काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले उत्पन्न निषेधाज्ञाकै समयमा सिमेन्टको मूल्यवृद्धि भएको छ । निषेधाज्ञा भएको एक सातामै प्रति बोरा सिमेन्टको मूल्यमा २५ रुपैयाँ वृद्धि भएको हो ।
अहिले सिमेन्ट मात्रै होइन निर्माणजन्य सम्पूर्ण सामग्रीहरुको मूल्य बढेको छ । फलामजन्य निर्माण सामग्री अन्तर्गत विभिन्न साइजका डण्डी, जी आई तार, ग्याल्विन तार, पाइप लगायतका सामग्रीहरुको मूल्यवृद्धि भएको छ भने अन्य खानीजन्य निर्माण सामग्रीको मूल्य पनि अत्याधिक बढेको छ ।
निर्माण सामग्रीको मूल्यवृद्धिसँगै कृतिम अभाव भएपछि निर्माणका कामहरु ठप्प भएको निर्माण व्यवसायीहको गुनासो छ । महामारीको समयमा नै उद्योगीहरुले मिलोमतोमा मूल्यवृद्धि तथा कार्टेलिङ गरेको आरोप निर्माण व्यवसायीहरुले लगाएका छन् ।
उनीहरुका अनुसार अहिले निर्माणजन्य सामग्रीको अभावसँगै फलामजन्य सामग्रीमा प्रतिकेजी २० रुपैयाँ र सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ मूल्यवृद्धि भएको छ ।
यस्तो विषय परिस्थितिमा पनि सामग्रीको कृतिम अभाव र मूल्यवृद्धि भएपछि मूल्यवृद्धि रोक्न निर्माण व्यवसायीहरुले वाणिज्य तथा आपुर्ति उपभोक्ता हित संरक्षण विभागलाई मूल्यवृद्धि रोक्न भन्दै ध्यानाकर्षण समेत गराएका छन् ।
महासंघका महासचिव रोहन दाहालले यस्तो विषम परिस्थितिमा सबैले मिलेर काम गर्नु पर्ने ठाउँमा उल्टै उद्योगीहरुले कार्टेलिङ गरेर मूल्यवृद्धिसँगै कृतिम अभाव सिर्जना गरेको आरोप लगाए ।
‘निषेधाज्ञापछि निर्माणजन्य सामग्रीको माग कम भएपनि सामग्रीको मूल्य भने अत्याधिक बढेको छ, सरकारले निषेधाज्ञा गर्नु अगाडि डण्डीको मूल्य ८०÷८५ रुपैयाँ थियो, आजको दिनसम्म आइपुग्दा १०७ रुपैयाँ पुगिसकेको छ, अझै बढ्छ भन्ने कुरा पनि आइरहेको छ, सिमेन्टमा पनि प्रतिबोरामा २५ रुपैयाँ बढेको छ,’ दाहालले भने ।
सरकारले बैशाख १६ गतेदेखि निषेधाज्ञा गरेको थियो । निषेधाज्ञा गरेको एक साता भइसकेको छ । यो एक साताको अवधिमा निर्माण सामग्रीको मूल्य अत्याधिक बढेको हो ।
उनले भने, ‘हामीले मूल्यवृद्धि रोक्न भनेर विभागको ध्यानकर्षण गराएका छौं, विभागले अब निर्माण सामग्रीमा प्रतिवद्ध भएर अनुगमन गर्ने प्रतिवद्धता जनाएको छ ।’
यता सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रब थापाले भने सिमेन्टको मूल्यवृद्धि नभएको बताउँछन् । ‘ढुवानीमा ५÷१० रुपैयाँ कसैले बढाएको भए बेग्लै कुरा हो तर सिमेन्टको मूल्य भने बढेकै छैन, अहिले पीपीसीकोे ६ सय रुपैयाँ र ओपीसीको ७ सय रुपैयाँ फ्याक्ट्री मूल्य छ, जुन पहिलेकै मूल्य हो,’ उनले भने ।
वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पनि अहिले निर्माण सामग्रीमा मूलयवृद्धि भएको भन्दै गुनासो आउन थालेपछि अनुगमन सुरु गरेको बताएको छ । विभागका अनगुगमन शाखा प्रमुख शिबराज सेढाईंले अहिले विभागले निर्माण सामग्रीमा कमै अनुगमन भइरहेको भएपनि गुनासो बढ्न थालेपछि तीव्रता दिएको बताए ।
‘अहिले कोरोना भाइरसको महामारीमा हाम्रो ध्यान अत्यावश्यक उपभोग्य वस्तु र स्वास्थ्य सामग्रीमा छ, निषेधाज्ञा भएकाले पनि निर्माण सामग्रीका पसलहरु बन्द छन्, पसल बन्द हुनाले हामीलाई अनुगमन गर्न समस्या भइरहेको छ, तर पनि गुनासो आए अनुसार हामीले अनुगमन गरिरहेका छौं,’ उनले भने ।
अहिले निर्माणका कामहरु पनि ठप्प छन् । सरकारले निषेधाज्ञा जारी गरेपछि मुभमेन्ट कम, निर्माण सामग्रीको अभाव र मूल्यवृद्धिले निर्माणका कामहरु ठप्प भएको व्यवसायीहरुको गुनासो छ ।
सम्बन्धित सामग्री: निषेधाज्ञाको ४ दिनमै डण्डीको मूल्य ३० प्रतिशतले बढ्यो, सिमेन्टको पनि बढाउने तयारी, अनुगमन शून्य