भोजपुर टेम्केडाँडाको ‘महभीर झर्ना’आकर्षणको केन्द्र बन्दै

काठमाडौं । पर्यटकीय क्षेत्र भोजपुरको टेम्केडाँडाको काँखमा रहेको महभीर झर्ना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । करीब ६० मिटर अग्लो झर्नाको मनोरम दृश्य र भीरमौरी हेर्नका लागि पर्यटक यहाँ पुग्ने गरेका छन् । भोजपुर सदरमुकामबाट २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करीब चार किलोमिटर पश्चिममा अवस्थिति यो झर्नामा बाह्रै महीनामा पानी उत्तिकै मात्रामा बग्ने गर्दछ । झर्नाबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ । दैनिक १० देखि १२ समूह झर्ना भएको स्थलमा रमाइलो गर्न पुग्ने गरेको गाउँपालिको जनाएको छ । गाउँपालिकाले यसको विकास गरेर आयआर्जनको स्रोत सङ्कलन गर्ने लक्ष्यका साथ यहाँसम्म पुग्ने पदमार्ग निर्माण गरिदिएपछि पर्यटकलाई पुग्न निकै सहज भएसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको हो । उनीहरूले यहाँ पुगेर भीरमौरीसँगै झरनाको मनोरम दृश्य अवलोकन गर्ने गरेका छन् । यसलाई अझ प्रचारप्रसारसँगै आवश्यक पूर्वाधारको विकास गर्न सके गाउँपालिकालाई आर्थिक स्रोत सङ्कलन गर्न धेरै सहज हुने स्थानीयको भनाइ छ । स्थानीय शिव राईले भने “यो झर्ना प्रचारप्रसारको अभावले ओझेलमा थियो, तर गाउँपालिकाले पदमार्ग निर्माण गरिदिएपछि अहिले यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ ।” स्थानीय सरकार सञ्चालनमा आएपछि यसले प्राथमिकता पाएको छ । गाउँपालिकाले करीब रु ६ लाख बजेट विनियोजन गरेर सो क्षेत्रमा पुग्नका लागि पदमार्ग निर्माण गरिदिएपछि अन्तरिक पर्यटकको आगमन बढेको हो । गाउँपालिका अध्यक्ष धु्रवराज राईका अुसार गाउँपालिका पर्यटकीय तवरले निकै राम्रो छ, यहाँका पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिका लागेको छ । यो झर्ना हेर्न आउने पर्यटकका लागि चिया नास्तालगायत कुरा खानाका लागि विस्तृत परियोजना प्रतिवेदन  तयार गरेर संरचना निर्माणका काम अगाडि बढाउँने जानकारी दिए । रासस

बेलायतकी महारानी एलिजाबेथ आउँदा तामझाम भएको मेघौली विमानस्थल गौचरन बन्ने खतरा

भरतपुर । कुनै समय बेलायतकी महारानी एलिजाबेथ चितवन आउँदा मेघौली विमानस्थलमा निकै तामझाम थियो । पश्चिम चितवनको पर्यटकीय क्षेत्र मघौलीमा पर्ने यो विमानस्थलमा एलिजाबेथसँगै तत्कालीन राजारानी, स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तिको आवागमन बढेपछि विमानस्थल र मेघौलीको कायापलट हुने धेरैले अनुमान गरे । तर त्यो तामझाम धेरै समय टिक्न सकेन । सरकारले चितवन निकुञ्जभित्र होटल सञ्चालन गर्न नपाउने नीति बनाएपछि विसं २०६७ को मङ्सिरदेखि विमानस्थल बन्द भएको हो । त्यसयता विमानस्थलमा फाट्टफुट्ट उडान हुने गरे पनि नियमित छैन । विसं २०१७ मा विमानस्थल स्थापना भएपछि निकुञ्जभित्र रहेको टाइगरटप्स जङ्गल लजमा आउने पाहुना ल्याउन विमानले उडान भर्दै आएका थिए । त्यसपछि मेघौली विमानस्थलमा नियमित उडान छैन । विमानस्थल यतिबेला गौचरनमा परिणत हुने खतरा बढ्दै गएको भन्दै स्थानीयवासी चिन्तित बनेका छन् । भरतपुर महानगरपालिका–२७ का वडाध्यक्ष गोविन्द तामाङले टाइगरटप्स होटल बन्द भएपछि विमानस्थल अस्तव्यस्त बनेको बताए । “विमानस्थल नियमिति सञ्चालनका लागि विभिन्न निकायमा पहल भइरहेको छ”, तामाङले भने, “होटल व्यवसायी र वायुसेवाबीच तालमेल नमिलेका कारण पनि विमानस्थल सञ्चालन हुनसकेको छैन ।” उनले भरतपुर विमानस्थल साँघुरो भइरहँदा त्यसको विकल्पमा मेघौली विमानस्थल भएको बताए । राजनीतिक दलको चुनावी नारादेखि चितवनको पर्यटन प्रवद्र्धनका योजनामा जिल्लाको निकै पुरानो मेघौली विमानस्थल छुटेको हुँदैन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोही क्षेत्रबाट चुनाव लडेपछि सो विमानस्थल नियमित हुने आशा स्थानीयवासीको थियो । “विमानस्थल नियमित हुने छाँट छैन”, स्थानीयवासी दीपक थापामगरले भने, “कमिसनको खेलका कारण विमानस्थल सञ्चालन हुनसकेको छैन ।” नेपाल एयरलाइन्सले यहाँबाट उडान भर्दा भरतपुर विमानस्थलभन्दा सस्तो भाडा छ, तर पनि नियमित नभएको उनले गुनासो गरे । “कुनै बेला मेघौली एयरपोर्टमा १० वटासम्म जहाज उड्ने उत्रने गर्दथे । सबै जहाजमा टाइगरटप्स जङ्गल लजमा आउने खास गरेर विदेशी पाहुना नै हुने गर्दथे”, विगतको अनुभव सुनाउँदै थापामगरले भने । उनले चितवनको दोस्रो पर्यटकीय गन्तव्यको रूपमा रहेको मेघौलीलाई नेपाल सरकारबाटै जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा नराखिनु विडम्बना भएको बताए । सदरमुकाम भरतपुरबाट २४ किलोमिटर पश्चिमको मेघौली विमानस्थल २३ बिघा जमीनमा फैलिएको छ । विमानस्थलमा एक हजार ६५ मिटर लामो घाँसे धावनमार्ग छ । काठमाडौँबाट उडेको लगभग आधा घण्टामा विमान मेघौली पुग्छ । भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमका अनुसार दैनिक एउटा विमान मेघौली विमानस्थलबाट सञ्चालन हुनसक्ने अवस्था रहे पनि विविध कारणले नियमिति सञ्चालन सम्भव नभएको बताए । “कहिलेकाहीँ ‘गु्रप चार्टर’ हुने बेला भरतपुरबाट नै कर्मचारी गएर उडान भर्ने गरेका छन्”, उनले भने, “गत वर्ष यही समयमा नियमित उडान गर्ने भनेको विमानस्थलले यात्रु कम भएपछि बन्द गरेको हो ।” विमानस्थलमा होटल टाइगरटप्स रहुञ्जेल अन्तर्राष्ट्रिय हात्तीपोलो खेलसमेत हुने गरेको थियो । अहिले मेघौलीमा हात्तीपोलो खेल पनि बन्द भएको छ । मेघौलीदेखि जगतपुरसम्मको क्षेत्रमा राम्रा र ठूला ५० बढी पर्यटकीय होटल छन् । “यो क्षेत्रमा विदेशी पर्यटक लगातार आइरहेका छन्”, पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले भने, “हप्ताको तीन दिनमात्र सञ्चालन गरेका कारण नेपाल एयरलायन्सको विमान पनि नियमित हुन सकेन ।” उनले सधैँ चर्चा भए पनि मेघौली विमानस्थलको स्तरोन्नति र नियमित उडानका लागि ठोस योजना बन्न नसकेको बताए । पर्यटन वर्ष २०२० लाई सफल बनाउन पनि मेघौली विमानस्थल नियमित सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । नियमित उडान नहुँदा पर्यटक आगमनमा समेत प्रभाव परेको मेघौलीका पर्यटन व्यवसायी दिलीप पाण्डेको गुनासो छ । विमानस्थल नियमित भए चितवन आउने आधा पर्यटक मेघौली आउने उनले बताए । नेपाल आउने विदेशी पर्यटकको २० प्रतिशत मात्र चितवन आउने गरेका छन् । पर्यटन वर्ष २०२० लाई लक्षित गरेर ३३ प्रतिशत पर्यटक चितवन भित्र्याउने लक्ष्य राखिएको छ । रासस

चितवनमा स्टार लेवलको सुविधा दिने प्रेसिडेन्ट सेकुवा सञ्चालन, उपमेयर शाहद्धारा उद्धघाटन

चितवन । चितवनको सदरमुकाम भरतपुरमा खानाका पारखीहरुका लागि नयाँ रेष्टुरेन्ट “प्रेसिडेन्ट सेकुवा” सञ्चालन आएको छ । राजधानी काठमाडौंमा चर्चित बनेको “प्रेसिडेन्ट सेकुवा” को आठौँ शाखा चितवनको भरतपुर ओरालोमा सञ्चालन आएको हो । आठौँ शाखाको एक समारोहकाबीच भरतपुर महानगरीकी उमेयर पार्वती शाहले उद्धघाटन गरेकी थिईन् । उनले फरकपनसहित मौलिक खानाको स्वाद लिन चाहाने खानाका पारखीहरुलाई प्रेसिडेन्ट निकै उपयोगी हुने बताईन् । मुलुककै उत्कृष्ट महानगर बनाउन विभिन्न सूचक आवश्यक पर्ने भन्दै उपमेयर शाहले महानगरमा गुणस्तरीय विभिन्न खानाका स्वाद पस्कीनेसगैँ स्वदेशमा नै युवालाई रोजगारी यस्ता खालका रेष्टुरेन्ट सफल हुने बताईन् । यस्तै सोही अवसरमा बोल्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानले आर्थिक रुपमा ईर्मेजिङ्ग सिटि भरतपुरमा अनुभवी रेष्टुरेन्टले थप उचाई दिलाउने बताए । यस्तै कार्यक्रममा बोल्दै चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेलले औद्योगिक क्षेत्रको रुपमा विकसित हुँदै गएको चितवनमा चेन रेष्टुरेन्टहरु आउनु खुसीको कुरा भएको बताए । बैदेशिक रोजगारीबाट फर्केका र नेपालमा नै केही गर्नु पर्दछ भन्ने विचार भएका १० युवाहरुले २०६३ मा खुलेको पे्रसिडेन्ट ग्रपले राजधानी काठमाडौँमा ६ वटा होटल तथा रेष्टुरेन्ट खोलको सो ग्रुपले राजधानी बाहिर लुम्बिनीपछि आठौ शाखाको रुपमा भरतपुरमा यस क्षेत्रका उपभोक्तालाई ध्यान राखेर डिलक्स, स्टार लेवलको सुविधामा रेष्टुरेन्ट खोलेको संस्थाका अध्यक्ष शंकर भण्डारीले जानकारी दिए । सेकुवालाई विशेष प्राथमिकतामा राखेर सञ्चालन भएको प्रेसिडेन्ट सेकुवामा सबै प्रकारका खानाका पारखीहरुका लागि (मल्टी क्विजन) फेमिली रेष्टुरेन्ट हुने उनले बताए । देशकै केन्द्र भागमा रहेको चितवनको भरतपुरमा होटल बिस्तार संगै चितवनवासी र यहाँको तासको स्वाद भन्दा फरक स्वादको परिकार सेकुवालाई पनि चितवनवासीले माया गर्ने अध्यक्ष भण्डारीको दावी छ । जहाँ सयम अनुसारको सुविधा सम्पन्न किड्स प्ले रुम, पारिवारिक रुम का साथै ठुलो स्किृनमा लिरिक्स हेर्दै गीत गाएर मनोरञ्जन लिने जापानीज शैली ‘काराओके’ समेत मुख्य विशेष हो । रेष्टुरेन्टमा विभिन्न कलात्मक आट्र्सले श्रृगारिएको छ । करिव एक करोड लगानीमा संचालन आएको प्रेसिडेन्ट भरतपुर शाखाले ३० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ भने देशभर १ सय ५० जनालाई प्रत्यक्ष रोजगारी दिई सकेको अध्यक्ष भण्डारीले बताए । मिटिङ हलमा १ सय ५० सहित रेष्टुरेन्टमा एक पटकमा १ सय जनालाई एकैसाथ सेवा प्रदान गर्न सक्ने सो रेष्टुरेन्टले शुभारम्भको अवसरमा विशेष छुटको समेत ब्यवस्था गरेको जनाईएको छ ।