पर्यटनमन्त्री भट्टराईद्वारा सुदूरपश्चिमका तीन विमानस्थल उद्घाटन
डाेटी । संस्कृत, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आज सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गरेका छन् । कालोपत्रसहित अन्य भौतिक संरचना निर्माण सम्पन्न भएका यहाँका बैतडीको पाटन, बझाङको चैनपुर तथा डोटीको दिपायल विमानस्थलको मन्त्री भट्टराईले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । दिपायल विमानस्थलको उद्घाटनका क्रममा मन्त्री भट्टराईले सुदूरपश्चिमका पर्यटकीयस्थल खप्तड, मानसरोवरलगायतका क्षेत्रमा पर्यटक भित्र्याउनका लागि भए पनि यहाँका तीन जिल्लामा रहेका विमानस्थलमा नियमितरूपमा जहाज सञ्चालन गरिने बताए । उनले भने, “यहाँका पर्यटकीय क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउनका लागि भए पनि हामी नियमितरूपमा जहाज चलाउने छौँ, स्थानीय नागरिकको पनि सहयोग आवश्यक पर्ने छ ।” मन्त्री भट्टराईले यहाँका पहाडी जिल्लामा नियमितरूपमा विमानस्थल सञ्चालनका लागि समिट एयरसहितका केही निजी विमान कम्पनीसँग सम्झौताको तयारी भइरहेको समेत जानकारी दिए । यहाँका विमानस्थलको टर्मिनल भवन तथा एटिसी भवन नयाँ निर्माणका लागि पनि आवश्यक पहल भइरहेको उनले बताए । यात्रु अभावको कारण देखाई लामो समयदेखि बन्द अवस्थामा रहेका यहाँका विमानस्थलको थप स्तरोन्नतिसमेत गरिने मन्त्री भट्टराईले प्रतिबद्धता जनाए । त्यसैगरी ४९० मिटर लम्बाइको रनवे रहेको डोटीको दिपायल विमानस्थलको रनवेलाई एक हजार मिटर बनाउनका लागि अध्ययन गर्न मन्त्रालयले नागरिक उड्डयन प्राधिकरण विभागबाट तत्कालै प्राविधिक टोली पठाइने मन्त्री भट्टराईले बताए । उनले थप भने, “दिपायल विमानस्थल कूल एक हजार मिटर रनवेसहितको निर्माण गरिने छ, यसका लागि हामी छिट्टै प्राविधिक टोली पठाउँछौँ, केही प्राविधिकहरु आइसक्नुभएको छ ।” सोही कार्यक्रममा डोटीबाट निर्वाचित सङ्घीय सांसद प्रेमबहादुर आलेमगरले दिपायल विमानस्थलको स्तरोन्नतिपछि यहाँका नागरिकको सहजता तथा पर्यटक भित्र्याएर आयस्तर वृद्धि गर्नका लागि भए पनि नियमितरूपमा जहाज सञ्चालन हुनुपर्ने बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक राजन पोखरेलले दिपायललगायतका यहाँका अन्य विमानस्थलमा नियमित जहाज सञ्चालनका लागि पहल भएको र अर्को हप्तादेखि यहाँ जहाज चल्न शुरु हुने बताए । उनले भने, “दिपायल, पाटन, चैनपुरमा नियमित विमान सञ्चालनका लागि सबै प्रक्रिया पूरा भएको छ, अर्को हप्तादेखि जहाज नियमित हुनेछ ।” कालोपत्रको काम सकेर जहाजको पर्खाइमा रहेका यहाँका विमानस्थलमा नियमित जहाज सञ्चालन हुनसके यहाँको विकास हुनुका साथै पर्यटकको चहलपहल पनि बढ्नेमा यहाँका स्थानीयवासी निकै आशावादी भएको दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले बताइन् । उनले भनिन्, “राजधानी खोसिएर कैलाली सरेपछि यहाँका नागरिकमा निराशा छाएको छ, व्यापार–व्यवसायमा पनि मन्दी छाएको छ, अब जहाज चलाउन सके यहाँको विकास अवश्य हुनेछ ।” उक्त विमानस्थल उद्घाटन कार्यक्रममा सुदूरपश्चिमका पर्यटनमन्त्री माया भट्टलगायतको सहभागिता थियो । रासस
थाइ र एयर इण्डियालाई दिएको ग्राउण्ड ह्याण्डलिङको अनुमति फिर्ता लिने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयर र एयर इण्डियालाई दिएको ग्राउण्ड ह्याण्डलिङको अनुमति फिर्ता लिने भएको छ । सरकारले हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिएको विषयमा आलोचना भइरहेका बेला प्राधिरकाले थाइ र एयर इण्डियालाई दिएको अनुमति पनि फिर्ता लिने तयारी भएको बताएको हो । बिहीबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको छलफलमा प्राधिरकणका महानिर्देशक राजन पोखरेलले आफ्नो ग्राउण्ड ह्याण्डलिङ आफै गर्ने गरेका थाइ एयर र एयर इण्डियाको अनुमति फिर्ता लिने बताए । अहिले कोरोनाका कारण ती विमान कम्पनीका अधिकारीहरुसँग वार्ता गर्न सम्भव नभएकाले छिट्टै वार्ता गरि अनुमति फिर्ता दिइने उनले बताए । ‘‘अब थाइ एयर र एयर इण्डियाले ग्राउण्ड ह्याण्डलिङको मौका दिने पक्षमा हामी छैनौं। अहिले कोभिडको बेला छ उहाँहरु उहाँ हुनुहुन्न आएपछि छलफल गरेर तपाईहरुले सेल्फ ग्राउण्डिङ गर्न पाउनुहुन्न । तपाईको क्राइट एरिया मिट गर्दैन भन्छौं । अब हाम्रो ग्राउण्ड ह्याण्डिलिङ सेवा दिने प्रदायक नेपाल सेवा निगम मात्रै हो यो कुरामा भ्रममा नपर्नुहोस् ।’’, पोखरेलले भने । उनले काठमाडौं बेस भएर नयाँ वायुसेवा कम्पनीलाई सञ्चालनको अनुमति नदिने पनि उनले बताए । हिमालय एयरलाइन्सलई नियमाअनुसार सेल्फ ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिइएकाले राष्ट्रिय मुद्दा बनाउन नहुने बताए ।
सुर्खेत विमानस्थल विस्तार र स्तरोन्नति गर्न भयाे सम्झाैता
काठमाडौं । सुर्खेत विमानस्थलको विकास, विस्तार र स्तरोन्नतीका लागि कर्णाली प्रदेश सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भएको छ । नेपाल सरकार र कर्णाली प्रदेश सरकारबीच लागत साझेदारी अवधारणा अन्तर्गत सुर्खेत विमानस्थल विस्तार र स्तरोन्नतिका लागि जग्गा अधिग्रहण, रनवे विस्तार, टर्मिनल भवन निर्माण र अन्य आवश्यक विकास निर्माण कार्य गराउन कर्णाली प्रदेश सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भएको छ । बिहीबार मन्त्रालयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल र कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा मन्त्री भट्टराईले संविधान अनुसार विमानस्थल निर्माण संघीय सरकारको कार्यक्षेत्र भित्र परेपनि यसको महत्वपूर्ण उपभोक्ताको हिसाबले प्रदेश र स्थानीय तह रहने भएकाले लागत साझेदारीको अवधारणा अनुसार सम्झौता गरिएको बताए । उनले दुर्गम क्षेत्रका विमानस्थल नियमित सञ्चालन गर्नका लागि पनि संघीय सरकारले विभिन्न नीतिहरु लिएको बताए । अवदेखि कुनैपनि नेपाली एयरलाइन्सले आन्तरिक उडानको इजाजत लिदा दुर्गममा पनि अनिवार्य उडान गर्ने प्रत्याभुति दिनुपर्ने व्यवस्था गरिएको मन्त्री भट्टराईले बताए । कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले अवको केहीदिन भित्रैमा विस्तृत अध्ययन गरी सुर्खेत विमानस्थल विस्तारको कुल लागत निकाल्ने बताए । त्यस लगत्तै निर्माणका लागि वहुवर्षिय टेन्डर गर्नेगरी अगाडि बढ्नुपर्ने पनि उनले बताए । जग्गा अधिग्रहणको काम पनि केही साता भित्रैमा सुरु गर्नुपर्ने उनले बताए । त्यसका लागि अहिले नै पुरै बजेट नभएपनि काम सुरुगर्न सकिने उनको भनाई छ । सम्झौतामा सुर्खेत विमानस्थलको धावनमार्गको लम्बाई १५ सय मिटर सम्म विस्तार तथा स्तरोन्नती गरी प्रदेशस्तरीय हव विमानस्थलको विकास गर्न दुवै पक्ष मन्जुर रहेको उल्लेख छ । यस्तै विमानस्थलको विस्तारका लागि जग्गा अधिग्रहण र मुआब्जा वितरणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पेश गर्ने, जग्गाको पहिचान गरी विमानस्थल निर्माणको कार्य प्राधिकरणले गर्ने उल्लेख छ । त्यसबाहेक जग्गाको मुआब्जा वितरण गर्दा हुने खर्चको ५० प्रतिशत रकम कर्णाली प्रदेश सरकारसँग माग गर्ने र ५० प्रतिशत प्राधिकरणले व्यहोर्ने छ । जग्गा अधिग्रहणको क्रममा समस्या देखिए प्रदेश सरकारले समन्वय गर्ने समेत सम्झौतामा उल्लेख छ ।