पर्यटकलाई तस्बीर लिन समस्या परेपछि सम्पदास्थलमा चारपाङ्ग्रे सवारीसाधनको प्रवेशमा रोक
भक्तपुर । भक्तपुर नगरपालिकाले सम्पदास्थलमा मंगलबारदेखि चार पाङ्ग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत पाँचतले मन्दिर परिसरमा आजदेखि चारपाङ्ग्रे सवारी प्रवेशमा रोक लगाएको नगरपालिकाका प्रमुख सुनील प्रजापतिले जानकारी दिए । नगरप्रमुख प्रजापतिले आज सिक्रीमा ताला लगाएर चारपाङ्ग्रे सवारी रोक्न औपचारिक शुरूवात गरेका हुन् । सवारीसाधन रोक्नका लागि पूर्वमा साकोठा जाने चोक र पश्चिममा गःहिटी जाने बाटोमा सिक्री लगाइएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदास्थलको अवलोकनमा आउने पर्यटकलाई सवारीसाधनको अव्यवस्थित पार्किङ, अनावश्यक भीड र हर्न बजाउने, जथाभावी सवारी आवतजावतले बाधा पुर्याएको तथा पर्यटकलाई तस्बीर लिनसमेत समस्या परेको गुनासो बढेपछि नगरपालिकाले चारपाङ्ग्रे सवारी प्रवेशमा रोक लगाएको हो । नगरप्रमुख प्रजापतिले विश्व सम्पदास्थलको संरक्षण गर्न भक्तपुर घुम्न आउने पर्यटकलाई बाधा नपुगोस् भनेर सवारी प्रवेशमा रोक लगाएको बताए । सवारीसाधनको कम्पनले पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको संरक्षणमा बाधा पुगेपछि नगरपालिकाले सम्पदाको संरक्षणलाई समेत ध्यान दिँदै सवारी प्रवेशमा रोक लगाएको हो । पाँचतल्ले मन्दिरको पूर्वमा क्वाछें, पश्चिममा स्वपुंग भैरव, उत्तरमा चतुब्रह्म महाविहारको पूर्वी बाटो र दक्षिणमा तीलमाधव नारायण मन्दिरको पूर्वी ढोकायताको चार किलाभित्र बिहान ७ देखि बजेदेखि बेलुका ७ बजेसम्मलाई चारपाङ्ग्रे सवारीसाधन प्रवेशमा निषेध गरिएको नगरप्रमुख प्रजापतिले बताए । नगरपालिकाले अत्यावश्यक सवारीसाधन एम्बुलेन्स, शववाहन, दमकललगायत साधनलाई भने सञ्चालनमा रोक लगाएको छैन । यसअघि नगरपालिकाले भक्तपुर दरबार क्षेत्रभित्र दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधन निषेध गरेको थियो । स्थानीय जनताको सल्लाह र सुझाव लिएर अन्य सम्पदास्थलम समेत सवारी प्रवेश रोक लगाउन सकिने उनको भनाइ छ । रासस
आइतबारदेखि हवाई भाडा घट्दै, धनगढी-काठमाडौं रुटमा ४४० रुपैयाँ घट्यो
काठमाडौँ । नेपाली वायुसेवा कम्पनीहरूले आइतबारदेखि लागू हुने गरी आन्तरिक हवाइ रुटमा ४४० रुपैयाँसम्म हवाइ भाडा घटाएका छन् । आयल निगमले बिहीबार मध्य रातदेखि लागू हुने गरी एअर टर्बाइन फ्युल(हवाइ इन्धन) को मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटाएपछि एअरलाइन्सहरूको एक मात्र संगठन वायुसेवा सञ्चालक संघले आइतबारदेखि लागु हुनेगरी हवाइ भाडामा लिइने फ्युल सरचार्जमा कम्तीमा ९० रुपैयाँदेखि ४४० रुपैयाँसम्म घटाउने निर्णय गरेको हो । संघका प्रवक्ता घनश्याम आचार्यका अनुसार सबैभन्दा धेरै धनगढी–काठमाडौं रुटको एकतर्फी भाडामा ४४० रुपैयाँसम्म फ्युल सरचार्ज घटाइएको छ । सबैभन्दा कम काठमाडौंदेखि सिमरा रुटमा ९० रुपैयाँ घटेको छ । काठमाडौंदेखि सुरु हुने पर्यटकीय रुटमा उडानमा ३४५, तुम्लिङटारमा १८५, भद्रपुरमा ३००, विराटनगरमा २४०, जनकपुरमा १३०, सिमरामा ९०, भरतपुरमा ११० रुपैयाँ घटाइएको छ । पोखरामा १५५, भैरहवामा २०५, धनगढीमा ४४० र नेपालगञ्जमा ३२५ रुपैयाँ घटाइएको छ ।
कतार एयरवेजमा यात्रा गर्नेलाई ५० प्रतिशत सम्म छुट
काठमाडौं। २०१९ मा नयाँ र रोमाञ्चक गन्तव्य घुम्न खोज्ने यात्रुहरूलाई लागि कतार एयरवेजले आफ्ना विश्वव्यापी रुपमा लागु हुने गरी नयाँ अफर ल्याएको छ। कतार एयरवेजको यात्रुहरूले यस विशेष समयमा विशेष छूट पाउनुको साथै हरेक यात्रा अविस्मरणीय क्षणको रुपमा रहने एयरलाइन्सले विश्वाश राखेको छ। ७ जनवरी देखी ३१ डिसेम्बर २०१९ को बीच यात्राको लागि ७- १६ जनवरी २०१९ बाट बुक गरिएको सबै कतार एयरवेज उडानहरूमा उक्त अफर लागु हुनेछ। यस अवधिमा फ्लाइट बुक गर्ने यात्रुहरुले ५० प्रतिशतसम्म छूट पाउनुको साथै अझै थप ५० प्रतिशत बोनस क्युमाईल्स पनि प्राप्त गर्न सक्नेछन्। कतार एयरवेज प्रमुख वाणिज्य अधिकारी, ईहाब आमिन भन्छन्,” हामी हाम्रो यात्रुहरुलाई यस अफर दिन पाएकोमा धेरै खुशी छौ, हामी सबैलाई यस अफरको भरपुर फाईदा लिनुहुन आग्रह गर्दछौ।” यो अफर यात्रुहरूले https://www.qatarairways.com/en-np/offers/new-journey.html मा गएर अथवा कतार एयरवेज विक्रय कार्यालय, वा उनीहरूको नजिकैको ट्राभल एजेन्टलाई सम्पर्क गरेर लिन सक्नेछन्। विश्वका सबैभन्दा तेज विकशिल एयरलाइन्सको रूपमा रहेको कतार एयरवेजलाई २०१८ मा ‘बेस्ट बिजनेस क्लास’ र ‘बेस्ट बिजनेस क्लास सीट’ को अवार्ड दिईेएको थियो। कतार एयरवेजले विश्वका १ सय ५० भन्दा बढी गन्तव्यमा सेवा प्रदान गर्दै आएको छ।