श्री एयरलाइन्सको आम्दानी ५.१० अर्ब रुपैयाँ, २ सयमा आईपीओ बिक्री गरेर बैंकको ऋण तिर्ने
काठमाडौं । श्री एयरलाइन्सले ६ महिनामा साढे २ अर्ब रुपैयाँ आम्दानी गरेका छन् । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा २ अर्ब ५३ करोड ४० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको हो । गत आव २०८१/८२ को ६ महिनामा २ अर्ब ५७ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो । साथै कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब १० करोड ९० लाख रुपैयाँ कुल आम्दानी गरेका छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको आम्दानी २५.४६ प्रतिशत अर्थात् १ अर्ब ३ करोड ७० लाख रुपैयाँ बढी हो । आव २०८०/८१ मा कम्पनीले ४ अर्ब ७ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, कम्पनीले आव २०७९/८० मा ४ अर्ब २६ करोड ४० लाख रुपैयाँ, आव २०७८/७९ मा ३ अर्ब ४५ करोड ९० लाख रुपैयाँ र आव २०७७/७८ मा १ अर्ब ३८ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको आम्दानी दुई प्रमुख रुटमा मात्रै केन्द्रित छ । काठमाडौं-नेपालगञ्ज र काठमाडौं-धनगढी रुटबाट मात्रै करिब ५१ प्रतिशत आम्दानी हुने गरेको कम्पनीले जनाएको छ । यो आम्दानीको हिस्सा अघिल्लो वर्ष ५९ प्रतिशत थियो । साथै चालु आवको ६ महिनामा घटेर ४८ प्रतिशतमा सीमित भएको कम्पनीले जनाएको छ । कम्पनीले नयाँ टर्बोप्रप विमान थपेपछि काठमाडौं-सुर्खेतबाट हुने आम्दानी बढेको जनाएको छ । गत वर्ष सो रुटबाट ९ प्रतिशत आम्दानी भएको कम्पनीले जनाएको छ । साथै कम्पनीको कुल आम्दानीमध्ये करिब ९२ प्रतिशत विमानबाट र ८ प्रतिशत मात्र हेलिकप्टरबाट आउने गरेको छ । श्री एयरलाइन्सले आन्तरिक हवाइ क्षेत्रमा १९ प्रतिशत (सन् २०२५ जुलाईसम्म) हिस्सा ओगट्दै तेस्रो स्थानमा रहेको जनाएको छ । कम्पनीका अनुसार कुल सञ्चालन खर्चमा इन्धन खर्चको हिस्सा ठ्याक्कै आधा रहेको छ । गत वर्ष इन्धन खर्च मात्रै करिब ५० प्रतिशत भएको थियो । यसले भाडा वृद्धि गर्न बाध्य पार्न सक्ने र यात्रु संख्या घट्न सक्ने चुनौती कम्पनीले जनाएको छ । साथै मध्यपूर्वमा जारी द्वन्द्वका कारण एभिएसन टर्बाइन फ्युलको मूल्य एक्कासी दोब्बर बढ्दा कम्पनीको लागतमा दबाब परेको कम्पनीले जनाएको छ । यस्तै, तीव्र प्रतिस्पर्धाका कारण एयरलाइन्सहरूले सहजै मूल्य वृद्धि गर्न नसक्ने भएकाले नाफामा प्रत्यक्ष असर पर्ने कम्पनीले जनाएको छ । एयर अनन्याको नाममा सन् १९९९ मा स्थापित कम्पनीले पछि नम परिवर्तन गर्दै श्री एयरलाइन्स बनेको हो । साढे दुई दशकदेखि नेपाली हवाई क्षेत्रमा सञ्चालनमा रहेको यस कम्पनीका मुख्य लगानीकर्ता सुधीर मित्तल हुन् । यसका संस्थापक अध्यक्ष भने बनवारीलाल मित्तल (स्वर्गीय) हुन् । मित्तलको यस कम्पनीमा ९९.८९ प्रतिशत सेयर लगानी छ । कार्यकारी अध्यक्ष मित्तलसँग उड्डयन क्षेत्रमा डेढ दशक भन्दा बढी अनुभव छ । आन्तरिक पर्यटन उद्योगमा नियमित उडान सेवा प्रदान गर्दै आएको श्रीएयरलाइन्सले हेलिकप्टर चार्टर सेवा समेत उपलब्ध गराउँछ । एयरलाइन्ससँग हाल ९ वटा बम्बार्डियर विमान सञ्चालनमा रहेका छन् । जसमध्ये २ जेट र ७ टर्बोप्रप हुन् । कम्पनीका अनुसार २ वटा लिजमा सञ्चालन भइरहेका छन् । त्यसैगरी हेलिकप्टरतर्फ ६ वटा एमआई-८ र २ वटा एयरबस हेलिकप्टर रहेको कम्पनीले जनाएको छ । गत वर्ष कम्पनीसँग १८ वटा विमान थिए । तर, इन्धन बढी खपत गर्ने सीआरजे विमान बिक्री गरेपछि हाल १७ वटामा सीमित रहेको कम्पनीले जनाएको छ । श्रीएयरलायन्स संयुक्त राष्ट्रसंघ र वर्ल्ड फूड प्रोग्रामद्वारा मान्यता प्राप्त सेवा प्रदायक सूचीमा समावेश हुने पहिलो नेपाली एयरलाइन्स समेत हो । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ४ अर्ब ६८ करोड २३ लाख रुपैयाँ ऋण लिएको छ । जसमध्ये ३ अर्ब २५ करोड ८६ लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ४२ करोड ३७ लाख रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीले जनाएको छ । गत वर्ष कम्पनीको कुल ऋण ५ अर्ब ७९ करोड २१ लाख रुपैयाँ थियो । कम्पनीका अनुसार कुल ऋण तिर्न लाग्ने समय १२ वर्षबाट घटेर ५ वर्षमा झरेको छ । प्रवर्द्धकबाट थप पुँजी लगानी, नियमित ऋण भुक्तानी तथा नाफा वृद्धिले वित्तीय आधार थप बलियो बन्ने कम्पनीले जनाएको छ । साथै कम्पनीले सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने निर्णय गरिसकेको छ । आईपीओ पश्चात् कम्पनीले ऋण अझ घट्ने अपेक्षा गरेको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा १ सय रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २ सय रुपैयाँका दरले ६३ लाख कित्ता सेयर बिक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेपश्चात् कम्पनीले कुल १ अर्ब २६ करोड रुपैयाँ बराबरको पुँजी सर्वसाधारण लगानीकर्ताबाट संकलन गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
ग्रामीण पर्यटनको नयाँ मोडेल : बन्दीपुर–केशवटार ‘होमस्टे सर्किट’ अगाडि बढ्यो
दमौली । यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास बोकेको व्यास नगरपालिकालाई जोडेर ‘होमस्टे सर्किट निर्माण’ प्रक्रिया अगाडि बढाइएको छ । व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको सहकार्यमा ‘बन्दीपुर–केशवटार होमस्टे सर्किट’ ग्रामीण पर्यटन विकासको नयाँ ‘मोडेल’का रूपमा अगाडि सारिएको छ । सांस्कृतिक सम्पदालाई मूल आधार बनाई स्थानीय उत्पादन, परम्परा र वातावरणमा आधारित पर्यटनलाई अगाडि बढाउन खोजिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । कुनै समय व्यापारिक केन्द्रका रूपमा रहेको बन्दीपुर सदरमुकाम दमौली सरेपछि ओझेलमा परेको थियो । हिजोआज सोही सहर पुनः खुला र जीवन्त सांस्कृतिक सङ्ग्रहालयका रूपमा स्थापित हुँदै गएको छ । ‘पहाडकी रानी’ उपनामले समेत यो सहरले छुट्टै पहिचान बनाइसकेको छ । अब होमस्टेमार्फत यहाँको पर्यटन प्रवर्द्धनका लागि थप काम गर्न खोजिएको अध्यक्ष थापाले बताए । “बन्दीपुर भ्रमण वर्ष २०२५ को सफलतापछि गाउँपालिकाले सन् २०२६ लाई ग्रामीण पर्यटन भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको छ । सोहीबमोजिम विविध प्राकृतिक, सामाजिक र सांस्कृतिक सम्पदालाई उपयोग गर्दै नयाँ गन्तव्यको विकास गर्ने क्रममा ‘सर्किट’ को अवधारणाअनुसार महत्त्वपूर्ण योजनाका रूपमा अघि बढाइएको छ”, उनले भने । करिब ७५ किलोमिटर चक्रीय दूरीमा फैलिएको यस ‘सर्किट’मा १४ वटा ‘होमस्टे’ र २० भन्दा बढी गाउँ समेटिनेछन् । गुरुङ, मगर, नेवारसँगै क्षेत्री, ब्राह्मण र दलित समुदायबाट सञ्चालित होमस्टेहरूले फरक–फरक सांस्कृतिक अनुभव प्रदान गर्नेछन् । गाउँपालिकाका अधिकांश वडाका साथै व्यास नगरपालिकाको वडा नं १४ यसमा समेटिएको छ । थापाका अनुसार यस सर्किटले होमस्टे सशक्तीकरणसँगै पर्यटनमार्फत ग्रामीण समुदायको आम्दानी वृद्धिमा टेवा पुग्नेछ । यसको विकासका लागि तीन चरणमा कार्यक्रम अघि बढाइएको जनाइएको छ । पहिलो चरणअन्तर्गत चैत १४ र १५ गते पर्यटन तथा संस्कृतिविद्, पर्यटन व्यवसायी र प्राविधिक टोलीले संयुक्त रूपमा क्षेत्रको अध्ययन, अवलोकन तथा प्रत्येक ‘होमस्टे’ गाउँमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिसकेका छन् । यस्तै, नेपाल पर्यटन बोर्ड पोखरासँगको सहकार्यमा आगामी वैशाख १८ र १९ गते आयोजना हुने गण्डकी प्रदेशस्तरीय ‘गाउँ पर्यटन मार्ट २०८३’ मार्फत ‘सर्किट’को राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार गरिनेछ । ग्रामीण पर्यटनलाई थप सहज बनाउन गाउँपालिकाले सफारी जीप सेवासमेत सञ्चालनमा ल्याइसकेको छ, जसले गाउँ–गाउँमा पर्यटकको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको गाउँपालिका पर्यटन शाखा प्रमुख सुरज भट्टराईले बताए । यो ‘सर्किट’ नेपालकै पहिलो नमुना परियोजनाका रूपमा विकास गर्न खोजिएको र यसले विश्वसामु नेपाली ग्रामीण पर्यटनको नयाँ पहिचान स्थापित गर्ने लक्ष्य लिएको पर्यटनविज्ञ हरिसिंह गुरुङले बताए । स्थानीय संस्कृति, परम्परा र जीवनशैलीलाई जोगाउँदै पर्यटन विकास गर्नु आजको आवश्यकता भएको महसुस गरी योजना अगाडि बढाउन लागिएको र यसले दिगो पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पु¥याउने उनले विश्वास व्यक्त गरे । यसमा बन्दीपुर–२ को मोहोरिया, रामकोट, व्यास–१४ कुलुङ, केशवटार, रुम्सी, बन्दीपुर–६ धरमपानी, व्यास–१२ कमलाबारी, बन्दीपुर–५ कोरिखा, बन्दीपुर सामुदायिक होमस्टे, बन्दीपुरको धरमपानी होमस्टे, ऐतिहासिक हुस्लाङकोट गढी, कमलाबारी, कोरिखा र बन्दीपुर सामुदायिक होमस्टेलगायत समेटिएका छन् । रासस
२४ घण्टामै सफा भयो भद्रपुर विमानस्थलको प्रतिक्षालय र शौचालय
काठमाडौं । सेवाग्राहीले गुनासो गरेपछि भद्रपुर विमानस्थलको यात्रु प्रतीक्षालय र शौचालय र २४ घण्टामै सफा गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशैभरका विमानस्थलहरुमा २४ घण्टे सुधारको निर्देशनसङ्गै नागरिक तथा यात्रुहरूलाई सुझाव दिन सूचना प्रकाशन गरेसँगै गुनासोलाई सम्बोधन गरेर विमानस्थलको शौचालय सफा गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी विमानस्थलमा स्तनपान कक्षसमेत तयार गरिएको छ । मन्त्रालयले विमानस्थलको संरचना तथा सफाइको लागि तत्काल सुधारको लागि सम्बन्धित ठाउँमा जानकारी गराइसकेको बताइएको छ । केही घण्टा अगाडि मात्र चन्द्रगढी, भद्रपुर विमानस्थलको प्रतीक्षालयको शौचालयको सफाइमा तुरुन्त ध्यान पुर्याउनु पर्यो भनेर सेवाग्राहीले गुनासो गरेका थिए । ‘मान्छे बेहोसै हुने दुर्गन्ध फैलिन्छ। दैनिक सरसफाइमा किन ध्यान जाँदैन । सरसफाइ कर्मचारी छैनन् भने बाहिर ठेक्का दिनु परो, नत्र सफाइ भन्ने कुरा दैनिक २-४ पटक नै गर्नुपर्ने हो । प्रतीक्षालय त सुगन्धित हुनुपर्ने हो। यस्तो दुर्गन्ध कहीँ थाहा नपाएको हो ? एकपटक सफाइ भएको खबर पाइन्छ की ?,’ सेवाग्राहीले गुनासो गरेका थिए ।