अब घरबाटै वायुसेवा निगमको टिकट किन्न सकिने
काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेट वे ‘इसेवा फोन पे प्रा.लि’ र ‘नेपाल वायुसेवा निगम’बीच अनलाईन टिकटिङका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा इसेवाका तर्फबाट सिइअाे रोशन लामिछाने र नेपाल वायुसेवा निगमका तर्फबाट महाप्रबन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै इसेवाबाट सोमबारदेखि नै वायुसेवा निगमको आन्तरिक तथा बाह्य उडानका टिकट खरिद गर्न सकिनेछ । यसअघि इसेवाबाट बुद्ध एयर, श्री एयरलाइन्स्, यति एयरलाइन्स्, सिम्रिक एयर, सौर्य एयरलाइन्स्को टिकट खरिद गर्न सकिन्थ्यो । नेपाल एयरलाइन्स्ले हालैमात्र २ सय ७४ सिटका वाइडबडि जहाज सञ्चालनमा ल्याएको छ । निगमको बजार विस्तारलाई अनलाइन टिकटिङले पनि सहयोग पुर्याउने विश्वास लिइएको छ । इसेवामा वायु सेवा निगमको अनलाइन टिकटिङको सेवा थपिएपछि इसेवाका सिओओ लामिछानेले भने ‘अनलाइन टिकटिङको लागि नेपाल एयरलाइन्ससँग सहकार्य गर्न पाउँदा हामीलाई खुसी लागेको छ । अब यात्रुहरूले आन्तरिक सँगै बाह्य उडानमा पनि सहजै इसेवामार्फत् टिकट खरिद गर्न सक्नुहुनेछ ।’ इसेवा नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको पहिलो पेमेन्ट गेटवे हो । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४६ वटा बैंक सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हालसम्म इसेवाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ६० लाखभन्दा बढीले सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब ३६ हजारभन्दा बढी एजेन्ट (इसेवा जोनतथा पोइन्ट)रहेका छन् । यी जोन पोइन्टबाट यात्रुहरूले सहजै एयरलाइन्सको टिकट खरिद गर्न सकिन्छ ।
इन्डोनेसियली नेशनल पुलिस प्रमुख पुगे चन्द्रागिरि
चन्द्रागिरि । इन्डोनेसियाली नेशनल पुलिस प्रमुख प्रोफेसर डा. एच मुहम्द तटो कर्नाभियनले काठमाण्डौको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण गरिएको चन्द्रागिरिको भ्रमण गरेका छन् । चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुहम्दलाई स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । चन्द्रागिरिको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै मुहम्दले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण चन्द्रागिरि पर्वतमा अति नै सुन्दर परियोजना निर्माण भएको कुरा व्यक्त गरे । भ्रमणका क्रममा मुहम्दले यस्ता विभिन्न परियोजनाले देश विकासमा ठूलो भूमिका खेल्ने भन्दै नेपालको विकासका निम्ति यस्ता धेरै परियोजना निर्माणको आवश्यकता रहेको बताएका छन् । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।
निगमको दोस्रो वाइड बढी ‘मकालु’ विमान साउन ११ गते काठमाडौँ आइपुग्ने
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को ‘मकालु’ नाम राखिएको वाइड बढी विमान यही साउन ११ गते काठमाडौँ आइपुग्ने भएको छ । अहिले फ्रान्समा परीक्षण उडानमा रहेको सो विमान साउन ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरिएको निगमले जनाएको छ । ‘नाइन एन एएलजेट’ कलसाइनको उक्त विमान नेपाल भित्र्याउने सम्पूर्ण तयारी पूरा भएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए । “दोस्रो वाइड बढी विमान भित्र्याउनका लागि निगमको एक समूह ‘टोली’ हिजो शुक्रबार फ्रान्स गइसकेको छ । निगमका महाप्रबन्धकसहितको टोली भोलि आइतबार त्यसतर्फ जाने तयारीमा छ”, उनले भने । वाइड बडी ए ३३०–२०० सिरिजको उक्त विमान निर्माता कम्पनी फ्रान्सको तुलुज शहरबाट उडान भरी काठमाडौँ आउनेछ । निगमको पहिलो वाइड बढी ‘अन्नपूर्ण’ नामको विमान गत असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । ‘नाइन एन एएलवाई’ कलसाइन दिएको उक्त वाइड बडी ए ३३०–२०० सिरिजको विमान फ्रान्सको तुलुज शहरबाट नौ घण्टाको उडानपछि काठमाडौँ आइपुगेको थियो । सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको रु १२÷१२ अर्बको ऋणबाट दुई वटा विमान खरिद गरिएको निगमले जनाएको छ । निगमले अमेरिकी कम्पनी एएआरसँग खरिद गरेका दुई वाइड बडी विमानमध्ये पहिलो विमान आइसकेको छ भने दोस्रो विमान आगामी शुक्रबार काठमाडौँ आइपुग्नेछ । विसं २०७४ वैशाख ७ गते सरकारबाट ग्यारेन्टी स्वीकृत भएपछि खरिदका लागि ऋण लिने प्रक्रिया अगाडि बढाइएको थियो । जेठ २८ गते नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता भएको थियो । निगमका अनुसार विमानको प्रतिथान मूल्य रु १० करोड ४८ लाख अमेरिकी डलर निर्धारण भएको छ । दुवै वाइड बढी विमानको सिट क्षमता समान छ । कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् । निगमको पहिलो वाइड बढी विमानबाट आगामी साउन १८ (अगष्ट १) देखि कतारको दोहामा व्यावसायिक उडान शुरु गर्दैछ । दोस्रो विमान पनि हाललाई पुरानै गन्तव्यमा उडाइनेछ । पछि क्रमशः नयाँ गन्तव्यमा उडान भर्ने निगमको तयारी छ । दोस्रो वाइड बढी आएपछि आवश्यक सबै प्रक्रिया पूरा गरी व्यावसायिक रुपमा उडान गर्ने तयारी गरिएको छ । वाइड बढी विमानका लागि विमान चालक (पाइलट) को व्यवस्थासमेत भइसकेको प्रवक्ता श्रेष्ठले बताए । “वाइड बढी उडाउने पाइलट तयार भइसकेका छन् केही आउने क्रममा छन् । दोस्रो वाइड बढीका लागि पनि चाँडै पाइलटको व्यवस्था हुनेछ”,–उनले भने । निगमका अनुसार अब आउने थप वाइड बढी विमानसमेतलाई दृष्टिगत गरी जम्मा १३ वटा विमानलाई पाइलट ११६ जना चाहिने भए पनि हाल निगमसँग जम्मा ८८ जना मात्र पाइलट छन् । थप २८ जना पाइलट सकेसम्म स्वदेशी नभए विदेशी पाइलट करारमा लिएर विमान सञ्चालनमा ल्याउने निगमको भनाइ छ । निगमले नयाँ विमान थप्दै जाँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फ हाललाई विदेशी पाइलटहरु कारारमा नियुक्त गर्दै जाने नीति लिएको हालै पत्रकार सम्मेलनमार्फत जानकारी दिएको थियो । यसका साथै निगमभित्रका पाइलटलाई पनि तालीम दिँदै क्रमिकरुपमा नियमानुसार स्तरोन्नति ‘अपग्रेट’ गर्दै लैजाने जनाएको छ । निगमका अनुसार आन्तरिक उडानका लागि चिनियाँ वाई–१२ र टुइनअटर विमानका लागि विदेशी क्याप्टेन करारमा नियुक्त गर्दा मासिक अन्दाजी रु १२ लाख तलब भत्ता (करसहित) लाग्ने देखिएको छ भने वाइड बढी ए३३०–२०० को लागि क्याप्टेनको अन्दाजी रु १८ लाख र को–पाइलटको रु १२ लाख लाग्नेछ । हालको अवस्थामा नयाँ विमान थप्दै जाने हो भने विदेशी पाइलटकै भर पर्नुपर्ने अवस्था रहेको निगमले जनाएको छ । नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ नयाँ जहाज खरिद गरिएको र त्यसले निगमको हिस्सा बढाउनसमेत सहयोग पुग्ने विश्वास लिइएको छ । नयाँ विमान दोहा र दुबईमा उडाउने तयारी गरिएको र निकट भविष्यमा जापान र चीनका विभिन्न गन्तव्यमा उडान गर्ने तयारी गरिएको जनाइएको छ । विमान थपेपछि त्यसको व्यवस्थापन र सुरक्षामा केन्द्रित हुने बताउँदै आएको निगमले त्यसका लागि विज्ञ परामर्शदाता नियुक्त गरिसकिएको छ । नयाँ जनशक्ति व्यवस्थापन गर्ने र हवाई सुरक्षाका लागि संसारकै नयाँ प्रविधि जडान गर्ने रणनीतिसमेत निगमको छ । निगमले नयाँ वाइडबडी विमानबाट दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, लण्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । हाल अन्तर्राष्ट्रिय उडानका आठ गन्तव्य भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ । एक बोइङ नाइन एसिबी–५७५ र एयरबस ३२० सिरिजको दुई वटा जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो । निगमले आन्तरिकतर्फ नौ वटा विमानबाट सेवा दिइरहेको छ । यीमध्ये चीनबाट ल्याइएका वाई १२ चार वटा, एमए ६० दुई वटा र तीन वटा ट्विनअटर विमान छन् । रासस