजना गर्ने छ । ९. नेपालमा वैदेशिक लगानी भित्र्याउन यस अघि नेपाल सरकार र सम्बन्धित विदेशी राष्ट्रबीच भएका विभिन्न सन्धी तथा सम्झौतालाई अध्ययन गरी समयसापेक्ष बनाउनका लागि पुनरावलोकन तथा परिमार्जन गर्न पहल गर्ने छ ।