हिमालय एयरलाइन्सको विमान पोखरा ‘डाइभर्ट’

काठमाडौं । तिब्बतको ल्हासाबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको विमान पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । विषम परिस्थितिलगायत प्राविधिक कारणले काठमाडौं आएको हिमालयको विमान ‘डाइभर्ट’ भई पोखरा अवतरण भएको हो ।       उपत्यकाभित्रको विषम परिस्थितिलगायत त्रिभुवन विमानस्थल वरपर र उडान अवतरण मार्गको विभिन्न स्थानमा देखिएको धुवाँजस्ता कारणले जहाजको सुरक्षामा गम्भीर असर पर्ने देखिएकाले विमान पोखरा डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ । उक्त विमानमा चिनियाँ नागरिक रहेको जनाइएको छ ।      त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार तिब्बतको ल्हासाबाट काठमाडौं आएको उक्त विमान सिमरामाथिको आकाशमा लामो समय होल्ड भएपछि पोखरा विमानस्थलमा डाइभर्ट गरिएको हो ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहित वरपरका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य सुरक्षा परिस्थिति प्रतिकूल बन्दै गएपछि विमानस्थल बन्द गर्न लागिएको हो । अधिकारीका अनुसार हाल आकासमा रहेका जहाजलाई मात्रै अवतरण गर्न दिइनेछ भने नयाँ उडानहरू स्थगित हुनेछन् । यसबीच विमानस्थललाई नेपाली सेनाले सुरक्षा दिइरहेको छ । अब मुख्य गेट समेत बन्द गरेर विमानस्थलभित्रका अन्य गतिविधि रोक्ने तयारी गरिएको बताइएको छ ।

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट सुविधा

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकलाई स्वास्थ्य, पर्यटन, खाद्य तथा अन्य क्षेत्रमा सुविधा उपलब्ध गराउन विभिन्न संस्थासँग सम्झौता गरेको छ । सम्झौता अनुसार, बैंकका डेबिट वा क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले सहकार्य संस्थाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने भएका छन् । यस अन्तर्गत चितवनको कुरिनटारस्थित मनकामना दर्शनको केवलकार टिकटमा १० प्रतिशत, बानेश्वरको समाज डेण्टल हस्पिटलमा एक्सरे तथा फार्मेसीबाहेकका सेवामा १५ प्रतिशत, दरबारमार्गको मत्सुरी टोकियोमा खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट उपलब्ध हुनेछ । यसैगरी, पर्साको मंगलम डायगोनोस्टिक सेन्टरमा प्याथोलोजी सेवामा १० प्रतिशत, सिमराको होटल क्वीक २० रिभरसाइडमा खाना, आवास तथा पेय पदार्थमा ५ प्रतिशत, नयाँबजारको नाईस न्यू होम डेकोरमा कार्पेट र फ्लोरिङ सामग्रीमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिन्छ । त्यसैगरी, ढुंगेधारास्थित शुभ काठमाडौं टायर सेन्टरमा एमआरएफ ब्रान्डका टायरमा १० प्रतिशतसम्म, मकवानपुरको कुलेखानी भिलेज रिसोर्टमा कोठा शुल्कमा १० प्रतिशतसम्म, हेटौंडाको रिगल हेटौंडा रिसोर्टमा खाना, आवास तथा पेय पदार्थमा १५ प्रतिशतसम्म तथा भरतपुरस्थित कविलास रिसोर्ट एण्ड फनपार्कमा खाना तथा फनपार्क शुल्कमा १५ प्रतिशत छुट दिइने भएको छ । बैंकले यस किसिमको सहकार्यबाट आफ्ना ग्राहक प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरेको छ । साथै, डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले विभिन्न शाखामार्फत वित्तीय जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको जानकारी दिएको छ ।