दनदनी जलिरहेको छ हिलटन, अझै नियन्त्रणमा आएन (फोटोफिचर)
काठमाडौं । जेनजी आन्दोलनकारीहरुले पाँच तारे होटल हिलटनमा आगजनी गरेका छन् । काठमाडौंको नक्सालस्थित होटल हिलटनमा न्दोलनकारीहरुले मंगलबार आगजनी गरेका हुन् । आन्दोलनकारीहरुले मंगलबार लगाएकाे आगो २४ घण्टा बित्दा पनि नियन्त्रणमा आउन सकेको छैन । अहिले पनि होटल हिलटनमा दनदनी आगो लागिरहेको विकासन्युजका संवाददाताले जानकारी दिए । नेपाली सेनाले सुरक्षा दिइरहेको उक्त होटलमा के कति क्षति भएकाे छ एकिन तथ्याङ्क आउन सकेको छैन । ८ अर्ब ३५ करोड रुपैयाँमा बनेको हिलटन २०८१ साउनबाट सञ्चालनमा आएको हो । उक्त होटलका मुख्य लगानीकर्ता शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवाल हुन् । हिल्टन संसारको सबैभन्दा ठूलो होटल चेनमध्ये पर्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ । मंगलबारदेखि बन्द गरिएको विमानस्थल कहिले खुल्ने भन्नेबारे स्पष्ट नभएको विमानस्थल कार्यालयले जनाएको छ । विषम परिस्थितिका कारण अनिश्चितकालीन रूपमा सञ्चालन रोकिएको कार्यालयले जानकारी दिएको हो । यस सम्बन्धमा जारी सूचनामा अर्को सूचना नआएसम्म विमानस्थल बन्द नै रहने उल्लेख गरिएको छ । विमानस्थल बन्द भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका छन् । यात्रुहरूलाई आवश्यक जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न आग्रह गरिएको छ ।
‘अलपत्र विदेशीलाई सहयोग गरौँ’
काठमाडौं । नेपाली सेनाले अलपत्र परेका विदेशी नागरिकलाई सहयोग गर्न आह्वान गरेको छ । विदेशी नागरिकहरूसँग सम्बन्धित होटल, पर्यटन व्यवसायी वा अन्य सङ्घसंस्थालाई उद्धार तथा सहयोगका लागि आवश्यक समन्वय एवं सहजीकरण गर्न सेनाले आह्वान गरेको हो । विद्यमान जटिल परिस्थितिका कारण अलपत्र अवस्थामा उद्धारलगायत कुनै पनि सहयोगको प्रतीक्षामा रहेका सबै विदेशी नागरिकहरुलाई नजिकको सुरक्षा निकाय वा नजिक तैनाथ सुरक्षाकर्मीहरूसँग सम्पर्क गर्न सेनाले एक सूचना जारी गरेर अनुरोध गरेको हो ।