मन्त्रिपरिषद् बैठककाे निर्णयः लामो दूरीका यातायात र हवाई सेवा भदौ १५ गतेसम्मका लागि बन्द

काठमाडाैं । आज बसेकाे मन्त्रिपरिषद् बैठकले  लामो दूरीका यातायात, हवाई उडान सेवा र शिक्षण संस्था नखुलाउने निर्णय गरेकाे छ । यसअघि भदाै १ गतेबाट यी सबै सेवाहरु सञ्चालन गर्ने निर्णय गरेपनि अब ती सेवाहरु भदाै १५ गतेसम्मका लागि  बन्द नै राख्ने निर्णय गरिएकाे हाे । एक मन्त्रीका अनुसार भदाै १५ गतेसम्मका लागि यी सेवाहरु बन्द अवस्थामा नै रहने छन् । हिजाे बसेकाे कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले पनि यी सेवाहरु स्थगित गर्न  प्रस्ताव गरेकाे थियाे । कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको हुनाले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पुरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय पनि  गरेकाे ती मन्त्रीले बताए । बैठकले सीमा नाकामा पनि अवैध आवतजावत जारी रहेको भन्दै थप कडाई गर्ने निर्णय गरेको छ । साथै उपत्यका प्रवेश गर्ने नाकामा पनि कडाई गर्ने निर्णय गरेको छ ।

भदौ १ गतेदेखि हवाई उडान र लामो दूरीका गाडी चल्न नसक्ने संकेत

काठमाडाैं । सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानहरु, लामो दुरीका यातायात र विद्यालय खुल्न नसक्ने संकेत गरेका छन् । मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्ने क्रममा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको परिस्थितिमा लामो दूरीका यातायात, विद्यालय र हवाई उडान खुल्ने सम्भावना तत्काल नबनेको बताएका हुन् । ‘हामी सबै जनाको सल्लाह अनुसार निर्णय गर्नेछौं, कतिपयले सधैँ बन्द गर्दा आर्थिक अवस्था डामाडोल हुने भएकाले खोल्नुपर्ने सुझाव दिनुभएको छ भने कतिपयले तत्काल खोल्न नहुने बताउनुभएको छ’ यसबारे सीसीएमसीको बैठक बसेर उपयुक्त निर्णय गर्नेछ र मन्त्रिपरिषदमा पेश गर्नेछ,’ उनले भने । उनका अनुसार सरकारले भदौ १ गतेदेखि लामो दूरीका यातायात तथा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णयमा  पुनर्विचार गर्नु पर्ने देखिन्छ । मन्त्री खतिवडाले विदेशबाट आउनेहरुको हकमा अलपत्र परेका र उद्दार गर्नुपर्नेलाई ल्याउने तर तत्काल नआएपनि हुनेलाई केही समय धैर्य गर्न र परिस्थिति अति सहज हुँदासम्म पर्खन आग्रह पनि गरे।      

नेपालीको उद्धारका लागि हिमालय एयरलाइन्सले थप चार उडान गर्ने

काठमाडाैं । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि भइरहेको जारी उडानमा हिमालय एयरलाइन्सले थप दुई दिन चार्टर्ड उडान गर्ने भएको छ । यसअघि जुलाई ३० देखि अगष्ट ७ तारिखसम्म विभिन्न मुलुकमा उडान तालिका बनाएर चार्टर्ड उडान गरिरहेको हिमालयले थप दुई गन्तव्यमा चार उडान गर्ने निर्णय गरेको हो । हिमालयको निर्णयअनुसार अगष्ट ८ र ९ मा क्रमशः कतारको दोहामा दुई र मलेसियाको क्वालालम्पुरमा दुई उडान गर्ने कम्पनीले जनाएकाे छ । नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विदेशी एयरलाइन्सले विदेशमा अलपत्र नेपालीको उद्धारका लागि चार्टर्ड उडान गरिरहेका हुन् । यसअघिको तालिकाअनुसार पछिल्लो चरणमा हिमालयले पनि जुलाई ३० देखि अगस्ट ७ तारिखसम्म चीनको कुनमिङ, दोहा, अबुधाबी, क्वालालम्पुर र दमामामा १८ चार्टर्ड उडान गर्ने जनाएको छ । कोभिड-१९ सङ्क्रमण व्यवस्थापन केन्द्र ९सिसिएमसी०को असार २० गतेसम्मको विवरणअनुसार विभिन्न मुलुकबाट भइरहेको उद्धार उडानमार्फत हालसम्म ४३ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।