बिक्रीको दाउमा प्याराग्लाइडिङ कम्पनी, जोखिम मोलेरै पोखराका ६५ कम्पनीको उडान

काठमाडौं ८, कात्तिक । प्याग्लाइडिङ कम्पनी अनुमति लिँदै बिक्री गर्न थालिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट इजाजतपत्र (लाइसेन्स) लिने र बिक्रीको दाउमा राख्ने कम्पनी बढ्न थालेको नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतको भनाइ छ । पर्यटन मन्त्रालबाट लाइसेन्स लिएपछि उडान संचालन अनुमति (एओसी)का लागि नेपाल नागरिक उड्डयन प्राधिकरण जानुपर्छ । प्राधिकरण नपुग्दै कतिपय कम्पनीको किनेबेच भैइसक्ने गरेको पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले बताए । मन्त्रालयका अनुसार किनबेच भएको खबर आइरहने गरेको भएपनि वायुसेवा कम्पनीसरह मन्त्रालयसम्म स्वामित्व परिवर्तन भएपछि आउने जानकारी भने आएको छैन । नेपालमा हाल प्याराग्लाइडिङ प्रशिक्षण स्कूल, अल्ट्रालाइट र प्याराग्लाइड गरी नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई उड्डयन सुरक्षा विभागबाट मात्रै ७१ वटा कम्पनीले अनुमति लिएका छन् । यस मध्ये बन्दिपुरको ब्लू स्काई र स्याङ्जाको बाबु एडभेन्चर प्रशिषण स्कूल हो । पोखरा, फिस्टेल र एभिया क्लव गरी तीन अल्ट्रालाईटका कम्पनी छन भने बाँकी ६५ वटा प्याराग्लाइडिङ रहेका छन् । मन्त्रालयबाट अनुमति प्राप्त प्याराग्लाइडिङका कम्पनीमध्ये स्याङ्जा, सुर्खेत र बन्दिपुरमा एकएकवटा, धरान र काठमाडौमा.दुईदुईवटा रहेको छन भने बाँकी सबै कम्पनी पोखरामा रहेका छन् । पोखरामा सराङ्कोटबाट उडान गर्ने प्याराग्लाइडिङ कम्पनी १९ वटा रहेका छन भने बाँकी सबै कम्पनी तोरेपानीमा रहेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणको हवाइ उड्डयन सुरक्षा विभागका अनुसार कम्पनीको किनबेच भएको सुचना आउने गरेको छ । अनुमति लिएर संचालन नआएका कम्पनीले ३० देखि ४० लाख रुपैयाँसम्म विक्री भएको सूचना आएको भएपनि कुनै पनि कम्पनीको स्वामित्व परिवर्तन भएको जानकारी भने आएको छैन, उड्डयन सुरक्षा विभागका उडान अनुमति शाखा प्रमुख देवेन्द्र पाण्डेले भने । उनका अनुसार कम्पनीको स्वामित्व परिवर्तन भएको जानकारी हामीको आउन जरुरी नभएको र उद्योग विभागमा जानकारी दिए पुग्ने भएकोले पनि प्राधिकरणमक्ष नआएको हुनसक्ने उनको बुझाई छ । प्राधिकरण स्रोतका अनुसार कम्पनीको किनेबेच हुनु सामान्य भएपनि अनुमति लिनकै लागि हुने यस्तो विक्रीले भने प्याराग्लाइडिङको भविष्यप्रति नै प्रश्नचिन्ह उठाउने उल्लेख छ । प्राधिकरणबाट अनुमति लिएका कम्पनीले हवाई नीतिमा भएको व्यवस्था अनुसार एक करोड रुपैयाँको चुक्ता पूँजी देखाएर मन्त्रालय र प्राधिकरणमा पनि आश्वयक शुल्क तिर्नुपर्ने भएकोले संचालनपछिको किनबेच सामान्य हो । मन्त्रालयका एक अधिकारीका अनुसार किनबेच सामान्य प्रक्रिया हो तर खरिद विक्रीको लागि पारदर्शी व्यवस्था अपनाउने र राज्यलाई तिर्नुपर्ने करको दायित्वभित्र पनि आउनुपर्छ । जोखिममा प्याराग्लाइडिङ पर्यटन मन्त्रालयले हवाई खेलकूदका कम्पनीको अस्वस्थ प्रतिस्र्धालाई बढाउन जोखिम मोलेरै एउटै स्थानका लागि पाँच दर्जन प्याराग्लाइडिङका कम्पनीलाई उडान अनुमति दिएको छ । पोखराको सराङ्कोट र तोरेपानीबाट उडान गर्ने यी सबै कम्पनी फेवाताल किनारमा अवतरण गर्ने गर्छन । हाल पोखरामा मात्रै झण्डै ६५ वटा कम्पनीले संचालन अनुमति पाएका छन । मन्त्रालयको अनुमतिपश्चात सबै हवाई उडानका कम्पनीले प्राधिरणबाट नै उडान सञ्चालन अनुमतिपत्र (एओसी) लिनुपर्छ। एकैपटक एउटै स्थानबाट धेरैवटा कम्पनी सञ्चालन हुँदा पोखराको हवाई खेलकूद नै जोखिममा पर्ने नेपाल हवाई खेलकूद नेपाल हवाई खेदकूद संघको भनाइ छ । संघका अनुसार पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा छ, विमानस्थल निर्माण पश्चात संचालनमा भएका सबै प्याराग्लाइडिङ हवाई उडान रुटमापर्ने भएकोले अनिवार्य विस्थापन हुनुपर्छ । अहिले नै पोखराको हवाई रुटमा असर पर्ने गरी प्राधिकरणले प्याराग्लाइडिङको उडान अनुमति दिएको उल्लेख छ । हवाई रुटमा प्याराग्लाइडिङ भएकै कारण यस अघि एक प्याराग्लाइडिङ यति एयरसँग ठोक्किएको थियो । पोखरामा बढेको प्याराग्लाइडिङको चापका कारण संघले हाल उडानमा रहेका प्याराग्लाइडिङका प्रत्येक प्याराग्लाइडले दैनिक तीन उडान मात्रै गर्न पाउने नियम बनाएको छ । संचालनमा रहेको सबै प्याराग्लाइडिङ ६ वटा प्याराग्लाइड रहेका छन् । यी प्याराग्लाइडबाट पोखरमा पर्यटकीय सिजनमा दैनिक ११ सय वटा उडान हुने गर्छ । यो उडान संख्या फेवाताल वरपरको सानो क्षेत्रका लागि अधिक भएको पनि संघको भनाइ छ । मनोरञ्जनपूर्ण हवाई खेल अन्र्तगत इन्जिन जोडिएर वा नजोडिकन हावाको माध्यमबाट तैरिने खेलका रुपमा प्राधिकरणले हवाई खेलकूदका संस्थालाई अनुमति दिने गरेको छ । यस अन्तर्गत अल्ट्रलाइट, माइक्रोलाईट, प्यारामोटर, स्ट्रङ्ग प्याराग्लाइडर, स्काइमोटरसहितका कम्पनी पर्छन् । यसलाई संचालन गर्न निवेदन दस्तुरवापत ५ हजार, बैंक धरौटि ५ लाख, इजातज शुल्क बापत ५० हजार तथा चुक्ता पूँजी १ करोड हुनुपर्ने प्रावधान मन्त्रालयले तोकेको छ ।

टर्कीसको जहाज कवाडिमा विक्यो, काठमाडौमै जहाजभित्र संग्राहालय संचालन गर्दै बेद उप्रेती

काठमाडौं ८, कात्तिक । उडान भर्न मिल्ने अवस्थामा कम्तीमा २६ अर्ब नेपाली रुपैयाँ मूल्य पर्ने टर्किस एयरलाइन्सको डिजेबल एयरक्राफ्ट नेपाली पाइलट बेद उप्रेतीले खरिद गर्ने पक्कापक्की भएको छ । स्रोतका अनुसार, आइतबार उक्त जहाजको स्वामित्व लिएको टर्किस एयरलाइन्सको प्राविधिक कम्पनी टर्किस टेक्निकलले बेद उप्रेती ट्रष्टलाई जहाज बिक्रि गर्ने सम्झौता गरेको छ । मर्मत गरेर उडान गर्न नमिल्ने उक्त विमानको खरिद रकम भने दुवै पक्षले सार्वजनिक गरेका छैनन् । ‘हामीबिच खरिद रकम केही समयकालागी सार्वजनिक नगर्ने सहमति भएको छ,’ विमान खरिद गर्ने बेद उप्रेती ट्रष्ट निकट स्रोतले भन्यो । एटीआर विमानका परीक्षक तथा प्रशिक्षक पाइलट उप्रेती डडेल्धुराका हुन । हाल उनी इन्डोनेशियाको लायन एयरको विमान उडाउँछन् । दुई वर्षअघि कैलालीको धनगढीमा पाइलट उप्रेतीले डेढ करोड रुपैयाँ लगानीमा स्थापना गरेको एयरक्राफ्ट म्युजिम लोकप्रिय छ । बन्द भएको नेपाली एयरलाइन्स कस्मीक एयरको १ सय १० सिट क्षमताको फोकर विमानलाई काठमाडौंबाट तीन टुक्रा बनाई लरीट्रकमा राखेर उनले स्थापना गरेको म्युजियम त्यस भेगका स्थानिय तथा भारतको उत्तर प्रदेश र उत्तराखण्डका पर्यटकहरुकालागि अनिवार्य घुम्नै पर्ने थलो बनेको छ । यता टर्किससँग खरिद गरिने एयरबस ए–३३० विमान भने पाइलट उप्रेतीले काठमाडौं उपत्यकाभित्रै राख्ने बताएका छन् । ‘यो विमान बाहिर लैजान सकिँदैन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमै राखिने छ,’ उप्रेतीले भने । काठमाडौंमा स्थापना गरिने म्युजियमले सर्वसाधरणलाई नेपाली उडड्यन, यस्का चुनौती र अन्तर्राष्ट्रिय उड्डयनबारे जानकारी गराउने भनेको छ । ‘विश्वमै एभिएसन सम्बन्धित जनशक्तिको कमी हुँदै गएको छ, हामीले स्थापना गर्ने म्युजियमले आउँदो पुस्तालाई यस क्षेत्रमा आर्कषित गराउन उत्प्रेरणा दिने छ,’ एटीआर ७२–६०० सिरिजको विमान उडाउँदै आएका उप्रेतीले भने । कान्तिपुर दैनिकबाट ।

विदेशी डिग्रीका नाममा पाँचसय विद्यार्थी ठगिए, इन्टरनेशनल कलेज अफ हस्पिटालिटी म्यानेजमेन्टले ठग्यो

काठमाडौं ७, कात्तिक । विदेशी डिग्री स्वदेशमै सस्तोमा अध्ययन गराउने झुटो सूचनाका आधारमा राजधानीको एक कलेजमा अध्ययन गरेका सयौं विद्यार्थीको शैक्षिक योग्यताले मान्यता नपाउने भएको छ । मान्यता नपाएपछि विद्यार्थीको मिहिनेत खेर गएको छ भने उनीहरूको शैक्षिक भविष्यसमेत अन्यौलमा परेको छ । पढाई सकिए पनि प्रमाणपत्रले मान्यता नपाएपछि सयौ विद्यार्थी ठगिएका छन् । भारतको कर्नाटका स्टेट ओपन युनिभर्सिटीको कार्यक्रम सञ्चालन गर्ने राजधानीको इन्टरनेशनल कलेज अफ हस्पिटालिटी म्यानेजमेन्ट (आइसीएचएम) मा स्नातक तहमा होटल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थीहरुको प्रमाणपत्रले मान्यता नपाएको हो । यसबाट विद्यार्थीहरु माथिल्लो तह अध्ययन गर्नबाट वन्चित भएका छन् । भारतको विश्वविद्यालय अनुदान आयोगले कर्नाटका स्टेट ओपन युनिभर्सिटीलाई २०१२ देखि नै विद्यार्थी भर्ना गर्न रोक लगाएको थियो । तर, आइसीएचएमले दुई बर्षअघिसम्म उक्त विश्वविद्यालयको कार्यक्रममा विद्यार्थी भर्ना लिइरहेको थियो । यो कलेजले ६ बर्षअघि देखि स्नातक तहमा बीएस्सी एचसीएमको कार्यक्रम चलाउन थालेको हो । कलेजले यो कार्यक्रमका लागि ३ लाखदेखि ५ लाख रुपैयाँसम्म लिएको विद्यार्थीहरुले जनाएका छन् । मन्त्रालयका अनुसार यो कलेजबाट पाँच सयभन्दा बढी विद्यार्थीले अध्ययन गरेका छन् । कलेजले आफूलाई ठगेको भन्दै विद्यार्थीहरूले कलेजविरुद्ध छानविन गर्न प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिएका छन् । यो विश्वविद्यालयलाई अन्य देशका विश्वविद्यालयले मान्यता नदिएकाले विद्यार्थीहरुको भिसासमेत अस्वीकृत हुने गरेको छ । विद्यार्थीहरु अनन्तराज अधिकारी र बिजय तिमल्सिनासहितले अष्टेलिया जाने प्रयास गर्दा भिसा अस्वीकृत भएको कागज पेस गर्दै प्रहरी कार्यालयमा गुहारेका छन् । कान्तिपुर दैनिकबाट ।