नाट्टाका अध्यक्ष थपलिया विश्वव्यापी संस्था ‘युफ्टा’ को सञ्चालक समितिमा नियुक्त
काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलिया विश्वव्यापी ट्राभल एजेन्सीहरूको सर्वोच्च निकाय, ‘युनाइटेड फेडरेशन अफ ट्राभल एजेन्ट्स एशोसिएशन्स’ (युफ्टा) को बोर्ड अफ डाइरेक्टरमा नियुक्त भएका छन् । सन् २०२५/२६ का लागि हालै सम्पन्न युफ्टाको वार्षिक साधारण सभाले थपलियाको नियुक्तिलाई आधिकारिक रूपमा अनुमोदन गरेको हो । युफ्टाका अध्यक्ष सुनिल कुमार आरको अध्यक्षतामा सम्पन्न उक्त सभामा विभिन्न महादेशका पर्यटन क्षेत्रका प्रतिष्ठित व्यक्तित्व र प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बोर्डमा निर्देशक पद सुरक्षित गर्नु गौरवको विषय मानिएको छ । यो नियुक्तिले विश्व पर्यटन बजारमा नाट्टाको उपस्थितिलाई थप बलियो बनाउनुका साथै नेपालको पर्यटन उद्योगप्रतिको बढ्दो वैश्विक विश्वासलाई समेत प्रतिबिम्बित गरेको छ । आफ्नो नियुक्तिपछि प्रतिक्रिया दिँदै अध्यक्ष थपलियाले यो अवसरले नेपालको पर्यटन क्षमतालाई विश्वमाझ अझ प्रभावकारी ढंगले चिनाउन र विश्वव्यापी पर्यटन विकासमा अर्थपूर्ण योगदान पुर्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । नवनियुक्त १२ सदस्यीय बोर्डमा अध्यक्ष थपलियासँगै अन्य देशका चार पर्यटन नेतृत्वकर्ताहरू पनि निर्देशकका रूपमा चयन भएका छन् । जसमा टर्कीका सेटिन गुर्कुन, श्रीलंकाका दुमिन्दा कुरुविटार्ची, इजरायलका योसेफ फातेल र फिलिपिन्सकी मारीजेल मानोतोक रहेका छन् । सन् १९६६ मा स्थापना भई मोनाकोमा मुख्यालय रहेको युफ्टाले विश्वभरका ट्राभल एजेन्टहरूको हकहित र उड्डयन क्षेत्रका जटिलताहरू सुल्झाउन नेतृत्वदायी भूमिका खेल्दै आएको छ । यस्तै, नेपालमा ८०० भन्दा बढी ट्राभल एजेन्टहरूको छाता संगठन नाट्टाले पनि सन् १९६६ देखि नै नेपालको पर्यटन प्रवर्द्धन र व्यवसायीहरूको हितमा काम गर्दै आएको छ । नाट्टा र युफ्टाबीचको यो साझेदारीले आगामी दिनमा नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय नीति निर्माण तहमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने जनाइएको छ।
सुनदहको सौन्दर्य अब डकुमेन्ट्रीमा, अन्तर्राष्ट्रिय गन्तव्य बनाउने लक्ष्यसहित प्रिमियर सम्पन्न
काठमाडौं । पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको डकुमेन्ट्रीको प्रिमियर गरिएको छ । पुथा उत्तरगंगा गाउँपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको प्रिमियर कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सुनदहलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै विशेष गन्तव्यका रूपमा विकास गरिनुपर्ने बताए। उनले पूर्वाधार निर्माण, प्रभावकारी प्रचारप्रसार र समन्वयात्मक पहल आवश्यक रहेको समेत जोड दिए । उनले सुनदहको डकुमेन्ट्रीको प्रस्तुति र छायांकनको प्रशंसा गर्दै भने, ‘सुनदहको वास्तविक सौन्दर्यलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ ।’ उनले पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र स्थानीय तहबीच सहकार्य बढाएर सुनदहको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । साथै रुकुम–पूर्वजस्तो हिमाली जिल्लामा पर्यटन विकासका लागि भौतिक पूर्वाधार निर्माण अपरिहार्य रहेको उल्लेख गरेका छन् । आगामी बजेटमार्फत पुराना योजनालाई निरन्तरता दिने र रुकुम–पूर्वका पर्यटकीष गन्तव्यको प्रबद्र्धनका लागि बजेट व्यवस्थापनका लागि पहल गर्नेसमेत बताएका छन् । त्यसैगरी, लुम्बिनी प्रदेश सांसद दिलकुमारी बुढाले सुनदहलाई ‘स्वर्गबाट चोइटिएर खसेको टुक्रा’ को संज्ञा दिँदै आन्तरिक तथा बाह्य पर्यटकलाई भ्रमण गर्न आग्रह गरेकी छन् । उनले यसको प्रवर्द्धनमा आफूहरू प्रतिबद्ध रहेको स्पष्ट पारिन् । त्यसैगरी, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले सुनदहलाई ‘विशिष्ट भौगोलिक विशेषता बोकेको गन्तव्य’ रूपमा उल्लेख गरेका छन् । उनले सुनदहसहित रुकुम पूर्वका पर्यटकीय गन्तव्यहरुको ब्रान्डिङ गर्नुपर्नेसमेत बताए । उनले भने, ‘हामीले देशभर रहेका नयाँ गन्तव्यहरुको खोजी गर्ने र विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेछ ।’ उनले स्थानीय तहले पर्यटन प्रवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गर्दै समन्वय र सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने धारणा राखे । पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष बमबहादुर बुढाले सुनदहको पर्यटन विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्न सरोकारवालाहरूसँग अनुरोध गरेका छन् । उनले भने, ‘सडक, पुल तथा अन्य आधारभूत संरचनाको विकासबिना पर्यटनको दिगो प्रवर्द्धन सम्भव नहुने भएकोले पालिका र वडाको बजेटले पुग्दैन । यसका लागि प्रदेश सरकार र केन्द्र सरकारले बजेट विनियोजन गर्न आग्रह गर्दछु ।’ कार्यक्रमका अध्यक्ष तथा पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले सुनदहमा अपार पर्यटकीय सम्भावना रहेको उल्लेख गर्दै यसको प्रवर्द्धनका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेको बताए । उनले पुथा उत्तरगंगा सांस्कृतिक रूपमा पनि समृद्ध रहेको उल्लेख गर्दै एकीकृत रूपमा पर्यटन विकास अगाडि बढाउनुपर्ने धारणा राखे । २८ मिनेटको यो डकुमेन्ट्री प्रिमियर कार्यक्रमले सुनदहलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा स्थापित गर्नेमा गाउँपालिका अध्यक्षले विश्वास व्यक्त गरेका छन् । समुद्री सतहबाट चार हजार ४३५ मिटर उचाइमा रहेको सुनदह प्राकृतिक, जैविक तथा सांस्कृतिक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण स्थलका रूपमा चिनिन्छ । यहाँ रेड पाण्डा, कस्तुरीलगायत दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु र चराचुरुङ्गी, यार्सागुम्बाजस्ता बहुमूल्य जडिबुटी पाइने भएकाले जैविक विविधताको दृष्टिले समेत यसको उच्च महत्त्व रहेको छ ।
नेपाल–दिल्ली हवाई उडान विस्तार, अब हप्तामा १० उडान
काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली–काठमाडौं हवाई उडान सेवामा थप विस्तार गरेको छ । यात्रुको बढ्दो चाप तथा उडानको मागलाई मध्यनजर गर्दै निगमले मंगलबारदेखि काठमाडौं–दिल्ली–काठमाडौं रुटमा आरए २०५/२०६ बाट हप्ताको तीन दिन उडान थप गरेको हो । यसभन्दा पहिला काठमाडौं–दिल्ली–काठमाडौं रुटमा आरए २१७/२१८ बाट दैनिक एउटा उडान हुँदै आएको थियो। अब काठमाडौं–दिल्ली–काठमाडौं हप्ताको १० वटा उडान सञ्चालन हुने भएको हो ।