पोखरामा सार्वजनिक यातायात सञ्चालनमा
गण्डकी । जेनजी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोडजस्ता घटनाका कारण असामान्य बनेको कास्कीको जनजीवन सामान्य बन्दै गएको छ । सरकारी निकायबाट प्रदान गरिने सेवा प्रवाह आंशिक रूपमा सञ्चालन गर्नेगरी तयारी थालिइसकिएको छ । फोहरलाई सरसफाइ गर्ने काम थालिसकिएको छ । सार्वजनिक सेवा प्रवाहलाई सुरु गराउनका लागि कार्यालयले आआफ्ना तयारी थालिसकेको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए । सेवा प्रवाहकै सन्दर्भमा आज जिल्लास्थित कार्यालय प्रमुखहरूको बैठक पनि राख्न लागेको जानकारी दिँदै उनले सेवा प्रवाह सुरु गर्ने सक्ने कार्यालयले अत्यावश्यक सेवा सुरु गरिसकेको बताए । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशसभा, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायत सानाठूला गरी करिब ८० कार्यालयमा आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएको छ । केही दिनयता सुरक्षा अवस्थालाई दृष्टिगत गरी लगाइएको निषेधाज्ञा एवं कफ्र्यू शनिबारदेखि खुला गरिएसँगै पोखरामा व्यापार व्यवसाय एवं सार्वजनिक यातायातहरू पूर्ववत् सञ्चालनमा आउन थालेका छन् । आन्दोलनकै कारण बन्द भएका शैक्षिक संस्था सञ्चालन गराउने तयारी गरिएको छ । पोखरा महानगरपालिका नगर कार्यपालिकाको शनिबार बसेको बैठकको निर्णयअनुसार महानगरभित्रका सम्पूर्ण विद्यालय असोज १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय भएको महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले जानकारी दिए ।
गिद्धको सङ्ख्या बढ्दै, संरक्षणकर्मी उत्साहित
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको पाइएको छ । गिद्धको सङ्ख्या बढ्नुमा वातावरणीय सन्तुलन, स्वच्छता र खाद्य शृङ्खला कायम राख्नका लागि उत्साहजनक सङ्केतका रूपमा लिइएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन)ले हरेक वर्ष सञ्चालन गर्ने गिद्ध गुँड अनुगमनअनुसार यस वर्ष सक्रिय गुँडको सङ्ख्या एक सय ५५ पुगेको छ, जुन गत वर्षको तुलनामा वृद्धि हो । बिसिएनका अनुसार गत वर्ष एक सय ४३ वटा सक्रिय गुँड भेटिएका थिए भने यस वर्ष बढेर एक सय ५५ पुगेका छन् । कञ्चनपुरमा सबैभन्दा बढी एक सय २६ गुँड फेला परेका छन् । त्यस्तै बैतडीमा १२, डडेलधुरामा १० र कैलालीमा सात गुँड भेटिएका छन् । यस वर्ष कञ्चनपुर र डडेल्धुरामा गुँड सङ्ख्या बढेको भए पनि कैलाली र बैतडीमा भने केही घटेको देखिन्छ । सुदूरपश्चिम प्रदेशमा नौ प्रजातिका गिद्ध पाइन्छन् । तीमध्ये अति सङ्कटापन्नमा पर्ने डङ्गर, सानो खैरो, लामो ठुँडे, सुन गिद्ध, सङ्कटापन्न सेतो गिद्ध र सङ्कटको नजिक रहेका हिमाली, हाडफोर, खैरो र राज गिद्ध रहेका छन् । कञ्चनपुरमा आठ प्रजाति र कैलालीमा सात प्रजातिका गिद्ध फेलापरेका छन् । यसले सुदूरपश्चिमलाई गिद्धका लागि महत्त्वपूर्ण आवास क्षेत्रका रूपमा चिनाएको छ । राष्ट्रिय गिद्ध गणना सेप्टेम्बर ५, ६ र ७ तारिखमा गरिएको थियो । सोही क्रममा गिद्ध र गुँडको सङ्ख्या एकिन गएिको नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरूलाल डगौराले बताए । उनका अनुसार गणनाको उद्देश्य गिद्धको आधारभूत ‘डाटाबेस’ निर्माण गर्नु, राष्ट्रिय गिद्ध डाटाबेसलाई व्यवस्थित गर्नु र संरक्षणका लागि तथ्याङ्कीय आधार तयार गर्नु रहेको थियो । गणनामा ४८ स्वयंसेवक सुदूरपश्चिमका विभिन्न जिल्लामा खटिएका थिए । 'टोलीले अवलोकन गरिएको स्थलको जिपीएस स्थानसमेत अभिलेख राखेको छ', उनले भने, 'गिद्धबाहेक अन्य चराचुरुङ्गी र स्तनधारी जनावरको पनि विवरण सङ्कलन गरिएको छ ।' यस वर्षको गणनामा सुदूरपश्चिम प्रदेशमा जम्मा पाँच सय ७३ गिद्ध भेटिएका छन् । चराविज्ञ डगौराका अनुसार गणनाका क्रममा सानो खैरो गिद्ध नौ, डङ्गर गिद्ध चार सय ४२, सुन गिद्ध १४, गोव्रे गिद्ध नौ, हिमाली गिद्ध ९४ र हाडफोर गिद्ध पाँचवटा देखापरेका छन् । लामो ठुँडे गिद्ध, राजगिद्ध र सानो खैरो गिद्ध हिउँदमा मात्र देखापर्ने भएकाले गणनमा समावेश गरिएको छैन । कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, बाजुरा र दार्चुलामा गणना गरिएको थियो । सबभन्दा बढी कञ्चनपुर र कम दार्चुलामा भेटिएका छन् । गिद्ध आफैँ सिकार नगर्ने तर मरेका जनावरको सिनो खाने चराका रूपमा चिनिन्छ । गिद्धलाई ‘प्रकृतिको कुचीकार’ पनि भनिन्छ । गिद्धले वातावरणलाई दुर्गन्धित र प्रदूषित हुनबाट जोगाउनुका साथै हैजा, आउँ, झाडापखाला, रेबिज, प्लेग, क्षयरोग, एनथ्राक्सजस्ता रोग फैलिनबाट नियन्त्रण गर्ने भूमिका निर्वाह गर्ने उनी बताउँछन् । संरक्षणकर्मीका अनुसार गिद्ध वातावरणीय चक्रको अभिन्न हिस्सा हुन् । खाद्य शृङ्खलामा सन्तुलन कायम राख्न गिद्धको उपस्थिति अपरिहार्य हुन्छ । यदि गिद्ध नहुने हो भने वातावरणीय प्रदूषणमात्र होइन, महामारीको जोखिम पनि बढ्ने खतरा रहन्छ । गिद्ध सङ्ख्या बढ्नु उत्साहजनक भए पनि संरक्षणकर्मीहरूले अझै पनि गिद्ध संवेदनशील अवस्थामा रहेको बताएका छन् । पशु उपचारमा प्रयोग हुने केही रासायनिक औषधि, गुँड नष्ट हुने गतिविधि, बासस्थान अतिक्रमण र वातावरणीय असन्तुलन गिद्ध संरक्षणका लागि प्रमुख चुनौतीका रूपमा रहेको चरा संरक्षणकर्मी सुवन चौधरी बताउँछन् । 'विशेषगरी डाइक्लोफेनेकजस्ता औषधिको प्रयोगले गिद्ध मृत्युदर बढाउने गरेको छ', उनले भने, 'यसका विकल्पलाई प्रोत्साहन गर्ने, पशुपालकलाई सचेत गर्ने र स्थानीय समुदायलाई संरक्षणमा सहभागी गराउने आवश्यकता देखिन्छ, समुदायमा गिद्धसम्बन्धी चेतना फैलाउने कार्यमा सक्रिय भएर लागेका पनि छौँ ।' गिद्धको बढ्दो सङ्ख्या सकारात्मक सङ्केत भए पनि दीर्घकालीन संरक्षण रणनीति अपरिहार्य छ । गुँड संरक्षण, औषधि नियन्त्रण, बासस्थान व्यवस्थापन र स्थानीयस्तरमा सचेतना कार्यक्रमलाई प्राथमिकतामा राख्न सकेमात्र गिद्धको दीर्घकालीन रूपमा अस्तित्व सुनिश्चित गर्न सकिन्छ ।
चन्द्रागिरी केबलकार सेवा छिट्टै सुचारु हुने
काठमाडौं । भदौ २३ गते भएको जेनजी प्रदर्शनका क्रममा चन्द्रागिरी हिल्समा तोडफोड तथा आगजनी हुँदा केबलकारको बटम स्टेशनमा ठूलो क्षति पुगेको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख प्रकट गरेको छ र सेवामा पुनः उठ्ने दृढता व्यक्त गरेको छ । 'पर्यटन प्रवर्द्धनको सपना टुटेको छैन, विचलित भएका छैनौँ । अठोट अझ दृढ छ, तपाईं–हामी सबैको साथले सेवा सुचारु गर्न हामी दृढ संकल्पित छौँ,' विज्ञप्तिमा उल्लेख छ । चन्द्रागिरी हिल्स लिमिटेडले जेनजी आन्दोलनले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी र आर्थिक समृद्धिका मुद्दाप्रति सम्मान जनाउँदै आन्दोलनकै क्रममा अकल्पनीय घटनाले पर्यटन प्रवर्द्धनमा ठूलो असर पुगेको जनाएको छ । कम्पनीका अनुसार लाखौँ सेयरधनीको लगानीमा सञ्चालनमा रहेको चन्द्रागिरि केबलकार राष्ट्रिय सम्पत्ति हो, जसले रोजगारी सिर्जना, राजस्व वृद्धि र स्थानीय विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । घटनाबाट सेवामा असुविधा पुगे पनि गुणस्तरीय सेवा मार्फत छिट्टै पुनः सुचारु गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ । साथै, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय समुदाय र अन्य सरोकारवालाले दिएको सहयोगप्रति आभार व्यक्त गरिएको छ । कम्पनीले पर्यटक र दर्शनार्थीलाई परेको असुविधाप्रति क्षमा प्रार्थना गर्दै आगामी दिनमा अझ गुणस्तरीय सेवा र थप लगानीमार्फत पर्यटन प्रवर्द्धनमा योगदान गर्ने संकल्प व्यक्त गरेको छ ।