एड्भेन्चर स्पोर्ट्स एक्स्पोमा ७ वटा निजी पर्यटन व्यवसायीहरु सहित नेपालको प्रभावकारी सहभागिता

काठमाडौं । पाटा नेपाल च्याप्टर,नेपाल पर्यटन बोर्ड तथा नेपाल बायुसेवा निगमको संयोजनमा ७ वटा निजी पर्यटन व्यवसायीहरु सहित नेपालले जनवरी २७ देखि २९ सम्म भारतको नयाँ दिल्लीमा आयोजित एड्भेन्चर स्पोर्ट्स एक्स्पो एशियामा प्रभावकारी सहभागिता जनाएको छ । संसारभरी रहेका एड्भेन्चर तथा इको टुरिजम क्षेत्रमा संग्लग्न सबै सरोकारवालाहरुलार्इ एउटै छातामुनी भेलागरी दिगो साहसिक पर्यटनको अवधारणालार्इ प्रवर्धन गर्ने उद्देश्यका साथ आयोजित एक्स्पोमा नेपालबाट हिमालयन होलिडेज ट्रेक्किङ्ग, इन्सेन्टिभ होलिडेज, एड्भेन्चर आउटडोर ट्रेक्स एंड एक्स्पेडिसन्, हाइग्राउन्ड एड्भेन्चर नेपाल, हिमालयन कैलाश ट्राभल एंड टुर्स, एवेरेस्ट सम्मिट लजेज र नेपाल सेन्चुरी ट्रेक्स ७ वटा निजी पर्यटन कम्पनीहरुले सहभागिता जनाएका छन् । कार्यक्रममा पाटा नेपालका अध्यक्ष्य सुनिल शाक्यले नेपाल, “द अल्टिमेट एड्भेन्चर डेस्टिनेशनस” शिर्षकमा प्रस्तुति दिएका थिए । उनले नेपाली साहसिक खेल तथा साहसिक पर्यटनका आकर्षण तथा सम्भावनाहरुलार्इ चित्रण गर्दै एड्भेन्चर प्रेमीहरुका लागि नेपाल उत्कृष्ट गन्तब्य भएको बताउँदै सबैलाई नेपाल घुम्न आमन्त्रण गरेका छन् र दिगो एड्भेन्चर टुरिजम विकासका लागि क्षेत्रीय तथा अन्तर्रस्ट्रिय रुपमा सबै सरोकारवालाहरु मिलेर अगाडी बढ्नुपर्ने बताएका छन् । दिगो साहसिक पर्यटन बिकासमा योगदान पुर्याउने हस्तीहरुलार्इ सम्मान तथा अवार्ड प्रदान कार्यक्रममा दीपकराज जोशी (नेपाल पर्यटन बोर्ड), सुनिल साक्य (पाटा नेपाल च्याप्टर), बिभुति चन्द ठाकुर (हिमालयन होलिडेज) तथा मेघ आले (नेपाल रिभर कन्जरभेसन ट्रस्ट)लार्इ अवार्ड प्रदान गरिएको थियो ।  

२१ दिने अल्टिमेटम दिँदै पर्यटन मजदुरले नाट्टामा बुझाए चार सुत्रिय माग

काठमाडौं । पर्यटन मजदुरको छाता संस्था यूनिट्राभले विभिन्न चार सूत्रिय माग राख्नै नेपाल एसोसियसन अफ टूर्स एण्ड ट्राभल्स एजेन्ट ९नाट्टा० लाई मागपपत्र बुझाएको छ । यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीसहितको मजदुरहरुको समूहले नाट्टाका उपाध्यक्ष अच्यूत गुरागाईको प्रतिनिधिमण्डललाई उक्त मागपत्र बुझाएको हो । पारिश्रमिक वृद्धि, प्रचलित श्रम ऐन अनुसार मजदुरको बीमा गरिनुपर्ने, सामाजिक सुरक्षा ऐन अनुसार टुर गाइडका हकमा लागू हुने सम्पूर्ण कुरा लागू गरिनुपर्ने र इजाजतपत्र बिना पर्यटक गाइडको रुपमा यूनेस्को स्थल पठाएमा सम्बन्धीत कम्पनीलाई कारबाही गर्ने तथा नक्कली शैक्षिक प्रमाण पत्र छानबिन गर्नुपर्ने माग राखेर ज्ञापन बुझाएको यूनिट्राभका अध्यक्ष पराजुलीले जानकारी दिए । उनीहरुले २ जना पर्यटक लिएर हिंड्ने अंग्रेजी भाषा गाईडले ३५ सय रुपैंया अन्य भाषा गाईडले ४ हजार रुपैंया पारिश्रमिक पाउनुपर्ने मागपत्रमा उल्लेख छ । अहिले उनीहरुले १८ सय देखि २५ सय सम्म पाउँदै आएका छन् । बढेको महंगीअनुसार पारिश्रमिक बढाउनुपर्ने उनीहरुको माग छ । २१ जनाभन्दा बढीलाई लिएर हिंड्ने अंग्रेजी भाषा गाईडले ६४ सय र अन्य भाषा गाईडले ७५ सय पाउनुपर्ने उनीहरुको मागमा उल्लेख छ । उनीहरुले २१ दिनभित्र आफ्ना मागहरु सम्बोधन नगरिए त्यसपछि उत्पन्न हुने समस्याको जिम्मेवारी लिनसमेत नाट्टालाई चेतावनी दिएको छ ।

मोरङको बिराट चौकमा बन्दैछ थ्री स्टार होटल

काठमाडौं । मोरङको सुन्दर हरैचा नगरपालिकास्थित बिराट चौकमा थ्री स्टार होटल बन्ने भएको छ । पुर्वाञ्चल ल्युब आयल(पीएलओ) ग्रुपले थ्री स्टार होटल नेपाली रिका बनाउन लागेको हो । ‘आगामी २ बर्षभित्र सञ्चालन हुने गरि होटलको निर्माण आरम्भ गरिसकेका छौं, पुर्वपश्चिम राजमार्ग आसपासमा राम्रो होटल नभएकाले बिराट चौकलाई छानेका हौं’, पीएलओ ग्रुपका निर्देशक कृष्ण प्रसाद दुलालले भने । पुर्वाञ्चल क्षेत्रमा पर्यटकका लागि सुबिधा सम्पन्न होटलका रुपमा नेपाली रिकालाई स्थापित गराउने उदेश्यसहित निर्माण आरम्भ गरिएको पनि उनले बताए । होटल निर्माणका लागि जमिन बाहेक १० करोड लागत अनुमान गरिएको छ । पुर्वाञ्चल क्षेत्रमा सुबिधा सम्पन्न होटल नभएकाले स्वदेशी तथा विदेशी पर्यटकलाई ध्यानमा राखेर होटल निर्माण गरिएको दुलालले जानकारी दिए । बिराट चौकका होटलमा एक रात बास बसेर इलाम, धनकुटा लगायत पुर्वाञ्चलका पर्यटकिय गन्तव्यमा जान सकिने पनि उनले बताए । करिब २० कठ्ठा जमिनमा निर्माण हुने होटलमा ५० वटा कोठा रहनेछन् । होटलमा स्विमिङ पुल, सभा हल लगायतका संरचना समेत निर्माण हुनेछन् ।