भरतपुर विमानस्थलमा लगेज स्क्यान गर्ने ९० लाखको मेशिन जडान गरिंदै, अब यात्रुले झोला खोलेर देखाउनु पर्दैन
चितवन । भरतपुर विमानस्थलभित्र भौतिक संरचना र उपकरण व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिइएको छ । विमानस्थलमा अत्यावश्यक तर हालसम्म जडान नभएका उपकरण भित्र्याइएको छ भने विभिन्न संरचना निर्माण कार्य भइरहेका छन् । नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमका अनुसार नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सञ्चार तथा सहायक उड्डयन विभागले लगेज स्क्यान गर्ने उपकरण खरिद गरी पठाएको छ । सो उपकरणलाई ९० लाख पर्ने गौतमले बताए । एक साताभित्रमा उपकरण जडान भई सक्ने उनले बताए । विमानस्थलमा लगेज स्क्यानर नहुँदा यात्रुले झोला खोलेर देखाउनुपर्ने बाध्यता रहेको छ । विमानस्थलको स्तरोन्नतिको कामलाई पनि तीव्रता दिइएको छ । यसै क्रममा धावनमार्ग ‘ओभर ले’ गरिँदैछ । एक हजार २०० मिटरको धावनमार्गलाई निर्माण पछि हालसम्म ‘ओभर ले’ गरिएको छैन । यससँगै पार्किङ क्षेत्र साँघुरो भएकाले विस्तार गरिँदै छ । अहिले साना जहाज चारवटा अटे पनि एटिआर र जेट स्टिम एक साइडमा एउटा मात्रै अटाउन सक्छन् । पार्किङ निकै साँघुरो भएको महसुस विगतदेखि नै हुँदै आएको बताउँदै गौतमले दुवैतर्फ कम्तीमा पनि २०÷२० मिटर थप गर्न लागिएको छ । एउटा हेलिप्याड छुट्टै बनाउने र बाँकी चारवटा विमान सजिलैसँग अटाउने गरी पार्किङको व्यवस्थापन गर्न लागिएको हो । सबै काम यसै आर्थिक वर्षमा शुरु हुने उनले बताए । बुद्ध, यती र सिम्रिक एयरलाइन्सले भरतपुर–काठमाडौँ दैनिक १० जहाज उडाउँदै आएका छन् । भरतपुर विमानस्थल आसपासका क्षेत्रमा ठूला संरचना बनेसँगै उडान र अवतरण कठिन हुँदै आएको छ । विमानस्थलको धावनमार्ग विस्तार गर्न पहलसमेत शुरु गरिएको छ । धावनमार्ग विस्तारसँगै ठूला जहाज अवतरण गर्न र रात्रिकालीन सेवासमेत दिन सकिने जनाइएको छ ।
स्व. रवीन्द्र अधिकारीको सम्झनामा विमानस्थल परिसरमा सररफाइ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आज सररफाइ तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ । विमानस्थलले गत फागुन १५ गते भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको १३औँ पुण्यतिथिको अवसरमा सरसफाइ गरेको हो । मन्त्री अधिकारीसहित दिवङ्गत सातैजनाको सम्झनामा सरसफाइ, वृक्षरोपण तथा सचेतना कार्यक्रम गरिएको विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले विमानस्थल परिसरमा मन्त्री अधिकारीलगायतको सम्झनामा रुद्राक्षको बिरुवा रोपेका थिए । सोही अवसरमा विमानस्थल गेट बाहिरका बस्तीका घरमा पुगेर देशको मुहार विमानस्थल र पवित्र धार्मिकस्थल पशुपति क्षेत्रको सरसफाइ गरौँ भन्ने सन्देशसहित माइकिङ गरिएको महाप्रबन्धक क्षेत्रीले बताए । ताप्लेजुङको पाथिभरा पुगेर फर्कने क्रममा हेलिकोप्टर दुर्घटना परी मन्त्री अधिकारीसहित सातको मृत्यु भएको थियो ।
काठमाडौँबाट सबैभन्दा नजिक पर्ने जुगल हिमाल आरोहणको तयारी
चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाअन्तर्गत गुम्बा गाउँमा अवस्थित जुगल हिमालको पहिलो पटक आरोहण गरिने भएको छ ।काठमाडौँबाट सबैभन्दा नजिक पर्ने र अहिलेसम्म मानव पाइला नपरेको उक्त हिमशृङ्खलामा पर्ने छ हजार १५१ मिटर उचाइको ग्याल्जेन पिक टाकुराको सगरमाथा आरोही माया गुरुङ नेतृत्वको टोलीले आरोहण गर्ने भएको हो । आरोहणका लागि सबै प्रक्रिया पूरा भइसकेको र आगामी चैत १५ गते काठमाडौँबाट त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । आरोहण अवधि २१ दिनको हुने र आफूसहित अर्का सगरमाथा आरोही सरल सहयात्रीसहित छ जनाले टाकुराको आरोहण गर्ने गुरुङको भनाइ छ । अहिलेसम्म कसैले नचढेको हुँदा कति अप्ठेरो छ भन्ने बारेमा पनि अध्ययन अनुसन्धान गरिने गुरुङले बताए । पर्यटन विभागका अनुसार लाङटाङ र जुगल हिमशृङ्खलामा २६ टाकुरा रहेका छन् । जुगल हिमशृङ्खलामा मात्र ११ टाकुरा रहेको र सबैभन्दा अग्लो छ हजार ९७९ मिटर उचाइको ल्याङ्पो ग्याङ पिक (टाकुरा) पर्दछ । गुरुङ र सहयात्री दुवैजना जिल्लाबासी हुन् । गुरुङले २०६५ सालमा १० सदस्यीय समावेसी महिला टोलीबाट सगरमाथाको सफल आरोहण गरिसक्नुभएको छ । त्यसैगरी सातै महादेशको सबैभन्दा अग्ला हिमालको समेत उहाँले आरोहण गर्नुभएको छ । साविक गुम्बा र हाल जुगल गाउँपालिका–३ मा पर्ने उक्त हिमशृङ्खला आरोहण गर्न काठमाडौँदेखि गुम्बाको पाउलाडाँडासम्म यातायातको सुविधा छ । त्यहाँबाट ने–पेमासाल हुँदै प्रथम आधार शिविर पुग्न पाँच दिनको पैदल यात्रा गर्नुपर्ने वडा सदस्य हिमाल तामाङले जानकारी दिए । व्यावसायिक प्याराग्लाइडिङ शुभारम्भ जिल्लाको सागाचोकगढी नगरपालिका–९ कदमवासको लामाचौरमा प्याराग्लाइडिङको व्यावसायिक उडानको शुभारम्भ भएको छ । नेपाल सरकारको मान्यताप्राप्त नेपाल प्याराग्लाइडिङ तथा हयाण्डग्लाइडिङ सङ्घद्वारा आयोजित व्यावसायिक उडानको नगरप्रमुख अमानसिं तामाङबाट शनिवार शुभारम्भ भएको हो । उडानबाट प्याराग्लाइडिङका लागि उक्त स्थान उपयुक्त ठहरिएको थियो । नगरपालिकाका सबै वडाहरूमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखिएको र सोही परिप्रेक्षमा स्थानीय समिति र नगरपालिकाको साझेदारीमा प्याराग्लाइडिङको उडान शुरु गरिएको हो । शुभारम्भको दिन एकजनाले मात्र उडान गर्ने ‘सोलो’ र यात्रु बोक्ने ‘टेण्डम’ गरी दुइवटा उडान गरिएको थियो । लामाचौरबाट उडान गरी सुनकोशी गौरशङ्कर र जुगल हिमशृङ्खलाको दृश्यावलोकन पछि पुनः सोही वडाको सिनानचौरमा अवतरण गरिएको वडाध्यक्ष विष्णु लामाले बताए । स्थानीय तहको सिफारिसमा कम्पनी दर्ता गर्नुपर्ने र नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएपछि मात्र नियमित उडान गर्न सकिने प्रावधान रहेको छ । यसअघि काठमाडौँसँग सीमा जोडिएको मेलम्ची नगरपालिकाको भोटेचौरमा पनि प्याराग्लाइडिङको उडान हुँदै आएको छ । आफ्नो वडाभित्रका ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षणका साथै चालू आर्थिक वर्षमा पाचँवटा ग्रामीण सडकको स्तरोन्नति गरी कालो पत्र गरिने र दुइवटा सडकको स्तरोन्नति गर्ने नगरपालिकाको कार्यक्रम छ । त्यसका लागि बोलपत्रसमेत आह्वान गरिएको छ । ऐतिहासिक सागाचोकगढीको पुनःनिर्माण एवं संरक्षणका लागि सङ्घीय सरकारबाट २० लाख र प्रदेश ३ बाट एक करोड ५० लाख सहित एक करोड ७० लाख निकासा भएको छ । गढी निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भइसकेको छ । त्यसैगरी प्रसिद्ध गौराती भीमेश्वर मन्दिरको पर्खाल घेर्ने लगायतका पूवाधारका लागि २० लाख बजेट विनियोजन गरिएको नगरप्रमुख तामाङले जानकारी दिए ।