कृषि, जडीबुटी र पर्यटन रोल्पा समृद्धिका आधार-अध्यक्ष ढकाल

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कृषि, जडीबुटी र पर्यटन रोल्पा समृद्धिका आधार भएको बताएका छन् । रोल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रोे रोल्पा महोत्सवलाई शुक्रवार सुलिचौरमा सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त कुरा व्यक्त गरेका हुन् । सङघीय संसद प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको प्रमुख आगमनमा सम्पन्न उक्त कार्यक्रममा उर्जामन्त्री वर्षमान पुन, स्थानीय जनप्रतिनिधिहरु लगायत राजनितिक दलका प्रतिनिधि तथा स्थानीय उद्योगी व्यवसायीहरुले सम्बोधन गरेका थिए । ढकालले रोल्पाको भु–भागमा पाइने बहुमुल्य जडिबुटीको उचित बजारीकरण गर्न सकेमा समग्र रोल्पा र आसपासका क्षेत्रको स्थानीय आर्थिक गतिविधिलाई बढाउन सकिने बताए । जलविद्युत उत्पादन गरि रोल्पाको आर्थिक विकासमा टेवा पुर्याउन सकिने उल्लेख गरेका छन् । रोल्पाली जनताको मुख्य आयस्रोत रेमिटेन्स भएकाले गाउँगाउँमा आइएमईको सेवा पुर्याउने बताए । त्यस्तै लिवाङ्ग र सुलिचौरमा सम्पुर्ण बैकिङ सेवा सहितका शाखा र घर्तिगाउँमा एक्स्टेन्सन काउण्टर सहित ग्लोबल आईएमई बैंकले सेवा प्रदान गर्दै आएको छ भने छिट्टै होलेरीमा एक्सटेन्सन काउण्टर थवाङ्ग,सिर्प,तेवाङ्ग र इरिबाङ्ग लगायतका क्षेत्रमा शाखारहित बैकिङ्ग सेवा शीघ्र पुर्याउने उद्देश्य सहित काम अगाडी बढेको जानकारी गराउन गराउँदै यसबाट समग्र रोल्पाको बित्तीय र रेमिटेन्स सेवा पुर्ती गर्न आइएमई ग्रुप सफल रहेको विश्वास गरेका थिए । आईएमई ग्रुपको मुख्य प्रायोजनमा शरु भएको महोत्सवको उद्घाटन सत्रमा आइएमई ग्रुपका जनसम्पर्क ब्यवस्थापन प्रमुख राजु पौडेलको समेत उपस्थिति रहेको थियो । सन् २००१ मा स्थापना भएको आइएमई ग्र्रुपले रेमिटेन्स, बैंकिङ्ग, सूचना–प्रविधि, उर्जा, पर्यटन, अटोमोटिभ, इन्सोरेन्स, ट्राभल, इन्फोटेन्टमेन्ट, हस्पिट्यालीटी लगायतका विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्दै आइरहेको छ ।

धवलागिरी संरक्षण क्षेत्र आयोजना सञ्चालनमा ल्याउन तिव्र तयारी

काठमाडौं । गण्डकी प्रदेश सरकारले म्याग्दीमा रहेको संसारको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरी हिमाल आसपासका राष्ट्रिय वन क्षेत्रलाई समेटेर संरक्षण क्षेत्र आयोजना सञ्चालन गर्ने तयारी गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र ढोरपाटन सिकार आरक्षका बीचमा रहेको राष्ट्रिय वन क्षेत्रको संरक्षणसँगै पर्यटन विकासका लागि धवलागिरी संरक्षण क्षेत्र आयोजना सञ्चालन गर्न छलफल अघि बढाइएको प्रदेश सरकारको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयले जनाएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले लमजुङ, मनाङ, मुस्ताङ, कास्की र म्याग्दीलाई समेटेर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) तथा गोरखाको केही क्षेत्रमा मनास्लु संरक्षण क्षेत्र आयोजना सञ्चालन गरेको छ । मनास्लु संरक्षण क्षेत्र आयोजनालाई विस्तारको पहल भइरहेको मन्त्रालयले जनाएको छ । राष्ट्रिय वन संरक्षण र व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारलाई छ । स्थानीय तह र प्रदेश सरकारबीच सहकार्य गरेर धवलागिरि हिमालको सेरोफेरोको राष्ट्रिय वन, वन्यजन्तुको संरक्षणसँगै समृद्धिसँग जोड्न संरक्षण क्षेत्र आयोजना सञ्चालन गर्न आवश्यक देखिएको उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री विकास लम्सालको भनाई रहेको छ । प्रस्तावित धवलागिरी संरक्षण क्षेत्र आयोजनाले म्याग्दीको धवलागिरि, रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङ र बाग्लुङ जिल्लालाई समेट्छ ।  धवलागिरी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा म्याग्दीको मुनामा आउनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ग्रामिण पर्यटन विकासका लागि संरक्षण क्षेत्र आयोजनाको आवश्यकता रहेको बताएका छन् । वन पैदावरको व्यवस्थापन र पर्यटनका माध्यमबाट हुने आम्दानीले गाउँपालिका र प्रदेशको विकासमा खर्च गर्न सकिने मुख्यमन्त्री गुरुङले बताए । पर्यटनमन्त्री लम्सालले प्रशस्त सम्भावना रहेर पनि ओझेलमा परेका धवलागिरी गाउँपालिकाको पर्यटन विकासका लागि संरक्षण क्षेत्र आयोजना मार्फत पूर्वाधार विकास, संरक्षण, प्रचारप्रसारको काम गर्न सकिने बताए । ढोरपाटन शिकार आरक्ष क्षेत्रसँग सिमाना जोडिएको धवलागिरी गाउँपालिकाको १ नं वडाका अध्यक्ष झकबहादुर छन्त्यालले अहिलेको एक्याप, आरक्ष र मध्यवर्ती क्षेत्रको नीतिगत व्यवस्थामा स्थानीयवासी अधिकारबाट वञ्चित हुने भएकाले नयाँ कार्यविधि आवश्यकपर्ने  बताए । मुख्यमन्त्री गुरुङ, पर्यटनमन्त्री लम्साल र गाउँपालिका अध्यक्ष पुनको टोलीले हेलिकप्टरमार्फत संरक्षण क्षेत्र प्रस्तावित ठाउँको अवलोकन गरेको जानकारी दिएका छन् । रासस

बुद्ध एयरकाे भद्रपुरमा रात्रिकालीन उडान सफल; तुम्लिङटार, सुर्खेत, भरतपुरमा सेवा विस्तार हुँदै

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा विहीबार रात्रिकालीन परीक्षण उडान गरेको छ । कम्पनीले थप एक खुड्किला पार गर्दै चन्द्रगढी विमानस्थलमा रात्रिकालीन परीक्षण उडान सफल भएको आज एक विज्ञप्तिमार्फत जनाएको हो । हाल उक्त विमानस्थलमा नियमित दुई उडान भर्दै आएको बुद्धले आगामी १० फेब्रुअरीदेखि रात्रिकालीन उडानसँगै दैनिक तीन उडान सञ्चालन गर्ने जनाएको छ । कम्पनीका अनुसार आरएनएभी (एरिया नेभिगेसन) प्रविधिको सहायताले ‘लो भिजिबिलिटी’ र हाल जडान गरिएको रनवे लाइटले अब रातिको समयमा पनि सुरक्षित तरिकाले उडान सञ्चालन गर्न सकिनेछ । यो प्रविधि संसारभरी प्रचलित र सुरक्षित मानिन्छ । यसअघि ‘लो भिजिबिलिटी’ र सूर्यास्तपश्चात उडान रद्द गर्नुपर्दथ्याे । यो विमानस्थल पूर्वका चार जिल्ला झापा, इलाम, पाँचथर, ताप्लेजुङको प्रवेशद्धारको रुपमा रहेको छ । त्यस्तै छिमेकी मुलुक भारतका सिलिगढी, दार्जिलिङ, सिक्किम मात्र नभई तेस्रो मुलुक भुटान तथा बङगलादेशलाई पनि जोड्ने बताइन्छ । यात्रुको सेवालाई ध्यानमा राखेर नेपाल नागरिक उड्डयन प्राधिकरणले करीब छ महीना अगाडि नै यो विमानस्थलमा रात्रिकालीन उडान योग्य बनाउन आरएनएभी प्रविधि जडान गरी हालै आवश्यक रनवे लाइट जडान गरेको थियो । प्रविधिसँगै सुरक्षा र जनशक्तिको पनि व्यवस्थापन भइसकेको विमानस्थलले जनाएको छ । बुद्धले आगामी दिनमा थप विमानस्थल तुम्लिङटार, सुर्खेत, भरतपुरमा पनि सेवा विस्तार गर्दै जाने योजना बनाएको छ । केही महीनापछि नै जनकपुरमा पनि परीक्षण उडान गरी व्यावसायिक उडान भर्ने जनाएको छ । हाल बुद्ध एयरले एटिआर–७२ जहाजमार्फत काठमाडौँ–चन्द्रगढी दैनिक दुईवटा नियमित उडान गर्दै आएको छ । चन्द्रगढी विमानस्थलमा १० महीना अघि बिहान र दिउँसोको लागि स्याटलाइट बेस्ड आइएफआर सेवा शुरु भइसकेको थियो । बुद्ध एयरका नौ वटा एटीआर विमान छन् । यीमध्ये छ एटीआर–७२ र दुई एटीआर–४२ हुन् । बुद्धसँग दुई बीचक्राफ्ट विमान पनि छन् । हाल आन्तरिकतर्फ १३ गन्तब्य चन्द्रगढी, विराटनगर, तुम्लिङटार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङटार र पोखरा–भैरहवा उडान भर्दै आएको छ ।