होटल तथा रेष्टुरेन्ट क्षेत्रको ३० अर्ब लगानी सङ्कटमा, अध्यक्ष भन्छन्- घाटा परिपूर्ति गर्न निकै गाह्राे भयाे
चितवन । चितवन जिल्लास्थित होटल तथा रेष्टुरेन्ट क्षेत्रको ३० अर्ब रुपैयाँ भन्दा बढी लगानी सङ्कटमा परेको छ । पर्यटकीय र सर्वसाधारणलाई सेवा दिँदै आएका जिल्लाका साना ठूला होटल रेष्टुरेन्ट कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण बन्द छन् । देशकै तेस्रो पर्यटकीय क्षेत्र सौराहासहित जिल्लाका एक हजार २५० होटल रेष्टरेन्ट गएको चैतयता बन्द छन् । पर्यटन क्षेत्रको अध्ययन अनुसन्धान गर्दै आएका विश्व सुवेदीका अनुसार जिल्लामा पर्यटकीय होटलको सङ्ख्या २२५ वटा छन् । ती होटलमध्ये सबैभन्दा बढी रत्ननगरको सौराहामा ११० वटा छन् । सौराहाबाहेक रत्ननगर क्षेत्रमा पर्यटकीय होटल सङ्ख्या २९ वटा छन् । उहाँका अनुसार भरतपुर महानगरमा ६५ वटा, कालिकामा दुई वटा , खैरहनीमा तीन वटा, माडीमा तीन वटा, राप्ती नगरपालिकामा-३ वटा र ईच्छाकामना गाउँपालिकामा ११ वटा पर्यटकीय होटल रहेका छन् । ती होटलमा पर्यटकीय मौसममा दैनिक एक करोड ५० लाख रुपैयाँ बढी कारोबार हुने उनको भनाइ छ । अन्यमा त्यतिनै व्यापार हुने सुवेदीले बताए । यसका अतिरिक्त पर्यटकीय गतिविधि जीप सफारी, डुङ्गा सफारी, हात्ती सफारी, बसलगायतमा ३० लाख रुपैयाँ हाराहारी दैनिक कारोबार हुने व्यवसायी बताउँछन् । सुवेदीले जिल्लामा होटल रेष्टुरेन्टमा १६ हजार मजदूर कार्यरत रहेको अध्ययनले देखाएको जानकारी दिए । ती होटल रेष्टुरेन्टमा ३० अर्ब रुपैयाँभन्दा बढी लगानी छ । जसमध्ये ४० प्रतिशत भन्दा बढी बैंकिङ् ऋण रहेको सवेदीले बताए । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले यहाँ चैतदेखि असार १५ सम्म पर्यटकीय मौसम मानिन्छ । त्यसपछि भदौ १५ सम्मलाई पर्यटकीय मौसम मानिदैन । त्यतिबेला पनि आधा व्यापार हुने भट्टराईको भनाइ छ । भदौ १५ पछिको यो समय पर्यटकीय मौसम हो । उनले भने “यो मौसम पनि त्यत्तिकै जाने भो ।” गत वर्षमा यतिबेला सौराहामा पर्यटक राम्रो चहलपहल हुने गर्दथ्यो । अहिले होटल चौकिदारले कुरेर मात्रै बसेका छन् । भट्टराईले गुनासो गरे, “दशैंको समयमा स्वदेशी पर्यटक आउँछन् भन्ने आश थियो । त्यो पनि हरायो ।” क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले बिचमा केही समय होटल खोल्दा झनै नोक्सान भएको बताए । वातावरण पूर्ण सहज नभएसम्म होटल खोल्न नहुने भन्दै उनले अहिलेको घाटा परिपूर्ति गर्न निकै कठिन भएको गुनासो गरे । उनले भने, “बैंकहरुले ऋण थप गरिदिए भने होटलको तिर्नुपर्ने चालु खर्च तिरेर स्तरोन्नति गर्ने तयारीमा छु ।” सबै होटल सञ्चालकको अवस्था घिमिरेको जस्तै रहेको छ । व्यवसायीको व्यवसाय मात्रै होइन, मजदूरको आवस्था पनि दयनीय बन्दै गएको छ । सबै बेरोजगार भएका छन् । उनीहरु दैनिकी कष्टकर बन्दै गएको छ । ट्रेड युनियन काँग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटाले मजदूरको अवस्था निकै दयनीय भएको बताए । होटल रेष्टुरेन्टमा काम गर्ने मजदूरले तलब पाउन नसक्दा दैनिकी चलाउन नै मुस्किल परेको सापकोटाको भनाइ छ । जिल्लामा आन्तरिक र बाह्य पर्यटक कति आउँछन् वास्तविक तथ्याङ्क छैन । चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने वार्षिक दुई लाख हाराहारी छन् । निकुञ्ज नघुम्ने तर जिल्लामा आउने कूल सङ्ख्या पाँच लाखमाथि हुने गरेको व्यवसायी बताउँछन् । रासस
वायुसेवा कम्पनीसँग कम्तिमा ३ विमान हुनुपर्ने, घरेलु कम्पनीकाे विदेशी लगानी ४९ प्रतिशतसम्म छुट हुँदै
काठमाडौं । एउटा मात्रै विमान किनेर वायुसेवा कम्पनी सञ्चालन गर्न नपाउने गरी सरकारले बनाउन लागेकाे छ । वायुसेवा कम्पनी सञ्चालनका लागि कम्तिमा तीन वटा विमान नियमित सञ्चालनमा रहेको हुनुपर्ने छ । यस्ता कम्पनीमा घरेलु भए ४९ प्रतिशत र अन्तर्राष्ट्रिय भए ८० प्रतिशतसम्म विदेशी लगानी खुला गर्न लागिएकाे छ । अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि ८० प्रतिशतसम्म विदेशी लगानी भित्र्याउन सक्ने व्यवस्था गर्न लागेकाे छ । यसैगरी, आन्तरिक वायुसेवाका लागि ४९ प्रतिशतसम्म विदेशी लगानी भित्र्याउन सकिने छ । फ्लाइङ स्कुलका लागि ९० प्रतिशतसम्म, मर्मत सम्भार संस्थाले ९६ प्रतिशतसम्म र यात्रु सेवा सुविधा प्रदायक व्यवसायमा ७५ प्रतिशतसम्म विदेशी लगानी भित्र्याउन सक्ने गरी हवाई नीजिको मस्यौदा तयार भएको पूर्व सचिव एवं हवाई नीति मस्यौदा समितिका संयोजक यज्ञप्रसाद गौतमले बताए । सञ्चालकहरुले ५ वर्षभन्दा कम उमेरका वायुवान आयात गरेमा भन्सार महशुल तथा लिज करमा सहुलियत दिने र त्यस्ता वायुयानको निरन्तर संञ्चालनका क्रममा पहिलो तीन वर्षसम्म आयकरमा सहुलियत दिने व्यवस्था पनि गरिएको उनले बताए । फ्लाइङ स्कुल सञ्चालनमा आएको अवधिदेखि पहिलो पाँच वर्षसम्म आयकरमा छुट दिने र इञ्जिन ओभरहल समेत गर्ने गरी स्थापना भएको वायुवान मर्मर संभार संस्थाको लागि १० वर्षसम्म आवश्यक जग्गा निशुल्क उपलब्ध गराउने र सञ्चालनमा आएको मितिले ५ वर्षसम्म आयकरमा शतप्रतिशत छुट दिने पछिल्लो ५ वर्षमा ५० प्रतिशत छुट दिने व्यव्स्था पनि गरिएको छ । यस्तै रोजगारमूलक नागरिक उड्डयनका क्षेत्रमा काम गर्न २ अर्ब रुपैयाँको लगानी गर्ने व्यक्ति वा संस्थालाई पाँच वर्षसम्म आयकरमा पूर्ण छुट दिनसक्ने व्यवस्था पनि मिलाइएको छ ।
निगमको भाडादरमा विदेशी एयरलाइन्सको उडान गराउन निर्देशन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले तय गरेको भाडादर अनुसार उडान गराउन निर्देशन दिएको छ । मन्त्रालयले अन्य विदेशी एयरलाइन्सलाई निगमका उडान गन्तब्यमा निर्धारण गरिएको भाडादर अनुरुप उडान गराउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिन आग्रह गरेको हो । बजेट एयरलाइन्सको हकमा अन्तर्राष्ट्रिय उडानको भाडादर सम्बन्धमा हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सको उडान भएका गन्तब्यमा तत् वायुसेवाहरुले तय गरेको भाडादर अनुसार उडान गराउन विदेशी एयरलाइन्सलाई प्राधिकरणले निर्देशन दिने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चार्टर उडानको भाडादरको हकमा साविकमा पर्यटन मन्त्रालयले स्वीकृत गरेको भाडादर भन्दा बढी नहुने सुनिश्चित गरी उडान सञ्चालन गर्न अनुमति दिन पनि प्राधिकरणलाई भनिएको छ । हवाई भाडादर असुलउपर सम्बन्धमा कालोबजारी, अपारदर्शिता र अन्य गैरकानूनी मुनाफा कायम गरी भाडा असुल नगर्न नगराउन सम्बन्धित वायुसेवा कम्पनीहरुलाई निर्देशन दिइएको छ । यी निर्णयहरुको कार्यान्वयन, सहजिकरण र अनुगमन गरी दिनका लागि विदेश स्थित नेपाली कुटनीतिक नियोगहरु र सम्बन्धित गैर आवासीय नेपाली संघलाई अनुरोध गरिने मन्त्रालयले जनाएको छ । अगष्ट २६ मा भएको एयर अरेबियाको उडानबाट पिसीआर परीक्षण गराइए आएका १४२ जनाको होटल क्वारेन्टिन वापतको रकम सम्बन्धित यात्रुलाई फिर्ता दिन र अब उप्रान्त यस्तो कार्य नगर्न नगराउन सचेतना गराउने निर्णय भएको छ । रासस