बढ्दो घुम्ने संस्कृति
गण्डकी । अघिल्लो शरदयाममा कास्कीको कोरी ‘ट्रेक’मा पदयात्रा गरेका निसान खड्काले यसपालिको दसैँ बिदामा कास्कीकै मर्दी हिमालको आधार शिविरलाई गन्तव्य बनाए । दसैँको भोलिपल्ट बागलुङबाट दुई साथीसहित मर्दी घुम्न निस्किएका उनी चार दिनको पदयात्रा सकेर आइतबार घर फकिए । पेसाले शिक्षक खड्काले दसैँकै छेकोमा यसअघि मुगुको रारा ताललगायत पर्यटकीयस्थलको घुमघाम गरिसकेका छन्। ‘दसैँ बिदामा पदयात्रामा निस्कनुको मज्जा नै बेग्लै हुन्छ, शरद ऋतु यसै पनि घुमौँघुमौँ लाग्ने याम हो,’ उनले सुनाए, ‘नयाँ ठाउँको संस्कृति, रहनसहन र भूगोलबारे जान्न यात्राले सघाउँछ ।’ पदयात्रा आफैँमा रोमाञ्चक र आनन्ददायक हुने खड्काको अनुभव छ । ‘मर्दी यात्रा पनि स्मरणीय रह्यो, छोटो दूरीको पदयात्राका लागि मर्दी ट्रेक उपयुक्त गन्तव्य रहेछ,’ उनले भने, ‘दसैँलगत्तै मर्दी ट्रेक घुम्न निस्केका पर्यटकको बाटैभरि लर्को नै थियो ।’ खड्कासहितको टोली कास्कीको काँडेबाट छिरेर दुई दिनको पदयात्रामा मर्दी हिमालको आधार शिविर पुगेको थियो । फर्किंदा लान्द्रुक, नयाँपुल हुँदै बागलुङ फर्केको खड्काले बताए। पोखरा महानगरपालिका–२९ भण्ढारढिककी आरजु खत्रीले पनि यसपालिको दसैँ बिदामा घुम्नका लागि मर्दी आधार शिविरलाई रोजिन्। काठमाडौंबाट आएका दुई साथीसहित दसैँको पर्सिपल्ट उनले मर्दीका लागि यात्रा तय गरेकी थिइन् । ‘काँडे, अष्ट्रेलियन क्याम्प, देउराली हुँदै पहिलो दिन हाइक्याम्प पुगेर बास बस्यौँ, दोस्रो दिन मर्दी आधार शिविर पुगेर देस्रो दिन घर फर्कियौँ,’ खत्रीले भनिन्, ‘हिमपातपछि खुलेको मौसममा यात्रा निकै रमाइलो भयो, हिमालको छेउमै पुग्दाको क्षण वर्णन गर्न नसकिने खालको थियो ।’ सूचना प्रविधि विषयमा अध्ययनरत उनीले दसैँमा लामो बिदा हुने भएकाले घुम्न रुचाउने बताइन् । खत्रीले गत वर्ष हिउँदमा कास्कीकै अर्को पर्यटकीय गन्तव्य खुमै डाँडाको पदयात्रा गरेकी थिइन्। उनले मर्दी आधारशिविर पुग्दा पर्यटकको बाक्लो चहलपहल देखेको सुनान् । ‘धेरै आन्तरिक पर्यटक नै थिए, विशेष गरी युवा बढी देखिन्थे,’ खत्रीले भनिन्। काठमाडौंमा व्यवसाय गर्ने बागलुङका ओम खत्री पनि दसैँको भोलिपल्टै साथीहरूसँग ढोरपाटन घुम्न निस्किए । आफ्नै जिल्लामा पर्ने भए पनि ढोरपाटन यात्रा उनका लागि पहिलो थियो । ‘ढोरपाटन घुम्न पहिलेदेखिनै उत्सुक थिएँ, अहिले बल्ल मौका जुर्यो,’ खत्रीले भने, ‘व्यवस्तताले नजिकका गन्तव्य पनि घुम्न पाइएको छैन, अब भने बेलाबेला घुमफिरमा निस्कनुपर्छ भन्ने लागेको छ ।’ खत्रीसहित ६ जना मिलेर मोटरसाइकलमा ढोरपाटन पुगेका थिए । उनीहरु तीन दिन लगाएर ढोरपाटन उपत्यका, बुकी, जलजलालगायत ठाउँ घुमेका थिए । दसैँ बिदामा ढोरपाटन क्षेत्रमा आन्तरिक पर्यटकको चहपहल बढी देखिएको खत्रीले बताए । ढोरपाटन देशकै एक मात्र सिकार आरक्ष हो । सिकारमा विदेशीको आकर्षण रहे पनि ढोरपाटन क्षेत्र घुम्न जानेमा बढी आन्तरिक पर्यटक नै हुन्छन् । कास्कीका दिवस गुरुङले दसैँको छेकोमा तीन जापानी पर्यटकसहित सात दिन पदयात्रा गरे। कास्कीको नयाँपुल, म्याग्दीको घोरेपानी हुँदै मुक्तिनाथसम्म पदयात्रा गरेको उनले बताए। २९ वर्षीय गुरुङले गत वर्ष दसैँताका एक्लै ‘कर्णाली यात्रा’ गरेका थिए। मुस्ताङबाट छिरेर मुगुको रारातालसम्म ५५ दिन उनले पदयात्रा गरेका थिए । मुस्ताङदेखि डोल्पा छिर्ने ५ हजार मिटर उचाइको भञ्ज्याङमा पाँच दिनसम्म अलपत्र पर्नुपरेको क्षण उहाँको स्मृतिमा अहिले पनि ताजै छ । गुरुङले विसं २०७५ को दसैँमा पूर्वी नेपाल र मधेसका जिल्लामा ४२ दिनको साइकलयात्रा गरेका थिए। ‘साइकिलिङ र पदयात्रा गर्दा म प्रायः एक्लै हुन्छु, एकल यात्रा मेरो सोख र रोजाइ हो,’ उनले भने, ‘म साथी लिएर घुम्न जाने होइन, घुमेर साथी बनाउनुपर्छ भन्ने मान्यता राख्छु ।’ जतिसुकै कठिन र लामो यात्रामा पनि उनी एक्लै निस्कन्छन् । कर्णाली यात्रामा जाँदा मुस्ताङ र डोल्पाबीचको याकखर्कमा पाँच दिनसम्म सम्पर्कविहीन भएर बस्नुपरेको गुरुङले सुनाए। ‘हिमपातले अगाडि जान नसकेपछि धर्मशालामा टेण्ट हालेर रात बिताएँ,’ उनले भने, ‘प्रतिकूल मौसम, त्यहीमाथि उच्च हिमाली भेग, पाँच दिनसम्म घरपरिवारसँग पनि सम्पर्क हुन नसक्दा मन केही आत्तिएजस्तो पनि भएको थियो, तर मैले आफूलाई सम्हाले र मौसम सुधारपछि यात्रामा अगाडि बढेँ ।’ गुरुङले गत वर्षकै साउन र भदौमा ‘गुरिल्ला ट्रेल’मा ३५ दिन एक्लै हिँडेका थिए। उनी पदयात्री पथ प्रदर्शकसमेत हुन्। आम्दानीमा जोडिन पथ प्रदर्शकको अनुमति लिएर काम गरिरहेको गुरुङले सुनाए। ‘घुम्ने र घुमाउने नै मेरो पेसा बनेको छ, योबाहेक अरु केही सोचेको छैन, घुम्न धेरै बाँकी छ,’ गुरुङले भने, ‘बढीजसो म दसैँ र तिहारका बेला घुम्न निस्किरहेको हुन्छु ।’ उनले पछिल्लो समय नेपालीहरूमा घुम्ने संस्कृति बढेको बताए । गुरुङले पदयात्रा गर्न चाहनेलाई सबैभन्दा पहिला इच्छाशक्ति बटुल्न सुझाए। ‘थोरै पैसाले पनि घुम्न सकिन्छ, फजुल खर्च नगरौँ, घुमफिरका लागि समय छुट्टाऔँ,’ गुरुङले भने, ‘आफूले जान चाहेको गन्तव्यका बारेमा पर्याप्त जानकारी लिऔँ, पूर्वअध्ययन गरौँ ।’ पदयात्रा गर्दा ट्रेकिङ झोला, न्यानो लुगा, आरामदायी जुत्ता, हलुका खानेकुरा, पानी, औषधिलगायत सामग्रीको जोहो गर्नुपर्ने गुरुङले बताए। ‘पदयात्रामा जाँदा शारीरिक र मानसिक स्फूर्ति पनि चाहिन्छ, यात्रामा आइपर्ने सबै परिस्थिति सामना गर्न तयार भएर हिँड्नुपर्छ’, उनले भने, ‘घुम्नलाई नेपालभित्रै असङ्ख्य सम्पदा, संस्कृति र प्राकृतिक गन्तव्यस्थल छन्, आफ्नै देश चिन्नलाई पनि घुमौँ ।’ दसैँलगत्तै अन्नपूर्ण चक्रीय पदमार्गमा आन्तरिक पर्यटकको घुइँचो लागेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा. रविन कडरियाले बताए। आन्तरिक पर्यटकको आँकडा राख्ने नगरिएपनि बर्सेनि हजारौँ नेपालीले अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने गन्तव्यस्थलको भ्रमण गर्ने गरेको उनले बताए। पछिल्लो एक दशकयता नेपालीहरूमा घुम्ने संस्कृति ह्वात्तै बढेको प्रमुख डा कडरियाले उल्लेख गरे । ‘अन्नपूर्ण आधार शिविर, मर्दी, तिलिचो, थोरङ्ला भञ्ज्याङलगायत क्षेत्रमा पदयात्रा गर्नेको सङ्ख्या उल्लेख्य छ, विशेष गरी नेपाली युवामा घुम्ने क्रेज बढ्दो छ, सपरिवार पनि घुम्न निस्कने चलन बढिरहेको छ,’ उनले भने, ‘कोभिड–१९ महामारीताका सुस्ताएको अन्नपूर्ण क्षेत्रको पर्यटनले विस्तारै पुरानै लय पछ्याउँदै छ । रासस
लेक लागेका विदेशी पर्यटकको उद्धारमा समस्या
गोरखा । लेक लागेर बिरामी परेका दुई जना विदेशी पर्यटकको उद्धारमा समस्या भएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६, रिप्चेतस्थित लुम्जेन गुम्बामा पुगेपछि बिरामी परेका विदेशी पर्यटकको उद्धारमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए । लेक लागेर बिरामी पर्नेमा स्वीजरल्याण्ड नागरिक सोल्भे सोफिया सिह्यूल र अमेरिकी नागरिक इरिक कोनेल ओलरज रहेका छन् । उनीहरुको उद्धारका लागि आवश्यक सबै प्रक्रिया पूरा भए पनि हेलिकप्टर उडानमा समस्या परेपछि उद्धार गर्न कठिनाइ भएको उनले बताए। बिरामीको उद्धारका लागि आइतबार प्रयास गरिएको भए पनि असफल भएको थियो । प्रमुख जिल्ला अधिकारी भुसालले गृह मन्त्रालयले हेलिकप्टर उडानको अनुमति दिएको भए पनि मौसममा खराबीका कारण हेलिकप्टर उडाउन समस्या भएको हो । मन्त्रालयले अल्टिच्यूड एयरको हेलिकप्टर बिरामीको उद्धार गर्ने अनुमति दिएको उनको भनाइ छ । मौसममा सुधार आए आज दुवै जनाको उद्धार गरिने प्रजिअ भुसालले जानकारी दिए । रासस
नेपाल पर्वतारोहण सङ्घको स्वर्ण महोत्सव : विश्वका आरोही नेपाल आउँदै
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको शान, मान र गौरब पनि हो । सगरमाथासहित विभिन्न हिमालले नेपालको पहिचानलाई विश्वभर फैलाएको छ । मुलुकको पर्वतीय पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गर्न नेपालका चर्चित हिमाल तथा पिकको महत्वपूर्ण भूमिका रहेको छ । तिनै पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घले स्थापनाको ५० वर्ष मनाउदैँछ । नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा क्रियाशील एकमात्र राष्ट्रिय अल्पाइन क्लबको रुपमा रहेको सङ्घले यही कात्तिक १५ गते ५० औँ स्वर्ण महोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागेको हो । महोत्सवमा विश्वविख्यात आरोहीहरुको सहभागिता रहने र त्यहाँ समग्र पर्वतीय पर्यटन विकासबारे छलफल हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उक्त दिवसका अवसरमा कात्तिक १४ गते एशिया महादेशमा रहेका अल्पाइन क्लबहरुको छाता संस्थाको रुपमा रहेको एशियाली पर्वतारोहण महासङ्घको साधारणसभा काठमाडौँ आयोजना हुदैँछ । नेपालको पर्वतीय पर्यटनलाई टेवा पु¥याउने उद्देश्यले आयोजना हुने साधारणसभामा १८ वटा अल्पाइन क्लबका अध्यक्ष, महासचिव तथा प्रतिनिधिको सहभागिता रहने जनाइएको छ । त्यसैगरी कात्तिक १५ गते राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आर्मी अफिसर्स क्लबमा विशेष समारोह आयोजना गरिनेछ । सो कार्यक्रममा नेपाल सरकारका मन्त्री तथा विशिष्ट अधिकारीसहित विश्व पर्वतारोहण महासङ्घका अध्यक्ष, एशियाली पर्वतारोहण महासङ्घका अध्यक्ष, विभिन्न अल्पाइन क्लबका प्रतिनिधि, विश्व विख्यात आरोहीहरु, विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहने जनाइएको छ । दिवसका अवरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन ८० भन्दा बढी मुलुकमा सञ्जाल भएको विश्व पर्वतारोहण सङ्घका अध्यक्षलाई पनि सहभागिताका लागि आमन्त्रण गरिएको छ । विश्वभरका चर्चित आरोहीको नेपाल आगमन र विभिन्न गन्तव्यको भ्रमणले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने सङ्घका महासचिव मोहन लम्सालले बताए । एशियाली पर्वतारोहण महासङ्घ र विश्व पर्वतारोहण महासङ्घका प्रतिनिधिको नेपाल आगमनले नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन हुने सङ्घका अध्यक्ष निमानुरु शेर्पाले बताए । उनले भने, “एशियाली अल्पाइन क्लबका अध्यक्ष र प्रतिनिधि तथा एशियाली महासङ्घका पदाधिकारीको नेपाल आगमन आफैमा नेपालको पर्यटनका निम्ति महत्वपूर्ण विषय हो, विश्व विख्यात आरोही पनि आउने भएकाले नेपालको पर्वतीय पर्यटन क्षेत्रको प्रवद्र्धनमा थप मद्दत पुग्ने छ ।” एशियाली पर्वतारोहण महासङ्घको साधारण सभाले सुरक्षित आरोहणसम्बन्धी रणनीति तयार गर्ने सङ्घका अध्यक्ष शेर्पाले बताए । हिमाल संरक्षण र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा साझा अभ्यासबारे पनि छलफल हुनेछ । सोही कार्यक्रममा एनएमएले हरेक वर्ष प्रदान गर्दै आइरहेको कुमार खड्ग विक्रम शाह प्रतिभा पुरस्कार, दावानर्बु शेर्पा पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार र डा हर्क गुरुङ पर्वतीय पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो त्यस्तै सङ्घले यसैवर्षदेखि स्थापना गरेको पासाङल्हामु शेर्पा महिला साहसिक पर्वतारोही पुरस्कार आठ हजार मिटरभन्दा माथिका विश्वका १४ मध्ये १० वटा हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्न सफल महिला आरोही पासाङल्हामु शेर्पा ‘अकिता’ लाई प्रदान गर्ने निर्णय गरिएको सङ्घले जनाएको छ । दिवसका अवसरमा जलवायु परिवर्तनले पार्ने अवसरबारे विश्वलाई सन्देश दिने उद्देश्यले सगरमाथाको आधार शिविर नजिक कालापत्थरमा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको छ । सगरमाथाको सबैभन्दा छिटो आरोहण गरेर कीर्तिमान कायम गर्ने काजी शेर्पाले लुम्बिनीबाट शान्तिको दीप प्रज्वलन गरी काठमाडौँ हुँदै कालापत्थर पु¥याउनाका साथै राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको सङ्घले जनाएको छ ।