हवाई सुरक्षा सम्बन्धी छलफल, ‘नेपालमा हवाई उडान उच्च जोखिममा’
काठमाडौँ । एयरबस हेलिकोप्टर्स र युरोपियन नागरिक उडड्यन सुरक्षा एजेन्सी(इएएसए) ले यही माघ १० र ११ गते काठमाडौंमा हवाई सुरक्षा सम्बन्धी गोष्ठीको आयोजना गरेको छ । उक्त गोष्ठीमा उडानका क्रममा बजारमा चुनौतीका रुपमा देखा परेका विश्वको उत्कृष्ट अभ्यासहरु र जोखिम न्यूनीकरणका विषयमा छलफल गरिएको थियो । नेपाल नागरिक उडड्यन प्राधिकरण (सिएएएन) को संयोजकत्व रहेको सो गोष्ठी विशेष गरेर हेलिकोप्टर उडानमा केन्द्रित रह्यो । जसमा एयरबस हेलिकोप्टर्स र इएएसएका विज्ञहरु, ग्राहकहरु र हवाई उद्योगका विशेषज्ञहरुबीच नेपालमा हवाई सुरक्षालाई अझ बढी सशक्त बनाउने उपायका सन्दर्भमा विचार विमर्श भएका थिए । “यहाँको उच्चभौगोलिक अवस्था, असुविधाजनक भूभाग र कठिन मौसमी अवस्थाहरुको कारण नेपालको हेलिकोप्टर उडान सम्भवतः विश्वको अप्ठ्यारा उडानहरु मध्येकै एकमा पर्दछ ।”सिएएएनका महानिर्देशक सञ्जय गौतमले भने । एयरबसले नेपालको हेलिकोप्टर बजारको ६३ प्रतिशत हिस्सा ओगटेको छ । हाल, देशमा २७ वटा एयरबस एक्यूरियुल हेलिकोप्टरहरुले उडान भरिरहेका छन् । आफ्ना सबै उडानहरुमा सुरक्षाप्रबन्धलाई विशेष चासो दिने हाम्रो कटिबद्धतालाई ध्यानमा राखेर एयरबस हेलिकोप्टर्सले विश्वभर नै सुरक्षा सडक प्रदर्शनीहरु संचालन गर्दै आइरहेको छ । सन् २०१६ पछि नेपालमा एयरबसले आयोजना गरेको यो दोस्रो सुरक्षा गोष्ठी हो ।
२१ वर्षसम्म विमानस्थल सञ्चालनमा आएन, सरोकारवाला निकायको बेवास्था
लम्की । बन्द भएको २१ वर्षसम्म पनि टीकापुर विमानस्थल सञ्चालनमा आउन सकेको छैन । सशस्त्र द्धन्द्धका कारण विसं २०५४ देखि उडान बन्द भएको उक्त विमानस्थल सञ्चालनका लागि स्थानीयवासीले प्रयास गरे पनि सरोकारवाला निकायको बेवास्थाका कारण सञ्चालनमा आउन नसकेको हो । उक्त विमानस्थल पुनः सञ्चालनका लागि स्थानीयवासीले विगत सात वर्षदेखि विभिन्न राजनीतिक दलका शीर्षनेतासँग आग्रह गर्नाका साथै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन् । विसं २०४२ देखि सञ्चालन हुँदै आएको उक्त विमानस्थल सशस्त्र द्वन्द्वका कारण २०५४ सालदेखि बन्द भएको थियो । लामो समयसम्म विमानस्थल सञ्चालनमा नआएपछि २०६१ सालमा चार सय घरधुरी मुक्त कमैयाले त्यहाँ अतिक्रमण गरे । वर्षौदेखि बन्द रहेको विमानस्थल सञ्चालनका लागि स्थानीयवासीले पहल गरेकाले नगर विकास टीकापुर समितिले विमानस्थलमा बसेका मुक्तकमैयालाई अन्यत्र स्थानमा स्थानान्तरण गर्ने सहमतिमा विसं २०६९ मा ती मुक्तकमैयाले विमानस्थलको जग्गा छोडेका थिए । सरकारले बन्द रहेका २२ वटा विमानस्थल सञ्चालनमा ल्याउने जनाएकाले टीकापुरमा पनि सो विमानस्थल सञ्चालनका लागि स्थानीय बासिन्दाले सञ्चालन समिति गठन गरेर पहल शुरु गरेको पनि सात वर्ष बितिसक्यो । स्थानीयवासीको पहलमा अतिक्रमित जग्गा खाली गरेर विमानस्थल सञ्चालनका लागि तारबार र रनवे बनाउने कार्यसमेत गरियो । करीब दुई करोड रुपैयाँको लागतमा विमानस्थल सञ्चालनका लागि तारबारसहित ६०० मिटरमा रोडा बिछ्याएर धावन मार्गसमेत निमार्ण गरिएको छ । उक्त विमानस्थल अध्ययन, निमार्ण तथा सञ्चालन समितिका संयोजक टीकाराम जोशीले स्थानीय सञ्चालन समितिले आफ्नै पहलमा टीकापुरमा विमान सेवा सञ्चालनका लागि २०७१सालमा ‘टेस्ट फ्लाइट’लाई सम्म पारिएको बताए । उनले भने, ‘‘तारा एयरको ट्वीनअटर विमानबाट ‘टेस्ट फ्लाइट’ तयार भएपछि टीकापुर विमानस्थल पुनःनिर्माण तथा सञ्चालन समितिले यति एयरलाइन्ससित टीकापुरबाट १६ सिट टिकट बेच्ने सम्झौता गरी साताको एक दिन उडान भर्ने सम्झौता पनि गरिएको थियो तर जहाज आएन ।’’ जोशीले बताए ‘‘ विमानस्थल सञ्चालनका लागि टीकापुरमा विभिन्न पक्षबाट सहयोग भयो । यहाँ आउने मन्त्री तथा शीर्ष नेतालाई ज्ञापनपत्र, मागपत्रदेखि लिएर ध्यानाकर्षणसम्मको काम अहिलेसम्म पनि जारी छ । हामी अहिले पनि प्रयासरत छौं ।’’ सञ्चालन समिति सदस्य मातृका तिमिल्सिनाले भने, ‘‘बन्द अवस्थामा गौचरणमा परिणत भएको विमानस्थल सञ्चालनार्थ टीकापुरमा नागरिकस्तरबाट टीकापुर विमानस्थल अध्ययन निमार्ण तथा सञ्चालन समिति गठन भएकै कारण आज विमानस्थलको जग्गा सुरक्षित छ । सरकारले चाहेमा उडान शुरु गर्न गाहे पनि छैन ।’’ विमानस्थल पुनःनिर्माण गर्नका लागि टीकापुर नगरपालिका बोर्डको निर्णयका आधारमा मालपोत कार्यालयले २०७० सालमा चार महीना घरजग्गा खरीद बिक्रीमा एक प्रतिशत अतिरिक्त कर लगाउँदा ३५ लाख रुपैयाँ सङ्कलन भएको थियो तर विमानस्थल सञ्चालनमा नआउँदा सो रकम अझै सञ्चालन समितिको खातामा थन्किएको छ । संयोजक जोशीले विमानस्थल कालोपत्रेका लागि २०७३ मा सर्भेक्षण भएर २१ करोड रुपैयाँको बराबरको लागत अनुमान गरे पनि काम हुन नसकेको जानकारी दिए । उनले भने, “हरेक नेताले आश्वासन मात्रै दिए, निर्देशन दिएर काम कसैले गरेनन् । फेरि तीन महीनाअघि सर्भेक्षण भएको छ । ३१ करोड रुपैयाँको लागत अनुमान गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलाई बुझाएका छौँं । “उहाँले आवश्यक बजेट उपलब्ध गराउने आश्वासन दिनुभएको छ । काम हुन्छ होला ।’’जोशीले भने, ‘‘मन्त्रीले टीकापुरबाट सुदूर र मध्यपश्चिममा हवाईसेवा सञ्चालन गरिने बताउनुभएको छ । कालोपत्रे भएमा टीकापुरबाट ४० देखि ४२ सिटसम्मको जहाज उडाउन सकिने भएकाले कालोपत्रेका लागि पहल जारी छ ।’’ टीकापुर विमानस्थल निमार्ण तथा सञ्चालनका लागि हरेक वर्ष यस क्षेत्रका जनप्रतिनिधि सहितको टोली राजधानी काठमाडौँमा गइरहेका छन्। ‘‘गतवर्ष पनि एक टोलीले प्रधानमन्त्रीको कार्यालय, शहरी विकास मन्त्रालय, पर्यटन मन्त्रालय, योजना आयोगमा विमानस्थल निमार्णका लागि पहल गर्न आग्रह गरेको थियो ।’’ टीकापुर विकास मञ्चका अध्यक्ष नवराज रावलले भने । विमानस्थल सञ्चालन हुनुपर्ने स्थानीयवासीको माग जारी छ । सुदूरपश्चिम प्रदेशका सांसद डा रणबहादुर रावलले भने, ‘‘टीकापुरबाट विमानस्थल सञ्चालन हुने सम्भावना छ प्रदेश सरकारले पनि यो सम्भावनालाई प्राथमिकता दिन आवश्यक छ ।’’ टीकापुरका आसपासका यात्रुले हवाई यातायातका लागि एक सय किलोमिटर भन्दाबढी दूरीमा रहेको नेपालगञ्ज या धनगढी जानुपर्ने बाध्यता छ । बजार क्षेत्रतर्फ एक हजार २५० मिटर लम्वाइ रहेको विमानस्थलका लागि आवश्यक परे थप तीन सय मिटर जग्गा सहजरूपमा उपलब्ध गराउन सकिने भएकाले टीकापुर विमानस्थल उपयुक्त रहेको स्थानीयवासीको भनाइ छ । रासस
केबलकार सञ्चालनका लागि डीपीआर बन्दै, सञ्चालन लागत ४ अर्ब
गाईघाट । उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बजारबाट त्रियुगा नगरपालिका-१६ बेलदोभान हुँदै जिल्लाको पहाडी क्षेत्रको धार्मिक, पर्यटकीयस्थल रौतामाईसम्म केवलकार सञ्चालनका लागि बृहत गुरुयोजना प्रतिवेदन(डिपिआर) बनाउन शुरु भएको छ । त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको पहलमा पहिलोपटक डिपिआर तयार गरेर प्रदेश सरकारलाई बुझाई योजनाको सर्भे शुरु गर्ने तयारी गरेको त्रियुगा नगरपालिकाका प्रमुख बेलदेव चौधरीले बताए । दुई महिनाभित्र सर्भे सम्पन्न गरेर आर्थिक वर्ष २०७६/७७ बाट गाईघाट–बेलदोभान हुँदै पहाडी क्षेत्रको धार्मिक पर्यटकीय र तीर्थस्थल रौतासम्म केबलकार सञ्चालनको योजना शुरु हुने प्रमुख चौधरीले बताए । जिल्लाकोे सदरमुकाम गाईघाटदेखि करीब १९ किलोमिटर उत्तरी पहाडी क्षेत्रको दूरीमा रहेको रौतापोखरीसम्म केबलकार सञ्चालनका लागि झण्डै ४ अर्ब लाग्ने रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्का बताउँछन् । तीन अर्ब लगानी गर्न विभिन्न केबलकार कम्पनीसँग छलफल र परामर्श भइसकेको र उनीहरु लगानी गर्न तयारी भएको पनि अध्यक्ष खड्काले बताए । बाँकी एक अर्बमध्ये ५० करोड त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाले तीन वर्षभित्र लगानी गरिसक्ने र बाँकी स्थानीय वासिन्दाबाट लगानी गरेर चार वर्षभित्र केबलकार सञ्चालनमा ल्याउने कुरा त्रियुगा नगरपालिकाका प्रमुख चौधरी बताउँछन् । केबलकार सञ्चालनमा आएपछि जिल्लाकै सबैभन्दा महत्वपूर्ण धार्मिक र पर्यटकीयस्थलको रुपमा रहेको रौता क्षेत्रसम्म आन्तरिक तथा बाह्य पर्यटक आगमनमा वृद्धि हुँदा जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने प्रदेश नं १ का सांसद अम्बिका थापा र विमल कार्की बताउँछन् । रौता पौखरी र रौता पञ्चकन्या देवीको मन्दिरमा अहिले दैनिक २०० सम्म भक्तजन पूजा गर्न जाने गरेका छन् भने अन्य प्राकृतिक दृश्यावालेकन गर्नेको सङ्ख्या पनि दैनिक सयौँको हाराहारी पुग्ने गरेको रौतामाई गाउँपालिका उपाध्यक्ष कुमारी ठकुरी बताउँछन् । समुद्री सतहबाट दुई हजार मिटरको उचाइको पहाडी क्षेत्रमा अवस्थित रौताबाट उत्तरतिर सगरमाथा हिमाल, ओखलढुङ्गा, सोलु क्षेत्र, खोटाङको दिक्तेल, हलेसी देख्न सकिन्छ । रौताबाट पूर्वतिर ट्याम्के डाँडा, अरुणबरुण, सङ्खुवासभा क्षेत्र र दक्षिणतिर सप्तरी, सिरहा, धनुषा, सप्तकोशी, इटहरी र विराटनगरसम्म अवलोकन गर्न सकिने हुनाले पनि जिल्लाकै महत्वपूर्ण पर्यटकीयस्थल रहेको छ । गाईघाट-बेलदोभान हुँदै रौतासम्म केबलकार सञ्चालन भएपछि प्रदेश नं १ र प्रदेश नं २ लगायत अन्य जिल्लाबाट समेत ठूलो सङ्ख्यामा रौता क्षेत्रमा पर्यटक आगमन गर्न सहज हुने र जिल्लाको पर्यटन विकासमा मद्दत पुग्ने जिल्लाका जनप्रतिनिधिले बताएका छन् । रासस