मनकामना मन्दिर पुनःनिर्माणमा १४ करोड खर्च, छाना, गजुर र झ्यालढोकामा १८ किलो सुन

गोरखा । भूकम्पले पूर्णरुपमा क्षति पुर्याएको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पुनःनिर्माणका लागि १४ करोडभन्दा बढी रकम खर्च भएको छ । मन्दिर पुनःनिर्माणका लागि नेपाल सरकार पुरातत्व विभागमार्फत् चार करोड र बाँकी रकम भक्तजनबाट सहयोग प्राप्त भएको मन्दिर जीर्णोद्धार समितिका कोषाध्यक्ष कृष्णबाबु श्रेष्ठले जानकारी दिए । “मन्दिर निर्माणका लागि कूल १४ करोड ६४ लाख खर्च भएको छ”, उनले भने, “सरकारले उपलब्ध गराएकोबाहेक सबै रकम भक्तजनबाट सहयोग सङ्कलन भएको हो ।” मन्दिर निर्माणका लागि सबैभन्दा धेरै खर्च सुनमा भएको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए । मन्दिरको छाना, गजुर, झ्यालढोका लगायतमा सुनको मलम्बा लगाउन १८ केजी सुन खर्च भएको छ । मन्दिर निर्माण गर्दा कर्मचारीतर्फ कूल ५५ लाख ६५ हजार र प्रशासनिकतर्फ ६२ लाख ४१ हजार खर्च भएको छ । त्यस्तै मन्दिर निर्माणको ज्याला, निर्माण सामग्री, सुनलगायत गरी १३ करोड ४६ लाख ८० हजार खर्च भएको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । मन्दिर जीर्णोद्धार समितिले चन्दा बाकस, बैंकमार्फत र विभिन्न रसिदमार्फत मन्दिर निर्माणका लागि सहयोग सङ्कलनको अभियान चलाएको थियो । अभियानबाट नगद तथा जिन्सी गरी १५ करोड २७ लाख २१ हजार ९२८ सङ्कलन भएको र बाँकी रकम एक करोड ४० लाख ४४ हजार ७०४ बैंक ब्याजबाट आम्दानी भएको थियो । मन्दिर जीर्णोद्धारपछि समितिको खातामा अहिले कूल रु पाँच करोड ८६ लाख मौज्जाद रहेको बताइएको छ । करीब ३०० वर्ष अघि निर्माण भएको मनकामना मन्दिर विसं १९९० को भूकम्पले दक्षिण पश्चिमतर्फ छ इञ्च ढल्किएपछि २०६८ सालमा मन्दिर जीर्णोद्धारका लागि छलफल चलेको थियो । विसं २०७२ को भूकम्पले मन्दिर पूर्णरुपमा क्षति पुर्याएपछि पुनःनिर्माण गरिएको हो । विसं २०७२ जेठ २५ गते शुभसाईत पारी मन्दिरको गजुर झिकेर साउन ६ गते जगपूजा गरी मन्दिर पुनःनिर्माणको काम अघि बढाइएको जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए । समितिले तत्कालीन अवस्थामा जीर्णोद्धारका लागि आठ करोड ४८ लाख लाग्ने प्रारम्भिक अनुमान तयार गरेको भए पनि निर्माणका क्रममा लागत बढेको हो । समितिले राष्ट्रिय पुरातत्व विभागले तोकेको मापदण्डअनुसार मन्दिर निर्माण गरेको संयोजक श्रेष्ठले जानकारी दिए । “यसअघि मन्दिरको छानामा तामाको जलप लगाइएको थियो, अहिले मन्दिरको गजुर, छाना, मूलढोकामा सुनको जलप लगाएर झकिझकाउ परिएको छ,” उनले भने । मन्दिरको छानामा सुनको जलप लगाउँदा नाइट्रिक एसिड प्रयोग गरेर लगाउने गरेको भए पनि आफूहरुले सुनको जलप लगाउँदासमेत पुरानै प्रविधिअनुसार चुक, नुन, अमिलो र इँटाको ढुटो प्रयोग गरेर लगाइएको उनले जानकारी दिए । विसं २०७४ चैत महिनाभित्रै मन्दिर पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि भूकम्पपछि नाकाबन्दी, मन्दिरलाई चाहिने आकारको काठको अभाव लगायतका कारण करीब आठ महीनापछि निर्माण सम्पन्न भएको हो । मनकामना मन्दिरमा नेपालसहित भारतलगायतका देशबाट समेत भक्तजन आउने गरेका छन् । मन्दिर दर्शन र पूजाआजाका लागि वार्षिक १२ लाखसम्म भक्तजन आउने गरेका छन् । रासस

प्रदेश नं ३ मा छुट्टै पर्यटन ब्राण्ड निर्माण हुने, उत्कृष्ठ ब्राण्डलाई १ लाख राशीको पुरस्कार !

हेटौँडा । प्रदेश नं ३ सरकारले पर्यटन विकास गर्न छुट्टै पर्यटन ब्राण्ड निर्माण गर्ने भएको छ । ब्राण्ड निर्माणका लागि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन विकास आयोजनाले एक लाख राशिको पुरस्कारसहित प्रतियोगिता आयोजना गरेको छ । पर्यटनसम्बन्धी केन्द्रीय ब्राण्ड वा नाराले प्रदेशलाई समेटे पनि आफ्नै छुट्टै विशिष्ट पहिचान भएकाले अलग्गै ब्राण्ड निर्माण गर्नु परेको आयोजनाका प्रमुख राजु क्षेत्रीले जानकारी दिए । आयोजनाले ब्राण्डको डिजाइन गरी प्रतियोगितामा सहभागी हुन इच्छुक सङ्घसंस्था तथा व्यक्तिका लागि आगामी चैत ६ गतेसम्म सम्पर्क गर्ने गरी समय सीमा तोकेर सूचना प्रकाशित गरेको छ । पर्यटकीय गन्तव्यमा १०० मध्ये सबैभन्दा धेरै स्थान प्रदेश नं ३ कै रहेकाले ती सम्पदाको प्रवद्र्धन गरी प्रदेशमा पर्यटक आकर्षित गर्न ब्राण्ड निर्माणको प्रतियोगिता सञ्चालन गरिन लागेको आयोजनाले जनाएको छ । प्रदेशका प्राकृतिक, धार्मिक, सांस्कृतिक, जैविक तथा ऐतिहासिक महत्व बोकेका सम्पदाको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पर्यटन प्रवद्र्धन गराउने लक्ष्य लिइएअनुरुप पर्यटन प्रवद्र्धन कार्यक्रम प्रभावकारी बनाउन आफ्नै पर्यटन ब्राण्ड र नाम निर्माण गर्नुपर्ने बताइएको छ । आयोजनाका प्रमुख क्षेत्रीका अनुसार प्रदेशका स्थापित तथा नयाँ एवं व्यवस्थित गर्नुपर्ने सम्पदाको समेत पहिचान गरेर प्रचारप्रसार गर्न ब्राण्डको भूमिका महत्वपूर्ण हुनेछ । उनका अनुसार प्रदेशको वास्तविक परिचय थाहा पाउन तथा आम समुदायलाई आफ्नो प्रदेशको पर्यटन विकासमा सहभागी गराउन प्रतियोगिता आवश्यक परेको हो । आयोजनाका अनुसार ब्राण्ड नामलाई पर्यटन प्रवद्र्धनको मुख्य ब्राण्डिङ टुलको रुपमा प्रयोग गरिने तथा मन्त्रालय एवं पर्यटन विकास आयोजनाको वेबसाइट, सामाजिक सञ्जाल तथा अन्य विशेष सामग्रीका रुपमा विशेष महत्वका साथ प्रकाशन एवं प्रसारण गरिने छ । मन्त्री अरुण नेपालको संयोजकत्वमा रहेको छनोट समितिले ब्राण्ड नाम र नाराको छनोट गर्ने छ । सामग्री प्राप्त भएको बढीमा एक महीनाभित्र उत्कृष्ट ब्राण्डको छनोट गरिने आयोजना प्रमुख क्षेत्रीले जानकारी दिए ।

४ अर्बमा केबलकार बन्दै, डिपिआर बनाउन शुरु

गाईघाट । उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको पवित्र धार्मिकस्थल रौता क्षेत्रलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्नका लागि जिल्लाको सदरमुकाम गाईघाट, बेलदोभान हुँदै रौतासम्म केबलकार सञ्चालनका लागि सर्वे कार्य सम्पन्न भएर अब विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) तयार कार्य शुरु भएको छ । त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको साझेदारीमा चार वर्षभित्र जिल्लाको सदरमुकाम गाइघाटदेखि पहाडी धार्मिकस्थल रौतासम्म १९ किलोमिटर लामोदूरीमा रहेको धार्मिकस्थल रौतापोखरीसम्म केबलकार सञ्चालनका लागि अब डिपिआर कार्य शुरु हुन लागेको त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले बताए । केबलकार सञ्चालनका लागि करीब चार अर्ब लगानीमा निर्माण हुने र तीन अर्ब बाह्य लगानीकर्ता र एक अर्ब त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको साझेदारीमा स्थानीय जनताले समेत लगानी गर्न पाउने गरी केबलकार सञ्चालनको बृहत् योजना शुरु भएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काले बताए । पुस महिनाबाट सर्वेकार्यसमेत शुरु गरेर प्राविधिकबाट तीनपटकभन्दा बढी सर्वे भई अब सर्वे कार्य सम्पन्न भएका कारण डिपिआर कार्य शुरु गर्न लागिएको त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाका जनप्रतिनिधिले बताएका छन् । जिल्लाकै सबैभन्दा महत्वपूर्ण ऐतिहासिक तथा धार्मिक स्थलका रुपमा रहेको रौतापोखरीमा केबलकार सञ्चालन भएपछि पर्यटन विकासमा बृहत्रुपमा टेवा पुग्ने सम्बन्धित क्षेत्रका जनप्रतिनिधिले बताएका छन् । रौता पोखरी क्षेत्रमा जिल्लाभित्र र बाहिरबाट दैनिक २०० भन्दाबढी पर्यटक तथा भक्तजन दर्शन गर्न र भ्रमण गर्न जाने गरेका छन् भने केबलकार सञ्चालन भएपछि दैनिक हजारौँको सङ्ख्यामा भक्तजन तथा पर्यटकको आगमन हुने र वार्षिक १० लाखभन्दा बढी भक्तजन तथा पर्यटक रौता क्षेत्रमा आगमन हुनसक्ने र पर्यटन विकासमा टेवा पुग्नेसमेत जनप्रतिनिधिको धारणा रहेको छ । उदयपुरको रौतापोखरी क्षेत्र समुद्र सतहबाट दुई हजार मिटरको उचाइमा रहेको छ भने यहाँबाट उत्तरतिरको मनोरम हिमशृङ्खला, सरमाथा, लोत्से, आमादोल्मा र पूर्वी उत्तरी क्षेत्रको अरुणबरुण हिमशृङ्खलासमेत देख्न सकिन्छ । दक्षिणतिर प्रदेश नं १ सहित प्रदेश नं २ को तराईका फाँट सप्तरी, सिरहा, जनकपुर, सप्तकोशी, इटहरी, दुहबी र विराटनगरसम्म अवलोकन गर्न सकिने रौतामाई गाउँपालिकी उपाध्यक्ष कुमारी ठकुरी बताउँछिन् । रासस