व्यवसायी पक्राउप्रति निजी क्षेत्रको आपत्ति, ‘सुनेर मात्र थुन्ने नीति’ अपनाउन आग्रह

काठमाडौं । मुलुकमा नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्व र लगानीमैत्री वातावरण बन्ने अपेक्षा गरिएका बेला पछिल्लो समय उद्यमी व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेकका घटनाप्रति निजी क्षेत्रका तीन प्रमुख छाता संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले शुक्रबार (आज) एक संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको कदमले निजी क्षेत्रलाई निरुत्साहित र त्रसित बनाएको उल्लेख गरेका छन् ।

अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान दिइरहेको निजी क्षेत्र त्रसित हुँदा यसले राजस्व संकलन, पूर्वाधार निर्माण र समग्र आपूर्ति शृङ्खलामा गम्भीर धक्का पुग्ने चेतावनी दिँदै उनीहरूले आर्थिक कसुरका हकमा 'पहिले सुन्ने अनि कसुर प्रमाणित भएपछि मात्र थुन्नेु' कानुनी दृष्टिकोण र व्यवहार अपनाउन सरकारसँग माग गरेका छन् ।

व्यवसायीहरूले आफूहरू अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्न तयार रहेको र प्रहरीले बोलाएको समयमा उपस्थित हुने प्रतिबद्धता जनाउँदा-जनाउँदै पनि पक्राउ गरिनुले सम्पूर्ण निजी क्षेत्र चिन्तित र दुःखी भएको जनाएका छन् । 

यस प्रकारको धरपकडले व्यक्तिको प्रतिष्ठामा मात्र नभई लाखौंको रोजगारी, बैंकिङ क्षेत्र र देशको समग्र आर्थिक प्रणालीमा नै संकट निम्त्याउने ठहर तीनै संगठनको छ । 

सरकारले हालै निजी क्षेत्रको योगदानलाई कदर गर्दै 'निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति' मन्त्रिपरिषदबाट पारित गरेको सन्दर्भ उल्लेख गर्दै संगठनहरूले धरपकडले लगानीकर्तालाई थप सशंकित बनाएको उल्लेख गरेका छन् ।

कसुर प्रमाणित भए दोषीले कारबाही भोग्नुपर्छ भन्नेमा निजी क्षेत्रको विमति नरहे पनि संविधानले ग्यारेन्टी गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार र कसुर प्रमाणित नभएसम्म निर्दोष मानिने व्यवस्थाको पालना गर्न सरकारलाई आग्रह गरेका छन् ।

विगत चार वर्षदेखि शिथिल रहेको अर्थतन्त्रले दुई तिहाइको वर्तमान बलियो सरकारबाट व्यवसायीमैत्री व्यवहार र नीतिगत स्थिरताको ठूलो आशा राखेको पनि विज्ञप्तिमा उल्लेख छ । 

लगानीकर्ताले असुरक्षित महसुस गर्ने वातावरण सिर्जना भएमा देश समृद्धिको दिशामा अघि बढ्न नसक्ने भन्दै निजी क्षेत्रको उत्साह कायम राख्न र लगानी प्रवर्द्धनमा सहयोगी बन्न सरकार तथा सम्बन्धित सबै पक्षलाई आग्रहसमेत गरिएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका उद्योगी शेखर गोल्छालाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएपछि निजी क्षेत्रले विज्ञप्ति जारी गरेको हो ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिमको कसूरमा संलग्न रहेको देखिएपछि उनीमाथि थप अनुसन्धान अघि बढाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो  सीआईबीले जनाएको छ ।

Share News