हवाई सेवा कम्पनीहरुले शतप्रतिशत यात्रु राखेर सेवा दिन सक्ने
अब हवाई सेवा कम्पनीहरुले सिछ क्षमता अनुसार यात्रुहरु राखेर सेवा दिन सक्ने भएका छन् । शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेकाे बैठकले सीटको क्षमता अनुसार नै यात्रु राखेर सेवा दिन पाइने निर्णय गरेको हो । यस अघि सरकारले वायु पसेवा कम्पनीहरुलाई ५० प्रतिशत यात्रु राखेर मात्रै सेवा दिन भनेको थियो । तर, आज बसेको बैठकले शतप्रतिशत यात्रु राखेर नै सेवा दिन सक्ने निर्णय गरेको हो । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राखेर असोज ५ गतेबाट उडान गर्न अनुमति दिने निर्णय गरेको थयो। तर निजी हवाई सेवा प्रदायक कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघले ५० प्रतिशत मात्रै यात्रुत्रु राखेर उडान गर्न नसक्ने बताउँदै आएका थिए ।
दामनमा बन्यो नेपालकै अग्लो फलामे भर्याङ
काठमाडाैं । पर्यटकीय आकर्षणको केन्द्र मानिने मकवानपुरस्थित थाहा नगरपालिकाको दामनमा १५७ खुड्किलाको ७० मिटर लामो फलामे भर्याङ निर्माण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५० लाख रूपैयाँ आर्थिक सहयोग र थाहा नगरपालिकाको सहजीकरणमा फलामे भर्याङसहित पार्क निर्माण गरिएको हो । थाहा नगरपालिका-४ का वडाध्यक्ष दिपकसिंह लामाले प्राकृतिक टाकुरासम्म पुग्न निर्मित भर्याङ नेपालकै अग्लो फलामे भर्याङ भएको दाबी गरे । भर्यारङबाट माथि समुद्री सतहबाट करिब दुई हजार ४०० मिटरको उचाइमा रहेको अग्लो स्थानलाई प्राकृतिक टावरको रुप दिइएको छ । अग्लो टाकुरालाई वरपरबाट ढुङ्गा र सिमेन्टको गारोले घेरेर प्राकृतिक टावरको रुप दिइएको निर्माण समितिका अध्यक्ष कान्छा लामाले बताए । दामनमा ७० मिटर लामो भर्याङसहित प्राकृतिक टावर बनेपछि थाहा नगरपालिकामा अब अर्को दृश्यावलोकन स्तम्भ थपिएको र यो स्तम्भ नेपालकै पर्यटकीय केन्द्र बन्न सक्ने थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको भनाइ छ । हाल निर्माण भएको दृश्यावलोकन केन्द्रबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित नेपालका आधा दर्जन उच्च हिमश्रृङ्खला दृश्यावलोकन गर्न सकिन्छ । रासस
चन्द्रागिरि केबलकार बिहीबारदेखि चल्ने
काठमाडौं । विगत ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार असोज १ गतेदेखि सञ्चालनमा आउने भएको छ । लामो समयदेखिको बन्दाबन्दी र निषेधाज्ञाका कारण गत चैत ९ गतेदेखि बन्द रहेको केबलकारलाई स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याउन लागिएको हो । चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक अभिषेकविक्रम शाहले विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी सबै मापदण्डअनुरूप कम्पनीले केबलकार र रिसोर्ट सञ्चालनको तयारी गरेको जानकारी दिए । “यात्रुलाई सामाजिक दूरी कायम गराउन प्रवेशद्वारदेखि हरेक ठाउँमा गोलो घेरा लगाउने, मास्क, स्यानिटाइजर र पञ्जाको अनिवार्य व्यवस्था गरी प्रत्येक केबलकारमा आधा मात्र यात्रु राखेर सेवा प्रदान गर्न लागेका छौँ”, उनले भने ।