विदेश घुम्न जानेलाई अब नबिल बैंकबाटै स्वास्थ्य बीमा, प्रभु इन्सुरेन्ससँग सम्झौता
काठमाडौं । नबिल बैंकले आफ्ना नियमित सेवाहरुका साथ बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना तुरुन्त जारी गर्ने भएको छ । बैंकले आफ्नो काउन्टरहरुबाट भिसा इन्टरनेशनल प्रि-पेड कार्ड, बैंक ड्राफ्ट र विदेशी मुद्रा सटही जस्ता सेवाहरुका लागी पाल्नुहुने सम्पूर्ण आकाक्षी ग्राहकहरुलाई बैदेशिक यात्रा (ट्राभल) बीमा योजना सेवा पनि उपलब्ध गराउनेछ । बैदेशिक भ्रमणमा जाने ग्राहकहरुको सुविधालाई मध्य नजर गर्दै नबिल बैंकले सर्वप्रथम नेपाली बजारमा ल्याएको छ । यो सेवाको लागि नबिल बैंकले प्रभु इन्सुरेन्स लिमिटेडसँग साझेदारी गरेको छ । अब नबिल बैंकबाट सेवा लिने ग्राहकहरुले बैंकका काउन्टरहरुबाट वैदेशिक यात्रा (ट्राभल) स्वास्थ्य बीमा तुरुन्त खरिद गर्न सक्नेछन् । बिदेश यात्रा गर्ने यात्रीहरुलाई स्वास्थ्य बीमा निकै नै उपयोगी हुनेछ किनकी यसले अचानक र अनपेछित बिरामी, बिदेश बसाइको क्रममा हुने दुर्घटना र जांच गरि हराएका ब्यागेजरराहधानी, यात्रामा ढिलाई, अपहरण जस्ता घटनाहरुबाट हुने क्षतीको भरण गर्दछ । “मलाई विश्वाश छ कि ट्राभल बीमा सेवाको हाम्रा बैंकका सेवाहरु संग समायोजनबाट ग्राहकहरुको सम्पूर्ण यात्रा आवश्यकतालाई एकद्वार प्रणलीबाट समाधान दिन सक्षम हुनेछौ । साथै यसले बिदेश यात्रा गर्ने ब्यक्तीहरुलाई सुरक्षित र सुबिधाजनक यात्राको लागि बीमाको महत्वबारे सजग गराउन पनि मदत गर्नेछ । बैंकिङ सेवाका साथ बिदेश यात्राको लागि ग्राहकहरुका सुबिधामा कटिबद्ध हुदै आएका हामी, अब बीमा सेवाको साथमा हाम्रा ग्राहकको सुरक्षामा पनि कटिबद्ध हुनेछौ ।” नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने ।
आठ करोड रुपैयाँ लगानीमा दमौलीमा रिसोर्ट
काठमाडौं। तनहँको बन्दीपुर गाउँपालिका–५ याम्पामा रु आठ करोडको लगानीमा ‘मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ । पृथ्वीराजमार्ग भएर यात्रा गर्ने पर्यटकलाई लक्षित गर्दै व्यवसायी महेन्द्रमोहन भट्टराईले सो रिसोर्ट स्थापना गरेका हुन्। स्वीमिङ पुलसहित सञ्चालन गरिएको रिसोर्ट २२ रोपनी १० आना क्षेत्रफलमा फैलिएको छ । पहिलो चरणमा रिसोर्टमा १० कोठा निर्माण गरिएको र यसलाई विस्तार गर्दै ४० सम्म पु¥याइने उनले जानकारी दिए। दोस्रो चरणमा अर्को वर्ष १० कोठा र बाँकी तेस्रो चरणमा निर्माण गरिने र सो अवधिसम्म संरचना निर्माण सकिँदा रु नौ करोडसम्म लगानी पुग्ने अनुमान गरिएको व्यवसायी भट्टराईले बताए। “पृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रुले गुणस्तरीय खानासमेत रिसोर्टमा पाउनेछन्”, उनले भन्नुभयो, “तारे होटलमा पाइने खानाको गुणस्तर यहाँ पनि पाइन्छ ।” रिसोर्टमा स्वीमिङ पुलको व्यवस्था समेत छ । ‘गर्मीयाममा पौडी खेल्नका लागि पोखरा जानुपर्ने बाध्यता थियो”, व्यवसायी भटृराईले भने, “अब दमौली, डुम्रे र आँबुखैरेनीका सर्वसाधारणले नजिकै स्वीमिङ पुलको मज्जासमेत लिन पाउनेछन् ।” तनहुँ उद्योग वाणिज्य सङ्घका सदस्यसमेत रहनुभएका उनले यस क्षेत्रमा सम्मेलन गर्ने भवनको अभाव देखेर रिसोर्टमै २०० जना क्षमताको सभाकक्ष र ३० जना क्षमताको बैठक कक्ष निर्माण गरेका छन्। रिसोर्टमा स्थानीय २० र काठमाडौँका दुई गरी २२ जनाले रोजगारी पाएका छन् । रिसोर्टमा बालबालिकालाई खेल्नका लागि बाल उद्यानसमेत बनाइएको छ । रिसोर्टका व्यवस्थापक अमर न्यौपानेले राजमार्गमा यात्रा गर्ने पर्यटक तनहुँ नबसी सिधैँ पोखरा या काठमाडौँ जाने गरेकाले उनीहरूलाई तनहुँमै आकर्षण गर्ने व्यवस्था रिसोर्टले गर्ने बताए। रासस
यती एयरलाइन्सको तेश्रो एटीआर-७२-५०० विमान काठमाडौंमा, भद्रपुर र पोखरासम्म सेवा दिने
काठमाडौं । यती एयरलाइन्सले आफ्नो वायुयान थप गर्ने क्रममा आफ्नो तेश्रो एटीआर-७२-५०० विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएकाे छ । जसको नेपाली रजिष्ट्रेसन नं.९एन-एएलएन र उत्पादन क्रम संख्या एमएसएस ७७६ रहेको छ । उक्त विमान फ्रान्सको टुलुस–इटली–इजिप्ट–मस्कट हुँदै काठमाडौं अवतरण गरेको हो । उक्त विमानमा चालक दलका सदस्यहरु क्या.प्रमोद पौडेल, क्या.रमोद श्रेष्ठ, क्या.सुरेन्द्र कुँवर, वरिष्ठ इञ्जिनियर सुरेशकुमार बज्राचार्य, डिस्प्याचर सन्त प्रजापति तथा नागरिक उड्ययन प्राधिकरणका प्रतिनिधि भरतराज पराजुली थिए । एटीआर-७२-५०० फ्रान्सेली–इटालियनको सहकार्यमा उत्पादित ट्वीन इञ्जिन टर्बोप्रप विमान हो । यसको उत्कृष्ट निर्माण र प्रदर्शनले गर्दा एटीआर-७२-५०० संसारको सबैभन्दा सफल क्षेत्रिय क्यारियरहरु मध्येमा पर्ने कम्पनीले बताएको छ । विमानको विश्व प्रसिद्ध ग्लोबल अपरेटरहरु एयर न्यूजिल्याण्ड, एयर लिङ्स, एसएएस, एच ओ पी, फ्लिव, अजुल, बैंकक एयरवेज, जेट एयरवेज, मलिन्दो आदी हुन् । यो विमान के एफ् टर्बो लिजिङ्ग लिमिटेडबाट खरिद गरीएको हो र यो नेपालमा एटीआर-७२ विमान खण्डमा सबैभन्दा नयाँ विमान हुनेछ । यो विमान थपिँदा यति एयरलाइन्सले एटीआर-७२ को सेवा विस्तार गरेर भद्रपुर र पोखरासम्मको सेवा प्रदान गर्नेछ । साथै, यसले नेपालमा मनाउन लागिएको पर्यटन वर्ष २०२० मा नेपालको २० लाख पर्यटन भित्र्याउने लक्ष्यलाई सहयोग गर्ने कम्पनीले अपेक्षा गरेकाे छ ।