त्रिभुवन विमानस्थल नयाँ सेवा सुविधाका साथ सञ्चालन हुन्छः मन्त्री भट्टराई

काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ सेवा सूविधा सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताएका छन् । शुक्रबार विमानस्थलको निरिक्षण गरेका मन्त्री भट्टराईले विमानस्थलमा निर्माण भइरहेका पूर्वाधारको निर्माण कार्य सम्पन्न भइसकेकोले भदौ १ गतेदेखि नयाँ सेवा सूविधा सहित विमानस्थल सञ्चालनमा आउने बताएका हुन् । कोभिड १९ का कारण चार महिना सम्म विमानस्थल बन्द रहँदा धेरै पूर्वाधारहरु निर्माण भएको मन्त्री भट्टराईले बताए । उनले विमानस्थलको धावनमार्ग ३ सय मिटर बढाइएकाले अव अवतरण र उडान दुवैमा थप सुरक्षा कायम हुने बताए । । त्यस्तै १५ सय क्षमताको प्रस्थान हल निर्माण गर्ने कार्य पनि सम्पन्न भइसकेको उनले बताए । । लकडाउनको अवधिमा विमानस्थलमा पार्किङ स्थलहरु पनि थपिएका छन् । जसले गर्दा आकासमा जहाज होल्ड गर्नुपर्ने अवस्थालाई केही हदसम्म कमगर्ने विश्वास समेत मन्त्री भट्टराईले बताए । यसअघि विमानस्थलमा जहाज पार्किङ कम हुँदा आकासमा जहाज होल्ड गर्नुपर्ने अवस्था रहेको थियो । विमानस्थलमा लगेज बेल्टहरु पनि थपिएका छन् । यस्तै समानान्तर ट्याक्सी वे निर्माण गर्ने, थप २२/२३ वटा जहाज पार्किङ स्थल निर्माण गर्ने र नयाँ टर्मिनल भवनहरु निर्माण गरिने समेत मन्त्री भट्टराईले बताउ । उनले अराइभल हलको निर्माण कार्यपनि सम्पन्न भइसकेको बताए । उनले विमानस्थलका अधिकांश पूर्वाधार निर्माण भएकाले विमानस्थलमा आउने पर्यटक र नेपाली नागरिकले नयाँ अनुभुति गर्न पाउने बताए । सरकारले भदौ १ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने निर्णय गरेको छ । त्यसैले विमानस्थलको अवस्था निरिक्षण गर्न मन्त्री भट्टराई विमानस्थल पुगेका थिए । उनले भौतिक दुरी कायम गरी विमानस्थल सञ्चालन गर्ने सम्बन्धमा आवस्यक तयारी पुरागर्न विमानस्थल प्रशासनलाई निर्देशन दिएको समेत बताउनुभयो । विमानस्थले कोभिड १९ संक्रमणको जोखिमलाई हेरेर प्रस्थान हललाई आधा क्षमतामा मात्रै उपायोग गरी सञ्चालन गर्ने योजना बनाएको छ ।

४ महिनापछि बल्ल खुले होटल, स्वास्थ्य सुरक्षाकाे व्यवस्था कस्तो छ ? (भिडियोसहित)

काठमाडौं । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दीको चार महिनापछि होटल तथा रेस्टुराँ व्यवसाय सञ्चालनमा आएका छन् । काेराेना भाइरसका कारण उत्पन्न लकडाउनले ४ महिनादेखि बन्द रहेका हाेटहरु आज बल्ल खुलेका हुन् । होटल व्यवसाय सञ्चालनमा आएपनि अन्तर्राष्ट्रिय हवाई उडान सूचारु नहुँदा सम्म ठूला होटलहरुले ग्राहक नपाउने निश्चित छ । हवाई उडान सूचारु भएपछि पनि ग्राहक कम हुने भएकाले होटलहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुनसक्ने सम्भावना देखिएको व्यवसायीहरुले बताएका छन् । सरकारले साउन ६ गतेबाट औपचारीक रुपमा बन्दाबन्दी नरहेको घोषणा गर्दै विभिन्न क्षेत्रलाई सूचारु गराएको थियो । त्यस्तै साउन १५ गतेदेखि पर्यटन क्षेत्र सञ्चालन गर्न स्वीकृति दिने निर्णय समेत गरेको थियो । त्यसैले आजैदेखि होटल तथा रेस्टुराँ लगायत ट्रेकिङ, ट्राभल र पर्वतारोहणका कार्यालयहरु सञ्चालनमा आउने भएका छन् । सरकारले पर्यटन क्षेत्रलाई सूचारु गर्न दिएपनि होटल सञ्चालन गर्न समस्या रहेको होटल व्यवसायीहरुले बताएका छन् । खास गरी तारे होटलका ग्राहक पर्यटक भएकाले अन्तर्राष्ट्रिय उडान सञ्चालन नहुँदा सम्म होटल सञ्चालन गर्नुको कुनै अर्थ नभएको व्यवसायीहरुले बताएका छन् । Hotel होटल क्षेत्र खुल्यो, कम ग्राहक हुने अवस्थाले अस्वस्थ प्रतिस्पर्धा हुन सक्छ : व्यवसायीसम्बन्धित समाचार – https://www.bikashnews.com/2020/07/30/229995.html Gepostet von Bikashnews.com am Donnerstag, 30. Juli 2020 बाह्य उडान सञ्चालनमा आएपछि पनि पर्यटक आउने सम्भावना कम भएकाले होटलमा ग्राहक नै नहुने हुन की भन्ने चिन्तामा व्यवसायीहरु छन् । व्यवसायीहरुले पर्यटकको संख्या बढाउन अन्तर्राष्ट्रिय बजारमा नेपालमा कोभिड १९ संक्रमणको जोखिम कम रहेको सन्देश सरकारले प्रवाह गर्नुपर्ने बताएका छन् । व्यवसायीहरुले अन्तराष्ट्रिय उडान सूचारु भएपछि केही पर्यटकहरु आउन सक्ने भएकाले ती पर्यटकलाई आफ्नो होटलमा तान्न पाँचतारे होटलहरुबीच प्रतिस्पर्धा हुनसक्ने देखिएको बताएका छन् । सिमित ग्राहकलाई आफुतिर तान्न होटलहरुबिच अस्वस्थ प्रतिस्पर्धा हुने सम्भावना रहेको पनि होटल व्यवसायीहरु बताउँछन । होटल संघकी अध्यक्ष सृजना राणाले पाँचतारे होटलहरु बिच शुल्कमा अस्वस्थ प्रतिस्पर्धा हुन सक्ने सम्भावना देखिएको बताइन् । होटलको रेटमा अस्वस्थ प्रतिस्पर्धा भए यसले नेपालको होटल क्षेत्रलाई नै बिगार्ने राणाले बताइन् । उनले ग्राहक तान्नका लागि रेट घटाउने काम भए होटल क्षेत्रलाई लामो समयसम्म असर गर्ने बताइन्। होटलको गुणस्तर र सेवा कमजोर हुनेगरी रेटमा प्रतिस्पर्धा गर्न नहुने राणाले बताइन् । कोभिड १९ संक्रमणको जोखिमका कारण पूर्ण क्षमतामा होटल सञ्चालन गर्न सक्ने अवस्था पनि छैन् । यसबाट होटलको सञ्चालन लागत बढ्ने छ । त्यसैले खर्च उठाउनका लागि पनि होटलहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईंले होटलहरुबीच अस्वस्थ प्रतिस्पर्धा भएकाले होटलहरुको सुविधा कटौति हुन सक्ने सम्भावना रहेको बताए । त्यसैले सकारले नै न्यूनतम स्टाण्डर्ड तोकेर होटलहरुलाई निर्देशन दिन सके सम्भावित अस्वस्थ प्रतिस्पर्धामा कमि आउन सक्ने चापागाईंले बताए । पाँचतारे होटलका लागि मूख्य बजार भारत र चीन भएकाले पनि ति दुई देशको स्थिति सामान्य नहुँदा सम्म पर्यटक कम संख्यामा आउने चापागाईंले बताए । त्यसलै सरकारले होटल सञ्चालन गर्न दिएपछि कसरी सर्भाइभ गर्ने भन्ने चुनौति देखा परेको उनले बताए । धेरैजसो होटलहरुको सञ्चालन खर्च ठुलो भएकाले त्यसलाई कभर गर्न चुनौति रहेको उनलेबताए । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि बनाइएको मापदण्ड पुरा गर्दा कम्तिमा पनि ३० देखि ५० प्रतिशत सम्म सञ्चालन खर्च बढ्न जानेछ । नेपालमा कोभिड १९ संक्रमण देखिएपनि कोरोनाका कारण मृत्युकाे केसहरु धेरै नदेखिनु नै सबैभन्दा सकारात्मक पक्ष भएकाले यसैलाई लिएर अन्तराष्ट्रिय बजारमा नेपाल घुम्नका लागि उपयुक्त छ भन्ने सन्देश दिनुपर्ने चापागाईंले बताए । त्यस्तै, होटलका तहहरु धेरै भएकाले तीन तारे होटल सम्मलाई आन्तरिक पर्यटनबाट सर्भाइभ गराउन सक्ने गरी सरकारले नीतिगत व्यवस्था गर्नुपर्नेमा चापागाईंले जोड दिए । यस्तै, होटलको सञ्चालन खर्च कम गराउनका लागि विद्युतमाको डिमाण्ड चार्जेजमा विशेष छुट हुनुपर्ने उनले बताए ।व्यवसायीहरुले होटलहरुमा स्वास्थ्य सुरक्षाको अवस्थालाई जोड दिएको पनि बताएका छन् । सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु भदौ १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको र त्यसपछि मात्रै विदेशी पर्यटक नेपाल घुम्न आउने वातावरण बन्ने भएकाले पाँचतारे होटलको बिजनेस पनि त्यसपछि नै सूचारु हुने व्यवसायीहरुले बताएका छन् ।

सञ्चालनमा आए सौराहाका होटल

भरतपुर । पर्यटकीय नगरी सौराहाका होटल तथा रेष्टुराँ स्वास्थ्य सावधानी र छुट प्याकेजसहित सञ्चालनमा आएछन् । आन्तरिक पर्यटकलाई लक्षित गरी व्यवसायीले छुट प्याकेजको घोषणा सहित करिव चारमहिनापछि सञ्चालनमा ल्याएका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहाले एक सूचना जारी गर्दै सरकारले दिएको निर्देशन र नियम पालना गरेर होटल व्यवसाय सञ्चालन गर्न सम्पूर्ण व्यवसायीमा आग्रह गरेको थियो । व्यवसायी सोही सूचनाअनुरुप होटल सरसफाइ र स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्ने तयारीमा जुटेका छन् । होटल सञ्चालन गर्दा सबै होटलले अनिवार्यरुपमा कोभिड–१९ सम्बन्धी आवश्यक जानकारी सूचना टाँस गर्ने, सम्पूर्ण पर्यटकको ज्वरो जाँच, हातधुने र स्यानेटाइजरको व्यवस्था गर्नुपर्ने सङ्घले जनाएको छ । यस्तै पर्यटकलाई अनिवार्य मास्क प्रयोग गर्न लगाउने, सम्पूर्ण पर्यटकको फोन नम्बरसहित सम्पूर्ण विवरण राख्नुपर्ने, १०० डिग्रीभन्दा बढी ज्वरो आएको पर्यटकलाई नजिकको स्वास्थ्य चौकीमा पठाउनुपर्ने वा सम्बन्धित निकायमा खबर गर्नुपर्ने र पर्यटक बसेको कोठा अनिवार्यरुपमा ४८ घण्टा खाली राख्नुपर्ने वा स्यानिटाइज गर्न सम्पूर्ण व्यवसायीमा आग्रह गरिएको सङ्घका महासचिव गुणराज थपलियाले जानकारी दिए । सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेसँगै सौराहाका होटल पूर्णरुपमा बन्द रहेका थिए । सरकारको निर्णयअनुरुप नै होटल सञ्चालनमा ल्याइएको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए । उनले भने, “सुरक्षा सतर्कता अपनाएर होटल सञ्चालन गरेका छौँ, सबै व्यवसायीले सोहीअनुरुप तयारी गरिरहेका छन् ।” उनले आजदेखि सौराहा खुल्यो भन्ने सन्देश प्रवाह गरिएको बताए । क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले सबै व्यवसायीले होटल सरसफाइ र व्यवस्थापन गरेको जानकारी दिए । उनले व्यवसायी होटल खोल्न पाउँदा उत्साहित भएको भन्दै आन्तरिक प्रचारप्रसारमा समेत जुटेको बताए । प्रचारप्रसार स्वरुप नै केहीदिन अघि साइकलयात्रा गरिएको थियो । होटल सञ्चालनमा आउने भएपछि यहाँका व्यवसायीले छुट्टाछुट्टै प्याकेज घोषणा गर्न थालेका छन् । सङ्घले औपचारिक रुपमै छुटबारे निर्णय गर्ने तयारी गरे पनि व्यवसायी स्वतःस्फूर्त रुपमा छुटको प्याकेज घोषणा गरेका हुन् । रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) सौराहाका निवर्तमान अध्यक्षसमेत रहनुभएका सूर्योदय गेष्ट हाउसका सञ्चालक गोकर्ण गिरीले कोठा (लजिङ) मा ५० प्रतिशत छुटको घोषणा गरेका छन् । यस्तै खानामा २० प्रतिशत र पेयपदार्थमा १५ प्रतिशत छुट दिने उनले बताए । यस्तै होटल पार्क इन सौराहाका सञ्चालक दीपेश चौधरीले कोठामा ५० प्रतिशत छुट दिने जानकारी दिए । उनले खाना र पेयपदार्थमा १०/१० प्रतिशत छुट घोषणा गरिएको बताए । उनले भने, “पर्यटकलाई स्वागत गर्न हामी आतुर छौँ, छुट दिएर पर्यटक आउने वातावरण तयार पार्दैछौँ ।” सौराहाका अन्य होटल तथा रेष्टुराँले पनि छुटको प्याकेज ल्याउने तयारी गरिरहेका छन् । होटल तथा रेष्टुराँ सञ्चालनसँगै सौराहाका अन्य पर्यटकीय गतिविधि पनि सञ्चालन हुने छन् । विशेष गरी जङ्गल सफारी, डुङ्गा सफारीका लागि प्रख्यात मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीका साथै जङ्गल वाक हुने गर्दछ । यस्तै बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारीका साथै जिप सफारी हुने गर्दछ  ।