जापानमा नेपाल सुरक्षित र वर्षैभरि घुम्न मिल्ने गन्तव्यको रुपमा प्रवर्द्धन
काठमाडौं । नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम र पाटा नेपाल च्याप्टरको संयुक्त आयोजनामा जापानको टोकियो र ओसाकामा नेपाललाई सुरक्षित, अद्वितीय र वर्षैभरि भ्रमणयोग्य गन्तव्यका रूपमा प्रवर्द्धन गरिएको छ । अप्रिल २ देखि ५ मा टोकियो र ओसाकामा सम्पन्न पर्यटन प्रवर्द्धन र बिटुबी कार्यक्रमले नेपाली र जापानी पर्यटन व्यवसायीबीच प्रत्यक्ष संवाद, सहकार्य र व्यापारिक सम्बन्ध विस्तारमा उल्लेखनीय योगदान पुर्याउने नेपाल पर्यटन बोर्डले जनाएको छ । यस कार्यक्रममार्फत नेपाललाई प्रमुख पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्दै जापानी बजारमा नेपालको उपस्थिति मजबुत बनाउने लक्ष्य राखिएको थियो । टोकियोमा आयोजित सत्रलाई सम्बोधन गर्दै नेपाली दूतावासका उपप्रमुख हरिहरकान्त पौडेलले अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनमा यस किसिमका कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । सो अवसरमा नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक रानु शाहले नेपालको सांस्कृतिक सम्पदा, चर्चित गन्तव्य, साहसिक पर्यटन र वेलनेस अनुभवबारे प्रस्तुति दिएकी थिइन् । प्रस्तुतिमा नेपाललाई सुरक्षित, फरक पहिचान भएको र वर्षैभरि घुम्न मिल्ने गन्तव्यका रूपमा उजागर गरिएको थियो । जसले अन्तर्राष्ट्रिय बजारमा नेपालको सकारात्मक छवि निर्माण गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । साथै, जापानी पर्यटकलाई लक्षित विशेष पर्यटन प्याकेज विकास गर्न यस्ता कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ । नेपाल वायुसेवा निगमले जापान-नेपाल उडान सञ्जालबारे अद्यावधिक जानकारी प्रस्तुत गर्दै नेपालसँगको हवाई सम्पर्क विस्तारबारे जानकारी गराएको थियो । कार्यक्रममा जापानका टुर अपरेटर, ट्राभल एजेन्सी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । उनीहरूसँगको अन्तरक्रियाले नेपालका पर्यटन उत्पादन, सेवा र सम्भावनाबारे जानकारी आदान–प्रदान हुनुका साथै नयाँ साझेदारीका अवसरहरू सिर्जना हुने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममा हेरिटेज टुर्स एण्ड ट्राभल्स, अल्पाइन रेस्क्यु सर्भिसेज, क्लब हिमालय, हिमालयन होलिडेज ट्रेकिङ, हाई ग्राउन्ड एड्भेन्चर, आर्या होटल एण्ड स्पा, रियल एड्भेन्चर नेपाल, होटल जाम्पा, म्याजेस्टिक लेकफ्रन्ट, खुम्बिला होटल, अफ द वाल ट्रेकिङ र चो ओयू ट्रेकिङलगायत नेपाली पर्यटन व्यवसायीहरूको सहभागिता रहेको थियो । यस पहलले नेपालको पर्यटन बजार विस्तार, अन्तर्राष्ट्रिय साझेदारी सुदृढीकरण र जापानी पर्यटकका लागि नेपाललाई प्राथमिक गन्तव्यका रूपमा स्थापित गर्न थप बल पुग्ने अपेक्षा गरिएको छ ।
विराटनगर विमानस्थलमा साइरन, धुवाँ र आपतकालीन सवारी देखिने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत विराटनगर विमानस्थलमा फुल स्केल आपतकालीन अभ्यास (इमर्जेन्सी एक्सरसाइज) सञ्चालन हुने भएको छ । नागरिक उड्डयन कार्यालय विराटनगरले जारी गरेको सूचनाअनुसार उक्त अभ्यास २०८२ चैत २५ गते बिहान ७:३० बजे सञ्चालन गरिनेछ । अभ्यासका क्रममा विमानस्थल क्षेत्र तथा आसपासमा एम्बुलेन्स, उद्धार तथा अग्नि नियन्त्रण सेवा, सिटी फायरलगायतका आपतकालीन सवारीसाधनको आवतजावत, साइरनको आवाज र बाक्लो धुवाँ देखिन सक्ने जनाइएको छ । साथै, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी तथा उद्धारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहनेछ । यस क्रममा देखिने गतिविधि अभ्यासकै हिस्सा भएकाले सर्वसाधारणमा कुनै त्रास वा भ्रम नलिन प्राधिकरणले आग्रह गरेको छ ।
सगरमाथामा ‘डायमक्स’ दुरुपयोगको समाचारप्रति एनएमएको आपत्ति, निष्पक्ष छानबिनको माग
काठमाडौं । नेपाल पर्वतारोही संघ (एनएमए) ले सगरमाथा आरोहणका क्रममा ‘डायमक्स’ नामक औषधीको दुरूपयोग गरेको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्थामा प्रकाशित समाचारप्रति आपत्ति जनाएको छ । औषधीको दुरुपयोग गर्दै पर्वतारोहीलाई समस्यामा पार्ने भन्दै प्रकाशित समाचारप्रति संघले आपत्ति जनाएको हो । एनएमएका अनुसार नेपाल दशकौंदेखि विश्वकै अग्रणी पर्वतारोहण गन्तव्यका रूपमा स्थापित रहँदै आएको छ र यस्ता अपुष्ट तथा नकारात्मक खबरले देशको अन्तर्राष्ट्रिय छवि प्रभावित पार्न सक्ने जोखिम बढेको छ । संघले विशेषगरी वसन्तकालीन आरोहण सिजन सुरु भइसकेको अवस्थामा यस्ता समाचारले पर्यटन उद्योगमा निर्भर हजारौं व्यवसायी, गाइड र श्रमिकको जीविकामा असर पार्न सक्ने जनाएको छ । ‘पर्वतारोहण हाम्रो उद्योग मात्र होइन, राष्ट्रिय गौरव, पहिचान र साहसको प्रतीक हो,’ विज्ञप्तिमा उल्लेख छ । नेपालका पर्वतारोहण कम्पनी र जनशक्ति निकै व्यवसायिक र इमान्दार रहेको भन्दै अफवाह नफैलाउन संघले आग्रह गरेको छ । उक्त विवरणबारे निष्पक्ष छानबिन गर्न संघले सरकारलाई विज्ञप्तिमार्फत अनुरोध गरेको छ । ‘नेपालको पर्वतारोहण इतिहास निकै समृद्ध र सौम्य छ । पर्वतारोहण एक उद्यम मात्रै नभएर गर्वको प्रतीक हो । यस्ता कपोकल्पित सामाग्रीले नेपालको पर्वतारोहण क्षेत्रको इज्जत धुमिल गराउनुका साथै धेरैको रोजीरोटी गुम्छ,’ संघको विज्ञप्तिमा भनिएको छ । त्यस्तै, बीमा दाबी, हेलिकोप्टर उद्धार लगायत सेवामा पारदर्शिता र कडाइ आवश्यक रहेको औंल्याउँदै संघले नियमन प्रणाली सुदृढ गर्न सरकारलाई आग्रह गरेको छ ।