हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

दमौली । दमौलीको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै यहाँ आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।  यसअघि शुक्रबार र शनिबार बन्दीपुरमा पर्यटकको भीड हुने गरेकामा बिदाका कारण आइतबार पनि पर्यटकको आगमन बढेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए । उनले भने, 'पछिल्लो समय सर्वसाधारणमा घुम्ने संस्कृतिको विकास भएको छ । त्यसमाथि सरकारले आइतबार पनि बिदा दिने निर्णय गरेपछि बन्दीपुरमा आन्तरिक पर्यटक बढ्दैछन् ।' प्रधानले हिजो आइतबारमात्रै एक हजार बढी पर्यटक बन्दीपुर आएको जानकारी दिए । उनका अनुसार अन्य समयका आइतबार पर्यटकको चहलपहल निकै कम हुने गर्दथ्यो ।  बन्दीपुरका पर्यटन व्यवसायी वैशबहादुर गुरुङले हप्ताको दुई दिन बिदा दिने निर्णय पर्यटन प्रवर्द्धनका लागि सहयोगी हुने विश्वास व्यक्त गरे । उनले भने, 'घुम्ने संस्कृति विकास भएका कारण आइतबारको बिदाले बन्दीपुरको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ ।' बन्दीपुर गाउँपालिकाले सन् २०२५ मा सञ्चालन गरेको बन्दीपुर भ्रमण वर्षका अवसरमा छ लाख ५० हजार पर्यटक बन्दीपुर भित्रिएका थिए । यहाँका खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यको रुपमा सूचीकृत गरेको छ ।  भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थलहरू यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ । रासस 

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।       श्रीलङ्काको कोलम्बोबाट श्रीलङ्कन एयरलाइन्सको उडानमार्फत सोमबार काठमाडौं आएका उनलाई विमानस्थलको भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।       बरामद गाँजासहित निजलाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता विष्णुप्रसाद भट्टराईले जानकारी दिए ।    

५ करोडमा बन्दै ‘पोखरा घर’, पर्यटन सूचना केन्द्रदेखि आर्ट ग्यालरीसम्म एउटै भवनमा

गण्डकी । पर्यटकीय राजधानी पोखरालाई चिनाउने ‘पोखरा घर’ निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा निर्माणाधीन उक्त भवनको भौतिक प्रगति ९५ प्रतिशत पुगेको पोखरा महानगरपालिकाले जनाएको छ । महानगरको भवन तथा अन्य पूर्वाधार शाखाका प्रमुख इन्जिनियर लक्ष्मीप्रसाद गौतमले इलेक्ट्रिकलतर्फको मात्र काम बाँकी रहेको बताए ।  दुई वर्षअघि निर्माण थालिएको ‘पोखरा घर’ छिट्टै सञ्चालनमा ल्याउने तयारी छ । भूमिगत पार्किङसहितको उक्त भवनमा कोसेली घर, एकीकृत सूचना केन्द्र, पुस्तकालय, आर्ट ग्यालरीलगायत रहने जनाइएको छ । 'पहिलो तलामा कोसेली घर सञ्चालनका लागि ठेक्का आह्वानसमेत भइसकेको छ', इन्जिनियर गौतमले भने, 'पोखराको स्थानीय उत्पादन र सामग्री कोसेली घरमा रहनेछन् ।'  पहिलो तलामै एकीकृत सूचना केन्द्रसमेत रहनेछ । जहाँ पोखराको पर्यटनसँग सम्बन्धित समग्र क्षेत्रका सूचना उपलब्ध हुने जनाइएको छ । दोस्रो तलामा सार्वजनिक पुस्तकालय रहनेछ । यसअघि महेन्द्रपुलमा रहेको पोखरा सार्वजनिक पुस्तकालय अबदेखि ‘पोखरा घर’बाट सञ्चालन हुने भएको हो । तेस्रो तलामा आर्ट ग्यालरी रहनेछ । सोभन्दा माथि घण्टा घर रहने इन्जिनियर गौतमले जानकारी दिए ।  ‘पोखरा घर’ पर्यटकका लागि गन्तव्यस्थल बन्ने विश्वास लिइएको छ । पाँच करोड एक लाख ४६ हजार रुपैयाँ लागतमा बनेको यस अपाङ्गमैत्री भवनमा लिफ्टकोसमेत सुविधा रहने जनाइएको छ । ‘पोखरा घर’लाई परम्परागत वास्तुकलासहित आधुनिक प्रविधि र सामग्रीको प्रयोग गरेर निर्माण गरिएको छ । यसअघि महेन्द्रपुलमा रहेको आर्ट ग्यालरी पनि अबदेखि ‘पोखरा घर’बाट सञ्चालन हुने महानगरले जनाएको छ ।