हिमाल आरोहणबाट ६४ करोड बढी राजस्व सङ्कलन, सगरमाथाबाट ५५ करोड हुँदा अन्य हिमालबाट कति ?

फुङ्लिङ (ताप्लेजुङ) । पछिल्लो समयमा हिमाल आरोहण गर्नेहरू सङ्ख्या बढ्दै गएको छ । पर्यटन विभागका अनुसार गत वर्ष नेपालका विभिन्न हिमाल तथा पिक आरोहणबाट  ६३ करोड ८२ लाख ९४ हजार ९७९ रुपैयाँ सङ्कलन भएको जनाएको छ ।  ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालमा गत मार्च १ देखि अप्रिल २१ सम्ममा २६ पुरुष र १५ महिला गरी ४१ जनाले आठ हजार ५५६ मिटर उचाइको प्रमुख चुचुरोमा सफलतापूर्वक पाइला टेकेका छन् । सो आरोहणबाट १ करोड ९७ हजार ४६० राजस्व सङ्कलन भएको छ ।   सङ्खुवासभा जिल्लामा रहेको मकालु हिमाल सोही समयमा ६६ आरोहीले सफल आरोहण गरेका छन् । यसबाट १ करोड ६२ लाख ६९ हजार ४८० सङ्कलन भएको छ । विश्वको अग्लो सगरमाथा हिमालमा ३०२  र ७२ महिला गरी ३७४ जनाले सफल आरोहण गरेका थिए । यसबाट ५५ करोड ४९ लाख ९० हजार २७८ राजस्व सङ्कलन भएको छ।  यस याममा २३ हिमाल तथा पिकको सफल आरोहण गरिएको थियो । जसमा छ सय ७८ पुरुष र एक सय ९१ महिला गरी आठ सय ६९ नेपाली तथा विदेशीले नेपालका हिमाल तथा पिकको सफल आरोहण गरेको पर्यटन विभागको तथ्याङ्क छ । यसबाट रु ६३ करोड ८२ लाख ९४ हजार ९७९ राजस्व सङ्कलन भएको विभागले जनाएको छ । नेपालको हिमालको पारिपट्टि चीनको तिब्बत क्षेत्र छ । अरू बाँकी हिमाल चीन, भारत, पाकिस्तान, भूटान र ताजकिस्तानमा पर्छन् । यो हिमालमा अग्लाअग्ला चुलीहरू छन् । विश्वको १० सबैभन्दा अग्ला हिउँ चुचुरा यही हिमालमा छन् । हिमालमा भएको के–२ भन्ने चुचुरो पाकिस्तानमा छ ।  नवौं चुचुरो नाङ्गा पर्वत पनि पाकिस्तानमा छ । अरू संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथादेखि लिएर अन्नपूर्ण–१ सम्म आठवटा नेपालमा छन् । हिमालका चुचुरा सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयू, धवलागिरि, मनास्लु र अन्नपूर्ण–१ नेपालमा छन् । यी सबै आठ हजार मिटरभन्दा अग्ला छन्, तर ती हिमाल अहिले हिमरेखा सर्दै जाने क्रम बढेसँगै हिमलहरू नाङ्गिँदै जाने क्रम बढ्दै गएको छ । हिमरेखा सर्दै हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव तीव्र बन्दै गएको तथ्य विभिन्न अध्ययन र स्थानीय अनुभवले पुष्टि गरेका छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), वातावरण वैज्ञानिक र स्थानीय समुदायको अनुभवबाट प्राप्त तथ्याङ्कले नेपालको हिमाली भूगोल परिवर्तनको चपेटामा परेको देखाउँछ । इसिमोडले सन् २०२१ मा सार्वजनिक गरेको प्रतिवेदन स्टेटस अफ ग्लेसियर्स इन द हिन्दू कुश हिमालयन रिजनअनुसार ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रमा हिमरेखा प्रत्येक वर्ष औसत ६.५ मिटरले माथि सर्दै गएको छ ।  सोही अवधिमा सो क्षेत्रमा रहेका हिमतालको सङख्या पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ । पन्ध्र वर्षअघि २७ वटा हिमताल रहेकामा अहिले ४९ पुगेका छन् । यसबाट जलवायु परिवर्तनले हिमाली क्षेत्रको भौगोलिक स्वरूप र पर्यावरणीय संरचनामा कति ठूलो प्रभाव पारेको छ भन्ने बुझ्न सकिन्छ । जलवायु परिवर्तनको प्रभावलाई मापन गर्ने अर्को महत्त्वपूर्ण अध्ययन इसिमोडको हिमालयन वाटर सिक्युरिटी (२०२२) प्रतिवेदनले पनि नेपालमा प्रतिदशक तापक्रम ०.३ देखि ०.५ डिग्री सेल्सियसले वृद्धि भएको देखाएको छ ।  यस तापक्रम वृद्धिले हिमनदी पग्लने दरलाई अझ तीव्र बनाएको, हिमरेखामाथि सर्ने प्रक्रिया छिटो भएको र हिमाली क्षेत्रका बासिन्दाको जीवन, खेतीपाती, पशुपालन तथा खानेपानी स्रोतहरूमा सीधा असर परेको देखिएको छ । तत्काल जलवायु अनुकूलन तथा दीर्घकालीन रणनीतिहरू अपनाइएन भने हिमनदीहरूको ह्रास अझ तीव्र हुने र यो समग्र जलस्रोत प्रणाली, जैविक विविधता र खाद्य सुरक्षामा दीर्घकालीन सङ्कटको कारक बन्न सक्ने विभिन्न प्रतिवेदनहरूले देखाएको छ ।

सिद्धार्थ बैंकका ग्राहकलाई हिमालयन फ्रन्ट होटेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र पोखरा स्थित हिमालयन फ्रन्ट होटेलबीच बैंकका ग्राहकहरूले होटेलका विभिन्न सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । सम्झौता अनुसार बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरूले छुटको सुविधा प्राप्त गर्न सक्नेछन् । यस कदमले ग्राहकहरूलाई आकर्षक सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारभन्दा डिजिटल कारोबारतर्फ उन्मुख गर्न मद्दत गर्ने बैंकले विश्वास व्यक्त गरेको छ । यस सम्झौताबारे थप जानकारीका लागि बैंकको २४ घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

अगस्टमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए

काठमाडौं । सन् २०२५ को अगस्टमा ८८ हजार ६८० पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्टमा २२ प्रतिशत पर्यटक वृद्धि भएको देखिन्छ । तथ्यांकअनुसार अगस्टमा सबैभन्दा धेरै पर्यटक भारतबाट भित्रिएका छन् ।  भारतबाट ३५ हजार ५०५ अर्थात ४० प्रतिशत पर्यटक भित्रिएका छन् । दोस्रोमा चीनबाट ७ हजार ५३३ अर्थात ८.५, अमेरिकाबाट ६ हजार ६८ अर्थात ६.८ प्रतिशत, श्रीलंकाबाट ५ लाख ९५६ अर्थात ६.७ प्रतिशत र बंगलादेशबाट ४ हजार २६२ अर्थात् ४.८ प्रतिशत पर्यटक भित्रिएका छन् । सन् २०२५ को जनवरीदेखि अगस्टसम्म ८ महिनाको अवधिमा ७ लाख ३६ हजार ५६२ पर्यटक भित्रिएका छन् ।  बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली (सार्क) मुलकबाट ४७ हजार १३७ पर्यटक अर्थात ५३ प्रतिशत आगमन भएको देखिन्छ भने एसियाका अन्य मुलुकमा १५ हजार ७७७ अर्थात् १७.८ प्रतिशत, युरोपबाट ११ हजार १३२ अर्थात १२.६ प्रतिशत र ओसनियाबाट २ हजार ४३५ अर्थात २.७ प्रतिशत पर्यटक भित्रिएका छन् । त्यसैगरी अमेरिकाबाट ७ हजार २९३ अर्थात ८.२ प्रतिशत, मध्यपूर्वबाट ९४४ अर्थात १.१ प्रतिशत, अफ्रिकाबाट ३२२ अर्थात् ०.४ प्रतिशत र अन्य मुलुकबाट ३ हजार ६४० अर्थात् ४.१ प्रतिशत पर्यटक आगमन भएको छ । सन् २०२५ को जुलाईमा ७० हजार १९३ पर्यटक भित्रिएका थिए ।