निगमको नौ गन्तव्यमा आन्तरिक उडान शुरु
काठमाडाैं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानमा नौ गन्तव्यमा आफ्नो नियमित सेवा प्रारम्भ गरेको जनाएको छ । उडानका लागि सरकारले निर्धारण गरेको स्वास्थ्यसम्बन्धी मापदण्डलाई आधार मानेर आन्तरिक उडान प्रारम्भ गरिएको कम्पनीले जनाएको छ । निगमले नियमित उडानसेवा थालेका गन्तव्यमा भोजपुर, दाङ, ताप्लेजुङ, खानीडाँडा, रुकुम, नेपालगञ्ज, बाजुरा, थामखर्क र फाप्लु रहेका छन् । त्यसमध्ये काठमाडौँबाट सोझै उडानका साथै रुकुम–नेपालगञ्ज, नेपालगञ्ज– जुम्ला, जुम्ला–नेपालगञ्ज, नेपालगञ्ज–रुकुम, नेपालगञ्ज–बाजुरा र बाजुरा–नेपालगञ्जका लागि पनि उडान निर्धारण गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ । निगमले यात्रुको चाप र मागलाई ध्यानमा राख्दै कुनै गन्तव्यमा हप्ताको तीन दिन, कतिपय गन्तव्यमा हप्ताको दुई दिन र केही स्थानमा दुई दिन उडान तालिका निर्धारण गरिएको उल्लेख गरेको छ । रासस
सौराहामा चल्न थाले पर्यटक बस
चितवन । चितवनको सौराहामा पर्यटक बसले सेवा थालेका छन् । सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै काठमाडौँ र पोखराका लागि सौराहाबाट दैनिक पर्यटक बस सेवा शुरु गरिएको हो । सोमबारदेखि बाबा ट्राभलले सौराहादेखि काठमाडौं र काठमाडौंदेखि सौराहाका लागि दैनिक बस सञ्चालन गरेको छ । झण्डै नौ महिनासम्म थन्किएका बस खासै यात्रु नभए पनि सरकारको निर्णयअनुसार सञ्चालन गरिएको ट्राभलका सञ्चालक गणेश दाहालले बताए । “बसको स्यानिटाइजेसन, यात्रुको सामाजिक दूरी, ज्वरो मापनसहितको उच्च स्वास्थ्य सुरक्षासहित सेवा थालिएको छ”, उनले भने । बाबा ट्राभल्सका दुई बस एउटा काठमाडौं जाने र एउटा काठमाडाैंबाट सौराहा आउने गरेका छन् । “सौराहा आउने पर्यटक छैनन्”, दाहालले भन्नुभयो“ परिस्थिति सामान्य हुने आशमा बस चलाएका हौं ।” मङ्गलबार चितवनबाट १० यात्रु लिएर काठमाडौँ गएको बसले आज आठ यात्रु मात्र ल्याएर आएको उनले बताए । सौराहाबाट चितवन सफारीले पनि काठमाडौंका लागि पर्यटक बस चलाउन शुरु गरेको छ । यस्तै संजोग ट्राभलले पोखराका लागि सौराहाबाट बस सञ्चालन गरेको क्षेत्रीय होटल सङ्घ सौराहाले जानकारी दिएको छ । सौराहामा पर्यटक बस चल्न थालेपछि केही आशा पलाएको सङ्घका अध्यक्ष दीपक भट्टराइले बताए । उनले आन्तरिक पर्यटक फाट्टफुट्ट आउन थालेकाले क्रमिक सुधार हुने अपेक्षामा व्यवसायी रहेको बताए । चितवनमा आन्तरिक पर्यटक बढ्दो अवस्था रहेको र अन्य जिल्लाबाट पनि आउन थालेका भट्टराइले जानकारी दिए । पर्यटक आउने वातावरण बनाउन सौराहाका व्यवसायीले आन्तरिक छुटसमेत दिइरहेको उनले बताए । सामान्य अवस्थामा चितवनको सौराहाबाट काठमाडौँका लागि दैनिक आठ र पोखराका लागि चारसम्म पर्यटक बस सञ्चालन हुँदै आएका छन् । रासस
एयरलाइन्सबीच भ्रमण प्याकेजको प्रतिस्पर्धा, यस्ता छन् अफरहरु
काठमाडाैं । मुलुकको आन्तरिक उडान सञ्चालन भएसँगै वायुसेवा प्रदायक कम्पनीबीच सस्तो भ्रमण प्याकेज घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ । बन्दाबन्दीको छ महिनापछि यही असोज ५ गतेदेखि शुरु भएको आन्तरिक उडानमा यात्रुलाई आकर्षण गर्न वायुसेवा कम्पनीले विभिन्न प्याकेज तथा आकर्षक अफर सार्वजनिक गरिरहेका छन् । खासगरी ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सबीच पर्यटकीय गन्तव्यमा भ्रमणका लागि सस्तो प्याकेज बनाउने होडबाजी नै चलेको छ । यसले गन्तव्य भ्रमणमा निस्कने पारखीलाई त राहत मिलेको छ नै सिङ्गो पर्यटन क्षेत्रलाई पनि गतिशील तुल्याउन मद्दत पुग्ने व्यवसायीको अपेक्षा छ । हुन त, वायुसेवा कम्पनीको पनि कोभिड–१९ का कारण लामो समय प्रभावित बनेको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन अनेकन चुनौती छन् । आर्थिक नोक्सानी बेहोरेका एयरलाइन्सले जोखिम मोलेर भए पनि यात्रुलाई तान्न सस्ता प्याकेज बनाएर बेच्न थालेका छन् । होटल, ट्राभल, ट्रेकिङलगायत पर्यटकीय संस्था सँगको साझेदारितामा एयरलाइन्सले विभिन्न पर्यटकीय गन्तव्यको भ्रमणका लागि सस्तो प्याकेज धमाधम सार्वजनिक गरेका हुन् । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले एक महिनाअघि नै आकर्षक पर्यटकीय प्याकेज सार्वजनिक गरेर बजारीकरण गरेको थियो । अर्को ठूलो एयरलाइन्स यतीले पनि आफ्नो २२औँ वार्षिकोत्सवको अवसर पारेर आन्तरिक उडान शुरु भएकै दिन सोमबार पत्रकार सम्मेलन गरी सस्तो भ्रमण प्याकेज घोषणा गरेको हो । कोभिड महामारी नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दी र पछिल्लो पटकको निषेधाज्ञाका कारण ६ महिना शून्य स्थिति जस्तै भएको मुलुकको पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्कने आशाका पर्यटकीय गतिविधि बढिरहेको सन्दर्भमा एयरलाइन्सले पनि छुट र अफरका प्याकेज ल्याएका हुन् । भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान र असोज ५ देखि सञ्चालनमा आएको आन्तरिक उडानले पर्यटन क्षेत्रलाई चलायमान बनाएको छ । अहिले हवाई उडानसँगै होटल, ट्राभल, ट्रेकिङलगायत पर्यटकीय क्षेत्र खुलिसकेका छन् । कुन एयरलाइन्सका कस्ता अफर बुद्ध एयरले आन्तरिक पर्यटनलाई चलायमान बनाउन सस्तो आकर्षक होलिडे प्याकेज सार्वजनिक गरेको छ । बुद्ध होलिडेजले नाफारहित आकर्षक पोखरा र रमाइलो चितवन प्याकेज ल्याएकोे हो । बुद्ध एयर, पोखरा तथा चितवनका होटलको सहकार्यमा प्याकेज ल्याएको कम्पनीले जनाएको छ । बुद्ध होलिडेज बुद्ध एयरको भगिनी संस्था हो । दुई दिन तीन रातको प्याकेजमा पोखरा रु पाँच हजार ९९९ र चितवनका लागि रु सात हजार ९९९ तोकिएको छ । यसमा दुईतर्फी हवाई टिकट, तारे होटेलको बसाइ, बिहानको खाजा, पोखरा विमानस्थलबाट होटेल र फर्किंदा विमानस्थलको गाडी सुविधा समावेश गरिएको छ । यसैगरी चितवनको पनि दुईतर्फी हवाई टिकट, तीनतारे होटेलको बसाइ, बिहानको खाजा, चितवन विमानस्थलबाट सौरहा होटेल र फर्किंदा विमानस्थलको गाडी सुविधा समावेश गरिएको कम्पनीले उल्लेख गरेको छ । यो योजना सीमित अवधिभरका लागि हो । निजी क्षेत्रकै प्रतिस्पर्धी यती एयरलाइन्सले पनि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि देशका महत्वपूर्ण पर्यटकीय गन्तव्यमा सस्तो मूल्यमा प्याकेज सार्वजनिक गरेको छ । सरकारले घोषणा गरेको देश दर्शन कार्यक्रमलाई समेत दृष्टिगत गरी कम्पनीले भ्रमणको सस्तो प्याकेज बनाएको हो । कोभिड–१९ महामारीका कारण थलिएको पर्यटनलाई जीवन्त तुल्याउन कम्पनीले देशका विभिन्न गन्तव्यमा आकर्षक प्याकेज ल्याएको जनाएको छ । यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकत (सिइओ) अनोज रिमालले नयाँ परिस्थितिमा आन्तरिक पर्यटनलाई चलायमान बनाउन कम्पनीले आकर्षक प्याकेज ल्याएको बताउनुभयो । उहाँका अनुसार यस्तो प्याकेज अक्टोबर २०२० बाट लागू हुने गरी बिक्री थालिएको छ । अहिले यतिले पोखरा, एभरेष्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, चितवन र रारालाई लक्षित गरी प्याकेज बनाएको छ । कम्पनीले नेपालगन्ज, भरतपुर, जनकपुर, भैरहवा, भद्रपुर र तुम्लिङटारका लागिसमेत दुईतर्फी टिकट सहितका प्याकेज बनाएको छ । यी गन्तव्यमा होटेलको स्तरअनुसार मूल्य राखिएको छ । यी हुन् यतीका पर्यटकीय प्याकेज एभरेष्ट ट्रेलः रु १३ हजार ९९९ प्रतिव्यक्ति (चार रात, पाँच दिन, न्यूनतम १० यात्रु आवश्यक), राराः रु २४ हजार ९९९ प्रतिव्यक्ति (दुई रात, तीन दिन, न्यूनतम पाँच यात्रु आवश्यक), पोखराः रु पाँच हजार ९९९ सात ९९९ प्रतिव्यक्ति (दुई रात, तीन दिन), चितवनः रु १२ हजार ९९९ र रु १६ हजार ९९९ प्रतिव्यक्ति (दुई रात, तीन दिन), मुक्तिनाथ दर्शनः रु १२ हजार ९९९ प्रतिव्यक्ति (तीन रात, चार दिन, न्यूनतम छ यात्रु आवश्यक), मुक्तिनाथ दर्शनः रु १६ हजार ९९९ प्रतिव्यक्ति (चार रात, पाँच दिन, न्यूनतम सात यात्रु आवश्यक), अन्नपूर्ण फुटहिल्स ट्रेल घान्द्रुकः रु ११ हजार ९९९ प्रतिव्यक्ति (पाँच रात, छ दिन, न्यूनतम छ यात्रु आवश्यक) र अन्नपूर्ण लक्जरी घान्द्रुक ट्रेलः रु १९ हजार ९९९ प्रतिव्यक्ति (चार रात, पाँच दिन, न्यूनतम आठ यात्रु आवश्यक) रहेको छ । एयरलाइन्सका पर्यटकीय प्याकेजले आन्तरिक पर्यटनलाई गतिशील बनाउनाका साथै आर्थिक गतिविधि पनि बढ्नेमा व्यवसायी ढुक्क छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि एयरलाइन्सले ल्याएको सस्तो प्याकेजले पर्यटन क्षेत्रलाई चलायमान बनाउने बताए । उनले अहिलेको परिस्थितिमा सरोकारवाला संस्थाबीच साझेदारिताका साथ प्रभावकारी प्रवद्र्धनात्मक कार्यक्रम ल्याइनुपर्नेमा जोड दिए । नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईंले आन्तरिक उडान खुलेसँगै पर्यटन बजारमा नयाँ उत्साह जगाएको भन्दै शुरुमा आन्तरिक र क्रमशः क्षेत्रीय गन्तव्यमा पर्यटन प्रवद्र्धनका गतिविधि बढाइनुपर्ने खाँचो औँल्याए । रासस