सात महिनापछि पुनः सञ्चालनमा आयो पोखरा क्यानोनिङ
काठमाडौं । कोभिड-१९ का कारण बन्द रहेको कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ स्थित पोखरा क्यानोनिङ सात महिनापछि पुनःसञ्चालनमा आएको छ । कोरोना महामारीको जोखिम उच्च रहे पनि स्वास्थ्य सतर्कताको मापदण्डलाई पूर्णरुपमा पालना गरेर सञ्चालन गर्न लागेको सञ्चालक राम गुरुङले जानकारी दिए । “अब कोरोनासँग सँधै त्रासमा रहेर भन्दा पनि यसबाट जोगिएर कसरी अगाडि बढ्ने भन्ने सोच्नुपर्छ, सुस्ताएको पर्यटनलाई अब विस्तारै गति दिएर आर्थिक चलायमान गराउनुको विकल्प छैन, त्यसैले स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर क्यानोनिङ खुला गरिएको हो”, गुरुङले भने । उहाँले लामो समय एउटै दिनचर्यामा भएका आन्तरिक पर्यटक जो साहसिक खेलमा रुचि राख्छन् उनीहरुको चाहानालाई मध्यनजर गरेर क्यानोनिङ खुला गरेको जानकारी दिए । क्यानोनिङका लागि आवश्यक उपकरण र स्वास्थ्य सामग्री मास्क स्यानीटाइजरको प्रबन्ध गरेर पूर्ण सुरक्षित वातावरणमा क्यानोनिङ गराइने उनको भनाइ छ । पोखरामा क्यानोनिङ सन् २०१४ बाट सञ्चालनमा आएको हो । पोखराको हरिचोकबाट करिब २२ किलोमिटरको दूरीमा रहेको ल्वाङघलेल गाउँको मुनि कुदी छहरामा क्यानोनिङका लागि दुईवटा ७५ र ४५ मिटर अग्ला सुन्दर झरना छन् । साहसिक खेलमा रुचि राख्ने जो शारीरिक र मानसिक रुपमा तयार छन् । उनीहरुलाई ‘बिगनर’ र ‘प्रोफेशनल’ गरेर छुट्याइन्छ र झरनामा पानीमा मस्त रमाउन वातावरण तयार गरिन्छ । पहिलो पटक गर्न चाहानेका लागि प्रारम्भिक रुपमा डेमो देखाउने, सिकाउने प्रबन्धसमेत गरिएको छ । त्यसका लागि सात जना गाइड तैनाथ अवस्थामा रहन्छन् । गुरुङका अनुसार कोभिड-१९ अघि वार्षिक तीन हजार जनाले क्यानोनिङको अनुभव लिने गरेका छन् । क्यानोनिङका लागि तीन तहका प्याकेज छन्, क्यानोनिङ मात्र, ‘डे ट्रिप’ र ‘ओभर नाइट ट्रिप’ गरेर दुई हजार ४०० रुपैयाँदेखि चार हजार ९०० रुपैयाँसम्म शुल्क तोकिएको छ । गण्डकी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका ११ जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यलाई समेटेर ११० नयाँ पर्यटकीयस्थल सार्वजनिक गरेको छ भने साहासिक पर्यटकीय गन्तव्यलाई समेत सूचीकृत गरेको छ । रासस
अब २१ सय रुपैयाँमै काभ्रेको तीन धारा घुम्न पाइने, खाना/खाजा नि:शुल्क, यस्ता छन् अन्य सुविधा
काठमाडौं । अब २१ सय ९९ रुपैयाँमै काभ्रेको तीन धारा घुम्न सकिने भएको छ । पछिल्लो समय घुम्नका लागि प्रख्यात ठाउँ काभ्रेको तीन धारा घुम्न २१ सय ९९ रुपैयाँ लाग्नेछ । अहिले विभिन्न टुर एण्ड ट्राभल एजन्सीहरुले एक दिनको टुर प्याकेज बनाएर तीन धारा घुमाइरहेका छन् । घुम्न चाहनेहरुलाई २१ सय ९९ रुपैयाँ तिर्नु पर्ने भएको छ । टुर एण्ड छ.ट्राभल एजेन्सीहरुले एक दिनको प्याकेजमा २१ सय ९९ रुपैयाँमै खाना, खाजा, खानेपानी पनि दिने जनाएका छन् । सो झरनामा डेढ घण्टा समय बिताउन सकिने गरी प्याकेज तयार पारिएका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा चर्चित भएरैनै धेरै मानिसहरु तीन धारा पुग्ने गरेका छन् । एजेन्सीहरुले स्कारपियो बुक गरेर घम्न जानेहरुलाई लैजाने गरेका छन् ।
वायुसेवा निगमको महाप्रबन्धकमा डिमप्रकाश पौडेल नियुक्त, काे हुन् उनी ?
काठमाडौं । करिब डेढ वर्षदेखि रिक्त रहेको नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा सरकारले डिमप्रकाश पौडेललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई चार वर्षका लागि महाप्रबन्धकमा नियुक्त गरेको हाे । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको प्रस्तावमा पौडेललाई महाप्रबन्धक पदमा नियुक्त गरिएको हो । पौडेल सरकारले गठन गरेको वायुसेवा निगम सुधारका लागि गठित सुझाव कार्यदलका सदस्य समेत रहेका थिए । पौडेल निगमको सदस्य हुनुअघिसम्म बतास अर्गनाइजेसनमा कार्यरत थिए। सरकारले यसअघि नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा सुशिल घिमिरेलाई नियुक्त गरेको थियो। अर्को व्यवस्था नभएसम्मका लागि भन्दै कार्यकारी अधिकारसहित घिमिरेलाई नियुक्त गरिएको थियो। बेलायतबाट चार्टर्ड एकाउन्टेन्ट अध्ययन गरेका पौडेल निगमको बोर्ड सदस्यमा मनोनीत हुनुअघि निजी क्षेत्रका विभिन्न कम्पनीमा काम गर्दथे । उनी चितवन मेडिकल कलेजमा फाइनान्स तथा प्रशासन निर्देशक, ललितपुरमा रहेको नेपाल क्यान्सर अस्पतालमा प्रमुख कार्यकारी अधिकृत, दिव्या हर्वासिटिकलका अध्यक्षसमेत हुन् । पर्यटन मन्त्री योगेश भट्टराई प्रसार विभाग प्रमुख हुँदा उनी सदस्य थिए । त्यसैगरी पौडेल पोखराको बतास समूहको अटो कम्पनी इस्ट्रन एजेन्सिज् प्रालिका प्रमुख कार्यकारी अधिृकत थिए । याे कम्पनीले भारतीय आइचरका चार पाङ्ग्रे सवारी साधान बिक्री वितरण गर्दै अाएकाे छ ।